भर्खरै :

परम्पराको छत्र छायाँमा अन्धविश्वासको अस्तित्व !

परम्पराको छत्र छायाँमा अन्धविश्वासको अस्तित्व !

बा वा आमा बितेको वर्ष पशुपति र अन्य शिवालयहरूमा बालाचतुर्दशीको दिन सतबीज छर्ने चलन छ । त्यस दिन यति धेरै धान चामललगायतका अन्नहरू छरिन्छ कि थरी थरीका अन्नले पुरै बाटो छोपिन्छ । हजारौँ हजार मुरी अन्न खेर गएको हुन्छ । यही कुरालाई इङ्गित गर्दै यस्तो चलन फेर्नुपर्ने कुरा एकजना साथीसँग भलाकुसारी गरेको थिएँ । मेरो यो सोचप्रति असहमति जनाउँदै साथीले भने, “परम्परादेखि चलिआएको चलन छोड्नु हुँदैन, यस्तो परम्परा हाम्रो पहिचान हो ।” मैले उनको कुरामा असहमति जनाउँदै भने, यदि जस्तोसुकै नराम्रो चलन पनि परम्पराको नाममा मनाउने हो भने परम्परामा नभएको चलन चलाउनु हुन्छ त ? भन्दै आजकल पशुपति क्षेत्रमा साँझतिर गरिने आरती दिने चलनलाई उल्लेख गरेँ । भारतका विभिन्न मन्दिरतिर आरती गर्ने चलनलाई नेपालमा भित्र्याइएको हो । केही वर्ष अगाडिसम्म यो चलन थिएन । यो कुराको विरोध गर्दा साथीको भनाइ थियो, राम्रो कामको नक्कल गर्नु ठिक्कै हो । हो, यदि राम्रो कामको चलन चलाउनु ठीक हो भने नराम्रो चलनलाई बन्द गर्ने आँट पनि हामीमा हुनुपर्छ । परम्पराको नाममा मानवजातिको अहित हुने चलनलाई जीवित राखिराख्नु अन्धविश्वास हो । अन्धविश्वासको पछि लाग्नु पाखण्ड हो ।
अन्धविश्वास गहिरो निद्राजस्तै हो । मानिस जति गहिरो निद्रामा हुन्छ, उति नै उसलाई ब्युँझाउने व्यक्तिसँग रिस उठ्छ । त्यसरी नै जो जति धेरै अन्धविश्वासमा फसेको हुन्छ, सचेत गराउँदा त्यति नै धेरै रिसाउँदै कुतर्क गरिन्छ । निदाएको मानिससँग धमिलो सपना हुन्छ, चेतना हँुदैन । चेतनशीलले तर्क गर्ने र मूर्खले कुतर्क गर्ने भएर चेतनशीलसँग संवाद र मूर्खसँग विवाद हुने गर्दछ । विज्ञानले यति धेरै प्रगति गरिसक्दा त धर्म, सम्प्रदाय, जात, लिङ्ग र रङका आधारमा यसरी करोडौँ मानिसलाई अन्धविश्वासको दलदलमा फसाउन सक्ने पाखण्डीहरूले न्यून चेतनायुक्त हिजोका दिनमा के गरे होलान् ? वास्तवमा विज्ञानसम्मत् विचार र चेतना मानवताको आधार हुनुपर्छ ।
विज्ञानले पुष्टि गर्दा गर्दै पनि मानिसहरूले अन्धविश्वासलाई पछ्याइ नै रहेका छन् । त्यसका थुप्रै कारणहरू छन् । अन्धविश्वासहरू प्रायः संस्कृतिमा गहिरोरूपमा गाँसिएका हुन्छन् र पुस्तान्तरण हुँदै सर्दै गइरहेको हुन्छ । जब प्रमाणहरू विरोधाभास हुन्छन्, मानिसहरूले तिनीहरूलाई परम्पराको सम्मानमा सांस्कृतिक सम्पदासँग जोडिएको महसुस गर्न थाल्छन् । त्यसैगरी अन्धविश्वासले अनिश्चित परिस्थितिहरूमा सान्त्वना प्रदान गर्छ । चिन्ता, डर, भाग्य तथा सुरक्षाको चाहनाजस्ता मनोवैज्ञानिक कारकहरूले अन्धविश्वासमाथि विश्वास गरिन्छ । सामान्य मान्छे त परको कुरा, अन्धविश्वास साँचो हुन सम्भव छैन भन्ने कुरा बुझ्ने बौद्धिक व्यक्तित्वहरूसमेत भावनात्मक कारकहरूको कारणले अन्धविश्वासलाई पालन गर्न बाध्य महसुस गर्छन् । खासमा मानिसहरू सामाजिक दबाब वा आफ्नो समुदायको विश्वासअनुरूप अन्धविश्वास पालना गर्छन् । यदि अन्धविश्वास पालन गरेनन् भने तिनीहरू समाजबाट बहिष्कृत हुने डर हुन्छ । समग्रमा, वैज्ञानिक प्रमाणहरू भए पनि अन्धविश्वासको निरन्तरताले मानव विश्वास प्रणालीहरूमा सांस्कृतिक, भावनात्मक र मनोवैज्ञानिक कारकहरूको जटिल अन्तरक्रियालाई प्रतिबिम्बित गर्दछ ।
हालैमात्र विज्ञानले सुँगुरको मृगौला मान्छेमा प्रत्यारोपण गरेको समाचार प्रकाशित भयो । अब हिन्दू र मुस्लिम मृगौला पीडितहरूलाई अप्ठेरो हुने भयो ! एकथरीले छुन त के हेर्न पनि नहुने र अर्काथरीले छोइहाले पनि नुहाउने, जनै फेर्ने र स्वस्ति शान्ति गर्नुपर्ने । अब त्यही सुँगुरको मृगौला र मुटु आफ्नै शरीरभित्र बोकेर कसरी हिँड्नु ? परम्परालाई मानेर विज्ञानको सफलतालाई अस्वीकार गर्ने ?
अन्धविश्वास र धर्म अलौकिक कुरामा विश्वास गर्ने भएर दुवै परिपूरकजस्तै मानिन्छ । त्यही भएर कोही कोही त अन्धविश्वासको विरोधलाई पनि धर्मविरोधीको रूपमा लिने गर्दछ । अन्धविश्वास प्रायः डर वा लोककथामा आधारित हुन्छ । अर्कोतर्फ धार्मिक विश्वास, अनुष्ठान एक फराकिलो प्रणाली हो जुन देवता वा आत्माहरूजस्ता अमुर्त शक्ति वरिपरि केन्द्रित हुन्छ । यहाँनिर बालेन्दु महाराज नामको एक भारतीयको भनाइ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । उनका अनुसार, “म भारतको बृन्दावनमा बसी करिब ३ वर्ष गुप्तवाससहित ३० वर्षको हिन्दु शास्त्र अध्ययन पछि यो निष्कर्षमा पुगेँ कि – धर्म भनेको गरिब र अज्ञानीलाई ठग्ने साधन रहेछ । मैले ईश्वर भक्ति गरेर शास्त्रहरू पढ्दै जाँदा अन्तिममा देखेको सत्य यही हो । ईश्वर छैन र हुँदैन रहेछ । यो सत्य बुझ्न मलाई ३० बर्ष लाग्यो । जब मैले त्यो असाध्य गुह्य कुरो बुझेँ तब म पूर्णतया नास्तिक भएँ । ठगी खान चाहने, निजी सम्मान, सुख सयल चाहने योगीहरूलाई पनि यो सबै कुरा थाहा छ तर स्वार्थका कारण बाहिर भन्दैनन्, नास्तिक हुने त टाढाको कुरा हो ।”
संस्कृतिको एक भागको रूपमा अघिल्ला पुस्ताहरूबाट हस्तान्तरित हुँदा मानिसहरूले परम्पराको नाममा अन्धविश्वासलाई पछ्याउँछन् । उनीहरूले यसलाई आफ्ना पुर्खाहरूलाई सम्मान गर्ने र आफ्नो सम्पदासँग जोडिएको महसुस गर्ने तरिकाको रूपमा हेर्छन् । यो मानिसहरूको सांस्कृतिक पहिचानलाई जीवित राख्ने र समुदायसँग जोडिएको महसुस गर्ने तरिका हो ।
कतिपय अवस्थामा अन्धविश्वासलाई सांस्कृतिक परम्पराको रूपमा पछ्याउँदा समुदाय र आफन्तको भावनालाई बढावा दिने भएर समाजको लागि सकारात्मक हुन्छ र सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा समुदायलाई पहिचानको भावना प्रदान गर्दछ भन्ने सोच भएका मानिसहरू पनि छन् । तर, समग्रमा अन्धविश्वासले भेदभाव, हिंसा वा प्रगतिमा बाधा पु¥याएर समाजलाई हानि पु¥याउने हानिकारक आचरण निम्त्याउने हुँदा यसलाई सही मान्न कदापि सकिँदैन । त्यसले समाजमा नकारात्मक परिणाम ल्याउने हुँदा यस्ता स–साना सरकारात्मक पक्षलाई देखाएर अन्धविश्वासरूपी परम्परालाई बढावा दिनु हुँदैन ।
वस्तुगत बहस निरन्तर जारी हुनुपर्छ । हाम्रो दैनिक जीवनमा विज्ञानको योगदान प्रविधिको निरन्तर विकास, संसारबारे हाम्रो बुझाइमा सुधार र हाम्रो जीवनको गुणस्तर सुधारलाई कसैले नकार्न सक्दैनन् । तर, विज्ञानको सत्य अन्तिम सत्य हँुदैन । इलेक्ट्रोन सबैभन्दा सानो भनेर विज्ञानले पढायो । अहिले त्यो होइन भनेर विज्ञानले नै भनिरहेको छ । यसरी विज्ञान गतिशील हुन्छ, यसले सधैँ आफूलाई सुधार्ने प्रयास गरी नै रहन्छ तर धर्मले आफूलाई परिवर्तन गर्न चाहँदैन । आफै सत्य हो भनेर जड भएर बस्छ । यही नै धर्म र विज्ञानमा फरक छ ।
संस्कृतिको एक भागको रूपमा अघिल्ला पुस्ताहरूबाट हस्तान्तरित हुँदा मानिसहरूले परम्पराको नाममा अन्धविश्वासलाई पछ्याउँछन् । उनीहरूले यसलाई आफ्ना पुर्खाहरूलाई सम्मान गर्ने र आफ्नो सम्पदासँग जोडिएको महसुस गर्ने तरिकाको रूपमा हेर्छन् । यो मानिसहरूको सांस्कृतिक पहिचानलाई जीवित राख्ने र समुदायसँग जोडिएको महसुस गर्ने तरिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *