सरकारमा पुगेपछि पञ्चायती निर्दलीय भाषा बोल्ने बहुदलवादीहरू ?
- चैत्र ९, २०८१
भक्तपुर, ४ साउन । नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्य र नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यमा बाराही बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष समापन समारोह तथा २६ औँ स्थापना दिवस शुक्रबार सम्पन्न भयो ।
समारोहमा संस्थाको रजत वर्षको उपलक्ष्यमा प्रकाशित रजत वर्ष स्मारिका र संस्थाको वृत्तचित्रको विमोचन प्रेम सुवाल र चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।
समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले सहकारी संस्थाको सिद्धान्त स्थानीय निकाय, मजदुर र गरिब जनतालाई कृषि, घरेलु तथा साना उद्योगमा कम ब्याजमा कर्जा दिनु हो भन्दै सहकारी संस्था समुदायमा आधारित हुनु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय गाउँपालिका र नगरपालिकाले आ–आफ्नो कार्यालयमा दर्ता नभएका सहकारी संस्थालाई सञ्चालन गराउनु हुँदैन । नेपालमा सहकारीको सिद्धान्तअनुसार सञ्चालन नभएका र स्थानीय समुदायमा आधारित नभएका अधिकांश सहकारी संस्थामा बचत ठगी भएको सार्वजनिक भइरहेको छ ।”
पुँजीवादी व्यवस्थामा कालोबजारी, घुस, कमिसन, चोरी, डकैटी, झूटजस्तै कतिपय सहकारी संस्थामा बचत ठगीका घटना देखिएको चर्चा गर्दै उहाँले देशको सन्तुलित विकास गरिए बसाइँसराइ कम हुने र सहकारीको बचत ठगी पनि नियन्त्रण हुने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “पुँजीवादीहरूको प्रशंसाबाट सर्वसाधारण जनता सचेत हुनु जरूरी छ । एक भियतनामी स्वतन्त्रता सेनानी लि ड्यु थो र भियतनाममा अमेरिकी आक्रमणको बेला अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र गेराल्ड कोल्डको सल्लाहकार बनेका हेनरी किसिन्जरलाई सँगै नोबेल पुरस्कार पाउने घोषणा भएपछि लि ड्यु थोले नोबेल पुरस्कार अस्वीकार गर्नुभएको थियो । सोभियत सङ्घका नेता स्तालिनले पनि नोबेल पुरस्कार अस्वीकार गर्नुभएको थियो । तर, सोभियत सङ्घलाई विघटनमा पु¥याउने मिखाइल गोर्भाचोभले सन् १९९० मा नोबेल पुरस्कार स्वीकार गरे ।”
अर्थतन्त्र कब्जा गर्नेले देशको राजनीति पनि कब्जा गर्छ । नेका र एमालेको संयुक्त सरकार गर्नेबारे एक व्यवसायीको घरमा सहमति गरिएको सार्वजनिक भयो । बहुसङ्ख्यक भएको कुनै मजदुर र किसानको घरमा सत्ता समीकरणको सहमति गरिएन । त्यो व्यवसायी र सहमति अझै सार्वजनिक गरिएको छैन । यसले सत्ता समीकरण सर्वसाधारण जनताको हितमा नबनेको र पारदर्शी नभएको पुष्टि गर्छ, उहाँले बताउनुभयो ।
सहकारी संस्थाको जिल्ला र प्रदेश सङ्घ, केन्द्रमा महासङ्घको व्यवस्था पनि सहकारीको सिद्धान्तअनुसार होइन । सहकारी संस्था आफैले स्थानीय सीप–साधनमा आधारित उद्योग गर्न पाउने कानुनी व्यवस्था हुनुपर्छ, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र हो । राजनीति सङ्घ–संस्था, समाज र परिवारमा पनि हुनु स्वाभाविक हो । एक सरकारी सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको सार्वजनिक गरे । सिंहदरबार बरोबर कब्जा गर्न गएकाहरू आफू भ्रष्टाचार गर्ने र सज्जनहरूलाई देश र जनताको सेवा हुने राजनीति गर्न नदिने नियत राख्छन् ।”
“सहकारी संस्थाका सदस्यहरूलाई सङ्गीत, मादल, बाँसुरी, धिमेलगायत प्रशिक्षण दिनु उपयुक्त हुनेछ । सदस्यका छोराछोरीहरूलाई साहित्य, चित्रकला, कृषिलगायत, गणित, विज्ञान, अङ्ग्रेजी विषयमा थप कक्षा सञ्चालन गरी मद्दत गर्नु सकारात्मक हुनेछ, सांसद सुवालले बताउनुभयो ।
नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्था नीति, विधि र प्रविधिबमोजिम चल्नुपर्ने, सहकारीमा रहेको बचत सुरक्षित गर्नुपर्ने, संस्थाको सेवा सुविधाको प्रवद्र्धन, सदस्यलाई थप वित्तीय साक्षर गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
भ.न.पा. वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सहकारीहरूमा सहकारीको मूल्यमान्यता र सुशासनअनुसार कार्य गर्दै वित्तीय, स्वास्थ्य, खेलकुद, सांस्कृतिक आदि पक्षमा अगाडि बढिरहेको सहकारी संस्थाले सदस्यहरूको चाहनाबमोजिम कार्य गर्दै जान सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
पूर्वसहकारी अधिकृत उमेश्वरप्रसाद गङ्गोलले सहकारी संस्था श्रमिकवर्गको आर्थिक उपार्जनको स्रोतको रूपमा रहेको बताउनुभयो । सहकारी विकासको लागि सदस्यहरूसँगको आपसी सम्बन्ध, सदस्यमुखी सेवा, इमानदारिता, सुशासित व्यवहार आदि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिनुपर्ने, सहकारी संस्था इमानदार, पारदर्शिता हुनुपर्ने र संस्थाको क्षमताअनुसारको सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
बाराही साकोसका अध्यक्ष विश्वराम त्वायनाको सभापतित्वमा सम्पन्न समारोहमा उहाँले संस्थाले रजत वर्षभरि गरेको विविध गतिविधिको जानकारी दिनुभयो ।
संस्थामा नियमितरूपमा मासिक बचत गरेका बचतकर्ता सदस्यहरूमध्येबाट गोला प्रथाबाट छनोट भएका १२ जना नियमित बचतकर्ता, १२ जना बाल बचतकर्ता र १ जना उत्कृष्ट सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण प्रमुख अतिथि सुवालले गर्नुभएको थियो ।
रजत वर्ष समापन समारोहमा संस्थाका उपाध्यक्ष कृष्णभक्त बोडे, संस्थापक अध्यक्ष राधेश्याम सुवालले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाका सञ्चालक पुनेन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो । सो अवसरमा खुला रक्तदान तथा हार्ड एन्ड डायबेटिजको सहकार्यमा खुला स्वास्थ्य परीक्षण भएको थियो ।
Leave a Reply