भर्खरै :

चुनौतीपूर्ण पश्चिम यात्रा

चुनौतीपूर्ण पश्चिम यात्रा

नेपाल एक भूपरिवेष्ठित मुलुक हो । यहाँ जलमार्गको पहुँच खासै सम्भव छैन । भौगोलिक अवस्थाका कारण सर्वत्र हवाइमार्गको उपलब्धता पनि छैन । त्यसकारण, नेपालीका लागि सडकमार्गबाहेकको विकल्प छैन । तर, नेपालको बिग्रे/भत्केका सडकहरूमा लामो यात्रा गर्न सहज भने पक्कै छैन । यात्रुहरूका लागि सडकमार्ग दिनानुदिन कष्टकर बन्दै गइरहेको छ ।
काठमाडौँ उपत्यकाबाट पश्चिम यात्राका लागि नागढुङ्गा–धादिङ–चितवन हुँदै जानुपर्ने हुन्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्नका लागि यही नै प्रमुख मार्ग हो । तर, सडकको अवस्था, यातायात व्यवसायीको मनोमानी तथा सरोकारवालाहरूको लापरबाहीले नेपाली राजमार्गहरूको यात्रामा यात्रुहरूलाई शारीरिक र मानसिक यातना हुन्छ । गाडीको साहु, कर्मचारी र टिकट काउन्टरको मिलेमतोमा गाडीको क्षमताभन्दा बढी यात्रु भेडा कोचेजस्तो कोच्ने गरेको पाइन्छ । फलतः कतिपय यात्रु गाडीको भुइँमै बसेर त कतिपय मुडामा बसेर यात्रा गर्न बाध्य हुन्छन् । गाडीमा खानेपानीलगायत सामान्य सुविधाहरू पनि नहुँदा यात्रा झन् पीडादायी र चुनौतीपूर्ण बनेको छ ।
कमिसनको लोभमा चालक दलका सदस्यहरूले आफ्नो मिलेमतोअनुसारको ठाउँमा खाना र खाजाका लागि रोक्ने गर्छन् । नजिकमा कुनै अन्य खाना तथा नास्ता पसल नहुँदा यात्रुहरू चर्को शुल्क तिर्न बाध्य हुन्छन् । महँगो शुल्क तिरे पनि गुणस्तरहीन खाना–खाजा खान बाध्य हुन्छन् । जसले गर्दा उनीहरूको स्वास्थ्यमा थप समस्या आउँछ ।
२१ औँ शताब्दीको विज्ञान, प्रविधि र सूचनाको युगमा पनि नेपाल यस्तो विषयमै अलमलिनु लज्जास्पद कुरा हो । त्यसैले अब यसको विकल्प खोज्नुपर्छ । लामो दुरीको यात्रा गर्ने यात्रुहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । क्षमताभन्दा एकजना यात्रु पनि बढी राख्न दिनुहुँदैन । गाडीमा खानेपानी, सामान्य औषधि, टीभी, एअर कन्डिसन, चार्ज गर्ने सुविधा, डस्टबिनलगायतका सामग्रीहरूको व्यवस्था गर्नुपर्छ । आवश्यक उचित दूरीमा शौचालय र पुनःताजकी केन्द्रको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । राजमार्ग छेउछाउका सबै होटल, नास्ता पसल र लजको गुणस्तर नियमित चेकजाँच गर्नुपर्दछ । यसबारे सम्पूर्ण सरोकारवाला पक्षहरूले यथाशीघ्र ध्यान दिनु र समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ ।
म र साथी रोजित महर्जन बझाङ जानका लागि २०८० चैत २१ गते काठमाडौँबाट हिँड्यौँ । कैलाली र कञ्चनपुरका साथीहरू पनि हाम्रो यात्रामा अत्तरियाबाट थपिनुभयो । २०८१ वैशाख १५ गते हुने बझाङ क्षेत्र नं. १ (क) को सुदूरपश्चिम प्रदेशसभा उपनिर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीको उम्मेदवारी दर्ता गराउन हामी पार्टी केन्द्रको निर्देशनमा गएका थियौँ । काठमाडौँबाट हिँडेको ३५ घण्टाको चुनौतीपूर्ण यात्रापश्चात् हामी बझाङ पुग्यौँ । हामी बझाङको सदरमुकाम चैनपुर पुग्दा रातको १० बजिसकेको थियो । हामी हतार–हतारमा होटल खोज्न लाग्यौँ ।
चैनपुर अत्यन्तै सुन्दर बजार हो । सदरमुकाम भएर पनि हुनुपर्छ, सबैखाले सुविधा पाइन्छ । एकातर्फबाट बौली खोला र अर्कोतर्फबाट सेती नदीले सिमाना कोरिदिएको चैनपुर मलाई प्रकृतिको अनुपम उपहार लाग्यो । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला प्राकृतिक सुन्दरताले भरिएको छ । सांस्कृतिक रूपमा पनि बझाङ भरिपूर्ण छ । त्यहाँ नेपाली र डोटेली भाषा बोल्दा रहेछन् ।
चैत २४ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले निर्वाचन कार्यालय खोज्नतर्फ लाग्यौँ । उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय बझाङ जिल्ला अदालतमा बनाइएको रहेछ । हामी त्यहाँ गएर उम्मेदवारी प्रक्रियाबारे बुझ्यौँ । फर्किने क्रममा बौली खोलामा केटाकेटीहरू नुहाइरहेको देख्दा गाउँले जीवनको सरलता र स्वच्छता मनन गरेँ । अनि, सहरको खोला सम्झिएँ जहाँबाट हिँड्दा टाउको दुख्लाझैँ गरी गन्हाउँछ । नाक–मुख नछोपी हिँड्न सकिन्न ।
उम्मेदवारी दर्ता गर्न जाँदा हामी ६–७ जना मात्र थियौँ । शासक दलको भने भिड थियो । सहभागीहरूको चेतनास्तर हेर्दा, बुझ्दा र सोध्दा निकै नाजुक देखियो । राजनीतिक सिद्धान्त र विचार बुझाएर ल्याए होला भनेको होइन रहेछ । झुक्याउन र लोभलालचमा पारेर आफ्नो जालमा पार्न त्यहाँका शासक दलका नेता पनि माहिर रहेछन् । भोज खुवाएर, आश्वासन र पैसा बाँडेर भिड जम्मा गरेको स्पष्ट भयो । उम्मेदवारी दर्ता गरी भोलिपल्ट मलगायत केही साथी त्यहाँबाट काठमाडौँ फर्कियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *