भर्खरै :

सहरकेन्द्रित आन्दोलनले मात्र गरिबको हित नहुने हुँदा गाउँ गाउँबाट जनता उठाउनु जरुरी

भक्तपुर १५, वैशाख । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको तेस्रो नगर सम्मेलन प्रचारार्थ शनिबार कटुन्जेमा ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकको अन्तरक्रिया सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “रुसमा प्लेग रोगको महामारी फैलिएपछि जमिन जोत्ने मानिसको कमी भयो । तत्पश्चात् रुसमा भूदास प्रथाको सुरुआत भएको हो । रुसका सामन्तहरूले जमिनमा पसिना बगाउने भूदासहरूको चरम शोषण गर्थे । यही शोषणको अन्त्य गर्न सन् १८२५ डिसेम्बर २६ मा २० देखि ३० वर्षसम्मका रुसी सेनाका छोराछोरीहरूले जारविरुद्ध विद्रोह गरेका थिए ।”
“युरोपमा भएको सामन्तवादविरोधी आन्दोलन र विकासबाट प्रभावित डिसेम्बरवादी विद्रोहीहरूले रुसमा पनि प्रजातन्त्रको निम्ति सङ्घर्ष गरे । तर, व्यापक जनतालाई सचेत र सङ्गठित नगरेसम्म क्रान्ति र विद्रोह सफल नहुने शिक्षा डिसेम्बर विद्रोहबाट सिक्न सकिन्छ ।” सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरू सिंहदरबार कब्जा गर्न सहरकेन्द्रित आन्दोलन गर्छन् । सहरमा मात्रै आन्दोलन गरेर गरिबको हित हुँदैन । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयक, एमसीसी, इजरायली फासीवादले प्यालेस्टिनी जनतामाथि गरेको अत्याचारका विरोधमा नेपालको ४० भन्दा बढी जिल्लामा जुलुस तथा सभा गरेर जनतालाई सचेत पार्ने काम ग¥यो ।”
सांसद सुवालले अमेरिकाको हतियार बोकेर इजरायली सेनाले प्यालेस्टिनको अस्पतालमा आक्रमण गरी युद्धको नियम उल्लङ्घन गरेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले मात्र प्यालेस्टिनी जनताको पक्षमा नेपाली जनतालाई उठाउन प्रदर्शन तथा सभाहरू गरेको बताउनुभयो ।
उद्योगको विकासले दुईवटा वर्ग जन्मिने उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “माक्र्स एङ्गेल्सले मजदुरवर्गलाई उठाएर पुँजीवादी व्यवस्थाको अन्त्य गर्न सिकाएको हुँदा युवाहरूले शोषितपीडित जनतामाझ गएर सङ्गठन गरी क्रान्तिको निम्ति लड्न तयार पार्नु जरुरी रहेको बताउनुभयो ।
सांसद सुवालले नेपाली काङ्ग्रेसले कोसी, गण्डक भारतलाई बेचेर देशघात गरेको उल्लेख गर्दै आफूलाई कम्युनिस्ट दाबी गर्ने एमालेले नेकासँग मिलेर महाकाली नदी भारतलाई दिएको बताउनुभयो ।
उहाँले शासक दलका नेताहरूसँग देश विकासको खाका नभएको कारण काठमाडौँ उपत्यकामा धुलो, धुवाँ, जाम बढेर गाउँहरू खाली भएको उल्लेख गर्दै देशको सन्तुलित विकास गर्न सबै जिल्लामा काठमाडौँको सेवा सुविधा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले नेमकिपा स्थापना भएको ५० वर्ष पुग्दा पनि समाजवाद नआएको भनी युवाहरू निराश हुन नहुने उल्लेख गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तयार भएपछि समाजवाद अवश्यम्भावी रहेको उल्लेख गर्नुभयो ।
उहाँले युवाहरू टोलटोलमा गएर समाजवादी विचारको प्रचार गर्दै जनतालाई सचेत पार्ने काममा लाग्न पनि आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले युरोपको धर्मसुधार आन्दोलनपछिको औद्योगिक विकासले समाजवादी विचारको पनि उदय भएको उल्लेख गर्दै युवाहरू समाजवादी क्रान्तिको निम्ति तयार रहनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक तेस्रो नगर सम्मेलन तयारी समितिका संयोजक रोशन मचामसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुरेश बखुन्छेँ, लक्ष्मीप्रसाद सुवाल, विष्णुप्रसाद सुवालले पुस्तकबारे आ–आफ्नो विचार प्रस्तुत गर्नुभयो । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको तेस्रो नगर सम्मेलन यही वैशाख २२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *