भर्खरै :

विदेशी सहयोगले देश विकास हुन्छ भन्ने होइन

विदेशी सहयोगमा देश विकास हुन्छ भन्ने कुरा भ्रम हो, झूट हो । देश विकास गर्न सरकार, राजनीतिक दल र जनता नै लाग्नुपर्छ । विदेशीको भरमा होइन नेपाल र नेपाली जनताकै भरोसामा सरकार अघि बढ्नुपर्छ† विकास गर्ने काममा जुट्नुपर्छ । देशको बजेट विदेशमुखी नहोस् । देशको बजेट विदेशी बजेट र विदेशी सहयोगमा बनेसम्म देशले विकास गर्न सक्दैन । सरकार विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चल्ने होइन; विदेशी शक्ति राष्ट्रले जे जस्तो गरे पनि, भने पनि मौन बस्ने या सही भन्दै अघि बढ्ने सरकारले देशको विकास गर्दैन । विदेशी शक्ति राष्ट्रहरूको उठबसमा नेपाल सरकार रहेकै कारण देशका नदीनाला भारतको नियन्त्रणमा गयो; नेपाली भूमि भारतको अधीनमा गयो । यहाँ भारतीय एकाधिकार पुँजी कायम भयो । देशको लागि आवश्यक आधारभूत वस्तु पाउन भारतको स्वीकृति लिनुपर्ने; हतियार किन्न भारतको सहमति लिनुपर्ने, सौर्य बत्तीको लागि भारतको अनुमति चाहिने कामले नेपाल भारतको उठबसमा चलिरहेकोमा शङ्का छैन । अतः नेपालको विकास गर्न, नेपालीलाई सुखी बनाउन नेपाल र नेपाली जनता नै सक्रिय हुनुपर्छ; नेपाली जनता नै अघि बढ्नुपर्छ ।
समाजलाई बदल्न र असमानताको दूरी घटाउन समाजमा क्रान्ति नगरी सम्भव छैन । पुँजीवादको अन्त्य नगरी देशमा समाजवाद स्थापना हुँदैन । समाजवाद स्थापना तत्काल सम्भव नहुने हुँदा समाजवादउन्मुख राज्यको अवधारणाअनुसार सरकारले नीति तथा कार्यक्रम ल्याउनुपथ्र्यो र तद्नुसार बजेटको व्यवस्था गर्नुपर्छ । पुँजीवादी व्यवस्थाको अन्त्य पुँजीवादी सरकारमा गएर सम्भव छैन । जसरी पुँजीपतिहरूले सामन्तवाद अन्त्य गर्न हतियार उठाए त्यसरी नै पुँजीवादी व्यवस्था अन्त्य गर्न मजदुरहरूले हतियार उठाउनुपर्छ या क्रान्ति गर्नुपर्छ । समाज बदल्ने काम ठुला दलले गर्छ भन्ने होइन । ठुलो भए पनि विचार खोटपूर्ण भयो भने परिवर्तनको बाटो खोज्दैन । क्रान्ति गर्न क्रान्तिकारी पार्टी चाहिन्छ । वर्गीय समाजमा वर्गसङ्घर्ष नगरिकन समाज बदल्दैन; पुँजीवादी व्यवस्था अन्त्य हुनेछैन । पुँजीवादको विकासपछि मात्र समाजवाद स्थापना हुन्छ या परिवर्तन हुन्छ भन्ने होइन । देशको परिस्थिति तयार भयो भने क्रान्ति हुनसक्छ । यस अर्थमा मुख्य कुरा दलको सिद्धान्त र विचार हो । अर्थात् देश, काल र परिस्थिति तयार हुनुपर्छ ।
हरेक ठुलो काम सानोबाट सुरू हुन्छ । कुनै पनि आन्दोलन या सङ्घर्ष एकाएक ठुलो हुँदैन । सरकारले देशघाती, जनविरोधी काम गरेपछि, जनताले सहन नसक्ने गरी अन्याय, अत्याचार गरेपछि र भेदभाव या पक्षपात अन्याय, अत्याचार गरेपछि जनता उठ्छन्; जाग्छन् र आन्दोलित हुन्छन् । कम्युनिस्ट भन्ने ठुला नेताहरू सिद्धान्त र विचारभन्दा सत्तामुखी भएको हुँदा नेपालको कम्युनिस्ट आन्दोलन पछि परेको हो । कम्युनिस्ट पार्टीले सङ्घर्ष नगरी देशमा परिवर्तन सम्भव छैन । हाल देशमा सत्तामुखी राजनीतिको विकास भइरहेको छ; परिवर्तनको निम्ति ज्यान दिन तयार नेता कार्यकर्ताहरू पद र पैसाको प्रतिस्पर्धा भुलेपछि देशको मुहार फेर्छ कसरी ?
पार्टीका नेता तथा कार्यकर्ताहरू देश र जनताको दुःख हटाउन लाग्ने कि पद र पैसाको निम्ति । भनिन्छ, लोभमा फस्नु नै पतनको कारण हो । पार्टीका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता बिग्रेपछि राजनीति बिग्रिन्छ; राजनीति बिग्रेपछि देश पछि पर्छ । यसकारण, राजनीति इमानदारीपूर्वक देश र जनताको सेवा गर्नुपर्छ । देश विकासमा जुट्नुपर्ने सत्तासीन दलका नेताहरू संरा अमेरिका र भारतीय शासकहरूको पछि लागेका छन् । हालै सौर्य गठबन्धन सम्झौता गरिएको छ । उक्त सम्झौताअनुसार कसैले सोलर इनर्जि निकाल्न भारतको अनुमति लिनुपर्नेछ । के यो नेपाल सरकार एकपछि अर्को भारतको पछि लागिरहेको होइन ?
राजनीति फोहर होइन; देश र जनताको इमानदारीपूर्वक राजनीति गर्नुपर्ने नेताहरू बेइमान भएकाले या बिग्रेकाले देशको राजनीति फोहर देखिएको हो । भारतीय एकाधिकार पुँजीको चक्करमा सरकार फसेको कारण देशको नदी नालामात्र होइन उद्योगधन्दा र कलकारखानाहरू विदेशी व्यापारी, उद्योगपतिको हातमा गएको हो; उद्योगहरू डुबेका हुन् । फलतः देश परनिर्भर हुँदै गइरहेको हो । यो देशको निम्ति राम्रो सूचक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *