भर्खरै :

पाठयोजना निर्माण कार्यशाला सम्पन्न

पाठयोजना निर्माण कार्यशाला सम्पन्न

भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरका सबै सामुदायिक विद्यालयका इसिडिदेखि मावि तहसम्मका करिब ४५० शिक्षहरूलाई पाठ योजना निर्माण सम्बन्धि दुइदिने कार्यशाला सोमबार सम्पन्न भयो । कार्यशालाको पहिलो दिन सैद्धान्तिक पक्ष तथा अवधारणात्मक पक्षका बारेमा छलफल गरियो भने दोस्रो तथा अन्तिम दिनमा आ आफ्नो विषयका कुनै पाठको पाठ योजना निर्माण तथा त्यसमा सबै सहभागी शिक्षकहरूको विचार र सुझावलाई समावेश गरी परिमार्जन समेत गरियो ।
कार्यशालामा स्रोतव्यक्ति तथा प्राविधिक सहयोगको लागि त्रिवि शिक्षा विभागका अनुसन्धान टोलीका विज्ञहरूले सहजीकरण गर्नुभएको थियो । पाठ योजनाको लागि एबीसी अथवा Anticipation, Building and Consolidation लाई अपनाइएको थियो । प्राविधिक टोलीको नेतृत्व पाठ्यक्रम तथा मूल्याङ्कनका प्रा.डा. गणेशबहादुर सिंले गर्नुभएको थियो भने अन्य टोलीका विज्ञहरूमा त्रिवि केन्द्रीय शिक्षा विभागका पाठ्यक्रम तथा मूल्याङ्कनका सहप्राध्यापक डा. ध्रुवप्रसाद निउरे, विज्ञान तथा वातावरण एवं अनुसन्धान विभागका सहप्राध्यापक मोहन पौडेल र महेन्द्र रत्न क्याम्पसका पाठ्यक्रम तथा मूल्याङ्कनका सहायक प्राध्यापक आशिक सिं ठकुरी हुनुहुन्थ्यो । सहभागी ४५० शिक्षकमध्ये इसिडिदेखि कक्षा ३ सम्म अध्यापन गर्ने शिक्षकहरू दुई समूह, निमावि एक समूह तथा मावि एक समूह गरी जम्मा चार समूहमा विभाजन गरी कार्यशाला सञ्चालन गरिएको थियो । दुई समूह ख्वप ई. कलेज तथा दुई समूह वागीश्वरी स्कूल/कलेजमा सञ्चालन गरिएको थियो ।
भक्तपुर नगरपालिकाको विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिले विद्यालय अनुगमनको क्रममा पाठ योजना तयार गरी कक्षा कोठामा अध्यापन गराउने कार्यमा एकरूपता नदेखिएको तथा नियमियता समेत नदेखिएको पाइएपछि भनपा शिक्षा समितिको संयोजक समेत रहेका प्रमुख सुनिल प्रजापतिले आउँदो शैक्षिक सत्र २०८१ देखि अनिवार्य रूपमा पाठ योजना सबै तहमा लागु गराउनुपर्ने निर्देशनअनुसार सो कार्यशालाको आयोजना गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *