भर्खरै :

सडकले निम्त्याएको सास्ती

सडकले निम्त्याएको सास्ती

गलेश्वर (म्याग्दी) । म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढी दिए कि सास्ती ? अहिले यही विषयलाई लिएर जिल्लामा बहस हुने गरेको छ । विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ तर म्याग्दीको सन्दर्भमा भने सडककै कारण जनताले पाएको सास्ती र सुविधाको तुलना गर्नुपर्दा ढुक्कसँग सुविधा बढी भनेर भन्न सकिने अवस्था छैन ।
सुविधाकै लागि भनेर सडक निर्माण गरिन्छ । सडक यात्रीहरूको सुविधाका लागि मात्र नभएर ढुवानी, बजारीकरण र गाउँ र सहरलाई जोड्ने माध्यम पनि हो । म्याग्दीको सदरमुकाम बेनी बजार राष्ट्रिय राजमार्ग (बेनी–मालढुङ्गा–पोखरा) सँग जोडिएको करिब तीन दशक भयो ।
विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको बेनी–मालढुङ्गा सडक निर्माण भएपछि म्याग्दी राष्ट्रिय राजमार्गसँग जोडिएको थियो । जिल्ला सदरमुकाम बेनी राष्ट्रिय राजमार्गसँग जोडिएको १२ वर्षपछि २०६४ सालमा नेपाली सेनाले बेनी–जोमसोम सडकको ‘ट्रयाक’ खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको हो । ७६ किलोमिटर दूरीको यो सडकमार्गबाट हिमालपारिको जिल्ला मुस्ताङलाई देशको सङ्घीय राजधानी काठमाडौँ, प्रदेशको केन्द्र पोखरालगायत देशका अन्य सहरहरूसँग जोड्ने एकमात्र माध्यम हो । कालीगण्डकी नदीको तिरैतिर, अनेकौँ भिर र पहरालाई छिचोल्दै यात्रा गर्नुपर्ने यो सडकको अन्य कुनै विकल्प नहुँदा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
यस सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नुका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गत असारयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमितरूपमा पहिरो झरेकाले यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरूलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कँदै गरेका रमेश अधिकारीले जानकारी दिनुभयो । “सडक खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँद्मा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । “राष्ट्रिय गौरवको आयोजना भनेर परिभाषित गरेको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक जोखिमको पर्याय बनेको छ । यो सडकको न अर्को कुनै विकल्प छ न त सडक बन्द गर्न सकिने अवस्था नै । हिउँद होओस् वा बर्खा भगवान् पुकार्दै ज्यानकै माया मारेर यो सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ,” म्याग्दीको पर्यटन अभियन्ता तथा बेनी बजारका व्यवसायी राजेश शाक्यले बताउनुभयो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठुला पहिरो रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । “ती पहिरोहरूमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन् भने १४ पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेका छौँ,” उहाँले भन्नुभयो ।
कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रूप्सेछहरा र काप्रेभिर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु. ७० करोडभन्दा बढी लागत लाग्ने बताइएको छ । “अति जोखिमयुक्त र जोखिमयुक्त पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन,” आयोजना प्रमुख झाले भन्नुभयो ।
पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । दुई वर्षदेखि बैसरीमा पनि पहिरो खस्न सुरु भएको छ । वैकल्पिकरूपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठुला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ ।
भिर खनेर बनाइएको बेनी–जोमसोम–कोरला सडक, सडक माथि र तल भिर, भिरमाथिको पाखो, भूमिगत पानी र पहिरोले चिराचिरा परेको भूगोलका कारण यो सडकमा पहिरो खसिरहने हुँदा जोखिम बढ्नाका साथै सडक अवरुद्ध हुने गरेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले पन्छाउने गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहने र ठाउँठाउँमा पहिरो जाने भएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लँदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भिरबाट आउने पहिरोले बेनी–जोमसोम सडकको अधिकांश भाग खतरायुक्त रहेको प्रहरीले जनाएको छ ।
उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत सात वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख झाले बताउनुभयो । भिरकोट र बाँदरजुङ्गे भिरमा सडक बनाउन नयाँ प्रविधि भित्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । गत सोमबार गलेश्वरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि बेनी–जोमसोम–कोरला सडकको उत्पन्न गरेको समाधानविहीन समस्याको विषयमा छलफल भएको थियो ।
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकोले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षात्को समयमा वर्षाजन्य विपद्का कारणबाट हुने सवारी दुर्घटनालाई दृष्टिगत गर्दै सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या देखिएको छ ।
‘अति जोखिमपूर्ण’ चारओटा पहिरो पहिचान
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा चारओटा ‘अति जोखिमपूर्ण पहिरो’ पहिचान भएका छन् । भूगर्भविद्हरूबाट अहिले भइरहेको भौगर्भिक अध्ययनअनुसार बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठुला पहिरा रहेकामा बैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान भएका बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो ।
मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकाले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् । अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकाले अति कम्प्लेक्स देखिएकाले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना रहेको छ ।
जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो
डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झनझन् भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदा जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।
पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाइ छ ।
सडक विभागले फापरखेत–पखेर जोड्ने एक सय पाँच मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सो क्षेत्रबाट मार्ग व्यवस्थित बनाउन सकेमा हिउँदमा फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन । फापरखेतमा करिब दुई सय मिटर सडक पहिरोग्रस्त छ । सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेत्रमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर जोखिममा परेको छ । २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्गेपहिरो मुख्य चुनौती बनेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *