भर्खरै :

वागीश्वरी शिक्षालयको स्मारिका पढ्दा

वागीश्वरी शिक्षालयको स्मारिका पढ्दा

आजभोलि शैक्षिक क्षेत्रमा एउटा राम्रो कामको थालनी भएको देखिन्छ । आधारभूत विद्यालय, मध्यामिक विद्यालय, कलेज र विश्वविद्यालयहरूले हरेक वर्षजसो नियमित आफ्नो शिक्षालयको वार्षिकोत्सवको अवसरमा, नयाँ वर्ष, दसैँ वा अन्य अवसरमा संस्थाको स्मारिका, बुलेटिन र साहित्यिक वा अन्य पुस्तकहरू प्रकाशन गर्न थालेका छन् । यो प्रगतिको सूचक हो । यो प्रकाशन भनेका ती शैक्षिक संस्थाको शैक्षिक, भौतिक, सामाजिक विकासको दस्तावेज हो भने देशको शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक, वैज्ञानिकलगायतका इतिहास र विकासका ऐना हुन् । ती प्रकाशकहरूले संस्था, देश र विश्वको शैक्षिकलगायतका हिजो र आजको अवस्था के–कस्तो थियो र छ, भोलि कुन रूपमा कसरी अगाडि बढ्नेछ भन्ने कुरा जनतालाई सूचित गराउने काम गर्दछ । यस्ता प्रकाशनहरूमा देशको शैक्षिक, राजनीतिकलगायतको क्षेत्रको विकासमा जीवन दिएका व्यक्तित्वका महत्वपूर्ण अनुभवहरू रचना लेख हुने हुँदा यसले देशको शैक्षिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, वैज्ञानिक, प्राविधिक, कूटनीतिक, सामाजिक आदि क्षेत्रको उन्नयनको लागि बत्तीको काम गरिएको हुन्छ । त्यसैले ती प्रकाशनहरू सम्बन्धित शैक्षिकलगायतका अन्य संस्था र देशकै सम्पत्ति हुन् ।
हालै वागीश्वरी माविको ६५ औँ, कलेजको १६ औँ र कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘वागीश्वरी स्मारिका’ पढ्ने अवसर पाएँ । त्यसमा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको कलेज र विद्यालयको प्रगतिको प्रतिवेदन रहेका छन् ।
स्मारिकाको सम्पादकीय पृष्ठ संस्थाको मूल पाठ वा दृष्टिकोण हो । यसमा शिक्षालयको प्रगतिको तथ्याङ्क, आरोह र अवरोहको इतिहास, देशबाट शैक्षिक संस्थान र विद्यार्थीहरू पलायन भइरहेको, शिक्षासँगको सरोकार राख्ने सबैजसो क्षेत्रमा कमी कमजोरी रहेको र त्यसको मुख्य कारण उनीहरूमा देशभक्ति भावनाको खडेरी भएको दृष्टान्त पाइन्छ । शिक्षक, प्रध्यापकहरूले विद्यार्थीहरूलाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने ज्ञान सीपयुक्त देशभक्त विद्यार्थी तयार गर्न चिन्तन गर्नुपर्ने र त्यसो भएन भने प्यालेस्टिनको उदाहरण दिँदै हाम्रो देश पनि एकदिन ध्वस्त पारिदिन सक्नेतर्फ खबरदारी गरिएको छ । त्यस्तो देशलाई सङ्कट परेको बेला प्रतिकार गर्न सक्ने भावी पुस्ता तयार गर्न सक्यौँ भने हामीले पछुताउनु नपर्ने र त्यसबेला हामी शिक्षक, प्राध्यापकहरूको देश र नेपाली माटोप्रति कर्तव्य पूरा भएको सन्देश सम्पादकीय पृष्ठमा पस्केको पाइन्छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँको ‘भएका कलेजहरू खाली गराई विद्यार्थी विदेश पठाउने सरकारले १५० विश्वविद्यालयका उपकुलपतिको भेला अपसकुन होइन र ?’ भन्ने शीर्षकको लेख छ । लेखमा नेपाल विकासशील तथा तेस्रो विश्वको एक सदस्य देश हो† हाम्रा माध्यमिक विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूलाई एक आदर्श समाजको निर्माण गर्ने र राज्यव्यवस्थामा आमूल परिवर्तन गर्न एक बारूदखानाको रूपमा रूपान्तरण गरिएको भए आज हाम्रो देशले आफ्नो भूगोल र संस्कृति सुहाउँदो एउटा बाटो अँगालिसकेको हुने विचार पाइन्छ ।
सोही लेखमा आर्थिक परजीवी भएर समाजसँग लगानीको भिक्षा माग्दै हिँड्ने सरकारी दृष्टिकोण पूर्णरूपले खोटपूर्ण छ† आक्रामक र लुटाहासँग लगानीको भिक्षा माग्नु दोस्रो विश्वयुद्धसम्मको इतिहासलाई उल्टो हेर्नु हो । सुगौली सन्धिपछि अर्धउपनिवेश बनाउने बेलायती उपनिवेशवाद, संरा अमेरिका र नाटोको सदस्य देशहरूसँग भिक्षा माग्नु ‘शत्रु र मित्र’ नमिल्नु हो† आक्रामक र लुटाहासँग लगानीको भिख माग्नु देशको लागि खतरा हुने विचार पोखिएको छ ।
लेखमा आफ्नो भएको आँखा चिम्लेर अरूको वैशाखी टेकी हिँड्न चाहने ‘अभागी’ व्यक्ति जस्तै देशलाई परनिर्भरतातर्फ शासकहरूले धकेल्ने काम गरेको, भएका कलेज र विश्वविद्यालयलाई खाली गर्ने नीति निर्माण नेपालीहरूले गरेको कसरी भन्ने ? तर यस्तो देशमा १५० विश्वविद्यालयका उपकूलपतिहरूको भेला आफैँ गम्भीर अपसकुन साबित हुनेछ भन्ने आशङ्का र खबरदारी गरिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको ‘कला र संस्कृतिलाई नयाँ प्रविधिसँग जोड्ने आजको हाम्रो चुनौती’ शीर्षकको लेखमा संसार आज डिजिटल युगमा प्रवेश गरिसकेको, सूचना प्रविधिको विकासले संसारको कुनै पनि ठाउँ अब टाढा नरहेको र विज्ञान र प्रविधिको विकासमा अगाडि बढेको देश आर्थिक र सांस्कृतिकरूपमा पनि अगाडि बढेको छ भन्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति हुँदा एक अमेरिकी विदेश मन्त्रीले ५० करोड जनता भोकमरीमा रहेको बताएको देश चीनले कृषिमा आधुनिक प्रविधि तथा सूचना प्रविधिको विकास गरी ग्रामीण अर्थतन्त्र उकासेर छोटो समयावधिमै ७७ करोड जनतालाई गरिबीबाट मुक्त गरेको, आज एक अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्या भएको देश चीन विश्वको दोस्रो अर्थ भएको देशको रूपमा विकास गर्न सफल भएको प्रसङ्ग पनि लेखमा उल्लेख छ । लेखमा भनिएको छ– भक्तपुर नगर देशकै साना नगरमध्ये एक हो । कला र संस्कृतिको दृष्टिले अत्यन्त सम्पन्न यस नगरलाई हाम्रा अग्रजहरूले ज्ञान विज्ञानको केन्द्र बनाउने घोषणा गरेअनुसार त्यसलाई पूरा गर्न शिशु स्याहार केन्द्रदेखि दुई ओटा इन्जिनियरिङ कलेजसहित आधा दर्जनभन्दा बढी शैक्षिक संस्थाहरू सञ्चालन गरेर देशभरका विद्यार्थीहरूलाई उच्च शिक्षा दिइरहेका छन् । नगरवासी विद्यार्थीहरूलाई इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा, अर्थशास्त्र, दर्शनशास्त्रलगायतका धेरै विषयहरूमा स्नातकदेखि विद्यावारिधिसम्म छात्रवृत्ति दिइरहेको छ । हाम्रो नयाँ पुस्ताले विस्तारै प्रविधिमैत्री बनेर हाम्रो कला–संस्कृतिको महत्वबारे विश्वका जनतालाई प्रचार प्रसार गर्दै छन् भन्ने भनाइ छ ।
‘समसामयिक शैक्षिक–राजनीतिक छलफल’ शीर्षक दिइएको मन्तव्यमा वाग्मती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईंले सामुदायिक शिक्षाको क्षेत्रमा एउटा नमुनाको रूपमा अगाडि बढिरहेको वागीश्वरी शिक्षालयलाई अझ जिउँदो जाग्दो बनाएर अगाडि लानु आवश्यक र चुनौती छ भन्ने सुझाव र सल्लाह दिएका छन् । उनले वागीश्वरी र अरू केही आशलाग्दो विद्यालयलाई जोगाउन सकेनौँ भने बाँकी रहेको थोरै आशा पनि गुमाउने छौँ भनेर चिन्ता व्यक्त गरेका छन् । उपलब्धि र सफलताको निम्ति हामी आफँै इमानदारीपूर्वक मेहेनत गरेर अगाडि बढ्नुको विकल्प छैन । सरकारसँग आशा गर्नु भनेको आकाशतिर आँखा चिम्लेर आँ गरेर बस्नु जस्तो हुनेछ भन्ने विचार पाइन्छ ।
आज देश र विश्वमा अति योग्य र सक्षम शिक्षकको अभाव खट्केको चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, “आज हामीकहाँ मात्र होइन संसारमै शिक्षकको अभाव छ । हाम्रो देशमा पनि त्यसको अभाव खट्केकै छ । तपार्इँले कक्षाकोठामा भविष्यमा के बन्ने बाबु ? भन्दा म भोलि शिक्षक बनेर देशको सेवा गर्छु ।” भन्ने विद्यार्थी पाउन हिजोआज कठिन छ । हाम्रो समाजमा देशभक्त शिक्षक बनेर समाजको, देशको सेवा गर्छु भन्ने भावनामा अत्यन्त ¥हास आइरहेको छ ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक एवं यस विद्यालयका पूर्वविद्यार्थी रवीन्द्र ज्याख्वले ‘महाकाली सन्धिको कालो रूप’ शीर्षकको लेखमा २०५३ सालमा देशघाती महाकाली सन्धिको विरोधमा राजधानीका सडकहरूमा आन्दोलन गर्दै गर्दाको देशभक्ति भावना सोही सालको माघ महिनामा महाकाली नदीमै पुगेर शारदा बाँध र टनकपुर बाँधको आफ्नै आँखाले प्रत्यक्ष हेर्दा आँसुसँगै आक्रोशको ज्वाला बनेर पोखिएको, भारतीय विस्तारवादको छलकपट र तत्कालीन नेपाल सरकारमा रहेका दल तथा प्रमुख प्रतिपक्षको जनविरोधी एवं देश बेच्ने ठुलो अपराधविरुद्ध कञ्चटको रौँ नै ठाडो भएको अनुभव पस्केका छन् । उनले भारतीय सीमा सुरक्षाकर्मीबाट त्यहाँ दुःखद, अपमानित, व्यवहार व्यहोरेको तीतो अनुभव सुनाउँदै भने, ‘आफ्नै नेपाली भूमि अतिक्रमण गरेर भारतको फाइदाको लागि बनाएको टनकपुर बाँध पार गर्न, भारतीय पक्षले हामीलाई अनुमति दिएन । नेपाली बगरमै बसेर पृष्ठभूमिमा महाकालीको पानी र टनकपुर बाँध आउने गरी साथीहरूले फोटो खिच्न खोज्दा क्यामेराको रिलसमेत खोसेको तीतो यथार्थ घाउ बोकेर फर्केका थियौँ ।’
‘सरकारको भर्ना अभियानबारे’ लेखमा कलेज स्थापना समिति सदस्य एवं शिक्षक अनुराधा थापामगरले केही वर्ष अगाडि विद्यालय भर्ना अभियानको नाममा खोलामा नियमित सङ्लो पानी बगेजस्तै नभई एकपटक बाढीको फोहोर पानी पसेजस्तो हेलिकप्टर, मोटर सुरक्षाको लावालस्करसहित, मुगुको रारा पुगेका पूर्वप्रम एवं एमाले अध्यक्ष केपी ओलीले भर्नाको लागि उनी सम्बन्धित विद्यालय जान नभ्याएर बालकका अभिभावकलाई नै उनको हजुरमा झिकाइएको तीतो यथार्थ पस्केका छन् । त्यसैसँग काठमाडाँैमा रहेका उनका उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सभामुखलगायत प्रदेशका मुख्य मन्त्रीहरूले समेत आ–आफ्नो गृह जिल्ला पुगी भर्ना अभियान वर्षको एकपटक श्राद्ध गरेजस्तै तामझामका साथ सम्पन्न गरेको पनि लेखमा उल्लेख छ । यस्तो अभियानले देशको बहुसङ्ख्यक काम गरी खाने जनताका छोराछोरीलाई छुन सक्नेछैन ।
लेखमा भनिएको छ, अहिले पनि माना–छाना–नानाको समस्यामा कष्टसाध्य जीवन बिताउन विवश गरिब नेपालीलाई यो अभियानले सरकारको आकाशको फल वा गाईजात्रे पाराबाहेक केही लाग्ने छैन । विद्यालय जान तुइनमा झुन्डिन बाध्य कतिपय विद्यार्थीहरू भेरी, कर्णालीको गहिराइमा जीवन अर्पण गर्न विवश छन् । बिहान झिसमिसेमै उठेर ढिँडो, मकै र नुन खुर्सानी पोको पारी बाटोमा खाँदै विद्यालयमा पुग्नुपर्ने कतिपय बालबालिकाको कारूणिक अवस्थालाई आजसम्मका सरकारहरूले बेवास्ता गरेका छैनन् । कतिपय विद्यार्थी आसिनपासिन हुँदै विद्यालय पुग्छन् तर न बस्ने गतिलो ठाउँ हुन्छ, न त पढाउने दक्ष, योग्य र सक्षम शिक्षक नै छ । भौतिक संरचना र शैक्षिक सामग्री त एकादेशको कथा नै भयो । घरमा माना नभएका स्कूलमा छाना नभएका कलिला बालबालिकाको भविष्य हाम्रो शिक्षाले पनि सुधार्न सक्थ्यो तर सरकार चलाउने दलहरूलाई यसको कुनै चिन्ता छैन ।
लेखक समाले वैचारिक लडाइँबारे बुझ्न सघाउने पुस्तक ‘त्जभ लभध ष्लतभििभअतगब’िले पाठकलाई वैचारिक खुराक दिने विश्वास गरेका छन् । विश्वमा विचारको सङ्घर्ष, लडाइँ, इतिहासदेखि चालु छ । यसले नै मानव समाजको विकास क्रमशः सम्भव भएको हो । कुनै पनि समाज व्यवस्था या राजनीतिक व्यवस्थाको आधारशिला वर्गीय विचारको सङ्घर्ष नै हो भन्दा अतिशयोक्ति नहोला । मानव समाजको विकासको वैचारिक प्रवाहमाथि पूर्णविराम सम्भव छैन । बुद्धिजीवीहरू पनि वर्गमा विभाजित हुन्छन् । बुद्धिजीवीहरू कुन वर्गका निम्ति कस्तो समाज अवस्थाको निम्ति चिन्ता गर्छन्, काम गर्छन् भन्ने प्रश्न महत्वपूर्ण हुने कुरा उल्लेख गरिएको छ ।
लेखमा भनिएको छ, माक्र्सवादको जन्म आफैँमा समाज विकासको उत्कृष्ट उपलब्धि मानिन्छ । त्यही विचारले युरोपमा मजदुर आन्दोलनहरू उठायो । फ्रान्स, बेलायतलगायतका देशहरूमा विद्यमान शोषणको समाज व्यवस्थालाई टुक्राउने नयाँ मार्गप्रशस्त ग¥यो । पेरिस कम्युन हुँदै रुसी अक्टोबर समाजवादी क्रान्तिको बाटो नै बन्यो माक्र्सवाद । सोभियत सङ्घको निर्माण मानव सभ्यताकै उत्कृष्ट अवधि भएको मूल्याङ्कन इतिहासले गरिसकेको छ । विचारविचको लडाइँबाट नयाँ, विवेक, समाज, व्यवस्थाको जन्म हुने विचार लेखक समाले उक्त लेखमा पस्केका छन् ।
पत्रकार एवं विद्यालयका पूर्वशिक्षक विष्णुगोपाल कुसीले ‘पत्रकारिता र राजनीति’ विषयको लेखमा वास्तविक पत्रकार र पत्रकारको भेदबारे उल्लेख गर्दै कतिपय पत्रकारहरूले पत्रकारको काम पत्रकारिता मात्र गर्नु हो तर राजनीति गर्नु होइन भन्छन् । यो आफँै राजनीति हो भनिएको उल्लेख छ । लेखमा भनिएको छ, सबै कनिष्ठ वा वरिष्ठ पत्रकारहरू नै प्रत्यक्ष वा अप्रत्यक्षरूपमा चाल पाइकन वा नपाइकन आफ्नो हरेक बोली, लेखन, विचार र गतिविधिमा राजनीति भिजिरहेका हुन्छन् । एउटा साधारण खेताला, मजदुर, शिक्षक, कवि, कलाकार, गायक–गायिका, नायक–नायिका, उद्योगी, व्यापारी, कर्मचारी, सेना, प्रहरी या अन्य व्यक्ति पनि राजनीतिबाट प्रभावित भइरहेका हुन्छन् । उनीहरूले थाहा हुनु र नहुनु, चाल पाउनु र नपाउनु मात्र फरक हुन्छ । तर, मानिस राजनीतिक प्राणी भएको हुँदा राजनीतिबाट कोही अछुट वा अलग रहन सक्दैन । हरेक दिन राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद, प्रशासनिक क्षेत्रमा भिजिरहने पत्रकार कसरी राजनीतिबाट अलग हुन्छन् भनी प्रश्न गर्दै राजनीति शोषक र शोषित वर्गमा विभाजित भएजस्तै पत्रकार र पत्रकारिता पनि त्यसरी नै वर्गमा विभाजित हुन्छ भन्ने कुरा उल्लेख गरेका छन् ।
लेखक जोरालले ‘पुलिसभन्दा चोर बाठा !’ शीर्षकको लेखमा पुलिसभन्दा चोरहरू बाठा भएका थुप्रै घटनाहरू सुनेको उल्लेख गर्दै भ्रष्टाचार गर्नेहरूले रकम वा जिन्सी सोझै नलिई बिचौलियामार्फत लिनु, लागूपदार्थ, सुन आदि तस्करी गर्नेहरूले प्रहरीको आँखा छल्न विभिन्न उपाय अपनाउनु, चेलीबेटी बेचचबिखन गर्नेहरूले विवादको नाटक मञ्चन गरेर विदेश लानु, म्यानपावर कम्पनीहरूले दोस्रो, तेस्रो मुलुक पु¥याउँदै गन्तव्यमा पठाउनु, कालाबजारियाहरूले पछाडिको ढोकाबाट बेच्नु र खाद्यान्नमा विभिन्न अखाद्यवस्तु मिसावट गर्नु, कमिसनखोरहरूले कमिसन ऋणको रूपमा लिनु आदि पुलिसभन्दा चोर अपराधी बाठो भएका उदाहरणहरू पेस गरेका छन् । त्यस्तै घटना भ्रष्ट कर्मचारी, अनियमित र गैरन्यायिक फैसला गर्ने न्यायाधीश आदिले पनि गर्न थालेका कुरा उल्लेख गरिएको छ । त्यस्ता चोर अपराधी कर्मचारीहरू उजुरी परेपछि कारबाही गर्ने सङ्केत देखिएपछि कारबाहीबाट बच्न राजीनामा दिन्छन्† त्यसरी राजीनामा दिदा चोर, भ्रष्टाचारी, अपराधी, भए तापनि जनताको आँखामा इमानदारी, नैतिकवान देखिने, पेन्सन र सुविधा पनि पाइरहने तर बर्खास्त गरिएमा त्यो सबै स्वाहा हुने र सात पुस्तालाई पुग्ने गरी कालो सम्पति आर्जन गरेपछि त्यो नाथे जागिरको के माया ? भनी विभिन्न तरिकाले अपराध गर्ने भ्रष्ट कर्मचारीका कर्तुतहरूलाई उदाङ्ग्याइका प्रसङ्ग लेखमा पाइन्छ ।
पूर्वशिक्षक ज्ञानसागर प्रजापतिले ‘विद्यालय शिक्षा विधेयकमाथि नेक्राशिसङ्घको संशोधन प्रस्ताव एक चर्चा’ शीर्षकको लेखमा नेपाल मजदुर किसान पार्टीको पेसागत सङ्गठन नेपाल क्रान्तिकारी सङ्घले नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालमार्फत विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि गहन एवं व्यापक छलफल गरी ७८ बुँदा संशोधन एवं सुझाव दिएको उल्लेख गरेका छन् । लेखमा उत्पादन श्रमसँग जोडिएको शिक्षा प्रदान गर्न व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने, राष्ट्रिय बजेटको २४ प्रतिशत रकम शिक्षाको लागि बजेट छुट्याउनुपनर्,े देशको शैक्षिक स्तरलाई उठाउन विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मेधावी विद्यार्थीहरूलाई शिक्षण पेसामा नियुक्त गरी अन्य पेसामा भन्दा २५ प्रतिशत थप पारिश्रमिक र सुविधाको व्यवस्था गर्नुपर्ने, सङ्घीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाले फालिसकेको पञ्चायतको अवशेष जिल्ला शिक्षा कार्यालयलाई पुनः ब्युँताउन खोजिएकोमा त्यसलाई सङ्घीयता अनुकूल स्थानीय सरकारअन्तर्गत पालिका शिक्षा शाखा राख्नुपर्ने आदि सुझावहरू दिइएको पाइन्छ ।
‘शिक्षकले राजनीति गर्नुहुन्न भन्नु प्रतिगामी कदम’ विषयको सिम्रिकको लेखमा शिक्षकको देशभक्ति राजनीतिबाट, आन्दोलनबाट पञ्चायत ढल्यो, प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र आयो, देशभक्त शिक्षकको पढाइ र राजनीतिले नै देश बचाउने देशभक्त इन्जिनियर, डाक्टर, विद्यार्थी, कर्मचारी, युवा, मजदुर, किसान, सेना, प्रहरी आदि बन्ने हुन् । के देशभक्त शिक्षक, प्राध्यापकका पढाइ र राजनीतिले नै हिजो भीमसेन थापा, भक्तिथापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता वीर योद्धाहरू, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज जोशीजस्ता वीर सहिदहरू जन्मेका, जन्माइएका होइन र ? भनी भन्ने प्रश्न आजसम्मका शासकहरू र शिक्षामन्त्रीहरूलाई गरेका छन् ।
मानिस उमेरले होइन, विचारले युवा हुने विचार राख्ने प्रा.डा. सिद्धिवीर कर्माचार्यले अवकाशपछिको जीवन रचनात्मक काम गरेर मज्जाको जीवन बिताइरहेको, विद्यालय व्यवस्थापन समिति सदस्य एवं पूर्वशिक्षक चन्द्रबहादुर उलकको ‘बेकारी युवा’ शीर्षकको मार्मिक कविता, ई.रामबिन्दु श्रेष्ठको सोभियत समाजवादी शिक्षा प्रणाली, उपप्राध्यापक विकल प्रजापतिको लोकयात्रा कथा, शिक्षक इन्द्रबहादुर श्रेष्ठको असल विद्यार्थीका गुणहरू, शिक्षकहरू राजन फेलुको अङ्ग्रेजीमा शैक्षिक स्तर उठाउने पाँच उपायहरू, भानुभक्त हुमागाईंको अङ्ग्रेजीमै भविष्यको नेतृत्व निर्माणमा उत्तरदायी अभिभावकत्वको सार, विश्वराम प्रजापतिको भक्तपुर नगरका ढुङ्गे धाराहरूबारे एक अध्ययन, पीयूषराज गोसाईंको अङ्ग्रेजीमै गणितले कसरी सिकाउँछ ? धनेशराज राजोपाध्याय, मङ्गलेश्वर ध्वँजुको वागीश्वरीका शैक्षिक गतिविधिहरू, रत्नशोभा फैजू, अमर प्रजापति, कुलप्रसाद न्यौपाने, अर्चना छुकाँ, श्रीकृष्ण पुरी, रेणु प्रजापति आदिका लेख रचनाले स्मारिकाको बजन बढाएको पाइन्छ ।
यसरी वागीश्वरी शैक्षिक समूह/शिक्षालयले स्मारिकामार्फत देशको राजनीतिक, प्रशासनिक लगायतका अवस्थालाई उकास्न बत्तीको काम गरेको छ । आगामी वर्षहरूमा पनि बोझिलो स्मारिका पुस्तककालागि निरन्तर प्रकाशन गर्ने आशा गर्दछु ।

One response to “वागीश्वरी शिक्षालयको स्मारिका पढ्दा”

  1. Ram Bindu Shrestha says:

    Thank you so much Bagishwari School and Majdoor Dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *