भर्खरै :

पदको निम्ति धम्की र घुर्की राजनीति होइन

पदको निम्ति धम्की र घुर्की राजनीति होइन

काठमाडौँ, २२ जेठ । पुँजीवादी प्रजातन्त्रमा सरकार परिवर्तनका खेलहरू चलिरहन्छन् । यो कुनै नौलो कुरा होइन । प्रमुख प्रतिपक्ष दलले सत्ता पक्षको कमी कमजोरी जनताबिच औँल्याएर अन्य दलको साथमा सरकार परिवर्तन गर्न खोज्नुलाई स्वाभाविक मानिन्छ । तर, सिद्धान्तहीन गठबन्धन गर्नाले शासक दलहरू भने आफै जनताबिच नाङ्गिँदै छन् । वर्तमान प्रधानमन्त्री प्रचण्डले डेढ वर्षमा ३ पटक सत्ता गठबन्धन हेरफेर गरे भने चारपटक विश्वासको मत लिए । अझ उनी भन्दै छन्, ‘जति पटक पनि विश्वासको मत लिन म तयार छु ।’ पदको लागि पार्टीका नामधारी संसद्मा रहेका स्वार्थीहरूका झुण्डहरूले पटक पटक विश्वासको मत दिँदैमा जनताको विश्वास प्राप्त गरेको मानिँदैन ।
एकीकृत समाजवादीको भूमिकालाई लिएर फेरि सत्ता गठबन्धन हेरफेर हुने विषयले चर्चा पाएको छ । केही दिनअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी भए । त्यसपछि भने सरकार परिवर्तनको विषयले चर्चा पाएको हो । बुढानीलकण्ठमा बसेको बैठकमा उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी र लोसपासँगै माधव नेपाल र उनका पार्टीका अर्का नेता मेटमणि चौधरी उपस्थित भएका थिए । बैठकमा मधेस प्रदेश सरकार गठनबारे छलफल भएको बताइन्छ ।
केन्द्रको सरकार हेरफेरसँगै मधेस सरकारबाट एमाले र माओवादीले आआफ्नो समर्थन फिर्ता लिइसकेका छन् । तर, अहिलेसम्म एकीकृत समाजवादीले भने समर्थन फिर्ता लिएको छैन । हाल उपेन्द्र यादवले नेतृत्व गरेको जसपाको सरकार छ । माधव नेपालले सार्वजनिकरूपमै आफ्नो पार्टीलाई माओवादी र एमालेले अपमानजनक व्यवहार गरेको बताउँदै वर्तमान गठबन्धनप्रति असन्तोष व्यक्त गर्दै आएका छन् ।
मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने अन्तिम समयमा पार्टीले निर्णय गर्ने नेता नेपालको भनाइ छ । जेठ २३ गते मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने बताइसकेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादीलाई एमालेले सहयोग नगरेको, अन्य प्रदेशमा सरकारमा सहभागी नगराएको जस्ता थुप्रै असन्तुष्टि नेता नेपालको छ । उनी एमालेसहितको केन्द्रीय सरकारप्रति सुरुदेखि नै सन्तुष्ट छैनन् । एकीकृत समाजवादी वर्तमान सरकारमा अन्तिममा मात्रै सहभागी भएको थियो ।
एकीकृत समाजवादी पार्टीमा १० जना सांसदहरू छन् । त्यसको आधारमा नेपाल कुनै पनि हालतमा प्रधानमन्त्री बन्न चाहन्छन् । प्रधानमन्त्री हुने सर्तमा उनी जुनसुकै मूल्य चुकाउन पनि तयार देखिन्छन् । नैतिकता, पार्टीको सिद्धान्त र विचार उनको लागि गौण विषय बनेका छन् । उनकै एक केन्द्रीय सदस्य भन्छन्, “नेपाल प्रधानमन्त्रीबाहेक केही देख्दैनन्, प्रधानमन्त्रीको एक बुँदे सर्तमा अगाडि बढ्दै छन् ।” यसअघिको माओवादी नेतृत्वमा बनेको नेकासहितको सरकारमा प्रचण्डपछि १ वर्ष नेपाललाई प्रधानमन्त्री बनाउने सहमति गरिएको थियो । उनी कुनै पनि हालतमा त्यो सहमति कार्यान्वयन गर्न चाहन्छन् । उनी प्रधानमन्त्री भएर जनताले के पाउँछन् ? यसअघि नै उनी पटक पटक प्रधानमन्त्री भइसकेका पात्र हुन् । महाकाली सन्धि, नागरिकता विधेयकजस्ता राष्ट्रघाती सन्धि र विधेयकहरू पारित गर्नमा उनको मुख्य भूमिका थियो ।
देउवाले नेपालको यही कमजोरीलाई लिएर आफ्नो पक्षमा तान्न हरदम प्रयास गर्दै छन् भने देउवालाई देखाउँदै नेपालले माओवादी र एमालेलाई धम्क्याउने र घुक्र्याउने गर्दै छन् । पदको लागि धम्क्याउनु र घुक्र्याउनु राजनीति होइन, त्यो त अवसरवाद हो । अवसरवाद पुँजीवादी रोग हो । यसले नेताहरूको बदनाम मात्र गर्दैन पतनको मुखमा पु¥याउँछ । माधव नेपाल पतनको बाटोमा अघि बढिरहेको सङ्केत हो, अहिलेको उनको अस्थिर चरित्र ।
नेता नेपाल यही अवस्थामा अघि बढिरह्यो भने पार्टी फुट्ने प्रायः निश्चित जस्तै देखिन्छ । एकीकृत समाजवादीका अर्का नेता झलनाथ खनालले मधेस सरकार निर्माणमा ‘केन्द्र सरकार गठबन्धनसँगै अघि बढ्ने’ बताइसकेका छन् । कथं कदाचित माधव नेपाल फरक ढङ्गले अघि बढे त्यसको विरुद्ध खनाल अघि बढ्न तयार भएको उनको अभिव्यक्तिले प्रस्ट पारिसकेको छ ।
एमाले अन्य पार्टी फुटाउन र प्रलोभन दिएर सांसद बिगार्ने पार्टी हो । यो संसद्मा प्रतिनिधित्व गर्ने नेमकिपालगायत धेरै पार्टीहरूले अनुभव गरिसकेको विषय हो । उपेन्द्र यादवले शेरबहादुर देउवासँग मिलेर प्रधानमन्त्रीको सपना के देखेका थिए, उनको पार्टी फुट्यो वा फुटाइयो । यादव विदेशमा रहेकै बखत अशोक राई नेतृत्वमा अर्को जसपा गठन भयो । निर्वाचन आयोगले पनि तत्काल मान्यता दियो । एमाले र माओवादीकै पहलमा पार्टी फुटाइएको आरोप लाग्यो । जे भए पनि त्यो माधव नेपालको लागि एक प्रकारको सतर्कता वा चेतावनी थियो ।
एकीकृत समाजवादीभित्र एमालेसँग मिलेर जानुपर्छ भन्ने पक्षधरहरूको आवाज सशक्त बन्दै गएको छ । पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको आरोप नेपालले खेप्दै आएका छन् । झलनाथ खनाल, रामकुमारी झाँक्री, घनश्याम भूषालहरू एमालेसँग मिल्नुको विकल्प नरहेको बताउँदै छन् । कुनै पनि बेला ती नेताहरूले एकीकृत समाजवादी त्यागेमा आश्चर्य मान्नुपर्ने छैन कुनै उपयुक्त बहानामात्र चाहिएको छ । मधेस सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय नै एकीकृत समाजवादीको भविष्य निर्धारण गर्न सक्ने आकलन पनि गरिएको छ । एमाले र माओवादीले जनमत पार्टीलाई मुख्यमन्त्री दिने निर्णय गरिसकेका छन् ।
एकातिर एकीकृत समाजवादी पार्टीको अवस्था नाजुक हुँदै छ भने अर्कोतिर केन्द्र सरकारको भविष्य पनि अन्योल छ । आ.व. २०८१।८२ को बजेटमा एमाले अध्यक्ष ओली स्वयम् पनि असन्तोष देखिन्छन् । जेठ १९ गते बजेटबारे संसद्मा बोल्दै एमाले अध्यक्ष केपी ओलीले भने, ‘‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको हो जस्तो अलि बढ्ता देखिएको छ ।’’ तर यत्तिकै असन्तुष्टिले गठबन्धनमा परिवर्तन होला भनी सोच्नु उचित हुन्न । तर, गठबन्धनभित्र असन्तोष रहेको भने बुझ्न ओलीको अभिव्यक्ति स्वयम् काफी छ । ओली पनि आफ्नो अभिव्यक्तिले प्रचण्डलार्ई ‘साइजमा बस्न’ चेतावनी दिँदै छन् ।
पुँजीवादी प्रजातन्त्रमा पद र पैसाको लागि धम्काउने र घुक्र्याउने खेलहरू भइरहन्छन् ।
पद र पैसाको लागि मोलमोलाइ गर्नेहरू कम्युनिस्ट त हुनै सक्दैनन्, त्यो पुँजीवादी पार्टीको पनि राम्रो चरित्र होइन । शासक पार्टीहरूले सिद्धान्त र विचारलाई त्याग्दा राजनीति गलत बाटोतर्फ अगाडि बढ्दै छ । त्यसलाई ठीक ठाउँमा ल्याउन सचेत नागरिकहरूले राजनीतिमा सहभागी भएर गलत काम गर्ने नेताहरूको खुलेर आलोचना र विरोध गर्नु अहिलेको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *