भर्खरै :

विश्वविद्यालय प्रमाणपत्र वितरण गर्ने थलोमा सीमित हुन नहुने

विश्वविद्यालय प्रमाणपत्र वितरण गर्ने थलोमा सीमित हुन नहुने

भक्तपुर, २२ जेठ । विश्वविद्यालय अनुदान आयोगको सहयोग र ख्वप कलेजको आयोजनामा ‘अ वर्कशप अन आर–स्टुडियो पोग्राम’ को उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले मङ्गलबार गर्नुभयो ।
ख्वप कलेजमा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले विश्वविद्यालय भनेको शैक्षिक प्रमाणपत्र वितरण गर्ने थलोको रूपमा सीमित हुन नहुने चर्चा गर्दै विश्वविद्यालय गुणस्तरीय शिक्षाको साथै सीप सिकाउने थलो हुनुपर्ने बताउनुभयो ।
विश्वविद्यालय अनुसन्धानको केन्द्र बन्नुपर्ने मान्यता रहेको उल्लेख गर्दै उहाँले जुन जुन देश अनुसन्धानमा अगाडि छ त्यो त्यो देशको विकासले गति लिएको स्पष्ट भन्नुभयो, “अनुसन्धानमा जोड दिएकै कारण छिमेकी देश चीनले सन् २०२० मा गरिबी उन्मूलन भएको घोषणा ग¥यो । चीन एक्लैले विश्वको २५ प्रतिशत विद्युत्, ३३ प्रतिशत कार, ६० प्रतिशत सिमेन्ट, ४० प्रतिशत समुद्री जहाज, १३ प्रतिशत सुन, १७ प्रतिशत खेलौना उत्पादन गर्न सफल भएको छ । चीनको विदेशी मुद्रा सञ्चिति विश्वमै सबभन्दा बढी ३.१२ डलर पुगेको छ ।”
“सन् १९७० को दशकमा चीनले विकास गरेको हाइब्रीड धानको उत्पादन संसारकै लागि उपलब्धि भएको र जुन अनुसन्धानकै प्रतिफल हो,” प्रमुख प्रजापतिले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिरहेको चर्चा गर्दै उहाँले भनपाद्वारा सञ्चालित कलेजहरूलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “नेपाललाई विदेशीले बनाइदिन्छ भनेर हामीले कहिल्यै नसोचौँ, अरुले नगरे पनि हामीले गर्नुपर्छ, अरुको मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्छ । आशाको दियो जगाइराख्ने काम हाम्रा कलेजहरूले गर्नुपर्छ । यस कार्यमा शिक्षक/कर्मचारीहरूले निःस्वार्थपूर्वक सेवा गर्नु आवश्यक छ ।”
नेतृत्व राम्रो भए संस्था राम्रो हुने भनेजस्तै देशको नेतृत्व गर्ने शासक पार्टीहरू इमानदार र योग्य भएमा छोटो समयमा नै धेरै प्रगति गर्न सकिने उदाहरण विश्वका समाजवादी देशहरू रहेको उहाँले स्पष्ट पार्नुभयो ।
संस्थामा अनुशासनको महत्व धेरै हुने, अनुशासित नभए सबैतर्फ भताभुङ्ग हुँदै जाने भएकोले यसतर्फ नेतृत्व पक्ष सधैँ सचेत रहनुपर्ने धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा राजनीतिक खिचातानी नै प्रमुख भएको र यसको दोषी सरकारमा जाने पार्टीहरू नै रहेको स्पष्ट पार्दै प्रमुख प्रजापतिले शिक्षा क्षेत्र बिग्रिएपछि अरु सबै क्षेत्र भताभुङ्ग हुँदै जानेतर्फ सचेत गराउनुभयो ।
काठमाडौँमै मात्र ५० वटाभन्दा विदेशी सम्बन्धनमा चलेको कलेजहरूमा २० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले गहन चिन्तन गर्नुपर्छ । युवाहरूको विदेश पलायन रोक्न समय सुहाउँदो कोर्स तयार गरी गुणस्तरीय शिक्षा दिनुपर्छ ।
विद्यार्थीको मागअनुसारका विषय पढाउन सञ्चालन भइरहेका कलेजहरूलाई कोटा थपको स्वीकृति दिनुपर्छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले अनुसन्धानलाई जोड दिनेतर्फ कलेज चिन्तनशील रहेको चर्चा गर्दै तालिम फलदायी हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ र एमए अर्थशास्त्र इन्चार्ज रूपक खड्काले पनि बोल्नुभएको थियो ।
डा. शङ्करकुमार श्रेष्ठ र विकास श्रेष्ठ स्रोतव्यक्ति रहेको उक्त तालिम जेठ २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *