भर्खरै :

समाजवादी र पुँजीवादी व्यवहार !

समाजवादी र पुँजीवादी व्यवहार !

उत्पादनका साधन र सेवाहरूको सामाजिकीकरण (राष्ट्रियकरण) पछि समाज वर्गविहीन अवस्थातिर उन्मुख हुन्छ । समाजका सबै सदस्यहरूको निम्ति उच्च शिक्षाको ढोकासमेत खुल्ने हुँदा कामदारवर्गका छोराछोरीहरूले उच्च शिक्षा हासिल गर्नेछन् र आ–आफ्नो दक्षताअनुसार आ–आफ्ना विषयका क्षेत्रमा सक्रिय हुनेछन् ।
तर, पुँजीपतिवर्गबाट आएका नयाँ पुस्तामा आत्मकेन्द्रित भावना, व्यक्तिगत महत्वाकाङ्क्षा र समुदायमा व्यक्तिगत प्रधानताको आतुरता हुन्छ । त्यस्तै गरिब परिवार र समुदायबाट आएका कति नयाँ पुस्तामा हीनताबोधका साथै सामूहिकता र व्यक्तिगत महत्वाकाङ्क्षा कम देखिनेछन् । पछि परेको समुदायकै परिवारबाट आएका भए पनि आर्थिकरूपले अगाडि बढेको निम्न पुँजीपतिवर्गबाट आएका नयाँ पुस्तासँग पुँजीवादी भावना वा आत्मकेन्द्रित भावना कायम रहने गर्छ ।
यसकारण, समतावादी विचारका पक्षपाती संस्था वा राजनैतिक दलहरूका नयाँ पुस्तामा समेत पुरानो समाजको पातलो प्रभाव परेको हुन्छ । यसकारण समतावादी वा साम्यवादी दृष्टिकोण बोकेका संस्था वा राजनैतिक दलहरू तलका नियमलाई जोड दिने गर्छन्–
१) आफूलाई आफ्नो संस्था वा पार्टीप्रति समर्पित गर्नेछन् ।
२) छलफलमा पूर्ण प्रजातन्त्र हुन्छ, पुरानो धनी र गरिब वा सामाजिकरूपले तल्लो र ठुलो जातको भेद गर्दैनन् ।
३) हरेक दिन छलफलबाट वा फरक मतको बेला बहुमतको निर्णयलाई मान्नेछन् ।
४) समान तहमा अति समानतावादले कहिलेकाहीँ निर्णय अघि बढ्न नसक्ने हुन्छ र माथिल्लो तहको निर्णय पर्खनुपर्ने हुन्छ ।
५) तल्लो तह माथिल्लो तहको निर्देशन र मातहतमा चल्ने हुन्छ ।
तर, समाजवादी समाजमा समेत नयाँ पुस्तामा पुँजीवादी संस्कारले काम गर्ने हुँदा बैठक नै नगरी महत्वपूर्ण निर्णय पनि आफैले गर्ने र समितिका अन्य सदस्यहरूलाई चानचुन सम्झने प्रवृत्ति कायम हुन्छ । त्यस प्रवृत्तिलाई आलोचनाबाट समाधान गर्न सकिएन भने आर्थिकरूपले अगाडि बढेको नयाँ पुस्ताले आफ्ना समान सदस्यहरूलाई तुच्छ सम्झने, हेप्ने र आफ्नै निर्णय लागु गर्ने जिद्दी गर्नेछ । समयमा आलोचना भएन भने त्यो प्रवृत्तिले बल प्राप्त गर्दै जानेछ, संस्था र सङ्गठनमा विभाजन ल्याउनेछ । त्यस महत्वाकाङ्क्षी सदस्यलाई वर्ग शत्रुले छिट्टै आफ्नो हातमा लिनेछ । यसरी सुरुको सानो कमजोरीले व्यक्ति र संस्थाको ठुलो अहित गर्नेछ ।
समाजवादी समाजमा पनि अनेक वर्गीय, जातीय, प्रादेशिक, धार्मिक र अन्य साम्प्रदायिक भावनामाथि प्रतिगामी पक्षहरूले खेल्ने अवसर पाउनेछन् ।
त्यसको परिणाम आफू कुनै विषयमा ठूलो भन्ने भावना वा ‘म धनी हुँ’ र ‘म शारीरिकरूपले बलियो छु’, ‘मैले धेरै शैक्षिक प्रमाणपत्र हासिल गरेको छु’ भनी समूह र समाजलाई थर्काउने वा भित्रभित्र भाँजो हाल्ने कामबाट समाज, संस्था र राजनैतिक दलका समितिहरूलाई पनि संवेदनशील बनाउनैपर्छ । अन्यथा गलत प्रवृत्ति धारकले आत्मआलोचना नगरेमा वा आफ्ना गल्तीको अनुभव नगरेमा समूहबाट अलग गर्नु आवश्यक हुन्छ अन्यथा एउटा कुहेको माछाले पोखरी नै गन्हाउने परिणाम समाजले व्यहोर्नुपर्नेछ ।
समाज र बहुमतलाई अस्वीकार गर्ने वर्गलाई ध्यान दिई र निश्चित जातजाति र भाषाभाषीलाई प्राथमिकता दिँदा अनेक समाजवादी समाजहरूमा पनि जातीय भेदभाव देखिएको थियो ।
त्यसैको परिणामस्वरूप देशमै पुँजीवादको पुनःस्थापना गर्न वर्ग शत्रु र साम्राज्यवादी सक्षम भएका थिए ।
– ‘श्रमिक’ साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *