भर्खरै :

धम्की दिएको आधारमा सिफारिस दिनु हुन्न

वडाध्यक्षको डायरीबाट

प्रथम प्रहरको समय थियो । वडा कार्यालयमा सेवाग्राहीहरूको अलि घुइँचो थियो । म एक एक गरी सेवाग्राहीहरूको कुरा सुनिरहेको थिएँ । त्यहीँ घुइँचोमा एक जना बहिनी पनि सिफारिस लिन आएकी थिइन् । उनको सिफारिस अङ्ग्रेजीमा सम्पत्ति मूल्याङ्कनको थियो । अङ्ग्रेजीमै अरू पनि तीन चार वटा सिफारिस लिन आएकी थिइन् । उनको निवेदन देख्नेबित्तिकै ती बहिनी विदेशमा जान लागेकी भन्ने अन्दाज गरिहालेँ । मैले सोधिहालेँ, “कुन देश जान लागेकी हो बहिनी ? मास्टर पढ्न जान लागेकी हो ?” बहिनीले जवाफमा भनिन्, “हो सर, म मास्टर पढ्नको लागि अस्ट्रेलिया जान लागेकी हुँ । त्यही भएर सिफारिस लिन आएकी हुँ ।” मैले त्यस बहिनीलाई नरम स्वरमा भनेँ, “बहिनी, नयाँ पुस्ताका सबै विद्यार्थी कोही पढ्न र कोही कामको खोजीमा विदेश जान्छन् र विदेशमा नै बस्छन् । त्यहीँ भएर तपाईँँ पढिसकेपछि नेपालमै फर्कनु जाती हुन्छ । उच्च शिक्षा अध्ययन गरेपछि देशको लागि योगदान गर्नुपर्दछ । सबै युवा र विद्यार्थी विदेश गए देशमा कसले नेतृत्व गर्ने ? देश युवाविहीन हुन लागिसक्यो । गाउँ घरमा मलामी लाने पनि महिलाले गर्न थाले । पुरुषको सङ्ख्यामा कमी भएर महिला सबै ठाउँमा जानैपर्ने बाध्यता भयो । त्यही भएर बहिनी नेपालमा आउनुपर्छ ।” उनले हुन्छ भनी जवाफ फर्काइन् । मैले निवेदनमा सिफारिसको लागि तोक लगाउँदै गएँ । तर, एउटा सम्पत्ति मूल्याङ्कनको निवेदनमा मलाई शङ्का लाग्यो । म तोक नलाइकन निवेदन पढेँ । मलाई शङ्का लागेर बहिनीलाई भनिहालेँ, “बहिनी, यो सम्पत्ति मूल्याङ्कनको लागि पेस गरेको जग्गाको कित्तामा रोक्का निवेदन हालेको जस्तो लाग्छ ।” त्यत्ति भनेर म आफ्नो फाइल राखेको दराज खोलेर हेर्न थालेँ तर मैले त्यो फाइल भेटाउन सकिनँ । त्यसपछि मैले बहिनीलाई भोलिसम्म पर्खन आग्रह गरेँ । रोक्का निवेदन भए छलफल नगरी सिफारिस दिन मिल्दैन ।
मैले सिफारिस दिन मिल्दैन भनेपछि उनको अनुहार रातोपिरो भयो । त्यसपछि उनले आफ्नो बुबालाई कल गरिन् र मलाई फोनमा कुरा गर्न भनिन् । मैले पनि फोनमा बहिनीकी बुबालाई रोक्का भएजस्तो लागेकोले तत्काल सिफारिस दिन नमिल्ने र भोलि प्रथम प्रहरमा वडा कार्यालयमा आउन अनुरोध गरेँ । त्यसपछि बहिनी वडाबाट बाहिर गइन् ।
वडा कार्यालयमा सेवाग्राहीहरू बाँकी नै थिए । मेरो अगाडि ज्येष्ठ जनप्रतिनिधि पनि हुनुहुन्थ्यो । म फेरि अर्को सेवाग्राहीसँग कुराकानी गर्न थालेँ । त्यस बहिनी गएको दस मिनेटमा नै त्यस बहिनीकी बुबा राम कुम्पाख (नाम परिवर्तित) आए । सोफामा बस्नेबित्तिकै रामले जङ्गिएर भने, “तैँले किन मेरो छोरीको सिफारिस रोकेको ? तँलाई सिफारिस रोक्ने अधिकार कसले दियो ? बिनाकारण सिफारिस रोक्न पाइन्छ र ? कसले मेरो निजी जग्गामा सिफारिस गर्न रोक्का राखेको हो ? त्यस रोक्का राख्ने व्यक्तिलाई पनि म छोड्दिनँ । तँ सिफारिस नगर्नेलाई पनि बाँकी राख्दिनँ । तँ हाम्रो भोट लिएर जितेको होइन ? तेरो काम सिफारिस दिने होइन र ? तँलाई यसरी हामीलाई सिफारिस रोक्नलाई भोट दिएको हो ? विदेश जाने छोरीलाई यसरी सिफारिस रोक्ने हो ? बच्चाको भविष्यमाथि यसरी खेलबाड गर्न पाइन्छ र ? तँ मेरो घर अगाडि मात्र आएर हेर । तेरो हिसाबकिताब सबै मैले राखेको छु । सिफारिस दिने भए देऊ नभए बाँकी राख्दिनँ । शिक्षित वडाध्यक्ष भएर जनताको मर्का नबुझ्ने के काम ? तँ वडाध्यक्ष भएर वडामा नबसी कहाँ जान लागेको ? जनताको भोट लिएर यसरी वडा छोडेर जान पाइन्छ ?”
उनको गाली र व्यक्तिगत आक्षेप सुनेर म अवाक्क भएर सुनिरहेँ । उनको गाली सुनेपछि मैले नम्र स्वरमै भनेँ, “मेरो १ बजे अस्पतालमा जानु छ । एक जना दाइ दुर्घटना भएर भर्ना हुनुभएको छ । उहाँ र उहाँको परिवारसँग र साथै दुर्घटना गराउने परिवारसँग अस्पतालमा भेट्ने समय दिएको छु । भोलि बिहान प्रथम प्रहरमा आउनुहोला । अनि तपाईँको छोरीको सिफारिसबारेमा कुरा गरौँला ।” मेरो जवाफ सुनेर उनी झन् ठुलो स्वरले कराउन थाले । ज्येष्ठ वडा सदस्य र अरू सेवाग्राहीहरूले वडाध्यक्षलाई मनपरी नबोल्न आग्रह गर्दै थिए । मैले पनि सभ्य भाषा प्रयोग गर्न अनुरोध गरेँ । तर, उनले असभ्य र फोहर शब्दहरू प्रयोग गर्दै मलाई गाली गर्न थाले ।
करिब आधा घण्टा जति उनले मलाई गाली गर्दै रहे । उनको कुरा रोक्ने वडामा कोही भएनन् । मानौँ, त्यहाँ हामी अपराधीजस्तै उनको गाली सुनिरहनुपरेको थियो । केही समय उनी वडामा मलाई गाली गर्दै कराएर बाहिर निस्के । वडाबाहिर पनि अलि बेर कराइरहे । मैले वडाबाहिरको सिसी क्यामेरा हेरेँ । केही बेर कराएपछि उनी घर गए । त्यसपछि म आफ्नो काममा गएँ ।
वडा कार्यालयबाट बाहिर त निस्केँ । तर, मेरो कान र मस्तिष्कमा उनको गाली र फोहरी शब्दहरू गुन्जिरह्यो । यसअघि कसैबाट पनि यस्तो गालीका शब्दहरू सुनेको थिइनँ । मनमा सोच्दा सोच्दै म कतिखेर मध्यपुर अस्पताल पुगेँ थाहा नै भएन । उनको गालीले मलाई प्रेसर बढेको र ज्वरो आएको जस्तो अनुभव भयो । कस्तो कस्तो क्षण पनि भोग्नुपर्ने जस्तो लाग्यो । यो समाजमा कति गैरजिम्मेवार र नालायक मान्छे पनि हुनेरहेछ जस्तो लाग्यो । वडाध्यक्षलाई चौबिस घण्टा सिफारिस रोक्ने अधिकार पनि रहेनछ । मानिसहरू जनताको मत ल्याएर जितेका जनप्रतिनिधिलाई पनि तल्लोस्तरको भाषा प्रयोग गर्दा रहेछन् ।
अस्पतालबाट फर्कँदा करिब सात बजिसकेको थियो । मेरो जीउ भारी नै थियो । मैले परिवारको बिचमा यो कुराको विषयमा छलफल गर्नुपर्ने आवश्यकता ठानिन किनभने परिवारका मानिसलाई पनि टेन्सन होला भन्ने अनुभव गरँे । फेरि मेरो मनमा प्रश्न उठ्न थाल्यो । भोलि वडा कार्यालयमा आएर अचानक ममाथि हात हाल्यो भने के गर्ने ? उनको व्यवहारले भोलि मलाई अफिसमा नपिट्ला भन्ने भन्न सकिँदैनथ्यो । त्यही भएर यस विषयमा जनप्रतिनिधिहरू र वडाका गन्यमान्य व्यक्तिसँग सल्लाह लिनु आवश्यक ठानेँ र सबैलाई मोबाइलमार्फत वडामा भएको घटनाबारे ब्रिफिङ गरेँ । भोलि १० बजे निर्वाचित समितिको बैठक बोलाएँ । मैले सबैलाई एउटा दुइटा प्रश्न सोधेँ, “भोलि वडा कार्यालयमा आएर अचानक मलाई हात हाल्न आए मैले जवाफ दिने कि नदिने ? मलाई हात हाले आफू चुप लागेर बस्ने कि प्रत्याक्रमण गर्ने ?” जनप्रतिनिधि साथीहरू र वडाका गन्यमान्य व्यक्तिले भने, “वडाध्यक्षलाई हातपात गर्न मिल्दैन । हातै हालि हाले प्रहरी बोलाउनुस् । कर्मचारीहरूलाई सतर्क अवस्थामा राख्नुस् । सिफारिसको विषयमा टोलवासीसँग छलफल चलाउनुस् । त्यसपछि मात्र सिफारिस अगाडि बढाउनुस् । धम्की दिएको आधारमा सिफारिस दिनुहुन्न । धम्की दिएकै आधारमा सिफारिस दिने हो भने सबै प्रकारका सिफारिस दिनुपर्ने हुन्छ । वडाध्यक्षको छवि राम्रो हुँदैन । तपाईँको पछाडि हामी छौँ ।” जनप्रतिनिधि र साथीहरूसँग राय सुझाव लिएपछि मसँग भएको नैरास्यता र हिनता हट्यो । एक प्रकारको ऊर्जा शरीरमा सञ्चार भएको अनुभव भयो । नयाँ उत्साह प्राप्त भएको अनुभव भयो । त्यसपछि कर्मचारीहरू सबैलाई कल गरेर घटनाबारे जानकारी गराउनुको साथै सतर्क रहन अनुरोध गरेँ ।
भोलिपल्ट म करिब ११ बजे वडा कार्यालयमा पुगेँ । मभन्दा अगाडि नै जनप्रतिनिधि र वडाका गन्यमान्य किसान साथीहरू पुगिसकेका रहेछन् । म १० बजे नै वडाकार्यालयमा पुग्ने सोच राखेको थिएँ । तर, बिचमा एउटा काम परेको कारण समयमै कार्यालयमा पुग्न सकिएन । म पुग्दासम्म रामकी श्रीमती र छोरी अनि टोलवासीहरूले वडा कार्यालय भरिसकेको रहेछ । मैले रामकी श्रीमतीलाई आफ्नो कुरा राख्न अनुरोध गरँे । उनले भनिन्, “मेरी छोरीको सिफारिस किन रोक्नुभएको हो ? विदेश जाने छोरीको पनि सिफारिस रोक्ने हो ?” मैले जवाफमा भनेँ, “तपाईँकी छोरीको निवेदनमा सम्पत्ति देखाइएको जग्गामा रोक्का राखेको जस्तो लागेर आजसम्मलाई बुझेर हेर्नको लागि मात्र सिफारिस रोकेको हुँ । वडामा आउने सबै निवेदनमा आउनेबित्तिकै तोक लगाउनुपर्छ भन्ने होइन । तपाईँको निवेदनमा शङ्का लागेर एक दिनको लागि सिफारिस रोकेको हुँ । अहिले वडावासी गन्यमान्यजन आएका छन् । साथै जनप्रतिनिधि पनि आएका छन् । तपाईँको निवेदनमा रोक्का पनि रहेछ । मैले रोक्का निवेदन भेटाएको छु । तपाईँको जग्गामा मोहीयानी हक जग्गा जोत्नेलाई दिनुपर्ने रहेछ । त्यही भएर रोक्का परेको रहेछ । त्यस रोक्कालाई बेवास्ता गर्न मिल्दैन । तपाईँले जग्गा गरिरहनुभएको पनि होइन । तपाईँको श्रीमान्ले हिजोका व्यवहारप्रति माफी मागेमा यस सिफारिस विषयमा छलफल गर्न सकिन्छ ।”
कुरा भनिरहँदा राम वडामा आइपुगे । मेरो कुरा सुनेपछि उनी हिजोजस्तै कराउन सुरु गरे । किसान साथी र जनप्रतिनिधि सबै भएकाले उनलाई साथीहरूले जवाफ फर्काए । मैले पनि जवाफ फर्काएँ । साथीहरूले भने, “जनताका निर्वाचित वडाध्यक्षलाई तथानाम गाली गर्न पाइन्छ ? यो तपार्इँको घर होइन । यहाँ नरम भाषा प्रयोग गर्नुस् । वडाध्यक्षलाई शङ्का लागे एक दिनभन्दा बढी सिफारिस रोक्न सक्छ । जग्गा जोतिरहनेलाई हक नदिई नाम भयो भन्दैमा आफैँले मात्र सम्पत्ति खाने हो ? छलफल गरौँ । के कति कारणले सिफारिस नगरेको हो ।”
मैले जवाफमा भनेँ, “हिजो ज्येष्ठ जनप्रतिनिधि भएरमात्र मैले कडा भाषा प्रयोग नगरेको हुँ । मलाई निवेदनउपर शङ्का लाग्नुका साथै निवेदनमा उल्लेख भएका जग्गावालाको बारे मलाई पूर्ण ज्ञान नभएकोले सिफारिस रोक्न खोजेको हुँ । हिजो गाली गरेको सबै आज हिसाबकिताब हुनुपर्दछ । हिजोको व्यवहारको लागि माफी नमागेसम्म आज सिफारिसबारे कुनै पनि छलफल हुँदैन ।” मेरो कुराले राम र श्रीमती झनै रिसाएर बोल्न थाले । त्यसपछि म चुपचाप सुनिरहेँ । साथीहरूले उनीहरूलाई प्रतिवाद गरे । वडामा हानथापजस्तै देखियो । मैले कुनै पनि हालतमा छलफलमा कुरा नमिलेसम्म सिफारिस दिन नमिल्ने अडान लिइरहेँ । दिनभरि जस्तो वडामा त्यस विषयमा छलफल चलिरह्यो । अन्तमा, जग्गा गरिरहने वास्तविक मोहीलाई जग्गा नदिएसम्म वडाबाट त्यस रोक्का भएको जग्गाको वडाले सिफारिस दिन नहुने र त्यसको लागि आवश्यक पहल वडाले गर्नको लागि रामले थप छलफलको लागि वडामा निवेदन राख्ने अनि जग्गाको विषयमा छलफल हुने निचोड आयो । त्यसपछि मैले औपचारिकरूपमा बैठक समापन गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *