भर्खरै :

भनपा वडा नं ९ को पार्टी एकाइ सम्मेलनबारे दुई चार कुरा

नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गर्दै समाजवाद स्थापनाको निम्ति निरन्तर अगाडि बढिरहेको पार्टी हो । यो दल देश र जनताको सेवामा कसैसँग नझुकी विभिन्न समस्या र चुनौतीको सामना गर्दै आएको पार्टी हो ।
अमेरिकी साम्राज्यवादलगायत पुँजीवादी देशहरूको विरोधमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, मध्य पूर्वलगायत विश्वका बहुसङ्ख्यक गरिब, अशिक्षित, शोषित, पीडित, न्याय र स्वतन्त्रताको निम्ति लडिरहेका जनताको साथ एवम् समर्थनमा लडिरहेको पार्टी नेमकिपा हो । चाहे अमेरिकी साम्राज्यवादको उक्साहतमा बम, गोलाबारी गरी आफ्नो मातृभूमिको लागि लडिरहेका प्यालेस्टिनी जनताको नरसंहार गरिरहेका फासीवादी इजरायली शासकको विरुद्धमा होस्; चाहे कठपुतली युक्रेनी राष्ट्रपति जेलेन्स्कीको काँधमा बन्दुक अड्याएर रुसमाथि आक्रमण गरिरहेको अमेरिकी साम्राज्यवादको आक्रामणकारी कदमको विरुद्धमा होस्; देशभक्त नेताको हत्या गर्ने–गराउने, उपनिवेश जमाउने, त्यहाँको अथाह प्राकृतिक सम्पदा लुटपात तथा हस्तक्षेपविरुद्ध लड्ने शोषित–पीडित जनताको पक्षमा साथ र समर्थन दिने अन्तर्राष्ट्रवादी पार्टी नेपाल मजदुर किसान पार्टी हो ।
विकास र सहयोगको नाममा दबाब र धम्की दिने हस्तक्षेपकारी कदमविरुद्धमा सङ्घर्ष गरिरहने पार्टी हो नेमकिपा । यसले भारतीय विस्तारवाद, भूमि अतिक्रमण, नागरिकता विधेयकलगायतका देशघाती कदमको पनि सशक्त विरोध गर्दै जनतालाई सचेत गराउँदै आएको कसैबाट लुकेको छैन । यसै सन्दर्भमा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरको ९ नं वडाको पार्टी एकाइ सम्मेलन हुँदै छ ।
नेमकिपाका अध्यक्ष बिजुक्छेँ बरोबर भन्ने गर्नुहुन्छ, “राजनीति गर्नु तरबारको धारमा हिँड्नुसरह हो, राजनीति गर्नु गुलाबको ओछ्यानमा सुत्नु होइन । राजनीति गर्नु निश्चय पनि सजिलो कुरा होइन । सामन्तवादी, पुँजीवादी शासकहरूसँग देश र जनताको हितमा निरन्तर सङ्घर्ष गर्नु चानचुने कुरा होइन । नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर कानुनी तथा गैरकानुनी सङ्घर्षमार्फत जनतालाई सचेत र सङ्गठित गर्दै आइरहेको छ ।”
२०४५ सालमा निरङ्कुश पञ्चायती सरकारले ‘भक्तपुर काण्ड’ रचेर नेमकिपाका नेता तथा कार्यकर्तालाई धेरै दुःख दियो । यस ९ नं वडाका धेरै नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण जनताले दुःख पाए । नेमकिपाका नेता तथा कार्यकर्ताले पीडा र यातनाविरुद्ध लडे । तर, शत्रुको अगाडि घुँडा टेक्ने काम गरेनन् । सङ्घर्ष रोकिएन । अन्ततः पञ्चायती व्यवस्था अन्त्य भयो ।
हिजो जर्मनीमा जनस्तरमा कम्युनिस्ट पार्टीको बढ्दै गरेको प्रभावको डरले त्यहाँको संसद् भवन राइखस्टागमा आफैँहरूले आगो लगाएर त्यसको निहुँमा कम्युनिस्टहरूलाई दबाएको इतिहास हामीले भुलेका छैनौँ । त्यस्तै, उनीहरूले अफ्रिकाका बेन बेल्ला, क्वामे एन्क्रुमा, प्याट्रिस लुमुम्बा, जुलियस न्येरेर, क्रिस हानी, शेकु तुरे, मुअम्मर गद्दाफी, थोमस संकारालगायतका स्वतन्त्रता आन्दोलनका अफ्रिकी नेताहरूको हत्या गरे । त्यस्तै, ल्याटिन अमेरिकाका स्वतन्त्रता सेनानीहरू चे ग्वेभारा, एयेन्डेलगायतका नेताहरूको अनेक ६ षड्यन्त्र गरी हत्या गरियो । इराकका राष्ट्रपति सद्दाम हुसेन, युगोस्लाभियाका राष्ट्रपति स्लोभोदान मिलोसोभिचजस्ता नेताहरूको हत्या गरेको इतिहास छ । यसबाट साम्राज्यवादीहरू कति निर्मम हुन्छन् भन्ने कुरा थाहा हुन्छ । यसबाट सबैले पाठ सिक्न जरुरी छ ।
पुँजीवाद केही व्यक्ति विशेषको फाइदाको लागि† पद, पैसा र नाफामा आधारित हुन्छ भने समाजवादी समाज देश र जनताको हित, सेवा वा फाइदाको लागि हुन्छ । हरेक सङ्घ–संस्था वा दल कुनै व्यक्तिविशेष वा सबैको उत्तिकै योगदान र जिम्मेवारी हुन्छ ।
त्यसैले, समाजको लागि केही सहयोग र योगदान दिनुपर्छ । अग्रजहरूले पद, सुविधा र व्यक्तिगत स्वार्थको लागि कहिल्यै राजनीति गर्नुभएन । उहाँहरू देशकै लागि, जनताकै समर्पित हुनुभयो ।
राजनीति राम्रो मानिसले नगर्ने हो भने खराब मानिसले गर्नेछन् । त्यसको परिणाम समाज, देश र जनताको अवस्था झन् दयनीय हुन जान्छ । अब सम्मेलनबाट चुनिएर आउने ९ नं वडा पार्टी एकाइ समितिका साथीहरू माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा आत्मसात गरेर अग्रजहरूले हिँडेको बाटोमा निरन्तर हिँड्न; देश र जनताको निःस्वार्थ सेवामा लाग्ने विश्वास गर्दै वडा सम्मेलनको पूर्ण सफलताको हार्दिक शुभकामना छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *