भर्खरै :

लुटाहा किन दानी बन्ने ढोङ गर्छ ?

लुटाहा किन दानी बन्ने ढोङ गर्छ ?

जटिल प्रेरणा र परिस्थितिहरूको कारण एकै व्यक्ति डाँकु र परोपकारी दुवै हुनसक्छ । ‘लुटको धन फुपूको श्राद्ध’ भनेजस्तै मानिसहरू लोभमा अरुको सम्पत्तिमाथि डाँका डाल्छन्, अनि लुटेको त्यही धनबाट अरूलाई मद्दत गर्ने प्रेरणा पनि आउँछ । खराब र असल कार्यहरूको यो मिश्रणले के देखाउँछ भने मानवीय व्यवहार जटिल र विभिन्न भावनाद्वारा प्रेरित हुन्छ । उदाहरणको लागि दान गरेमा विगतमा गरेको पापबाट मुक्त हुन्छ भन्ने कथित धर्मको औषधि खाएको अवस्थामा यो मनोविज्ञानले काम गर्छ । यसरी सामाजिक र सांस्कृतिक मापदण्डहरूले व्यक्तिको कर्मलाई प्रभाव पार्छ । दान दिने र घुस लिने व्यक्तिको मनोविज्ञान जटिल हुन्छ । उसले गरेको परोपकार सबैलाई थाहा हुने हुँदा उसको राम्रो कामलाई समाजले प्रशंसा गर्छ । कसैलाई थाहा नहुने ठानेर घूस स्वीकार्छ भने दान दिएको सबैलाई थाहा हुने भएर आफ्नो सामाजिक छविलाई बढाउँछ भन्ने विश्वासले पनि दान दिन अग्रसर हुन्छ । जीवनका विभिन्न पक्षहरूमा तिनीहरू राम्रो छवि कायम राख्ने कोसिस पनि गर्छन् । समग्रमा लुटाहाहरूसँग पातलो नैतिकता हुन्छ । हाम्रो समाजमा ठुलठुला धार्मिक आयोजनाहरूमा दान दिने व्यक्ति नै घुस लिएको वा कर छली गरेको आरोपमा पक्रिएको धेरै उदाहरणहरू छन् । त्यसैले दान वा चन्दा दिँदैमा उक्त व्यक्ति इमानदार नै होला भनेर ठोकुवा गर्न सकिँदैन ।
वास्तवमा यस्तो व्यवहारलाई ढोङ्गी भनिन्छ । व्यक्तिले परोपकारमा दान गरेर आफूलाई उदार र नैतिकरूपमा इमानदार भएको ढोङ्ग गर्छन् । सहयोग गर्ने नैतिक सिद्धान्तलाई निरन्तर पालना नगर्ने हुँदा तिनीहरूको सार्वजनिक व्यक्तित्व र निजी कार्यहरू बिचको यो विरोधाभास ढोङ्गीको राम्रो उदाहरण हो ।
यस सन्दर्भलाई अन्तर्राष्ट्रिय घटनाक्रमसँग जोडौँ । रुसले युक्रेनमा आक्रमण गरेको भनेर रुसको सम्पत्ति लुटेर युक्रेनलाई सहयोग गरेर दानी बन्ने ढोङ्गी गरिरहेका छन्, पश्चिमेली मुलुकहरू । अमेरिकाको ढोङ्ग त देखिनसक्नु छ ! युक्रेनको पुनर्निर्माणमा स्थानान्तरणको लागि अमेरिकी बैङ्कहरूमा रहेको रूसी सम्पत्ति जफत गर्न अनुमति दिने Rebuilding Economic Prosperity and Opportunity for Ukrainians Act (REPO) ऐन अमेरिकाले पारित गरियो । अमेरिकाले रुसको रोक्का गरिएको सम्पत्तिबाट करिब ३०० बिलियन डलर युक्रेनमा पठाउने कानुनलाई अनुमोदन ग¥यो । रुसी सम्पत्ति युक्रेनलाई दिने नाममा अमेरिकी हतियार युक्रेनलाई बेचेर त्यसको बदलामा ती रुसी पैसा अमेरिकाले हडप्नेछ । एकातिर युक्रेनलाई सहयोग गरेको जस्तो पनि देखिने अर्कोतिर आफ्नो पुरानो मौज्दात हतियार युक्रेनलाई बेचेर रुसीकै पैसामा रुसविरुद्ध लड्न पनि लगाउने । अमेरिकी नैतिकता ! डकैती र दानको उच्चतम उदाहरण दिएर अमेरिका विश्व बजारमा आर्थिक अराजकता निम्त्याउन चाहन्छ ।
रुसले २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पश्चिमी सरकारहरूले मुख्यतया युरोपेली बैङ्कहरूमा रहेका पैसा, धितोपत्र, सुन र बन्डहरूलगायतका रुसी सम्पत्तिहरू लगभग ३०० अर्ब डलर जफत गरेर युक्रेनलाई दिने निर्णय गरे । यी रोक्का गरिएका सम्पत्तिहरूले वार्षिक ब्याजमा करिब ३ अर्ब आम्दानी गर्ने अनुमान गरिएको छ । जी–७ नेताहरू युक्रेनलाई रुसविरुद्धको लडाइँमा हतियार उपलब्ध गराउन र युद्धपछिको पुनर्निर्माणमा सहयोग गर्न ती सम्पत्तिहरूको प्रयोग गर्न सहमत भएका छन् । रुसले यी कार्यहरूको कडा आलोचना गरेको छ, तिनीहरूलाई ‘२१ औँ शताब्दीको डकैती’ भनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमले रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ भनी निन्दा गरे र यसलाई ‘दण्डबाट मुक्त हुन नसक्ने’ वाचा गरे ।
युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न रुसको सम्पत्ति जफत गर्ने प्रश्न एउटा जटिल कानुनी र राजनीतिक मुद्दा हो । रुससँग युद्ध नभएका देशहरूमा रहेका रुसी सम्पत्तिहरू स्थायीरूपमा जफत गर्दा अन्य राष्ट्रहरूको लागि जोखिम बढ्ने निश्चित छ ।
वर्तमान विश्व व्यवस्थामा कानुनी, राजनीतिक र मानवीय पक्षलाई सन्तुलनमा राख्नु महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय कानुनले सशस्त्र द्वन्द्व, लुटपाट र इनामसम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्छ । विद्यमान अन्तर्राष्ट्रिय कानुनले यी समस्याहरूलाई कसरी सम्बोधन गर्न सक्छ ? यतिबेला यो प्रश्न निकै पेचिलो बनेको छ । जेनेभा महासन्धिमा नागरिक र सांस्कृतिक सम्पदाको संरक्षण सन्धिले सशस्त्र द्वन्द्वका बेला नागरिकको सुरक्षाका लागि नियमहरू बनाएका छन् । तिनीहरूले लुटपाटसहित नागरिकविरुद्ध हिंसात्मक कार्यलाई निषेध गर्छन् । यस सन्दर्भमा युक्रेनी पूर्वाधारमाथिको रुसी आक्रमण पनि युक्रेनले क्रिमियास्थित कर्च ब्रिजमाथि आक्रमण गरेपछि मात्र सुरु भएको थियो । हेग कन्भेन्सन सशस्त्र द्वन्द्वका बेला सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित छ । यसले सांस्कृतिक सम्पत्तिको जानाजानी विनाश वा चोरीलाई निषेध गर्दछ । अन्तर्राष्ट्रिय कानुनले राज्यहरूलाई तिनीहरूका सशस्त्र बलहरूले गरेको कार्यको लागि जिम्मेवार ठहराउँछ । यदि रुसी सेना लुटपाटमा संलग्न छन् भने, युक्रेनले क्षतिपूर्ति माग्न सक्छ । तर, यी माथि उल्लेखित कुनै पनि अन्तर्राष्ट्रिय नियम उल्लङ्घन नभएको रुसको जिकिर छ । त्यसैले सम्पत्ति जफत अन्तर्राष्ट्रिय द्वन्द्वको सन्दर्भमा कानुनीरूपमा मेल खाँदैन । युक्रेनलाई सहयोग गर्न रुसी सम्पत्तिहरू जफत गर्ने पश्चिमी राष्ट्रहरूको निर्णय कानुनी र रणनीतिक दुवै पक्षबाट डकैती नै हो । सम्पत्ति धारक रुसले पश्चिमको यो कार्य राजनीतिकरूपमा प्रेरित भएको दाबी गर्दै त्यस्ता आदेशहरूको वैधतालाई चुनौती दिएको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार सामान्यतया सार्वभौम उन्मुक्तिको सिद्धान्तअन्तर्गत कुनै पनि देशको सम्पत्ति अन्य राष्ट्रहरूद्वारा कब्जा गर्न पाइँदैन । तर, युरोपेली मानव अधिकार अदालतले आक्रमणको प्रतिक्रियामा रूसी सम्पत्ति रोक्का गर्ने कार्यलाई वैधता दिएको छ । ‘आफै धामी आफै बोक्सी’ को पारामा आफैले खडा गरेको अन्तर्राष्ट्रिय अदालतको आडमा पश्चिमी मुलुकहरूले बल मिचाइ गरेको छ । जवाफदेहिता हराएको छ । निष्पक्ष भएर न्याय, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय सम्बन्धहरूबिचको सन्तुलन खोज्न कानुनी विशेषज्ञहरू र नीति निर्माताहरू निरन्तर लागिरहनुपर्छ । यो विशिष्ट परिस्थिति अन्तर्राष्ट्रिय सहमतिमा समाधान हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *