भर्खरै :

आधुनिकताको व्याख्या गर्दै चिनियाँ कम्युनिस्ट पार्टी

आधुनिकताको व्याख्या गर्दै चिनियाँ कम्युनिस्ट पार्टी

चीनको दीर्घकालीन आर्थिक र सामाजिक नीति तर्जुमा गर्न चिनियाँ कम्युनिस्ट पार्टीको हरेक तेस्रो बिस्तारित बैठकलाई महत्वपूर्ण मानिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा हुने गर्छ र एक महाधिवेशनदेखि अर्को महाधिवेशनको बिचमा सातपटक बिस्तारित बैठक बस्ने गर्छ । ती बिस्तारित बैठकहरूमध्ये तेस्रो बिस्तारित बैठक भने मूलतः चीनको आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा, बहस र नीति तर्जुमामा केन्द्रित हुने गर्छ ।
गत १५ जुलाईदेखि सुरु भएको बीसौँ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेस्रो बिस्तारित बैठक १८ जुलाईमा सम्पन्न भयो । केही पश्चिमा सञ्चारमाध्यम र विश्लेषकहरूले व्याख्या गरेजस्तो चीन आर्थिकरूपमा अवनतिको बाटो लागेको प्रचार सत्य नभए पनि कोभिड महामारीयता संसारले सामना गरिरहेको आर्थिक मन्दीको प्रभावबाट चीन पूर्णतः मुक्त भने छैन । सन् २००८ को आर्थिक सङ्कटबाट चीन तुलनात्मकरूपमा कम मात्र प्रभावित थियो । यतिञ्जेल भूमण्डलीकरणको भित्री घेरामा पसिसकेको चीन यतिबेलाको आर्थिक सङ्कटमा चोखो जोगिन सम्भव पनि छैन । तथापि, चीनले यतिबेला झेलिरहेका आर्थिक चुनौती पश्चिमा पुँजीवादी देशका जस्ता सुल्झाउनै नसकिने संरचनागत आर्थिक सङ्कट भने होइन ।
चीनको सात दशकको इतिहासलाई फर्केर हेर्दा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हरेक पटकको चुनौती र समस्यालाई अवसर र सफलतामा रूपान्तरण गर्दैै आएको छ । तेस्रो बिस्तारित बैठकपश्चात् जारी वक्तव्यले यतिबेला चीनसामुका चुनौतीलाई पनि अवसरमा बदल्न चिनियाँ नेतृत्व दृढ सङ्कल्पित रहेको देखिन्छ ।
चीनको आर्थिक विकाससँगै विश्वसँग चिनियाँ जनताको अन्तरक्रिया पनि गहिरो र फराकिलो बन्दै गएको छ । फलतः आफ्नो सरकारसँग उनीहरूको अपेक्षा पनि लगातार बढ्दो छ । विशेषतः चीन सरकारसँग चिनियाँ युवाहरूका अपेक्षा निकै फराकिलो हुँदै छ । सामाजिक सञ्जाल र सूचना प्रविधिको अभूतपूर्व विकासले चिनियाँ युवाहरूका आवश्यकता, राजनीतिक नेतृत्वप्रतिको अपेक्षा र उनीहरूका चिन्तन शैलीमा गुणात्मक परिवर्तन हुँदै छ ।
चीन सरकारसमक्ष एकातिर आफ्ना जनताका यी बढ्दो अपेक्षा पूरा गर्नुपर्ने चुनौती छ भने अर्कोतिर चीनभित्र अद्यापि कायम रहेको क्षेत्रीय आर्थिक तथा सामाजिक असमानता हल गर्ने जिम्मेवारी पनि छ । पूर्वी र पश्चिम चीन, गाउँ र सहर तथा आर्थिक केन्द्र बनेका सहर र अन्य सहरबिचको विभेद अन्त्य गर्ने, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सहरिया परिवारमा बढ्दो विखण्डन, धनी र गरिबबिच अद्यापि कायम असमानताजस्ता चुनौती, चीनलाई समृद्ध, विकसित र शक्तिशाली समाजवादी देश बनाउने चिनियाँ नेतृत्वसमक्षका आजका चुनौती हुन् ।
यो पृष्ठभूमिमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेस्रो बिस्तारित बैठकले गरेको निर्णयले चीनको तत्कालीन समस्याका समाधानको मात्र खोजी गरेको छैन, बरु पार्टीले यसअघि घोषणा गरेका दीर्घकालीन लक्ष्य समयमै हासिल गर्ने प्रस्ट दिशानिर्देश पनि गरेको छ । सन् २०५० सम्ममा चीनलाई समृद्ध, शक्तिशाली समाजवादी देश बनाउने घोषणा सफल बनाउन यो विस्तारित बैठक कोशेढुङ्गा साबित हुनेछ किनभने सन् २०२९ मा जनगणतन्त्र चीन स्थापनाको ८० औँ वर्षगाँठको अवसरमा विस्तारित बैठकले पारित गरेका सबै निर्णयको पूर्ण कार्यान्वयन गर्ने सङ्कल्प यसमा व्यक्त गरिएको छ ।
विस्तारित बैठकले सुधार र खुलापनको नीतिलाई अझ गहिराइमा अवलम्बन गर्ने निर्णय गर्यो । सन् १९७८ मा चीनमा पहिलोपटक सुधार र खुलापन नीति अवलम्बन गरियो । त्यसयता चिनियाँ कम्युनिस्ट पार्टीले हरेक पटक नयाँ परिस्थितिसँगै आइपर्ने नयाँ चुनौती समाधानको निम्ति उपयुक्त सुधार र खुलापनको नीति अवलम्बन गर्दै आएको छ । चीनको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार चिनियाँ अर्थतन्त्र, राजनीति, सामाजिक व्यवस्था, संस्कृति, सुरक्षा व्यवस्था सुहाउँदो नीति परिमार्जनलाई नै सुधार र खुलापन भनिँदै आएको छ ।
सुधार र खुलापन नीतिको एउटा महत्वपूर्ण पक्ष समाजवादी बजार अर्थतन्त्र हो । समाजवादी बजारको सोभियत र पूर्वी युरोपेली ढाँचा असफल हुनुका कारणबाट सिकेर चीनले आफ्नो परिस्थितिअनुसार समाजवादी बजार अर्थतन्त्र विकास गर्ने नीति लियो । एकथरी विश्लेषकहरू बजार अर्थतन्त्र भन्नासाथ पुँजीवादी अर्थतन्त्र हुने मान्यता राख्छन् । त्यसै आधारमा उनीहरू चीन पुँजीवादी देश भएको निष्कर्षमा पुग्ने हतारो गर्छन् । तर, उत्पादन क्षेत्र, सामाजिक सुरक्षा, आपूर्ति व्यवस्था, उत्पादनका महत्वपूर्ण साधनमा स्वामित्व आदिमा राज्यको बलियो उपस्थिति र भूमिकाले चिनियाँ बजार अर्थतन्त्र पश्चिमा पुँजीवादी बजार अर्थतन्त्रभन्दा फरक भएको देखाउँछ । अर्थतन्त्रको महत्वपूर्ण हिस्सामा प्रतिस्पर्धात्मक निजी क्षेत्रको लागि बाटो खुला गरे पनि जनताको जीवन र सामाजिक न्यायप्रति चिनियाँ राज्य जिम्मेवार र सक्रिय छ ।
चिनियाँ नेतृत्वको कुनै पनि विषयलाई गतिशीलतामा बुझ्ने द्वन्द्वात्मक शैलीका कारण उनीहरू सुधार र खुलापनको नीतिमा पनि लगातार सुधारका आवश्यकता र सम्भावनाको खोजी गर्छन् । नीतिलाई गतिमा बुझ्ने यही शैलीको कारण चीनसामु आइपर्ने हरेक चुनौतीलाई चिनियाँ नेतृत्वले अनुकूलतामा ढाल्न सफल हुँदै आएको हो ।
तेस्रो बिस्तारित बैठकले गाउँ र सहरबिचको विभेद न्यून गर्ने र अन्तरनिर्भरतालाई अझ गहिरो बनाउने निर्णय गरेको छ । गाउँ र सहरबिच आउने जाने वस्तु उत्पादनमा सन्तुलन कायम गर्ने निर्णय गाउँ र सहरबिचको अन्तर कम गर्ने समाजवादी सिद्धान्तको मूल आशयमा आधारित छ । सहरमा बढ्दो पूर्वाधार विकास र रोजगारी तथा अन्य सुविधाको कारण नेपालका गाउँहरूजस्तै चिनियाँ गाउँहरू पनि सुनसान छन् । गाउँमा रहेका उत्पादनका साधनको प्रभावकारी उपयोग हुन सकेको छ्रैन । सहरबाट गाउँमा उपभोग्य वस्तुको ओइरो लागेको छ । तर, गाउँबाट सहर जाने वस्तु क्रमशः घट्दै गएको छ । यसले गाउँ र सहरबिचको अन्तरलाई अझ फराकिलो बनाएको छ । यो वस्तुगत अवस्थालाई ध्यानमा राखेर बिस्तारित बैठकले गाउँ र सहरबिच आउने जाने वस्तु उत्पादनमा सन्तुलन कायम गर्ने निधो गरेको छ । यो निर्णयले चीनको अर्थतन्त्रलाई दिगो बनाउन र विदेशसँगको निर्भरतालाई कम गर्न भूमिका खेल्ने देखिन्छ । बिस्तारित बैठकले सहरी र ग्रामीण क्षेत्रबिचको सामञ्जस्यपूर्ण विकासलाई चिनियाँ शैलीको आधुनिकीकरणको अत्यावश्यक पक्ष भएको निष्कर्ष निकालेको छ ।
बिस्तारित बैठकले आधुनिकता र विकासबारे पश्चिमा मापदण्डलाई नै अन्तिम सत्य मान्ने सोचाइको खण्डन गर्दै चीनको आधुनिकता चिनियाँ विशेषताअनुकूल हुने कुरामा जोड दिएको छ । पश्चिमा सभ्यतालाई मात्र आधुनिक र विकास ठान्ने सोचाइलाई नै अन्तिम सत्य मान्ने पक्षमा चिनियाँहरू छैनन् । विस्तारित बैठकले भौतिक विकास र वैचारिक पूर्णताबिचको सामञ्जस्यता नै चिनियाँ आधुनिकताको विशेषता भएको प्रस्ट बनाएको छ ।
बिस्तारित बैठकपछि जारी वक्तव्यअनुसार यो बैठकले चिनियाँ परिप्रेक्ष्यमा आधुनिकतालाई स्पष्ट व्याख्या गरेको छ । चिनियाँ राजनीतिक व्यवस्थामाथि प्रश्न उठाइरहने पूर्वाग्रहीहरूलाई जवाफ दिन पूर्ण अभ्यासको प्रजातन्त्र र कानुनी शासनलाई जोड दिइएको छ । यसले घरेलु परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिबिच समन्वय, उच्च गुणस्तरको विकासलाई केन्द्रमा राख्दै विकास र सुरक्षाबिच समन्वय, राष्ट्रिय सुरक्षा र सैन्य निर्माण आदिलाई प्राथमिकतामा राख्ने प्रस्ट बनाएको छ ।
खुलापन र सुधारको नीति अङ्गीकार गरेर यता चीनले आफ्नो झ्याल ढोका सबैका लागि खुला गर्यो । तर, चिनियाँहरू समयमै झ्याल ढोकामा जाली नराखे अनेक थरी हानिकारक कीटपटङ्ग पनि आउन सक्नेमा सचेत छन् । तसर्थ, अहिले चिनियाँ नेतृत्व एकातिर खुलापन र सुधारलाई अझ गहिराइमा कार्यान्वयनमा लान दृढसङ्कल्पित छ भने अर्कोतिर त्यसबाट आइपर्ने सांस्कृतिक चुनौतीबारे पूर्ण सजग छ । फलतः उनीहरू कुनै पनि विषयवस्तुलाई चिनियाँ परिप्रेक्ष्यमा बुझ्न, व्याख्या गर्न र कार्यान्वयन गर्न खोज्छन्, अन्धनक्कल र अन्धविश्वास गर्न तयार छैनन् । अर्थतन्त्र, राजनीति, संस्कृति, सामाजिक व्यवस्थादेखि विकास तथा आधुनिकतासम्मका सबै पक्षमा चिनियाँहरू आफ्नो परिस्थिति र आवश्यकतालाई मूल केन्द्रमा राख्छन् ।
चिनियाँ युवाहरू एकातिर संसारभर घुमेर अनेक सभ्यताका सार खोजिरहेका छन् भने अर्कोतिर आफ्नै देशका सङ्ग्रहालय र स्मारकहरूको अध्ययन भ्रमण गरेर आफ्नो हजारौँ वर्ष पुरानो इतिहासप्रति गौरवबोध गरिरहेका छन् । यसले चीनलाई अरुबाट सिकेर आफ्नो परिस्थितिमा लागु गर्न सक्षम र आफ्नो इतिहासप्रति गौरवबोध तथा भविष्यप्रति आशावादी देश बनाउँदै छ ।
मुस्किलले मात्र पूरा हुने सरकारी वक्तव्यको बानी लागेका नेपालीहरूको निम्ति चिनियाँ कम्युनिस्ट पार्टीको बिस्तारित बैठकपश्चात् जारी वक्तव्यका कतिपय कुरा कागजमा मात्र सीमित हुने सोच्न सक्छौँ । तर, चिनियाँ कम्युनिस्ट पार्टी आफ्ना हरेक घोषणा दृढसङ्कल्पित भएर पूरा गर्ने गरेको इतिहासले देखाउँछ । तेस्रो बिस्तारित बैठकले सन् २०२९ अर्थात् आगामी पाँच वर्षसम्मको लागि महत्वपूर्ण सङ्कल्पहरू गरेको छ जसले सन् २०५० सम्मको लागि चिनियाँ नेतृत्वले तय गरेको लक्ष्यलाई थप नजिक ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *