भर्खरै :

चीनका शीर्ष विधायकद्वारा प्रजग कोरियाका वरिष्ठ अधिकारीसँग भेट

चीनका शीर्ष विधायकद्वारा प्रजग कोरियाका वरिष्ठ अधिकारीसँग भेट

सोल, १२ अप्रिल (एएफपी) । चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि प्रजग कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको प्रजग कोरियाली राज्य मिडिया केसीएनएले शुक्रबार बताएको छ । उक्त भेट वर्षौँमा दुई सहयोगीबिच सबैभन्दा उच्चस्तरीय भेटमध्येको एक थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा पेइचिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबिचको कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्वसवका अवसरमा आणविक हतियार सम्पन्न प्रजग कोरियाको सद्भावना भ्रमणमा हुनुहुन्छ ।
चीन प्रजग कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । प्रजग कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उहाँको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले सामना गरिरहेको छ ।
झाओले बिहीबार प्रजग कोरियाली राजधानी पुगेर आफ्ना समकक्षी चोए र्योङसँग भेट गर्नुभएको केसिएनएले बताएको छ । भेटमा उहाँले ‘राजनीति, अर्थतन्त्र र संस्कृतिलगायत सबै क्षेत्रमा आदानप्रदान र सहयोग’ बारे छलफल गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “छलफलका क्रममा आपसी चिन्ताका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाबारे विचार आदानप्रदान भयो ।”
राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुनुहुन्छ । राष्ट्रपति सीले अन्तिमपटक प्रजग कोरियाली नेता किमसँग सन् २०१९ मा कोभिड–१९ महामारी सुरु हुनुअघि भेट गर्नुभएको थियो । यसबाट झाओ र चोएबिच प्योङयाङको बैठक धेरै वर्षमा सबैभन्दा उच्चस्तरीय बैठकमध्ये एक भएको छ ।
झाओको भ्रमणमा किमको पेइचिङको आगामी सम्भावित राजकीय भ्रमणको योजना समावेश हुनसक्ने दक्षिण कोरियाली स्थानीय सञ्चारमाध्यममा बताइएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै अधिकारीले ‘कोरियाली प्रायःद्वीपको अवस्था’ बारे चर्चा गर्नुभयो र झाओले ‘विधायक आदानप्रदान तथा सहयोगलाई गति दिने’ पेइचिङको इच्छा व्यक्त गर्नुभयो ।
“चोए र झाओले ‘चीन र उत्तर कोरियाबिच कूटनीतिक भिसाको आपसी छुट, क्लासिक कार्यहरूको आपसी अनुवाद र प्रकाशन, भन्सार र क्वारेन्टाइन, रेडियो र टेलिभिज तथा हुलाक एक्सप्रेस डेलिभरी’ का क्षेत्रमा ‘सान्दर्भिक सहयोग दस्तावेजहरूमा’ हस्ताक्षर गर्नुभयो,” सिन्ह्वाले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *