भर्खरै :

संरा अमेरिकामा प्रजातन्त्रको अवस्था –२

संरा अमेरिकामा प्रजातन्त्रको अवस्था –२

(सन् २०२१ को डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा ‘प्रजातन्त्र सम्मेलन’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा पूर्वाग्रहवस रूस र चीनजस्ता देशहरू आमन्त्रित थिएनन् । बरु, संरा अमेरिकाले नै स्वीकार्दै आएको चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरिएको थियो । यसबाट संरा अमेरिका प्रजातन्त्रको नाममा संसारलाई अझ विभाजित र विशेषतः चीनको आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्न उद्यत रहेको देखिएको छ । यसै पृष्ठभूमिमा चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको छ । यसमा प्रजातन्त्र, प्रजातन्त्रको नाममा संरा अमेरिकाले गरिरहेका गतिविधि र संरा अमेरिकाकै प्रजातन्त्रको क्षयीकरणबारे विश्लेषण गरिएको छ । प्रस्तुत छ, सो आलेखको नेपाली अनुवाद – प्रकाशक)

ग) ‘विशेषाधिकारको शासन’ (भिटोक्रेसी) मा पुगेको नियन्त्रण र सन्तुलनको सिद्धान्त
अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘राजनीतिक व्यवस्था र राजनीतिक क्षयीकरण’ (पोलिटिकल अडर एन्ड पोलिटिकल डिके) मा संरा अमेरिकामा राजनीतिक पक्षघात अन्तरनिहित रहेको औँल्याएका छन् । संरा अमेरिकी राजनीतिक प्रणालीमा धेरै नियन्त्रण र सन्तुलन रहेको एवम् त्यसले सामूहिक कामको लागत निकै बढेको, कतिपय अवस्थामा त असम्भवसमेत हुने गरेको छ । फुकुयामाले त्यस्तो व्यवस्थालाई ‘विशेषाधिकारको शासन’ (भिटोक्रेसी) बताएका छन् । सन् १९८० दशकयता संरा अमेरिकामा ‘भिटोक्रेसी’ गतिरोधको सूत्र बन्दै आएको छ ।
संरा अमेरिकी प्रजातान्त्रिक प्रक्रिया विभाजित र दिक्कलाग्दो गरी लम्बेतान छ । त्यसमा धेरै विशेषाधिकार प्रयोग गर्ने ठाउँ छन् । व्यक्तिगत विशेषाधिकार प्रयोगकर्ताहरूले सिङ्गो प्रणालीलाई नै अघि बढ्नबाट रोक्न सक्छन् । शक्ति दुरूपयोग रोक्ने मनसायले बनाइएको ‘नियन्त्रण र सन्तुलन’ को कार्यशैली अमेरिकी राजनीतिक अभ्यासमा भाँचकुँच गरिएको छ । राजनीतिक मुद्दामा दुई शासक दलहरूका मत विभाजित हुँदा राजनीतिक ध्रुवीकरण अझ बढिरहेको छ र उनीहरूबिच सहमतिको क्षेत्र उल्लेखनीयरूपमा खुम्चिएको छ । फलतः ‘सबभन्दा उदार रिपब्लिकन अहिले सबभन्दा अनुदार डेमोक्रेटिक’ बनेको छ । वैरभाव र आपसमा निषेध सामान्य बन्दै गएको छ । ‘भिटोक्रेसी’ लाई अमेरिकी राजनीतिक संस्कृतिको रूपमा परिभाषित गरिँदै छ । ‘मैले सकिनँ भने तिमीलाई पनि गर्न दिन्नँ’ भन्ने आक्रामक मनस्थिति हाबी बनेको छ ।
वासिङ्टन डीसीका राजनीतिक नेताहरू आफ्ना दलगत स्वार्थ सुरक्षा गर्ने दौडमा लागेका छन् । उनीहरूलाई राष्ट्रिय विकासबारे कुनै चासो र चिन्ता छैन । कुनैसँग भएको विशेषाधिकारद्वारा उसलाई एउटै शिविरमा बसेको अर्को नेताभन्दा बलियो देखाउने गरिन्छ । त्यसले त्यो नेतालाई बढी र चाँडै समर्थन प्राप्त गर्न सक्ने बनाउँछ । परिणामतः दुई वटा शासक दल विशेषाधिकारको लतमा नराम्ररी फसेका छन् । खराब कुरा त के हो भने त्यही कारण सरकारको प्रभावकारिता नराम्ररी कमजोर बनेको हुन्छ, कानुन र न्याय दबाइन्छ । विकास र प्रगतिको गति रोकिन्छ । सामाजिक विभाजन फराकिलो बन्दै जान्छ । आजको संरा अमेरिकामा मानिसहरू आफूलाई एक जना अमेरिकीको रूपमा भन्दा रिपब्लिकन र डेमोक्रेटको रूपमा चिनाउन मन पराउँछन् । पहिचान र सम्प्रदायको राजनीतिका नकारात्मक प्रभाव अमेरिकी समाजको अन्य क्षेत्रमा पनि पोखिएको छ । जसले ‘विशेषाधिकार शासन’ लाई थप बढावा दिएको छ ।
पिउ अनुसन्धान केन्द्रले सन् २०२१ को अक्टोबर महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मत सर्वेक्षण गरिएका संसारका अन्य देशहरूको तुलनामा संरा अमेरिका राजनीतिकरूपमा विभाजित छ । संरा अमेरिकासहित जर्मनी र दक्षिण कोरियामा मत सर्वेक्षण गरिएको थियो । दस जनामध्ये नौ जना संरा अमेरिकी उत्तरदाता विभिन्न राजनीतिक दललाई समर्थन गर्ने मानिसहरूबिच द्वन्द्व भएको विश्वास गर्छन् । त्यस्तै, सर्वेक्षणमा सहभागी झन्डै ६० प्रतिशत अमेरिकीहरू आफ्नो देशका नागरिक अहिले नीतिमा मात्र नभई सामान्य तथ्यहरूमा समेत मतभेद राख्ने गरेको विश्वास गर्छन् ।
क्युङ ही विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक जुङकुन सिओ संरा अमेरिकामा राजनीतिक ध्रुवीकरण सघन बन्दै गएको बताउँछन् । त्यसकारण, चुनावमार्फत अमेरिकी प्रजातन्त्रमा सुधार गर्ने प्रक्रियाले काम नगर्ने उनको भनाइ छ । लामा – लामा भाषणमा अल्झिएको (फिलिबस्टर) अमेरिकी संसद््ले अमेरिकी समाजमा परिवर्तनको लागि प्रतिनिधिमूलक अङ्गको भूमिका खेल्न सकेको छैन ।
घ) कमजोरी नै कमजोरी भएको चुनावी कानुनले चुनावको निष्पक्षता र न्यायको उपहास गरेको छ 
संरा अमेरिकामा राष्ट्रपति चुनावको लागि लामो समयदेखि चुनावी कलेज प्रणाली लागु हुँदै आएको छ । त्यो प्रणालीअन्तर्गत राष्ट्रपति र उपराष्ट्रपति जनताको प्रत्यक्ष मतदानबाट निर्वाचित हुने गर्दैनन् । अमेरिकी चुनावी कलेजमा ५३८ वटा इलेक्टर्स छन् । चुनावमा २७० वा त्योभन्दा बढी इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवारले चुनाव जित्ने गर्छ ।
यो चुनावी प्रणालीभित्रका कमजोरी छर्लङ्ग छ । प्रथमतः राष्ट्रपतिमा निर्वाचित भएका उम्मेदवार देशभरका जनताको मतबाट निर्वाचित नहुन पनि सक्छन् । त्यसमा व्यापक प्रतिनिधित्वको कमी हुन्छ । दोस्रो, हरेक राज्यसँग आफ्नो चुनावी नियम आफैले बनाउन पाउने अधिकार पाउँदा त्यसले अन्योल र अराजकता निम्त्याउन सक्छ । तेस्रो, एकै दलले सबै पद जित्न सक्ने प्रणालीले राज्यहरूबिच असमानता बढाउनुका साथै राजनीतिक दलहरूबिच पनि असमानता फराकिलो हुन्छ । त्यसले गर्दा जनताको धेरै मत खेर जान्छ र जनतालाई मतदानमा भाग लिन निरुत्साहित गर्छ । ‘गाढा निलो’ (पूरै डेमोक्रेटिकले जितेका) र ‘गाढा रातो’ (पूरै रिपलिब्कनले जितेका) राज्यहरूमा मतदातालाई प्रायः बेवास्ता गरिन्छ । कुनै पनि दल जित्ने निश्चित नभएका राज्यहरूका मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउन अत्यधिक जोड दिने गरिन्छ ।
संरा अमेरिकाको इतिहासमा त्यस्ता पाँच राष्ट्रपतीय निर्वाचन छन् जसमा देशभरका जनताको मतबाट विजयी भएका उम्मेदवार राष्ट्रपति पदमा पराजित भएका छन् । यसको सबभन्दा पछिल्लो उदाहरण सन् २०१६ को निर्वाचन हो । त्यो निर्वाचनमा रिपब्लिकन दलका डोनाल्ड ट्रम्पले ६ करोड २९ लाख ८० हजार मत प्राप्त गरेका थिए । त्यो भनेको कुल मतसङ्ख्याको ४५.९ प्रतिशत हो । उनका प्रतिस्पर्धी हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५० हजार मत पाएकी थिइन् । त्यो भनेको कुल मतसङ्ख्याको ४८ प्रतिशत थियो । ट्रम्पले मतमा हारे पनि ३०४ इलेक्ट्रोल मत पाए भने क्लिन्टनले २२७ इलेक्ट्रोल मतमात्र प्राप्त गरिन् । फलतः ट्रम्प राष्ट्रपति पदमा विजयी घोषित भए ।
संरा अमेरिकी चुनावी प्रणालीको अर्को कमजोरी भनेको आफ्नो अनुकुलतामा निर्वाचन क्षेत्रको सीमा नै हेरफेर गर्नु (जेरीम्यान्डर) हो । सन् १८१२ मा म्यासाचुसेटका गभर्नर इलब्रिज जेरीले आफ्नो दलको हितमा एउटा विधेयकमा हस्ताक्षर गरे । सो कानुनअनुसार म्यासाचुसेटमा अमिल्दो खालको निर्वाचन क्षेत्र बनाइयो । एउटा निर्वाचन क्षेत्रको आकार ठ्याक्कै छेपारोको आकारसँग मिल्थ्यो । त्यही अभ्यासलाई समयान्तरमा जेरीम्यान्डर भन्न थालियो । जसको अर्थ कुनै निश्चित राजनीतिक दलका उम्मेदवारलाई सकेसम्म बढी स्थानमा जिताउने र त्यहाँ बलियो आधार स्थापना गर्ने हेतुले अमिल्दो किसिमले निर्वाचन क्षेत्रको विभाजन गर्नु हो ।
संरा अमेरिकामा हरेक दस वर्षमा जनगणना हुने गर्छ । जनगणनापछि मानिसहरूको बसाइसराइलाई ध्यानमा राखी हरेक निर्वाचन क्षेत्रमा झन्डै समान जनसङ्ख्या हुनुपर्ने सिद्धान्तको आधारमा निर्वाचन क्षेत्रको सीमा पुनः हेरफेर गर्ने गरिन्छ । संरा अमेरिकी संविधानअनुसार हरेक राज्यको संसद्सँग निर्वाचन क्षेत्र हेरफेर गर्ने अधिकार रहन्छ । त्यसकारण, राज्यको संसद्मा बहुमत पाएको राजनीतिक दलले निर्वाचनमा आफ्नो अनुकुल हुने गरी निर्वाचन क्षेत्रको पुनःविभाजन गर्नसक्छ । यसरी निर्वाचन क्षेत्र पुनःविभाजन गर्दा प्रमुखतः दुई वटा रणनीति प्रयोग हुने गरेको छ । पहिलो, ‘थुपार्ने’ अर्थात् विपक्षी दलका मतदातालाई निश्चित क्षेत्रमा केन्द्रित गर्ने । त्यसो गर्दा ती निश्चित निर्वाचन क्षेत्रमा मात्र विपक्षीले जित्नेछ । अर्को रणनीति भनेको ‘फुटाउनु’ हो । अर्थात्, विपक्षीहरू बलियो भएको निर्वाचन क्षेत्रलाई फुटाइन्छ र त्यसमा वरपरका निर्वाचन क्षेत्रका भागहरू सामेल गरिन्छ । जसले गर्दा विपक्षी राजनीतिक दलको मत छिन्नभिन्न हुन पुग्छ ।
सन् २०२१ को सेप्टेम्बर २७ मा डेमोक्रेटहरूले जितेको ओरेगन राज्यलाई पहिलोपटक पूर्णतः पुनः विभाजन गरियो । डेमोक्रेटिक दलको बलियो पकड भएका निर्वाचन क्षेत्रहरू दुईबाट चार पु¥याइयो । अनि, मतपरिणाम तलमाथि हुनसक्ने निर्वाचन क्षेत्रको सङ्ख्या दुईबाट एकमा झारियो । त्यसको अर्थ ओरेगन राज्यको संसदीय निर्वाचन क्षेत्रको ८३ प्रतिशत क्षेत्र डेमोक्रेटिक दलको हातमा दिनु हो । जब कि ती क्षेत्रमा कुल मतदाताको ५७ प्रतिशतमात्र छन् । अर्कोतिर, रिपब्लिकनहरूले जित्दै आएको टेक्सास राज्यमा सन् २०२१ को २५ अक्टोबरमा गरिएको निर्वाचन क्षेत्रको पुनः विभाजनले रिपब्लिकन दलको बाहुल्य भएका निर्वाचन क्षेत्रको सङ्ख्या २२ बाट २४ पु¥याइयो र मत परिणाम अलमल भएका निर्वाचन क्षेत्रको सङ्ख्या ६ वटाबाट एउटामा झारियो । टेक्सासको संसद्मा अहिले जम्मा ५२.१ प्रतिशत मतदाताहरूको प्रतिनिधित्व गर्दै ६५ प्रतिशत स्थानमा रिपब्लिकनहरू छन् ।
सन् २०२१ को अगस्टमा युगोभ नामको संस्थाले गरेको मत सर्वेक्षणअनुसार संरा अमेरिकाका जम्मा १६ प्रतिशत वयस्क नागरिकले मात्र आ–आफ्ना राज्यमा संसदीय निर्वाचन क्षेत्र सही तरिकाबाट नक्साङ्कन गरिएको बताउँछन् । ४४ प्रतिशतले नक्साङ्कन अन्यायपूर्ण भएको मत राखे भने अरू ४० प्रतिशत वयस्कले नक्साङ्कन सही भए नभएको आफूलाई थाहा नभएको मत राखे । संरा अमेरिकी राजनीतिमा ध्रुवीकरण उत्कर्षमा पुग्दै गर्दा दुवै रिपब्लिकन र डेमोक्रेटिक दलहरूले आ–आफ्ना स्वार्थ फत्ते गर्न खोजिरहेका छन् र आफ्नो पहुँचले भ्याएसम्म आफ्नो अनुकूलतामा निर्वाचन क्षेत्रको सीमामा हेरफेर गरिरहेका छन् ।
डेमोक्रेटिक पार्टीको स्वतः स्फूर्त प्रतिनिधि बन्ने सुपरडेलिगेट प्रणाली पनि न्यायपूर्ण निर्वाचनको निम्ति तगारो हो । स्वतः स्फूर्त प्रतिनिधिअन्तर्गत डेमोक्रेटिक दलका प्रमुख नेताहरू, डेमोक्रेटिक दलका केन्द्रीय सदस्य, संसद्मा डेमोक्रेटिक दलका सांसद र डेमोक्रेटिक दलका गभर्नरहरू हुन् । उनीहरू स्वतः स्फूर्त पार्टी महाधिवेशनमा प्रतिनिधि हुन्छन् । ‘सुपर डेलिगेट्स’ हरूले कोही पनि उम्मेदवारलाई समर्थन गर्नसक्छन् अथवा पार्टी नेतृत्वले चाहेअनुसारको उम्मेदवारलाई चुन्न पाउँछन् । तर, उनीहरूले सर्वसाधारण जनताका भावनाको पर्वाह गर्नुपर्ने कुनै आवश्यकता रहँदैन ।
दिवङ्गत राजनीतिक विश्लेषक मार्क प्लोटकिनले ‘द हिल’ मा ‘डेमोक्रेटिक दलमा सुपरडेलिगेट्स प्रणाली अप्रजातान्त्रिक छ’ भनी लेखेका छन् । उनले ‘यो कुलीन अभ्यास हटाउने प्रक्रिया तत्काल थाल्नुपर्ने’ मत राखेका छन् ।
स्रोत : अमेरिकाको प्रजातन्त्र !
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *