भर्खरै :

असुरक्षित हवाई उडानले अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश

सम्भवतः विश्वमा नेपाल सबभन्दा बढी जहाज दुर्घटना भएको देशमा पर्छ । हरेक वर्षझैँ कहीँ न कहीँ जहाज दुर्घटना भइरहेको पाइन्छ । बुधबार बिहान सौर्य एयरलाइन्स जहाजको दुर्घटना भयो । दुर्घटनामा चालक (पाइलट) मनिषरत्न शाक्यबाहेक सबैको निधन भयो । जहाज पनि जलेर ध्वस्त भयो । समाचार स्रोतअनुसार उक्त जहाज परीक्षणको लागि पोखरा जान उडान भएको थियो । बिग्रिएको जहाज मर्मत गर्नको निम्ति उडान गर्नु कतिको उपयुक्त हो ? मर्मतको निम्ति उडान गरिएको जहाजमा १८ जना किन बस्नुप¥यो ? अनि मर्मतको निम्ति बिग्रिएको जहाज पोखरा नै उडान गर्नुपर्ने किन बाध्यता भयो ? उडान गर्ने भए जहाजको स्थिति बुझ्नुपर्छ कि पर्दैन ? जहाजको स्थिति नबुझिकन बिग्रिएको जहाज उडान गर्नु नै गलत थियो । जहाज दुर्घटना कहिले मौसम गडबडी,, कहिले प्राविधिक कहिले मानवीय कमजोरी, कहिले पन्छीमा ठोक्दा, कहिले डाँडाकाँडा र पहाडमा ठोक्दा धेरै जहाज दुर्घटना भइसकेको छ । धेरै जनधनको क्षति भइसकेको छ । तर, पनि सरकार या प्राधिकरणले सोको सिंहावलोकन गरी गल्ती कम गर्ने या सुधार्ने उपाय गरेको देखिएको छैन ।
बेलाबेलामा नेपालमा हुने गरेका हवाई दुर्घटनाले नेपालको हवाई क्षेत्रलाई नै असुरक्षित मानिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले पनि प्रतिवेदनहरू सार्वजनिक गरेर नेपालको हवाई क्षेत्र असुरक्षित भएको जनाएका छन् । त्यहीकारण नेपालको जहाज अरु विकसित देशमा पु¥याउन सकिएको छैन । हवाई सेवा विश्वका विभिन्न मुलुकमा पु¥याएर आम्दानीको स्रोत बढाउनुपर्ने बेला हवाई क्षेत्र असुरक्षित भन्दै हवाई सेवा जति विस्तार हुनुपर्ने हो, त्यो भइरहेको छैन । नेपालले विश्वका विभिन्न मुलुकमा हवाई सेवा पु¥याउन नसक्नु के विश्वासको कमी होइन ? नेपालले अरु देशका जनतालाई सुरक्षित उडानको विश्वास दिलाउन सकेन भने हवाई सेवा कसरी विस्तार हुन्छ र आम्दानीको स्रोत बढाउन सकिन्छ ? हवाई सेवा सुरक्षित नहुँदा जहाज ध्वस्त भएर करोडौँ अरबौँ रकमको क्षतिमात्र होइन पाइलट, इन्जिनियर, भूगोलविज्ञजस्ता देशको लागि आवश्यक जनशक्ति र राजनीतिकर्मीहरूको निधन भएर ठुलो क्षति भएको छ । पटकपटक हुने यस्तो हवाई दुर्घटनाले संसारका विभिन्न मुलुकमा गलत सन्देश छरेको छ । यो देशको निम्ति दुःखद पक्ष हो ।
यस्तै दुर्घटना २०७९ जेठ १५ गते भएको थियो । तारा एयरको पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनताको मुत्यु भएको थियो । ०७५ फागुन १५ गते एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको फुङलिङ नपाको तारेढुङ्गा भिरमा दुर्घटना हुँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो । २०७५ जेठ २ गते मकालु एयरको कार्गाे विमान सुर्खेतबाट हुम्लाको सिमीकोटको लागि उडेको विमान केही बेरमै दुर्घटना भएको थियो । २०७४ फागुन २८ गते राजधानीमा विमान दुर्घटना भएको थियो । बङ्गलादेशको ढाकाबाट नेपालका लागि आएको यूएस बङ्गला ७३८ एयर क्राय्फ्ट विमान अवतरणको क्रममा रनवेमा दुर्घटनाग्रस्त भएको थियो । विश्वमा सुरक्षित र सबैभन्दा छिटो पुग्ने मानिएको हवाई यात्रा नेपालको निम्ति असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो होइन । यसले एकातिर आर्थिक र मानवीय क्षति पु¥याएको छ भने अर्काेतिर विश्वमा नेपालको असुरक्षित हवाई यात्राले गलत सन्देश प्रवाह भइरहेको छ ।
नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१२ सालमा भएको थियो । २०१३ साल जेठ १३ गते पनि हवाई दुर्घटना भएको थियो । हवाई दुर्घटना हुँदा कममात्रै यात्रुहरू सुरक्षित भएका थिए या उद्धार भएका थिए । नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा २०४९ असोज १२ गते ललितपुरको भट्टेडाँडामा भएको जहाज अर्काे ठुलो दुर्घटना हो । उक्त विमान दुर्घटनामा ३६ जना नेपालीसहित १६७ जना यात्रीहरूको निधन भएको थियो । २०६९ असोज १२ गते भक्तपुरको मनोहरा फाँटमा अर्काे विमान दुर्घटना भएको थियो । यसरी पटकपटक हवाई दुर्घटना भए पनि सरकार र नागरिक उड्डयन प्राधिकरणले कुनै उचित पहल या सुधारात्मक काम गरेको देखिँदैन । के यो व्यवस्थापनको कमजोरी होइन ? सम्बन्धित निकायले के सतर्कता अपनाएको छ ? नेपालको एकमात्र बाह्य देशसँगको सम्पर्क बढाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै असुरक्षित भएपछि बाह्य मुलुकसँगको सम्बन्ध कसरी अघि बढाउन सक्छ र विस्तार गर्न सक्छ ? नेपालको भौगोलिक अवस्था, मानवीय कमजोरी, प्राविधिक कमजोरी र मौसम हवाई दुर्घटनाको कारक मानिए पनि पुराना र धेरै वर्ष प्रयोगमा आइसकेको जहाजको परीक्षण नगरी, मर्मत सम्भार नगरी उडान गर्नाले पनि हवाई दुर्घटना भएको देखिन्छ । विमान दुर्घटनाबाट भइरहेको अरबौँ रूपैयाँ बराबरको जनधनको नोक्सानीलाई कसरी जोगाउने या समस्या समाधान गर्ने भन्नेतर्फ सोचेर अघि बढ्ने बेला आएको छ । यतातर्फ सरकार, उड्डयन प्राधिकरण, व्यवस्थापन र पाइलटहरूको ध्यान जानु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *