भर्खरै :

आ.व. २०८१/८२ को बजेट तर्जुमाका लागि कृषक प्रतिनिधिहरूसँग राय सुझाव सङ्कलन

आ.व. २०८१/८२ को बजेट तर्जुमाका लागि कृषक प्रतिनिधिहरूसँग राय सुझाव सङ्कलन

भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि कृषक प्रतिनिधिहरूसँग राय सुझाव सङ्कलन कार्यक्रम मङ्गलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले कृषक भेलाबाट निकै महत्वपूर्ण सुझावहरू प्राप्त भएको बताउँदै भक्तपुर नपाले नगरवासीहरूको हितमा आवश्यक नीतिहरू बनाउन नगरवासीहरूसँग रायसुझाव सङ्कलन गर्ने कार्यलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।
छलफलमा उठेका रायसुझावमध्ये प्राथमिकताको आधारमा योजना छनोट हुने बताउँदै उहाँले भक्तपुर नपाले कृषकहरूलाई तालिम, बीउबिजन वितरणका साथै प्राविधिक सहयोगमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले कृषि क्षेत्रमा गरिरहेको विभिन्न गतिविधिबारे अवगत गराउँदै प्रमुख प्रजापतिले कृषकहरूको लागि बाली स्वास्थ्य उपचार शिविर तथा माटो परीक्षण शिविर सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत वसन्त भट्टराईले आ.व. ०८१।८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको लागि विभिन्न विषयमा १०।१० जना नगरवासीहरूको प्रतिनिधित्व गराई सुझाव सङ्कलन गरी जनमुखी बजेट निर्माणमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित कृषक प्रतिनिधिहरूले कृषकहरूको लागि कृषि ऋणको व्यवस्था गर्नुपर्ने, नगरकोट सडक दायाँ बायाँ पेटी निर्माण गर्नुपर्ने, मल अभावको दीर्घकालीन समस्या समाधानतर्फ नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने, भक्तपुर नपाले निर्माण गरिरहेको चिस्यान केन्द्र निर्माण कार्यलाई तिव्रता दिनुपर्ने, कृषिमा बजेट वृद्धि गर्नुपर्ने, कृषकहरूलाई कम्पोस्ट मल प्रयोग विधिबारे अभिमुखीकरण गर्नुपर्ने, पानीको स्रोत संरक्षण आवश्यक भएको, कृषि चुन समयसापेक्ष ढङ्गले वितरण गर्नुपर्ने, नपाले वितरण गर्ने बीउबिजनको गुणस्तर मापन हुनुपर्ने, तरकारी बजारको व्यवस्थापन, आधुनिक पशु वधशाला निर्माण गर्नुपर्ने, विषादी न्यूनीकरणबारे कृषकहरूलाई वडागतरूपमा तालिम सञ्चालन गर्नुपर्नेलगायतका सुझावहरू राखेका थिए ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *