भर्खरै :

बौद्धवाद, साम्यवाद र पुँजीवाद

  • जेष्ठ १८, २०८१
  • बौद्धवाद, साम्यवाद र पुँजीवाद
  • विचार विशेष
बौद्धवाद, साम्यवाद र पुँजीवाद

xसाम्यवादका केही पक्षहरू र बुद्ध दर्शनका केही व्याख्याहरूबिच धेरै समानताहरू भएकाले साम्यवाद प्रत्यक्षरूपमा बुद्धका शिक्षाहरूमा आधारित छ भन्ने पनि गरिन्छ । साम्यवादमा मुख्यतया सामूहिक स्वामित्व र स्रोतहरूको नियन्त्रणको माध्यमबाट आर्थिक र राजनीतिक समानतामा केन्द्रित हुँदा समाजबाट दुःख अन्त्य हुन्छ भन्ने मान्यता रहेको छ भने बौद्ध धर्मले आध्यात्मिक ज्ञान र व्यक्तिगत विकास तथा वास्तविकताको बुझाइको माध्यमबाट दुःखको उन्मूलन हुन्छ भन्ने रहेको छ । दुवैले समानता र सामाजिक सद्भावको वकालत गछनर्् तर तिनीहरूको दृष्टिकोण र अन्तर्निहित सिद्धान्तमा भिन्नता पाइन्छ ।
व्यक्तिगत स्तरमा आनन्द र कल्याण प्राप्तिको लागि बौद्ध शिक्षाले सजगता, करुणा र बुद्धिजस्ता गुणहरू प्राप्तिको लागि व्यावहारिक विधिहरू सिकाउँछ । ध्यान र नैतिक जीवनजस्ता अभ्यासले व्यक्तिको पीडा कम गर्नुको साथै आफू र अरूसँग आपसी मेलमिलापमा बाँच्न मद्दत गर्छ । अन्तरनिर्भरता, अहिंसा र सबै प्राणीहरूको अन्तरसम्बन्ध जस्ता अवधारणाले द्वन्द्व, असमानता र वातावरणीय ह्रासजस्ता सामाजिक समस्याहरूलाई सम्बोधन गर्न बहुमूल्य अन्तरदृष्टि प्रदान गर्दछ ।
बुद्ध दर्शनले मानिसलाई थप दयालु र न्यायपूर्ण समाजको लागि काम गर्न प्रेरित गर्दछ । सामाजिक स्तरमा यसको व्यावहारिक प्रयोग सांस्कृतिक, ऐतिहासिक र राजनीतिक सन्दर्भहरूमा निर्भर हुन्छ तर बुद्ध दर्शनले व्यक्तिगत रूपान्तरणको महत्वलाई जोड दिन्छ । सामाजिक परिवर्तन प्रायः व्यक्तिगत हित र नैतिक आचरणबाट सुरु हुन्छ । तसर्थ बुद्ध धर्मले सामाजिक सुधारका लागि बहुमूल्य सिद्धान्त प्रदान गरे पनि व्यवहारमा यसको प्रभावकारिता कसरी यी सिद्धान्तलाई व्यापक सामाजिक, राजनीतिक र आर्थिक संरचनाहरूमा लागु र एकीकृत गरिन्छ भन्ने कुरामा नै निर्भर हुन्छ ।
केही सन्दर्भमा, साम्यवाद र बौद्ध दर्शनका केही व्याख्याहरू समानता तथा सबै व्यक्तिहरूको कल्याणमा केन्द्रित छन् । दुवैले व्यक्तिगत लाभको सट्टा समुदायको महत्व र भलाइको लागि काम गर्ने विचारलाई जोड दिन्छन् । दुवैले सामाजिक न्याय र पीडाको उन्मूलनको वकालत गर्छन् । यद्यपि, यी लक्ष्य प्राप्तिको लागि लिइने माध्यम भिन्न भिन्न छन् । बौद्ध दर्शनले व्यक्तिगत नैतिक रूपान्तरण र अहिंसात्मक सामाजिक परिवर्तनलाई प्राथमिकता दिन्छ जबकि समाजवादमा विशेषगरी यसको क्रान्तिकारी रूपमा, वर्गसङ्घर्ष र हिंसालाई परिवर्तनको लक्ष्य प्राप्तीको निम्ति आवश्यक माध्यमको रूपमा लिइन्छ ।
साम्यवाद मुख्यतया आर्थिक र राजनीतिक संरचनाहरूसँग सम्बन्धित छ । साम्यवादले स्रोतहरूको सामूहिक स्वामित्व र निजी सम्पत्तिको उन्मूलनमार्फत वर्गविहीन समाज निर्माण गर्ने लक्ष्य राख्छ भने बुद्ध धर्म एक आध्यात्मिक दर्शन हो जसले व्यक्तिगत ज्ञानमा ध्यान केन्द्रित गर्दछ र पीडालाई जित्नको लागि वास्तविकताको प्रकृतिलाई बुझ्दछ । बौद्ध धर्मले व्यक्तिगत सुधार र बौद्धिक अन्तरदृष्टि दुवैको लागि व्यावहारिक मार्गदर्शन प्रदान गर्ने हुँदा यसले सामाजिक कल्याणमा योगदान दिन्छ । यसरी फरक विधि र सिद्धान्तमार्फत दुवैले एक समानुपातिक समाज स्थापना गर्ने प्रयास गर्छन् । तसर्थ, समानता र सामाजिक सद्भावका लक्ष्यहरू एकआपसमा खप्टिएका छन् ।
साम्यवाद र बौद्ध धर्ममा यति धेरै समानता भइकन पनि विरोधाभाषपूर्ण कुरा भनेको साम्यवादीहरू आफै भने धर्मको विरोध गर्छन् । यही भएर साम्यवादका पक्षधरहरू बुद्ध विचारलाई धर्मभन्दा पनि दर्शनको रूपमा लिन मनपराउँछन् किनकि बौद्ध दर्शनले अन्धविश्वासको सट्टा व्यक्तिगत अनुभव र अन्तरदृष्टिमार्फत प्रश्न गर्न र बुझ्न प्रोत्साहित गर्दछ । यसले बुद्धिमानी र दयालु जीवन जिउनको लागि व्यावहारिक, नैतिक र दार्शनिक शिक्षाहरू प्रदान गर्दछ । बुद्ध दर्शन पौराणिक कथाहरूमा भर नपर्ने आध्यात्मिक मार्ग प्रदान गर्दछ । यसले अन्धविश्वासको बारेमा तर्कसङ्गत सोधपुछलाई जोड दिन्छ ।
यद्यपि, आध्यात्मिक अभ्यासहरू, नैतिक दिशानिर्देशहरू र आत्मज्ञानजस्ता आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यका सामुदायिक संरचनाहरूको माध्यम भएकोले बुद्ध विचारलाई अझै धर्मकै रूपमा मान्ने धेरै छन् । धार्मिक परम्पराहरू, अनुष्ठानहरू, बुद्धप्रति श्रद्धा र सङ्गठित संस्थाहरूजस्तो सबै विशेषताहरू भएकोले यसलाई धर्मको रूपमा लिइन्छ । त्यसैगरी धर्मजस्तै आध्यात्मिक अभ्यास र विश्वासमा निर्भर रहने भएर बौद्ध शिक्षालाई धर्म र दर्शन दुवैको रूपमा स्वीकार्नेहरू धेरै छन् । तर धर्म तीन मुख्य तत्वहरूमा केन्द्रित हुन्छ; विश्वास, मिथक र सिद्धान्त । त्यस्ता मिथकहरूको शक्ति तिनीहरूको तर्कसङ्गत निर्माणमा भर पर्दैन तर तिनीहरूले उत्पन्न गर्ने भावनात्मक प्रभावमा निर्भर हुन्छ । जहाँ जनसमूह छन् त्यहाँ मिथकहरू हुन्छन्, मिथकहरू धर्मशास्त्रका सञ्चालक पनि हुन् । मिथक विश्वासको प्राथमिक वस्तु हो जबकि दर्शन तर्कसङ्गत हुन्छ, विश्वासको औचित्य हुन्छ । त्यसैले यी सबै कुराबाट मुक्त भएको बुद्ध शिक्षालाई धर्मको रूपमा लिइनु भन्दा दर्शनको रूपमा लिइँदा नै उपयुक्त देखिन्छ ।
साम्यवाद र बुद्ध दर्शनबिच सकारात्मक सम्बन्ध भएझँै बुद्ध दर्शन र पुँजीवादबिच पनि सम्बन्ध छ । एकातिर बुद्धवाद र साम्यवादबिच अन्योन्यास्रित सम्बन्ध छ भने अर्कोतिर बुद्धवाद र पुँजीवादबिच विपरीत सम्बन्ध छ । बौद्ध धर्म भित्री शान्ति, करुणा र सबै प्राणीहरूको लागि पीडा कम गर्नमा केन्द्रित छ । यसले भौतिक सम्पत्तिहरूप्रति गैरसंलग्नता र नैतिक आचरणको महत्वलाई जोड दिन्छ । बौद्ध धर्मको लक्ष्य व्यक्तिगत ज्ञान र ध्यानजस्ता अभ्यासमार्फत पीडाको उन्मूलन गर्नु हो भने यसको विपरीत निजी स्वामित्व, प्रतिस्पर्धा र नाफा कमाउनेलाई प्राथमिकता दिने आर्थिक प्रणाली नै पुँजीवाद हो । पुँजीवादले व्यक्तिवादलाई जोड दिन्छ । स्वार्थले आर्थिक वृद्धि र समृद्धिलाई अगाडि बढाउँछ भन्ने विश्वास पुँजीवादको रहेको छ । यस अर्थमा धन सञ्चय पुँजीवादको लक्ष्य हो भने बुद्ध दर्शनले सबैको कल्याणलाई जोड दिन्छ । पुँजीवादले आर्थिक वृद्धि र व्यक्तिगत सफलतालाई जोड दिन्छ । यी दुई प्रणालीहरूबिच यही कुरामा द्वन्द्व हुन्छ । विशेषगरी जब पुँजीवादले असमानता वा शोषणको नेतृत्व गर्दछ भने बुद्ध दर्शनले करुणा र नैतिक आचरणलाई जोड दिन्छ ।
सङ्क्षेपमा बौद्धवाद, समाजवाद र पुँजीवादलाई मानव कल्याण र सामाजिक सङ्गठनबारे तिनीहरूको छुट्टाछुट्टै तर अन्तरक्रियात्मक दृष्टिकोणबाट एकअर्कासँग जोड्न सकिन्छ । साम्यवादले सामाजिक समानता र सामूहिक कल्याणको वकालत गर्दै दुःख निम्त्याउने असमानताहरूलाई कम गर्न खोज्दै यी मूल्यहरूसँग सामञ्जस्यता कायम गर्छ । व्यक्तिगत पहल र बजारमुखी वृद्धिमा केन्द्रित पुँजीवादले नैतिक अभ्यास र सामाजिक उत्तरदायित्वलाई समाहित गरेको खण्डमा यसलाई बौद्धवादको दृष्टिकोणबाट पनि हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *