भर्खरै :

यो कस्तो अग्रगमन ?

नेपाली राजनीतिमा प्रयोग हुने एउटा शब्द हो अग्रगमन । विशेष गरेर सत्ताकेन्द्रित दलका नेताहरू यो शब्द बारम्बार अलाप्छन् । अग्रगमन भनेको अगाडि बढ्ने काम या यथास्थितिसँग असन्तुष्ट भई परिवर्तनका लागि अग्रसर हुने काम भन्ने बुझिन्छ । त्यसो भए हाम्रो देश अग्रगमनको बाटोमा छ त ? विश्वका धेरैजसो देश औद्योगिकीकरण भइसक्दा पनि हाम्रो देशका उद्योगधन्दा कौडीको भाउमा बेचेर निजीकरणको नाममा कौडीको भाउमा बेचेर उद्योगविहीन हँुदै छ । युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्नेमा आधुनिक दासको रूपमा विदेश पठाउने काम भइरहेको छ । जनशक्ति जति विदेश पठाएर विकासको कल्पना गर्नु मूर्खता हो । पहाडका गाउँमा मानिसहरू रित्तिँदै छन् । तराई र उपत्यकामा बस्ती बिस्तार भइरहेको छ । खेती जमिन करिब करिब सकिन लागेको छ । कृषि उपज बाहिरबाट नल्याए चुल्हो बल्ने अवस्था छैन । देश पूर्ण परनिर्भर बन्दै छ । आयात बढ्दै जाने र निर्यात शून्यतिर झर्ने अवस्था आइरहेको छ । वैदेशिक ऋण दिन दुई गुणा रात चौगुणा बढ्दै छ ।
कृषिप्रधान देशमा एउटा कृषि मल कारखाना छैन । खेतीबाली लगाउने किसान तातो घाममा घण्टौँ लाइन बसेर १ केजी मल नपाई फर्किनुपर्छ । कृषि विकास मन्त्रालयले छुट्याएको बजेट पाँचतारे होटलमा सेमिनार गोष्ठी गरेर सकाइन्छ । नेपालका कलेजहरू खाली पारेर विद्यार्थीको लर्काे विदेशतिर लागेको कहालीलाग्दो अवस्था छ । विद्यार्थीहरू मात्र बाहिरिने होइन, विद्यार्थीसँगै देशको पुँजी पनि बाहिरिन्छ । यस्तो अवस्थामा पनि देशका ठुला भनिएका शासन सत्तामा बसेका दलका नेताहरू हामी अग्रगमन चाहन्छौँ भन्छन् । यही हो त अग्रगमन ?
हिजो तिनीहरू जनतालाई समाजवाद, अग्रगमन, अग्रगामी छलाङजस्ता नाराले झुक्याएर शासक सत्तामा पुगे । हिजो उनीहरूको खुट्टामा हात्ती छाप चप्पल थियो । आज उनीहरूका महँगा कार, ठुल्ठुला महल छन् । ठुला दलका नेता र नेताका आसेपासेलाई पो अग्रगमन भयो । तर, गरिब किसान तथा मजदुरलाई त यो गलपासो भयो ।
अब जनता सचेत भएर अगाडि बढ्नुपर्छ । कामदारवर्गको व्यापक हित गर्ने जनताको प्रजातन्त्रको लागि सङ्घर्षको मैदानमा हातेमालो गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *