भर्खरै :

इमानदारीपूर्वक बिरामीको सेवा गर्दा नर्सहरूले आफ्नो पेशाप्रति गर्व गर्न सक्ने

इमानदारीपूर्वक बिरामीको सेवा गर्दा नर्सहरूले आफ्नो पेशाप्रति गर्व गर्न सक्ने

भक्तपुर, ३० वैशाख (रासस) । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ पेशा सम्मानित पेशा भएको उल्लेख गर्दै इमानदारीपूर्वक बिरामीको सेवा गर्दा आफ्नो पेशाप्रति गर्व गर्न सकिने बताउनुभयो ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा सम्पन्न भेलामा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्थामा स्वास्थ्य उपचार सेवालाई व्यवसाय बनाइँदा गरिब जनता उपचार सेवाबाट वञ्चित भइरहेको बताउनुभयो ।
उहाँले ख्वप अस्पताल जनताको अस्पतालको रूपमा सहज उपचार सेवामा समर्पित रहेको स्पष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “समाजवादी देश क्युवाको स्वास्थ्य उपचार सेवा संसारकै उत्कृष्ट छ । सन् २०१५ मा ३७ हजार क्युवाली डाक्टरहरू विश्वका ७७ वटा देशहरूमा विपत्ति र महामारीमा परेका जनताको उपचार सेवामा लागेका थिए ।”
नगर प्रमुख प्रजापतिले महामारी जस्तो सङ्कटको बेला निजी अस्पतालहरू बिरामीको उपचार गर्न पछि हटेको र सरकारी अस्पतालहरू नै बिरामीको उपचार केन्द्र बनेको चर्चा गर्दै भक्तपुर नगरपालिकाले कम शुल्कमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले ख्वप मेडिकल कलेज र ख्वप विश्वविद्यालय स्थापना गर्न खोजेको तर सरकारले विश्वविद्यालयको विधेयक पारित नगरेको बताउनुभयो ।
उहाँले नर्सिङ दिवसको शुभकामना दिँदै उच्च मनोबल लिएर विरामीको सेवामा समर्पित रहन निर्देशन दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले डा. नर्मन बेथुन, डा. कोटनिस र फ्लोरेन्स नाइटिङ्गेलजस्ता चिकित्साकर्मीहरूले विदेशी भूमिमा लडिरहेका न्यायप्रेमी जनताको उपचार सेवामा खटेको इतिहास उल्लेख गर्दै न्यायको पक्षमा सङ्घर्षरत जनताको उपचार सेवामा लाग्ने अन्तर्राष्ट्रियवादी भावनाबाट प्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।
ख्वप अस्पतालको निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले गरिब बिरामीको उपचार सेवा गर्दै उनीहरूबाट पाइने आशिषले आत्मगौरव महशुस हुने बताउनुभयो ।
त्यस्तै इन्टरनल मेडिसिनका विशेषज्ञ डा. अमर प्रजापतिले नयाँ पुस्तामाझ नर्सिङ पेशाको आकर्षण बढ्नु सकारात्मक भएको चर्चा गर्दै पुँजीवादी देशहरूमा नर्सहरूलाई काम अनुसारको पारिश्रमिक नदिएका उदाहरणहरू सुनाउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका प्रमुख ईश्वरी डंगोलले नर्सहरू अस्पतालमा मात्र सीमित नभई समाजमा घुलमिल भई अशक्त, वृद्ध, अपाङ्ग र असहायहरूको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल अन्तरङ्ग विभागका नर्स रविना कवां र जिन्सी प्रमुख विनोद दनेखूले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको इतिहास र सान्दर्भिकतबारे बोल्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालमा कार्यरत नर्सहरूलाई व्याच वितरण गरी सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *