नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
मुनरो डक्ट्रिनवादी अर्थमन्त्री वाग्लेजीले फेरि दिल्ली पुगेर भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो भन्नुभएछ । वाग्लेजी, एउटा गम्भीर प्रश्न छ, भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भनेर कसले भनेको छ ? कृपया राष्ट्रवादको गलत व्याख्या गरेर नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारको पक्षमा उठ्ने आवाजलाई अवमूल्यन नगर्नुहोस् ।
नेपालको अहितमा कुनै पनि मुलुकबाट हुने थिचोमिचो, बलमिचाइ, हैकम, दादागिरी, हस्तक्षेप, सीमा अतिक्रमण र नदीनालामाथिको कब्जाको विरोध गर्नु राष्ट्रवादको सङ्कीर्ण परिभाषा होइन, राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारको रक्षा हो । यो कुनै देशप्रतिको शत्रुता होइन, अन्यायपूर्ण व्यवहार र प्रभुत्ववादी प्रवृत्तिविरुद्धको आवाज हो । देशको विरोध र देशका शासकहरूको गलत नीतिको विरोधबिचको भिन्नता बुझ्नु आवश्यक छ ।
फेरि स्पष्ट पारौँ, यो भारत देशको विरोध होइन । भारतीय जनताको विरोध पनि होइन । यो नेपालमाथि भारतीय शासकहरूले अवलम्बन गर्ने अन्यायपूर्ण नीति, हैकमवादी रवैया, बलमिचाइ, सीमा अतिक्रमण र नदीनालामाथिको कब्जाविरुद्धको आवाज हो । मित्रता भनेको अन्याय सहनु होइन र कूटनीति भनेको राष्ट्रिय हितमा सम्झौता गर्नु होइन ।
जबसम्म नेपालले सीमा अतिक्रमण, अनुचित हस्तक्षेप र प्रभुत्ववादी व्यवहारबाट उन्मुक्ति पाउँदैन, तबसम्म देशभक्त नेपालीले यी प्रश्न उठाइरहनेछन् । व्यक्ति र पद परिवर्तन हुन सक्छन्, सरकारहरू आउन र जान सक्छन् तर नेपालको सार्वभौम अधिकार र राष्ट्रिय स्वाभिमानको पक्षमा उठ्ने आवाज निरन्तर उठिरहनेछ ।
साभार : फेसबुक
Leave a Reply