राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
(वर्तमान सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले निरन्तर विवादित अभिव्यक्तिहरू दिँदै आएका छन् । विशेष गरी उनले ‘अब नेपालको भारतविरोधी राष्ट्रवादको नीतिको अन्त्य भएको’ घोषणा गरे । उनले के आधारमा नेपालको भारतविरोधी नीतिको कुरा उठाएका हुन् ? मन्त्री वाग्लेले आफूसँग जानकारी नै नभएको कुरा बोल्दै भारतको चाकरी गरेको धेरैले बुझेका छन् । नेपाल–भारत सम्बन्धका बारेमा भारतका पूर्वराजदूत रञ्जित रेले आफ्नो संस्मरण ‘काठमाडौँ डिलेमा’ मा पनि नेपालीहरू किन भारतको विरोध गर्छन् भनी गुनासो गरेका छन् । उनको भनाइलाई स्पष्ट पार्न लेखिएको केही टिप्पणीले ‘मजदुर’ दैनिक तथा आमपाठकलाई नेपाल भारतविरोधी होइन भन्ने बुझ्न सहयोग पुग्ने उद्देश्यले यो आलेख पुनः प्रकाशित गरिएको छ । – सम्पादक)
पूर्वराजदूत रञ्जित रेको जिकिर
३. मैले यहाँ केही किस्सा प्रस्तुत गर्न खोजेको छु, जसले नेपालका शासक वर्गको वर्चस्व रहेको काठमाडौँ उपत्यकाको मानसिकता झल्काउँछन् । यो उपत्यका नै नेपालको राजनीतिको मियो हो । वास्तवमा पहिले यही उपत्यका नेपाल भनेर चिनिन्थ्यो । नेपालको राजनीति र उपत्यकासम्बन्धी यो अवधारणा वामपन्थी तथा कम्युनिस्ट केही शक्तिहरूको मानसिकतामा प्रबल छ भने नेपाली काङ्ग्रेसजस्ता लोकतान्त्रिक शक्तिहरूमा कम छ र तराईमा आधारित दलहरूमा कति पनि छैन । तर, यो भावना नेपाली युवाहरूमा बढ्दै गएको छ र भारतले यसप्रति संवेदनशील हुन आवश्यक छ ।
नेपाल र भारतको सम्बन्ध अरू कुनै छिमेकसँगको सम्बन्धभन्दा घनिष्ठ र साथै जटिल रहिआएको छ । धर्म, संस्कृति, परम्परा, भाषा र नातासम्बन्धजस्ता हामीलाई जोडिराख्ने कुराले पनि तनाव पैदा गरेका हुन्छन् । सबै कुरा भारतसँग मिल्दाजुल्दा छन् भने नेपाललाई कुन तत्वले फरक राष्ट्र–राज्य बनाउँछ ? दुई देशबिचका यी सांस्कृतिक समानतालाई विशेष गरी भारतीयहरूले औँल्याउन खोज्दा नेपालीहरू क्रोधित हुन्छन् र त्यसको परिणाम प्रत्युत्पादक हुन्छ ।
नेपालको आफ्नै पहिचानको अर्थ के हो ? यो भारतभन्दा कसरी फरक छ ? आकार र जनसङ्ख्यामा नेपाल भारतसँग समान छैन । भौगोलिक रूपमा नेपाललाई भारतले तीनतिरबाट घेरेको छ । नेपालीहरू पनि भारतमाथिको आफ्नो पूर्ण निर्भरतालाई मन पराउँदैनन् र यसलाई लिएर आक्रोशित हुन्छन् । नेपालले आफ्नो राष्ट्रिय पहिचानका लागि दुई अद्वितीय धरोहर—बुद्धको जन्मस्थल लुम्बिनी र विश्वको सर्वाेच्च शिखर सगरमाथालाई प्रस्तुत गर्छ । तर, दुर्भाग्यवश, यी दुवै धरोहर साझा छन् बौद्ध सम्पदा भारतसँग तथा सगरमाथा चीनसँग ।
४. नेपालमा हिन्दी भाषालाई गरिने व्यवहार पनि कतै न कतै नेपाली पहिचानसँग जोडिने गरेको देखिन्छ । नेपालमा भारतीय टेलिचलचित्र
(टेलिभिजन सिरियल) तथा चलचित्रहरू धेरै लोकप्रिय छन् र अधिकांश नेपालीहरूले हिन्दी बुझ्छन् र बोल्छन् पनि । तराईमा दैनिक कामकाजको भाषा हिन्दी पनि हो । तर, नेपालमा हिन्दी भाषालाई कुनै औपचारिक हैसियत दिइएको छैन । प्रायः सबै नेपाली राजनीतिक नेताहरू हिन्दीमा धाराप्रवाह बोल्न सक्ने भए पनि हालसम्म नेपालको संसद्मा यो भाषा बोल्न अनुमति दिइँदैन ।
नेपालका तराई वा मधेसी मूलका पूर्वउपराष्ट्रपति परमानन्द झाले जुलाई २००८ मा हिन्दीमा शपथ लिने निर्णय गरे । यसलाई पछि नेपालको सर्वाेच्च अदालतले बदर ग¥यो । अदालतको फैसला भए पनि झाले नेपाली भाषामा शपथ लिन मानेनन् । मातृभाषामा शपथ लिन पाउने गरी अन्तरिम संविधान संशोधन भएपछि मात्र सन् २०१० फेब्रुअरीमा झा पुनः उपराष्ट्रपति बनेका थिए । यस पटक उनले मातृभाषा र नेपाली भाषामा शपथ लिएका थिए ।
५. कहिलेकाहीँ स–साना समस्याहरूले सङ्कट निम्त्याउँछन् । सन् २००१ मा नेपालमा अभिनेता ऋतिक रोशनले आफू नेपालीहरूलाई घृणा गर्छु भनी विज्ञप्ति जारी गरेका थिए भन्ने गलत हल्ला फैलिएको थियो । यसले मधेसी समुदायविरुद्ध लक्षित सडक हिंसा निम्त्यायो । काठमाडौँमा दिनभर भएको दङ्गामा चार जनाको ज्यान गएको थियो । रोशनका चलचित्रहरू प्रतिबन्ध लगाइएका थिए भने स्थिति नियन्त्रणमा नआए भारतीय समुदायमाथि आक्रमण हुन सक्ने सम्भावना थियो । अन्ततः एउटा भिडियो प्रसारित भयो, जसमा अभिनेता ऋतिकले आफूले कहिल्यै नेपालीविरुद्ध त्यस्तो बयान नदिएको स्पष्ट पारे । त्यस्तै, सन् २००८ मा अभिनेत्री माधुरी दीक्षितले नेपाल आइपुगेपछि नेपाल कुनै समय भारतको हिस्सा भएको बताउँदा त्यसको विरोधमा चर्काे प्रदर्शन भयो । बुद्ध भारतमा जन्मेका हुन् भनी देखाउने भारतीय चलचित्र र टेलिभिजन कार्यक्रमका कारण पनि नेपालमा भारतविरुद्ध प्रदर्शन हुने गरेका छन् ।
६. निःसन्देह, नेपालीहरू आफ्नो लडाकु स्वभाव र सैन्य पराक्रममा गौरव गर्ने जनता हुन् । पूर्वप्रधानमन्त्री ओलीलगायत नेपाली नेताहरूले देशलाई एकीकरण गर्न लामो र कठिन लडाइँ लडेको तथा रगत बगाएको कुरा बारम्बार बताउँछन् । शाह वंशका संस्थापक पृथ्वीनारायण शाहले आफू रहेको गोरखा राज्यवरपरका राज्यका शासकहरूलाई सैन्य रूपमा आफ्नो अधीनमा पारे । तर, दुई सय वर्षपछि राजा ज्ञानेन्द्रसँगै यसको अन्त्य भयो । यसमा काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू पनि समावेश थिए, जसलाई तराईको तिरहुतका सिपाहीँहरूले समेत रक्षा गरेका थिए ।
शाह साम्राज्य पश्चिममा पञ्जाबको एउटा सानो राज्य काँगडासम्म फैलिएको थियो, जसमा गढवाल र कुमाउँ तथा पूर्वमा सिक्किम र दार्जिलिङसम्मका भूभाग समावेश थिए । यो ‘ग्रेटर नेपाल’ सन् १८१४ र १८१५ को प्रख्यात अङ्ग्रेज–नेपाल युद्धमा ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग भिड्नुअघि महाकाली नदीको पश्चिम र मेची नदीको पूर्वसम्म फैलिएको थियो । यस युद्धपश्चात् नेपालले महाकाली नदीको पश्चिम तथा मेची नदीको पूर्वमा रहेको आफ्नो भूभाग गुमाउनुप¥यो ।
कुनै बेला नेपालले तिब्बतसँग पनि युद्ध लडेको थियो । शाह र राणा वंशका शासकहरूले पछि अङ्ग्रेजहरूसँग सन्धि–सम्झौता गर्दै नेपालमा शासन गरे र आफूलाई विजेता ठान्दै रैथाने शासक वर्गका रूपमा प्रस्तुत गरे । अङ्ग्रेज–नेपाल युद्धमा गोर्खा सैनिकको साहस र वीरता देखेर अङ्ग्रेजहरूसमेत निकै प्रभावित भएका थिए । उनीहरूले सन् १८५७ मा भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम दबाउन नेपाली सेना प्रयोग गरे । विद्रोह दबाएबापत जङ्गबहादुर कुँवर (पछि राणा) को नेतृत्वमा रहेको राणा सेनालाई सो धनी सहर लुट्न धेरै दिनसम्म छुट दिइएको थियो । आजसम्म यो घटना ‘लखनउको लुट’ भनेर इतिहासमा उल्लेख हुँदै आएको छ ।
नेपालले भारतजस्तो कहिल्यै कुनै देशको अधीनमा रहेर उपनिवेश बन्नु नपरेकोमा गर्व ग¥यो । तापनि, यसका समकालीन नेताहरूले आफ्ना औपचारिक र सार्वजनिक वक्तव्यहरूमा सधैँ राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय गौरव, सम्मान, समानता र ‘हामी कहिल्यै झुक्ने छैनौँ’ जस्ता शब्द तथा पदावलीहरू उल्लेख गर्छन् । जबकि, स्वतन्त्र राष्ट्रका रूपमा दुई सय वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेका पुराना स्थापित राष्ट्रहरूले सामान्यतया यस्ता पदावलीहरू प्रयोग गरेको सुनिँदैन ।
(लेखकका विचारमाथि आलोचनात्मक टिप्पणी निम्नानुसार प्रस्तुत गरिएको छ ।)
बुँदा ३ का सम्बन्धमा
पहाड वा काठमाडौँ उपत्यकाका नेपालीहरू, कम्युनिस्टहरू अनि वामपन्थीहरू भारतको विरोध गर्छन् भन्ने लेखकको विचार आधारहीन छ । नवलपरासीको सुस्ता अतिक्रमणको विरोधमा सबैभन्दा बढी आवाज उठाउने तराईकै जनता हुन् । हो, सच्चा कम्युनिस्ट र वामपन्थीहरू देशभक्त हुन्छन् । देशको अस्तित्वमाथि खेलबाड गर्ने स्वदेशी वा विदेशी शक्तिको उनीहरू विरोध गर्छन् । कुनै पार्टीमा आबद्ध नभए पनि सबै सचेत जनताले यसको विरोध गर्नु स्वाभाविक हो ।
गान्धी, नेहरू, सुभाषचन्द्र बोस र टैगोर पश्चिमी देशमा शिक्षित भए तापनि बेलायती साम्राज्यवादले भारतमा गरेको थिचोमिचो अन्यायपूर्ण भएकाले उनीहरू ‘भारत छोड’ आन्दोलनमा होमिए र भारतले स्वतन्त्रता प्राप्त ग¥यो ।
जहाँसम्म नेपाली काङ्ग्रेसले भारतको विरोध गर्दैन भन्ने सवाल छ, यो केही हदसम्म सत्य होला, किनभने नेपालमा नेपाली काङ्ग्रेस भारतपरस्त पार्टीका रूपमा चिनिन्छ । यसले भारतीय एकाधिकार पुँजीको हितमा नेपालमा काम गर्छ । भारतले गरेको २०७२ सालको नाकाबन्दी र कालापानीमा सीमा मिचिएको विषयमा नेपाली काङ्ग्रेसले एक शब्द पनि नबोलेको कुरा इतिहासमा लेखियो ।
नेपाल र भारतका संस्कृति तथा परम्परामा धेरै समानता हुँदाहुँदै पनि दुई देशबिच धेरै कुरा फरक छन् र दुवैका आ–आफ्नै विशिष्ट पहिचान छन् । नेपालमा १२३ जातजाति र भाषाभाषी छन् भने भारतमा दुई हजारभन्दा बढी रहेको मानिन्छ । यीमध्ये केहीमा समानता होलान्, तर यी तथ्यलाई बेवास्ता गरी नेपाल र भारतको पहिचान एउटै देखाउने लेखकको प्रयास बदनियतपूर्ण छ ।
जहाँसम्म सगरमाथा, बुद्ध दर्शन र अन्य पक्षसँग सम्बन्धित सम्पदाको कुरा छ, ती नेपाल–भारत वा नेपाल–चीन दुई देशका मात्र सम्पत्ति होइनन् । ती त विश्वकै सम्पदा हुन् । यसमा सबै नेपाली गर्व गर्छन् ।
बुँदा ४ का सम्बन्धमा
भौगोलिक निकटताका कारण नेपाल र भारतबिच धेरै कुराको आदानप्रदान सहज रहिआएको तथ्य इतिहासले बताउँछ । हो, शिक्षित नेपालीहरू तथा भारतसँग व्यापार र शैक्षिक सम्बन्ध भएका नेपालीहरू नयाँ प्रविधिमा पहुँचका कारण हिन्दी भाषा बुझ्छन् र भारतीय चलचित्र मन पराउँछन् । मस्कोदेखि मुस्लिम जनसङ्ख्याको बाहुल्य रहेका मध्य एसियाली देशहरू, मध्यपूर्व तथा मिश्रसम्म पनि भारतीय चलचित्र प्रख्यात छन् । त्यस्तै, अमेरिकी हलिउडका चलचित्र र मार्सल आर्टमा आधारित चिनियाँ कुङ्फु चलचित्र संसारभरि हेरिन्छन् । आजभोलि कोरियाली, इरानी र जापानी चलचित्रहरू पनि नेपालमा लोकप्रिय छन् ।
अब यसको अर्थ ती सबै भाषालाई नेपालमा बोलचालका भाषा वा नेपालको संविधानमा उल्लिखित भाषाका रूपमा घोषणा गर्नुपर्छ भन्ने होइन । यसबारे निर्णय नेपाल र नेपालीले गर्ने हो ।
जहाँसम्म हिन्दी बुझ्ने भएर पनि नेपाली नेताहरू सार्वजनिक रूपमा हिन्दी बोल्न मान्दैनन् भन्ने सवाल छ, यो अन्तर्राष्ट्रिय परम्परा र व्यक्तिगत प्रवृत्तिको कुरा हो । आफ्नो देशको प्रतिनिधिका रूपमा भारतका औपचारिक कार्यक्रममा जाने जोकोही नेता तथा कर्मचारीले अङ्ग्रेजी नै बोल्नुको एउटा कारण नेपाल र भारतबिचका सन्धि–सम्झौताहरू नेपाली र हिन्दीमा नभई अङ्ग्रेजी भाषामा हुनु पनि हो । यसकारण अन्य देशमा दोभाषेको व्यवस्था गरिन्छ । यो आफ्नो देशको भाषा र देशप्रतिको सम्मान पनि हो ।
जबकि, भारतमा अङ्ग्रेजी बोल्ने व्यक्तिलाई सम्मान र इज्जतका साथ हेर्ने परम्परा विकसित हुनु बेलायती उपनिवेशको उपज हो । यो पङ्क्तिकारलाई भारत भ्रमणमा जाँदा आफैँ सिकाइएको थियो, ‘त्यहाँ हिन्दीमा कुरा नगर्नु, हेप्छन् अङ्ग्रेजीमै बोल्नु ।’ नेपालीले बोल्ने हिन्दी शुद्ध नहुने भएकाले पनि नेपालीहरू हिन्दी बोल्न हिचकिचाउँछन् ।
बुँदा ५ का सम्बन्धमा
माथि बुँदा २ मा भनिएजस्तै भारतीय चर्चित व्यक्तिहरूबाट बेलाबेलामा व्यक्त हुने विवादास्पद भनाइहरूले नेपालीहरूको संवेदनशील भावनामाथि तीखो प्रहार गर्छन् । यसको प्रतिकार नेपालीहरूले गर्नु अस्वाभाविक होइन । जलियाँवाला बाग हत्याकाण्डको बदला लिन भारतीय नागरिक उधम सिंह बेलायत पुगेर उक्त हत्याकाण्डका प्रमुख जिम्मेवार जनरल डायरको हत्या गरेको कुरा सबै भारतीयलाई सम्झना होला । यस्तो विरोध देशभक्तिको द्योतक पनि हो ।
बुँदा ६ का सम्बन्धमा
हरेक देशको आफ्नै पहिचान र गौरवपूर्ण इतिहास हुन्छ । देशले प्राप्त गरेको स्वतन्त्रता, प्रजातन्त्र र राजनीतिक उपलब्धिका लागि गरिएका सङ्घर्षका कथाहरू तथा आफ्नै जनतामाथि अन्याय गर्ने अत्याचारी शासकहरूको अन्त्य गर्न जनताले गरेका बलिदानका गाथाहरू हुन्छन् । ती कथा र गाथाहरू राष्ट्रिय गानमा गाइन्छन् । ती गौरवपूर्ण बलिदानलाई दिवसका रूपमा मनाइन्छ । नेपालमा मात्र होइन, संसारका कुनै पनि देशमा यस्तो परम्परा हुनु स्वाभाविक हो ।
भारतलाई अगस्ट १५ को दिन जति गौरवपूर्ण लाग्छ, नेपाललाई फागुन ७ पनि त्यत्तिकै महत्वपूर्ण लाग्छ । नेपालीहरूले आफ्नो देशप्रति देखाउने भक्तिभाव र देशको सार्वभौमसत्ताप्रति गर्ने गर्वलाई लिएर कसैलाई आपत्ति हुनु नपर्ने हो ।
नेपाल र भारतका संस्कृति तथा परम्परामा धेरै समानता हुँदाहुँदै पनि दुई देशबिच धेरै कुरा फरक छन् र दुवैका आ–आफ्नै विशिष्ट पहिचान छन् । नेपालमा १२३ जातजाति र भाषाभाषी छन् भने भारतमा दुई हजारभन्दा बढी रहेको मानिन्छ । यीमध्ये केहीमा समानता होलान्, तर यी तथ्यलाई बेवास्ता गरी नेपाल र भारतको पहिचान एउटै देखाउने लेखकको प्रयास बदनियतपूर्ण छ ।
Leave a Reply