नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
विद्वत् महानुभावहरूका महत्वपूर्ण विचार सुन्ने अवसर पाएँ । त्यसको निम्ति हार्दिक आभार प्रकट गर्दछु ।
आजको यस कार्यक्रममा बसिरहँदा आजभन्दा केही वर्षअगाडि पेइचिङस्थित चाइना एकेडेमी अफ सोसियल साइन्सेजमा भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनको याद आयो । कार्ल माक्र्सको २ सत्वार्षिकीलाई लिएर अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यसरी नै वरिष्ठ प्राध्यापकहरू र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको ठुलो सङ्ख्यामा उत्साहजनक जमघट थियो । आज हामी एउटा फरक विषयमाथि छलफल गर्दै छौँ । कार्ल माक्र्सको जन्मदिवस मनाउने सिलसिला भने जारी नै छ । ५ मई उहाँको जन्मदिवस हो । यो वर्ष २०६ औँ जन्मदिवस मनाइँदै छ । एकजना महान् दार्शनिकको रूपमा, एकजना महान् अर्थशास्त्रीको रूपमा, एकजना महान् साम्यवादी तथा समाजवादी चिन्तकको रूपमा कार्ल माक्र्सलाई विश्वभरि स्मरण गरिँदै छ । माक्र्सको विचारले यो युगको सेवा गर्दै छ र संसारलाई उज्यालो बनाउँदै छ ।
आजको यस भेटघाटले त्यस्ता खालका बौद्धिक गतिविधिहरू तथा विद्वत् छलफलहरू यहाँ पनि हुँदै छ भन्ने सन्देश दिनेछ । यस प्रकृतिका गतिविधिहरूले निरन्तरता पाएको खण्डमा हाम्रो समाजले पनि एउटा नयाँपन अनुभव गर्न पाउनेछ । आज हामी एउटा फरक विषयमा चर्चा गर्दै छौँ । यसरी नै समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूमा हामीले छलफल, चिन्तन गर्दै जान सकेको खण्डमा हाम्रो समाजको भविष्य उज्यालो हुनेछ । हाम्रो समाजले परिवर्तनको अनुभूति गर्न पाउनेछ । केही कक्षाकोठामा मात्र हाम्रा विद्वत् समुदाय सीमित नभइकन समाजसँग जोडेर, समाजसँग साइनो गाँसेर तथा धरातलसम्म पुगी अन्तरक्रिया, छलफल गर्न पाएको खण्डमा समाजले पनि एउटा बेग्लै ज्ञान, गुण र उत्साहको अनुभव गर्न पाउनेछ ।
आजको यो भेटघाटमा भक्तपुरकै विषयमा पनि हामीले थप जान्ने बुझ्ने अवसर पायौँ । यो अत्यन्त सकारात्मक विषय हो । इतिहास र पुरातत्वको विषयमा, सम्पदा र संस्कृति संरक्षणको विषयमा यहाँ छलफल हुँदै छ । यसमा अर्को पाटो पनि छ । चिन्ताको विषय पनि छ । हाम्रो इतिहास जोगाउनलाई, हाम्रो संस्कृति जोगाउनलाई, हाम्रो भाषा जोगाउनलाई, हाम्रो सम्पदा जोगाउन हामी आफैँले केही गर्ने कि, आफ्नै खुट्टामा टेकेर गर्ने कि, विदेशीको मुख ताक्ने ? हाम्रो एउटा रोग छ । हाम्रो इतिहास विदेशीले जोगाइदिनुपर्ने र हाम्रा सम्पदा हामीसँग केही नहुँदा उठाइएका यी धरोहरहरू, सम्पदाहरू आज हामी आफैँले उठाउन नसक्ने र आफ्नै बलमा, आफ्नै तागतमा, आफ्नै सीपमा विश्वास नगर्ने र विदेशीलाई भने विश्वास गर्ने र विदेशीले लगानी गरिदिनुपर्ने र त्यो मानसिकताबाट हामी मुक्त हुनैपर्छ ।
भक्तपुरमा एउटा फरक अभ्यास भइरहेको छ । भक्तपुर घुम्न आउनेहरूले एउटा फरक अनुभूति पाइरहेका छन् । यहाँका सम्पदाहरू यहीँको माटोबाट बनाइएका छन् । यहाँको सीपबाट बनाइएका छन् । यहाँकै पैसा, जनताको श्रम, जनताकै दान—दक्षिणाबाट बन्दै छन् भन्ने फरक अनूभुति संसारका संवेदनशीलहरूले गर्दै छन् । यो खुसीको विषय हो ।
केही समय अगाडि एक भारतीय विद्वान् भक्तपुर आउनुभएको थियो । उहाँले त्यही प्रसङ्ग उल्लेख गर्नुुभयो । उहाँले भन्नुभयो, “अन्यत्र पनि केही काम भइरहेको हामीले पायौँ । तर, यहाँ फरक शैलीमा भइरहेको पायौँ । जनता र जनप्रतिनिधिहरूमा आशा, उत्साह र सङ्कल्प नै बेग्लै पायौँ । भावना बेग्लै पायौँ । त्यो फरक भावना जुन छ, त्यो आफैँमा पनि नयाँ संस्कृति निर्माणको जग हो । त्यो हामीले यहाँ अनुभव गर्न पायौँ । त्यो हामीले देख्न पायौँ ।”
यहाँको फरक संस्कृति या अभ्यास अनुकरण गर्न सक्छौँ कि सक्दैनौँ ? विद्वत् महानुभावहरूसमक्ष मेरो यो एउटा निवेदन छ । यस विषयमा पनि सोचौँ ! त्यो कोणबाट पनि हामीले विश्लेषण गरौँ ! जसले गर्दै छन् तिनीहरूको विषयमा बोलौँ ! तिनीहरूको विषयमा लेखौँ ! हामी हिजोसम्म परिपूर्ण थियौँ, आत्मनिर्भर थियौँ । त्यो पुस्ता र सिलसिलाबाट अगाडि बढेको हामीसँग गौरवशाली इतिहास छ । तर, आज हामी मागी खाने, अर्काको मुख ताक्ने कुसंस्कृतितर्फ हामी उन्मुख छौँ । हाम्रो सरकार उन्मुख छ । सरकारको त्यो कुसंस्कृतिलाई चिर्ने कि नचिर्ने ? हामीले त्यो अभ्यास हाम्रो विश्वविद्यालयमा गर्ने कि नगर्ने ? एउटा थेसिस तयार गर्न गराउन विदेशीको सहयोग हामी स्वीकार्छौँ या आशा गर्छौँ भने हाम्रो परिचय कसरी दिइरहेका हुन्छौँ ? त्यो पनि अत्यन्त महत्वपूर्ण सवाल हो ।
हामीले हाम्रो कला, संस्कृति, सम्पदा र इतिहासलाई जीवनसँग जोडिरहेका छौँ कि छैनौँ ? त्यो पनि अर्को एउटा महत्वपूर्ण विषय छ । हामीले समाजसँग जोडिरहेका छौँ कि छैनौँ ? समाजलाई अगाडि बढाउने प्रगतिशील सोचले काम गरिरहेका छौँ कि छैनौँ ? भौतिकवादी या व्यावहारिक—वैज्ञानिक ढङ्गमा विश्लेषणको आवश्यकता छ । इतिहासलाई कोरा इतिहासमा मात्र वा कला—संस्कृतिलाई धर्मकर्म वा पुराना प्रसङ्ग, वस्तुहरू वा चिजबिजसँग मात्र जोडेर विश्लेषण ग¥यौँ भने नयाँ पुस्ताले स्वीकार्लान् कि नस्वीकार्लान् ? आधुनिकताले त्यो पचाउला कि नपचाउला ?
जीवनलाई अझ बढी सजाउने, अर्थपूर्ण बनाउने, समाजलाई अझ बढी सुन्दरीकृत बनाउनेतिर लाने, साथसाथै पुरानो चीजलाई पनि नबिर्सने आजको आवश्यकता यही हो । त्यसमा त चिनियाँ संस्कृति नै छ पुरानो युगले नयाँ युगको सेवा गर्ने । हामीले यसलाई व्यवहारमा उतार्न सक्छौँ कि सक्दैनौँ ? त्यो ढङ्गमा हामीले सोच्यौँ भने अझ बढी नयाँ पुस्ताको पनि भावना जित्न सक्थ्यौँ भन्ने लाग्दछ । त्यसमा केही प्रयासहरू भइरहेका छन् । भक्तपुरमा भइरहेका प्रयासबारे हिजोआज व्यापक छलफल चल्दै छ ।
तीन चार वर्षअगाडि हामी चीन भ्रमणमा गएका थियौँ । चीनको सम्पदा र संस्कृति संरक्षणमा अत्यन्त उत्साहका साथ जोड गतिमा फरक अभ्यास भइरहेको शान्तोङ भन्ने एउटा प्रान्त छ । कन्फ्युसियसको जन्मस्थल हो । त्यहाँ कन्फ्युसियसको विशाल चिहानस्थल छ । चु फू भन्ने ठाउँमा हामीले भ्रमण ग¥यौँ । सम्पदाको अत्यन्त व्यवस्थित तथा राम्ररी संरक्षण भएको पायौँ । त्यहाँ हेर्दा हामीले गरिराखेको संरक्षण अझ कता कता नपुग जस्तो, गति अझै धिमा जस्तो, कता–कता असन्तुष्टिजस्तो त्यो अनुभव हामीले गर्नेछौँ । त्यहीँ ठाउँमा चारवटा विश्वसम्पदा क्षेत्रहरू छन् । विश्वसम्पदा सूचीमा सूचिकृत ती ठाउँहरूको विषयमा थप बुझ्न सके श्रेयष्कर होला ¤ ती ठाउँहरूमा पर्यटकहरूको अत्यधिक आवागमन छ । साथै अहिले नयाँ पुस्तालाई इतिहासको बोध गराउने वा शिक्षित बनाउने परम्पराको विकास हुँदै छ । पुरानो युगले नयाँ युगलाई अगाडि घच्घचाउने प्रयास हुँदै छ । त्यसबाट पनि हामीले शिक्षा लिन सक्छौँ । हाम्रो निम्ति त्यो प्रेरणा तथा अध्ययनको विषय हुनसक्छ ।
चीनमा विशाल पर्खाल अर्थात् ग्रेटवालको संरक्षण उत्कृष्ट ढङ्गमा भइरहेको छ । ग्रेटवाल हेर्नको निम्ति कमसेकम दैनिक ८० हजारभन्दा बढी पर्यटकहरू त्यहाँ झुम्मिन्छन् । त्यो त अझ सङ्ख्या नियन्त्रण गरेर मात्र हो । चिनियाँ विशाल पर्खाल विदेशीहरूको प्रमुख आकर्षण हो ।
हामीलाई थियानमेन स्क्वाय्रको फरविडन प्यालेस वा फरविडन सिटीबारे थोरै थाहा छ । त्यहाँ पनि पर्यटकहरूको आवागमन अनियन्त्रित भयो भनेर र संरक्षणमा गा¥हो भयो भनेर होला लाखौँको सङ्ख्यामा आउने पर्यटकहरूको घुइँचोलाई व्यवस्थित गर्न दिनमा ८० हजारलाई मात्र भ्रमण गर्न दिने बन्दोबस्त गरिएको छ । त्यहाँको हरेक ठाउँ, हरेक कुना—कन्दरा, हरेक बुट्टा–बुट्टाको संरक्षण गरिएको छ । त्यो पनि एउटा पे्ररणाको विषय हुन सक्दछ । हाम्रो निम्ति पनि शिक्षाको विषय हुन सक्दछ । त्यसलाई पर्यटनसँग जोडेर, साथै अर्थसँग जोडेर, अगाडि बढ्ने प्रयाससँग जोडेर इतिहास, संस्कृति, सम्पदालाई समाज नयाँ ढङ्गले अगाडि बढाउने एउटा मोटरजडित मेसिनझैँ हामीले बनाउन सकेको खण्डमा अझ राम्रो हुनेछ । हामी प्रयासरत छौँ ।
अघि एकजना प्राध्यापकले भन्नुभएझैँ फर्की नजाउँ भन्ने जस्तो ठाउँलाई फेरि आउँ मात्र होइन, यहीँ बसौँ कि क्या हो र केही दिन केही महिना अथवा वर्षदिन यहीँ बसेर भाषा सिकौँ कि क्या हो र केही दिन बसेर अनुसन्धान गरौँ कि क्या हो र वर्ष दिन, महिना दिन यहाँ बिताएर मानव जीवनको एउटा सार्थकता प्राप्त गरौँ कि क्या हो र भन्ने बनाउन सक्छौँ । त्यसको निम्ति विद्वत समुदायको सहयोग पनि उत्ति नै आवश्यक हुनेछ । यहाँको स्थानीय सरकार, यहाँको नगरपालिकाले अनवरत सङ्घर्ष गर्दै छ । रोम सहर एकै दिन बनेको थिएन भनेजस्तै भक्तपुर आज एकै दिनमा बनेको होइन भन्ने कुरा त पचास साठी वर्षको प्रयास वा ‘एक्लो बृहस्पति’ को सङ्घर्षले गर्दा भएको हो ।
विदेशीको त परको कुरा नै भयो । स्वयम् सिंहदरबारसम्म पनि फर्कन नपरोस् । बरु जनता, मजदुर, किसानतिर हामी फर्कन्छौँ । सानोभन्दा सानो कालिगढतिर फर्कन्छौँ । सानोभन्दा सानो व्यवसायीतिर हामी हात फैलाउँछौँ । तर, त्यो सिंहदरबारतिर हात पैmलाउन नपरोस्, सिंहदरबारको बदनामी, अनियमितताको अंश हामीले पनि व्यहोर्न नपरोस् ! त्यो आत्मस्वाभिमान, आत्मगौरव, आत्मनिर्भरतालाई संस्कृतिकै रूपमा हामी निर्माण गर्दै छौँ र हुर्काउँदै छौँ । भक्तपुरले निर्माण गर्दै छ । आज भक्तपुर एक्लो छैन । सकारात्मक सोच भएका, देशको निम्ति केही गरौँ, समाज अगाडि बढाऔँ भन्ने चिन्तन र सङ्कल्प भएकाहरूको साझा प्रयासबाट हामी अगाडि बढ्दै छौँ । भक्तपुरलाई मात्र होइन नेपाललाई चिनाउन खोज्दै छौँ ।
यी सारा मानवनिर्मित धरोहरहरू मानव सभ्यताकै सम्पत्ति हुन्; सिङ्गो देश र विश्वकै सम्पत्ति हुन् । केवल भक्तपुरको सम्पत्ति जोगाउन भक्तपुर नगरपालिका लागिरहेको छैन । देशको सम्पदा, देशको सम्पत्ति, विश्व मानव सभ्यताको सम्पत्तिलाई जोगाउने र पुस्तौँपुस्ता सदियौँसम्म हस्तान्तरण गर्दै जाने अठोटका साथ लाग्दै छ । त्यो अभियान, त्यो सिलसिलामा हामी सबैले हातेमालो गरौँ ! त्यति गर्न सकेको खण्डमा युगले नै हामी सबैलाई स्याबासी दिनेछ ।
(गत वैशाख २५ गते त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागसँगको सहकार्यमा भक्तपुर नगरपालिकाद्वारा आयोजित संस्कृति, सम्पदा र पर्यटनबारे अन्तरक्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचारको सारसङ्क्षेप)
Leave a Reply