सिंहावलोकन राजनीतिमा एक शिक्षा हो
- असार १४, २०८३
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष (६ जेठ, २०८१)
दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आइतबार दुई वर्ष पूरा भई तीन वर्षमा प्रवेश गर्दै छौँ । २०७९ साल जेठ ६ गते आजकै दिन शपथग्रहण गरी पदभार ग्रहण गरेका थियौँ । हामीले पार्टी घोषणापत्रमार्फत जनताबिच गरेका प्रतिबद्धताहरू एकएक गरी पूरा गर्दै छौँ । काम गर्ने सिलसिलामा हाम्रा कामहरूलाई सूक्ष्मरूपमा अध्ययन गरी स–साना कमजोरीहरूलाई समेत औँल्याएर सुधार्ने अवसर दिई सहयोग गर्ने सचेत नागरिकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
आज हामी अत्यन्त खुसी छौँ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ख्वप तिलगङ्गा आँखा अस्पतालको नयाँ कार्यालयको आइतबार उद्घाटन गर्नुभयो । आजै नवनिर्मित टेबुलटेनिस कभर्ड हल नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुभयो । हामी यो तेस्रो कार्यक्रममा छौँ । हामी जनप्रतिनिधिको तेस्रो वर्षको यो सुखद् सुरुआत हो ।
भक्तपुर कला संस्कृति संरक्षित नगर, जीवित सङ्ग्रहालयको रूपमा परिचित नगर हो । भक्तपुरलाई अझ व्यवस्थितरूपमा अगाडि बढाउन हामी जनप्रतिनिधिहरू निरन्तर प्रयासरत छौँ । त्यस क्रममा हामीले निकै चुनौतीहरूको पनि सामना गर्दै छौँ ।
नेपालको संविधान घोषणा भएको ८ वर्ष बित्यो । यस अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहको दुई दुईपटक निर्वाचन सम्पन्न भयो । तर, अझै देशमा सङ्घीयताको राम्रो कार्यान्वयन हुनसकेको छैन ।
नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहहरू आ–आफ्नो अधिकारभित्र रही कार्य गर्न स्वायत्त छन् । तर, सङ्घ र प्रदेश सरकारहरूले स्थानीय तहलाई आफ्नो मातहतको एकात्mैँ व्यवहार गर्न भने छाडेका छैनन् । यो सङ्घीयता र नेपालको संविधानको भावनाविपरीत हो ।
सङ्घ र प्रदेशसभा कानुन निर्माण गर्ने थलो हुन् । तर, कानुन निर्माणमा भन्दा शासक दलहरू ससाना २–४ लाखको विकास निर्माणमा ध्यान दिँदै छन् । रु. ५ करोडसम्म स्थानीय तहले, ५ देखि २५ करोडसम्म प्रदेश सरकारले र त्यसभन्दा ठुलो योजनामात्रै सङ्घ सरकारले हेर्ने कानुनी बन्दोबस्त भए कामको दोहोरोपन हट्ने र राज्यको खर्च भार कम हुनेछ ।
स्थानीय तहहरूले सङ्घ र प्रदेशले पठाउने समानीकरण अनुदान बढाउनुपर्ने माग गरिरहेको बेला उल्टै सशर्त अनुदान बढाई सङ्घ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्न खोज्दै छन् ।
जनसङ्ख्या र क्षेत्रफलको आधारमा स्थानीय तहलाई वित्त आयोगको सिफारिसमा अनुदान प्रदान गर्ने संवैधानिक व्यवस्था छ । तर, चालु आ.व. २०८०/८१ को बजेटमा वाग्मती प्रदेशले भक्तपुर नगरपालिकालाई समपुरक अनुदान र विशेष अनुदान शीर्षकमा बजेट नै पठाएन । फरक विचार राख्ने पालिकाहरूलाई सहयोग नगर्ने वाग्मती प्रदेश सरकारको नीति आपत्तिजनक छ । कुनै पनि सरकारलाई संविधानविपरीत पक्षपात र पूर्वाग्राही काम गर्ने छुट वा सुविधा छैन ।
संसद्मा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापनाको व्यवस्था गरिएको छ । स्थानीय तहलाई मावि तहसम्मको शिक्षाको अधिकार संविधानले नै प्रदान गरेको अवस्थामा जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु प्रतिगामी कदम हो ।
हामीले निर्वाचन घोषणापत्र र आ.व. २०८०/८१ को नीति तथा कार्यक्रमको आधारमा भक्तपुर नगरको विकास निर्माणको कामलाई अगाडि बढाउँदै छौँ ।
आयतर्फ :
चालु आ.व. २०८०/०८१ मा आन्तरिकतर्फ ६० करोड र बाह्य स्रोततर्फ रु. १ अर्ब ५३ करोड २३ लाख ४० हजार तथा गत वर्षको बाँकी मौज्दात रु. १३ करोड ६२ लाख ५४ हजार गरी कुल रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार स्रोत अनुमान गरिएकोमा चालु आ.व. २०८०/०८१ को १० महिनामा कुल आन्तरिक आय रु. ४० करोड ९३ लाख सङ्कलन भएको छ । उक्त रकम चालु आ.व.को लक्ष्यको ६८ प्रतिशत हो । गत वर्षको सोही अवधिको तुलनामा उक्त रकममा रु. ९ करोड ६४ लाख वृद्धि भएको छ । यो गत वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि हो । यो करको क्षेत्र बिस्तार हुँदै जानुको परिणाम हो ।
नेपाल सरकारबाट राजस्व बाँडफाँटतर्फ चालु आ.व. मा ५ करोड २० लाख, वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जम्मा ४४ करोड ४० लाख, मालपोत रजिस्ट्रेसनबाट रु. १ करोड ५३ लाख प्राप्त भएको छ भने वाग्मती प्रदेश सरकारबाट यसै आ.व. मा वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानतर्फ जम्मा ३ करोड ६० लाख रूपैयाँ, सवारी करको राजस्व बाँडफाँडबाट रु. २ करोड ३३ लाख रूपैयाँ प्राप्त भएको छ । यसरी आन्तरिक र बाह्य गरी कुल रु. २ अर्ब १३ करोड २३ लाख आय अनुमान गरिएकोमा २०८१ वैशाख मसान्तसम्म कुल रु. १ अर्ब २३ करोड ७५ लाख प्राप्त भई अनुमानित आयको ५८ प्रतिशतमात्र आम्दानी भएको छ ।
राजस्व सङ्कलनलाई प्रविधि मैत्री बनाउन विभिन्न सफ्टवेयर तथा अनलाइन भुक्तानी प्रणालीको प्रवद्र्धन गर्दै लगिएको छ जसबाट नागरिकहरूले सहज, सुलभ तरिकाले राजस्व भुक्तानी गर्ने कार्य भई सेवा प्रवाह छरितो हुन पुगेको छ ।
व्ययतर्फ :
चालु खर्चतर्फ रु. १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार विनियोजित रकममध्ये २०८१ वैशाख मसान्तसम्म रु. ८५ करोड १९ हजार खर्च भई विनियोजित रकमको ६२.०८ प्रतिशत, पुँजीगत खर्चतर्फ विनियोजित रकम रु. ८० करोड ४१ लाखमध्ये रु. २० करोड ४२ लाख ५३ हजार खर्च भई विनियोजित रकमको २५.३२ प्रतिशत प्रगति हासिल भएको छ । वित्तीय व्यवस्थातर्फ रु. ९ करोड ५० लाख विनियोजन भएकोमा यसै अवधिमा रु. २ करोड ३५ लाख खर्च भई विनियोजित रकमको २४.७३ प्रतिशत प्रगति हासिल भएको छ । यसरी चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फ कुल विनियोजित रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ४७.४८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
शिक्षा :
भक्तपुर नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरूमा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म जनताका छोराछोरीहरूलाई शिक्षा प्रदान गर्दै छ । ख्वप विश्वविद्यालयको स्थापनाको लागि हामीले निरन्तर जोड दिँदै छौँ । ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन प्रतिनिधिसभा शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापतिसमक्ष पनि ध्यानाकर्षण पत्र बुझाएका छौँ ।
ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०८० असोज २४–२६ मा ‘कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा सञ्चारका लागि प्रविधि विषयक पहिलो अन्तर्राष्ट्रिय सम्मेलन’ (International Conference on Technologies for Computer, Electrical, Electronics & Communication (ICT–CEEL 2023) र २०८० असोज ३० देखि कार्तिक २ मा ‘भूकम्प इन्जिनियरिङ तथा विपद्पश्चात्को पुनर्निर्माण योजना’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन (International Conference on Earthquake Engineering and Post Disaster Reconstruction Planning) तथा २०८१ वैशाख १४ गते वास्तुशास्त्रका प्रवृत्ति र सम्पदा विषयक तेस्रो राष्ट्रिय सम्मेलन (3rd National Conference on Architectural Trends and Heritage) सम्पन्न ग¥यौँ । यस वर्ष ख्वप इ. कलेजमा अध्ययनरत भूकम्प इन्जिनियरिङका विद्यार्थी ई. रोशन प्रजापति स्नातकोत्तर तहमा नेपाल प्रथम भए भने स्नातक तह सिभिल इन्जिनियरिङमा ई. विकास पाण्डे सर्वोत्कृष्ट हुन सफल भएका छन् । त्यस्तै ख्वप कलेजमा अध्ययनरत विद्यार्थी पलिस्था रञ्जितकार पनि अङ्ग्रेजी विषयमा स्नातकोतर तहमा नेपाल प्रथम भएकी छिन् ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन तथा प्राविधिक सगठन गरी विद्यालयको अनुगमनको व्यवस्था गरेका छौँ । यो वर्ष विद्यालयको भौतिक निर्माण र विभिन्न शीर्षकमा १८ वटा विद्यालयमा रु. ५५ लाख अनुदान वितरण गर्यौँ ।
चालु आ.व.मा २ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणका लागि रु. १३ लाख र विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापनको लागि ३ वटा विद्यालयको लागि रु. १९ लाख ५० हजार आर्थिक अनुदान उपलब्ध गरायौँ ।
चालु वर्षमा इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषालगायत विषय लिएर ९ जनाले भक्तपुर नपाको छात्रवृत्तिमा एम.फिल र पीएचडी गर्दै छन् भने ख्वप कलेजमा अध्ययनरत राजनीतिशास्त्रमा ३८ जना र इतिहास संस्कृतिमा १० जनाले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । अन्य विभिन्न कलेजमा अध्ययनरत धेरै विद्यार्थीहरूलाई पनि छात्रवृत्ति प्रदान गर्दै छौँ ।
शिक्षाको गुणस्तर वृद्धिको लागि शैक्षिक क्यालेन्डर निर्माण गरी कक्षा ५, ८ र १० को परीक्षा पनि नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।
नगरका विभिन्न विद्यालयमा अध्ययनरत आमा बुबा नभएका ५६ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरियो ।
यो वर्ष १०१ जना विद्यार्थीहरूको शैक्षिक ऋण स्वीकृत गर्यौँ भने तीसमेत गरी हाल करिब ६०० जना विद्यार्थीहरूले नगरपालिकाबाट रु. ५ लाखसम्म ऋण लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।
स्वास्थ्य :
भक्तपुर नगरपालिकाले १०० शøयाको ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । वर्षको ३६५ दिन ११ घण्टा ओपीडी सेवा प्रदान गर्ने ख्वप अस्पतालको विशेषता हो । गत वर्ष ख्वप अस्पतालले २ लाख २० हजार ४ सत्न्दा बढी बिरामीलाई सेवा प्रदान गर्यो भने चालु आ.व. को बितेको १० महिनामा ७० जिल्लाका १ लाख ९२ हजार ८२३ बिरामीलाई सेवा प्रदान गरिसकेको छ । हाल ख्वप अस्पतालमा चिकित्सक, नर्स र कर्मचारीहरू गरी कुल १९४ जना जनशक्ति कार्यरत छन् ।
चालु आ.व. को यस अवधिमा आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रबाट २ हजार १६४ जनाले स्वास्थ उपचार प्राप्त गरे । ख्वप तिलगङ्गा आँखा अस्पतालले चालु आ.व.को १० महिनामा २४ हजार ६०९ जना आँखाका बिरामीहरूको उपचार गर्यो भने सोही अवधिमा ६७७ वटा आँखाको अपरेसन गरिसकेको छ । त्यस्तै, घरदैलो नर्सहरूले २० हजार ५२२ जनातासँग सम्पर्क गरी सामान्य स्वास्थ्य सेवा प्रदान गरेको रेकर्ड छ ।
यस वर्ष १० महिनामा नगरवासीहरूलाई ८ हजार ७ सय २६ वटा सिलिन्डर अक्सिजन निःशुल्क वितरण र ७३१ जना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गरायो भने रगत बापत भक्तपुर नगरपालिकाले १५ लाख ४९ हजार ३६० रूपैयाँ भुक्तानी ग¥यो ।
त्यस्तै कडा रोग लागेका २३१ जनालाई प्रतिव्यक्ति रु. १५,०००।- का दरले रु. ३४ लाख ६५ हजार सहयोग उपलब्ध गरायौँ ।
नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर नियमितरूपमा वडा वडामा पाठेघर तथा स्तन क्यान्सर, दन्त परीक्षण र आँखा परीक्षण शिविर तथा श्वासप्रश्वास शिविरहरू सञ्चालन गर्दै आएको छ ।
भक्तपुरमा ८० प्रतिशतभन्दा बढी नगरवासी स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । सम्पूर्ण नगरवासीहरूलाई स्वास्थ्य बीमामा आबद्ध गराउने हाम्रो प्रयास जारी छ । स्वास्थ्य बीमाको भुक्तानी समयमा उपलब्ध नहुँदा ख्वप अस्पतालले ठुलो समस्या भोगिरहेको छ ।
ख्वप अस्पतालले हालै मानसिक रोग र छाती रोग विशेषज्ञ सेवा पनि सुरु गरेको छ ।
सम्पदा संरक्षण :
२०७२ सालको भूकम्पपश्चात् भक्तपुर नगरपालिकाले ५८ वटा पाटी, ३६ वटा मन्दिर, ९ वटा द्योछेँ, १३ वटा पोखरी, ९ वटा सत्तल, ८ वटा इनार, ढुङ्गेधारा ८ र अन्य विविधसमेत गरी १५८ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ भने हाल १९ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् ।
२०८१ वैशाख २२ गते खुला गुँला बाजा प्रतियोगिता सम्पन्न ग¥यौँ ।
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको ८०० वर्ष पुरानो भाजु पुखु पुनःनिर्माण कार्य सम्पन्न गरी २०८० फागुन २५ गते उक्त पोखरी उद्घाटन गरी सर्वसाधारणको लागि खुला गरेका छौँ ।
पुरानो नगर क्षेत्रभित्र निजी घर र सम्पदा पुनःनिर्माणको लागि माटो जोडाइलाई जोड दिँदै छौँ । प्रसिद्ध थन्थु दरबार, भनपा ९ दत्तात्रयस्थित पुजारी मठ, भनपा ६ स्थित छुमा गणेश द्यो छेँलगायतका सम्पदाहरू माटो जोडाइबाट निर्माण गर्दै छौँ । छुमा गणेश द्यो छेँ पुनःनिर्माण अन्तिम चरणमा छ भने लक्ष्मी नरसिंह मन्दिर, इखालाछी मठ, हाडा छेँलगायतका सम्पदाहरू पनि आगामी वर्ष सम्पन्न हुने गरी कार्य भइरहेका छन् ।
पुरातात्विक महत्वका निजी घरहरू संरक्षण गर्ने नीतिअनुसार भनपा वडा नं. ९ स्थित एउटा घर घरधनीबाट पछि लागत असुली हस्तान्तरण गर्ने गरी नपाको लगानीमा पुनःनिर्माण सम्पन्न गरिसकेका छौँ ।
गाईजात्राको समयमा प्रस्तुत हुने विभिन्न विधाहरूलाई प्रतियोगितात्मक मूल्याङ्कन गरी पुरस्कृत गर्दै आएका छौँ । टोल टोलमा कार्यरत सांस्कृतिक गुरुहरूको सम्मान गर्ने नीतिअनुसार चालु वर्षमा २२ जना सांस्कृतिक गुरुहरूलाई सम्मान गरियो ।
२०८१ वैशाख २५ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भक्तपुरको कला संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी सम्पन्न भयो ।
पर्यटन :
चालु आ.व.को १० महिनामा गैरसार्कतर्फ १,०७,१३१ जना र सार्क र चिनियाँतर्फ १,०३,०२१ गरी जम्मा २,१०,१५२ जना पर्यटकले भक्तपुरको अवलोकन भ्रमण गरिसकेका छन् । गत आ.व.को साउनदेखि वैशाखसम्म १० महिनामा गैरसार्कतर्फ ७८,९९३ जना र सार्क र चिनियाँतर्फ ६०,३६९ जना गरी जम्मा १,३९,३६२ जना पर्यटकले मात्र भक्तपुर अवलोकन भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष ७०,७९० जना (५०.८० प्रतिशत) वृद्धि भएको छ ।
२०८० पुस १४ गते ‘पोखरी चिनौँ सम्पदा जोगाऔँ’ सहित ‘सांस्कृतिक सम्पदा पदयात्रा र बहाबही चिनौँ र सम्पदा जोगाऔँ’ नारा सहित पोखरी र बहाबहीको पदयात्रा, योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न भयो ।
विश्व पर्यटन दिवसको अवसरमा पर्यटन व्यवसायी, पर्यटक पथप्रदर्शक, ट्राभल्स एजेन्सी, होटल व्यवसायी सङ्घ, नेपाल पर्यटन बोर्ड र टुर्गानलगायत पर्यटन विकासमा टेवा पु¥याउने विभिन्न सङ्घ संस्थाहरूलाई सम्मान गरियो ।
२०५० सालदेखि पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्दै आएकोमा यस वर्ष नेपाल पर्यटन बोर्डले स्थापनाको २५ औँ वर्ष रजत जयन्तीको अवसरमा भक्तपुर नगरपालिकालाई सम्मान गर्यो ।
४५ औँ पर्यटक प्रहरी दिवसको अवसरमा भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रलाई उत्कृष्ट पर्यटक पथप्रदर्शक व्यवस्थापनका साथै पर्यटकहरूलाई व्यवस्थितरूपमा सूचना प्रदान गरेकोमा सम्मान गरियो ।
२०८० फागुन २ गते चिनियाँ नयाँ वर्ष (ड्रयागन वर्ष) को अवसरमा भक्तपुर दरबार क्षेत्र र टौमढीमा नेपाली र चिनियाँ विशेष सांस्कृतिक प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ।
त्यस्तै, २०८० पुस २ गते, हलिमली ब्वज्याको फोटो प्रतियोगिता सम्पन्न भयो
वातावरण र सरसफाइ :
नगरका सडक र गल्लीहरूमा विद्युत् र केबुल तारहरू छरपष्ट भएको कारण दृश्य प्रदूषण भइरहेको हुँदा सहरको सुन्दरता बढाउन तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ ।
नगरका चोक र विभिन्न ठाउँहरूमा हरियाली प्रवद्र्धन कार्य टौमढी, दरबार क्षेत्र, दत्तात्रयसँगै साकोठालगायत विभिन्न ठाउँमा विस्तार गरिएको छ ।
नगरका मूल सडकमा इँटा र ढुङ्गा छाप्ने कार्य सम्पन्न भइसकेको हुँदा भारी सवारी निषेध गरी क्रमशः सवारी निषेध गर्ने कार्यलाई अगाडि बढाउँदै छौँ ।
खोला सफाइका लागि हनुमानघाट र सल्लाघारीमा फोहर पानी प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । खोलाको दुवै पट्टी ढल बिछ्याइ सकिएको छ ।
कृषि :
घर घरबाट निस्किने कुहिने र नकुहिने फोहरहरू अलग अलग सङ्कलन गरी कम्पोस्ट मल बनाउँदै किसानहरूलाई बिक्री गर्दै आएका छौँ । ५ के.जी आलुको बीउ वितरण गर्दा २० के.जी कम्पोस्ट मल निःशुल्क गराउँदै आएकोमा यस वर्ष तोकिएको मूल्यमा धानको बीउ र कृषि चुन ५० प्रतिशत अनुदान तथा नगरपालिकाद्वारा उत्पादित कम्पोस्ट मल सहुलियत दरमा वितरण गर्दै छौँ ।
किसानहरूले उत्पादन गरेको तरकारी सहज बिक्री वितरणका लागि भक्तपुर नपा ५ भेलुखेलमा तरकारी बजार निर्माण कार्य भइरहेको छ । त्यसैगरी, कृषि उत्पादनहरू भण्डारण गर्न भनपा ८ लिबालीमा चिस्यान केन्द्र निर्माणाधीन अवस्थामा छ ।
कृषकहरूको लागि बाली स्वास्थ्य उपचार शिविर तथा माटो परीक्षण शिविर सञ्चालन गर्दै छौँ । साथै भक्तपुर नगरपालिकाद्वारा वितरण गरिएको आलु बालीको अनुगमन, नगरवासी कृषकहरूको लागि तरकारी नर्सरी व्यवस्थापन तालिम सञ्चालन र धानबालीमा लाग्ने रोग तथा कीरा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ ।
छाडा छोडिएका चौपाया नियन्त्रणका लागि आवश्यक व्यवस्था गर्दै आएकोमा चालु आ.व. मा १ हजार २९ वटा कुकुरलाई रेबिज खोप दिइयो भने कुकुर बन्ध्याकरण गर्ने कार्य भइरहेको छ ।
खानेपानी :
खानेपानीको समस्या समाधान गर्न परम्परागत पानीका स्रोतहरू पोखरी, ढुङ्गेधारा, इनार, कुवाहरूको संरक्षण गर्नुका साथै नगरवासीहरूको घरघरसम्म मेलम्चीको पानी पु¥याउने कोसिस गर्दै छौँ । केयूकेएलसँग समन्वय गरी ठाउँ ठाउँमा बोरिङ गरी पानीको व्यवस्था गर्दै आएका छौँ भने मेलम्चीको पानी पुरानै पाइपबाट पानी वितरण गर्दै छौँ । नगरकोटबाट आउने पानी अत्यन्त कम भएकोले अझै नगरका विभिन्न ठाउँहरूमा पानीको समस्या भएको हुँदा हामी त्यसको पनि समाधानको क्रममा छौँ ।
खेलकुद :
नगरपालिकाले फूटबल, भलिबल, बक्सिङ, जिम्नास्टिक, कराँते र टेबुलटेनिसको नियमित प्रशिक्षणलाई निरन्तरता दिँदै पूर्णकालीन खेलकुद प्रशिक्षकको व्यवस्था गरी नगर क्षेत्रका विद्यालयहरूमा नियमित खेलकुद प्रशिक्षण दिँदै छ । यो वर्ष ४९ जना विद्यालय खेलकुद शिक्षकहरूलाई पनि खेलकुद प्रशिक्षण दियौँ ।
२०८० माघ २१ देखि २७ गते सम्पन्न विद्यालयस्तरीय खेलकुद प्रतियोगिता १५ वटा खेलमा ८१ वटा विद्यालयबाट २२५६ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
त्यस्तै, २०८० फागुन २९ देखि चैत ३ गतेसम्म विभिन्न १५ वटा नगरपालिकाहरूको सहभागितामा अन्तनगर महिला कबड्डी प्रतियोगिता सम्पन्न भयो ।
नगरवासीहरूलाई स्वस्थ राख्न टोल टोलमा शारीरिक व्यायाम प्रशिक्षण गर्दै आएकोमा २०८० असोज २९ गते भक्तपुरको दरबार क्षेत्रमा बृहत् शारीरिक व्यायाम (छिकोङ) प्रदर्शनी भयो ।
सबै नागरिकहरूको स्वास्थ्य राम्रो बनाउन भक्तपुर नपाले टोलटोलमा खुला व्यायामशालाहरूको व्यवस्था गर्दै आएको छ । २०८०/८१ मा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूमा पदक जित्ने हाम्रा खेलाडीहरूको मनोबल बढाउन यस वर्ष २०८१ जेठ ५ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भयो ।
युवा र आत्मनिर्भरता :
स्थानीय युवाहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउन विद्युत्, कम्प्युटर, प्लम्बिङ, सिलाइ, हेयर कटिङ, बुटिक, पाक शिक्षाको प्रशिक्षण नियमितरूपमा सञ्चालन भइरहेको छ । यो वर्ष हालसम्म विभिन्न विषयमा ३०६ जनाले तालिम पाइसकेका छन् ।
नगरपालिकाले भाषा तालिमलाई पनि निरन्तरता दिँदै जापानी भाषा र चिनियाँ भाषाका कक्षा सञ्चालन गर्दै छ । चालु वर्षमा जम्मा ११७ जना विद्यार्थीहरूले ४ महिने जापानी भाषा र १३९ जना विद्यार्थीले चिनियाँ भाषा चारमहिने कोर्स पूरा गरेका थिए भने हाल चिनियाँ र जापानी भाषामा १२१ जना विद्यार्थीहरू अध्ययनरत छन् ।
युवाहरूलाई स्वरोजगार बनाउन नगरपालिकाले रु. ५ लाखसम्म युवा उद्यमशीलता ऋणको व्यवस्था गरेको छ । भक्तपुर नगर क्षेत्रका युवाहरूलाई युवा उद्यमशिलता प्रवद्र्धन ऋण परिचालन गर्न आवेदन सङ्कलन सुरु भइसकेको छ । २०८० चैत २७ गतेदेखि २०८१ वैशाख २ गतेसम्म, लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरभित्रका १० वटै वडाका बेरोजगार युवाहरूलाई ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भयो । उक्त तालिममा ४६ जना सम्भावित उद्यमी छनोट भएको र तालिमका प्रशिक्षार्थीहरूलाई बेकरी, मखमली जुत्ता, स्कूल ब्याग, सिकर्मी, पेपर रिसाइक्लिङ, मकुन्डो निर्माण, स्यानिटेरी प्याड निर्माणलगायतका सीप तालिम दिने तयारी भइरहेको छ ।
सहकारी :
सहकारी सञ्चालकहरू जनताको बचत रकम लिएर भाग्ने क्रम बढेको हुँदा नगरभित्रका सहकारीहरूमा त्यस्तो समस्या नआओस् भनी समय समयमा सूचना प्रवाह, भेलाहरू बोलाइ सचेत पार्दै छौँ । समस्या हुने सम्भावना देखिएका सहकारीहरूमा अनुगमन गरी सुधार्ने प्रयास गर्दै छौँ । कतिपय सहकारीका सञ्चालकहरूको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गर्न सक्दो प्रयास गर्दै छौँ ।
विकास निर्माण :
चालु आ.व.मा हालसम्म नगरस्तरीय योजनाको रूपमा सडक पूर्वाधार, सडक पीच, ग्राभेल, ब्लक छपाइ र ढुङ्गा छपाइ तथा इँटा छपाइ गरी ८२ वटा नगरस्तरीय र मर्मतका योजनाहरू सम्पन्न भइसकेका छन् । वडा बजेटबाट वडा वडामा पनि विकास निर्माणका कामहरू भइरहेका छन् । खानेपानीतर्फ तुमचो प्लानिङ र कमलविनायक प्लानिङमा खानेपानी ट्याङ्की निर्माण, भनपा १० बेखाल कभर्ड हल र भनपा ६ मा आदर निकेतन भवन निर्माण सम्पन्न भएको छ । बाढीजन्य क्षति न्यूनीकरण गर्न भनपा ८ लिबालीमा रिटेनिङ वाल निर्माण गरिएको छ । क्रमागत योजनाको रूपमा भवनतर्फ बेखाल स्वास्थ्य सेवा केन्द्र भवन, शीत भण्डारगृह, खँचा पोखरी स्वास्थ्य केन्द्र भवन निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
नगरका विभिन्न स्थानहरूमा ट्राफिक व्यवस्थापन नहुँदा समस्या भइरहेकोले नगर प्रहरीको व्यवस्था गरी सोको व्यवस्था र बजार व्यवस्थापनलगायतका उचित व्यवस्थापन गर्ने सक्दो प्रयास गर्दै छौँ ।
भनपा ७, ८, ९ र १० का विभिन्न स्थानहरूमा यस वर्ष ५९ वटा सिसि क्यामेरा जडान गरिएको छ ।
देको मिवा इतापाके आवास योजना :
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना १६५३ रोपनी जग्गामा सञ्चालन भइरहेको छ । कुल कित्ता सङ्ख्या २५०२ मध्येमा हालसम्म ८६२ वटा (प्रतिशत : ३६.१७) पूर्जा वितरण भइसकेको छ । गुठी जग्गाको समस्या र जनताका गुनासाहरूबारे गम्भीरतापूर्वक छलफल गरी समाधानको प्रयास भइरहेको छ भने पूर्वाधार निर्माणका कामहरू पनि भइरहेका छन् ।
बजार अनुगमन :
उपभोक्ता हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न नगरवासीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने सबै किसिमका खाद्य र उपभोग्य सामग्रीहरूको बिक्री वितरणलाई नियमन गर्न समय समयमा भक्तपुर नगरपालिकाले अनुगमन गर्दै छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी पसलहरू, मासु पसल, मिठाइ पसललगायतका विभिन्न व्यापार व्यवसायको नियमितरूपमा अनुगमन भइरहेको छ । अनुगमनको क्रममा भेटिएका, म्याद नाघेका र सडे गलेका वस्तुहरू नष्ट गर्ने र मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गरेको व्यवसायीलाई कानुनबमोजिम कारबाही गरेका छौँ । त्यसैगरी, विकास निर्माणको काममा पनि अनुगमन भइरहेको छ ।
नक्सापास :
आर्थिक वर्ष ०८०/८१ को १० महिनामा कुल ३१२ वटा नक्सा दर्ता भएकोमा सो अवधिमा २७२ वटा नक्सापास भयो । ती मध्ये १५१ जनाले निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् ।
मुद्दा फछ्र्याेट :
आर्थिक वर्ष ०८०/८१ को १० महिनामा अनियमित निर्माणलगायतका विषयमा ४३० वटा मुद्दा फछ्र्योट भयो । सो अवधिमा नगरपालिकामा कुल ३५१ वटा मुद्दा दर्ता भएको थियो ।
पुस्तकालय :
जनज्योति पुस्तकालयमा २०८० जेठ १ गतेदेखि २०८१ वैशाख मसान्तसम्ममा १४ हजार ३४५ जना पाठकहरूले पुस्तकालयको सेवा तथा सुविधा लिएका छन् । नगरवासीहरूको चाहनाअनुसार ई—लाइब्रेरी सञ्चालन भइरहेको छ भने ई–लाइब्रेरी कक्षमा १० वटा इन्टरनेटसहितको कम्प्युटर व्यवस्था गरिएको छ । हालसम्म पुस्तकालयमा १५३५ जना सदस्यहरू आबद्ध छन् । पुस्तकालयमा दर्शन, धर्म, सामाजिक, भाषा, विज्ञान, कला, साहित्य, भूगोल तथा इतिहासका करिब १८ हजारभन्दा बढी पुस्तकहरू सङ्कलित छन् ।
सञ्चार माध्यम :
भक्तपुर नगरपालिकाले आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै सुशासन कायम गर्ने प्रयास गर्दै आएको छ । सो क्रममा भक्तपुर नगरपालिकाले सुरुदेखि नै आफ्नो मुखपत्र प्रकाशन गरी नगरपालिकाको सम्पूर्ण गतिविधि र निर्णयहरू सार्वजनिक गर्दै आएको हो । भक्तपुर नगरपालिकाले नियमित मासिक भक्तपुर, पाक्षिक ख्वप पौ, भक्तपुर खबर डट कम (अनलाइन) पत्रिका, फेसबुक पेज, वेभ साइटमार्फत नगरपालिकाको सम्पूर्ण गतिविधि सार्वजनिक गर्दै आएको छ ।
यो वर्ष ‘वाकुपति चाँगुनारायणमा तामाको छानामा सुनको जलप—२०८०’, भजन गीतसङ्ग्रह र भाजु पुखु पुनःनिर्माण गरी ३ वटा पुस्तक प्रकाशन गरियो ।
विविध :
२०८० मङ्सिर २६ गते जनवादी गणतन्त्र चीनको सचुवान प्रान्तको लसान सहरसँग मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना भयो ।
२०८० मङ्सिर १७ गते ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा भक्तपुर नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूको बृहत् भेला, स्वास्थ्य शिविर, विभिन्न खेल, चित्रकला प्रतियोगिता र बास्केटबल खेल प्रदर्शनी भयो ।
दोस्रो कार्यकालको दुई वर्षको अवधिमा ७५ वटाभन्दा बढी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको प्रतिनिधिमण्डलले यस अवधिमा भक्तपुर नगरपालिकाको अध्ययन/अवलोकन भ्रमण गरेको रेकर्ड छ ।
साथै सङ्घीय र प्रदेश सरकारका २० वटाभन्दा प्रतिनिधिमण्डलले नगरपालिकाको भ्रमण गरेको छ ।
विभिन्न देशका उच्चपदस्थ पदाधिकारीहरूले पनि भक्तपुरको भ्रमण गर्नुभएको छ ।
जेठ ३ र ४ गते वाग्मती प्रदेशका २१ वटा गाउँपालिकाका प्रतिनिधिहरूलाई भक्तपुर नगरपालिकामा सम्पदा संरक्षणसम्बन्धी अभिमुखीकरण सम्पन्न भयो भने जेठ ८ र ९ गते अरु २१ वटा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका प्रतिनिधिहरूको सोही विषयमा अभिमुखीकरण हुने कार्यक्रम छ ।
यसरी भक्तपुर नगरपालिका सबैको लागि सिक्ने ठाउँको रूपमा विकास हुँदै छ । भक्तपुरलाई यो ठाउँसम्म ल्याई पु¥याउन धेरैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुभएको छ । उहाँहरू सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।
हामीले जनताका थुप्रै अपेक्षाबिच सीमित स्रोत र साधनको आधारमा केही काम गर्यौ । भक्तपुर नगर र नगरवासीको निम्ति गर्नुपर्ने धेरै कामहरू बाँकी छन् । ती काम पनि नगरवासीहरूसँग छलफल गरी बिस्तारै गर्दै जाने छौँ । भक्तपुरलाई नमुना नगर बनाउन नगरपालिकाका हरेक काममा सधैँ साथ र सहयोग गर्ने स्थानीय जनता, राजनैतिक पार्टीका कार्यकर्ताहरू, पूर्वजनप्रतिनिधिहरूलगायत सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
Leave a Reply