जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
फ्रान्सेली उच्चारणमा एत्येन काबेट एक फ्रान्सेली काल्पनिक समाजवादी र पेसाले एक पत्रकार थिए । उनको जन्म १ जनवरी १७८८ मा फ्रान्समा भएको थियो । उनले १९ औँ शताब्दीको छैटौँ र सातौँ दशकमा सर्वहारावर्गको राजनैतिक आन्दोलनमा भाग लिएका थिए । उनी शान्तिपूर्ण कल्पनावादी साम्यवादका एक सिद्धान्तकार थिए । उनी ‘इकारिया’ भनिने एक साम्यवादी समाजको कल्पना गर्थे । उनले ‘इकारियाको यात्रा’ नामक पुस्तक लेखे, जुन सा¥है चर्चित पुस्तक थियो । उनले ‘जनता’ नामको पत्रिका प्रकाशन गरे । त्यस समयमा उनी सा¥है चर्चित थिए ।
उनी कारखानाबाट निकालिएका कालिगड र मजदुरहरूलाई विशेष ध्यान दिन्थे । क्राइस्टेली धर्मको ‘स्वर्ण नियम’ लाई उनी व्यवहारमा लागू गर्न चाहन्थे र व्यक्तिगत सम्पत्तिको ठाउँमा सबैको सम्पत्ति समाजको सामूहिक बनाउन चाहन्थे । पेसाले उनी एक वकिल र पत्रकार थिए । उनका बुबा कालीगड थिए ।
फ्रान्सेली क्रान्तिको उथल–पुथलमा उनले विभिन्न भूमिका खेलेका थिए । उनी एक क्षेत्रको न्यायाधिवक्ता, विद्रोही समितिको एक नेतृत्वदायी व्यक्ति र ‘जनता’ पत्रिकाका संस्थापक थिए । त्यस पत्रिकाका चार लाख पाठक थिए । पेसाले वकिल भएकाले उनी लुई फिलिपको सरकारमा कोर्सिका प्रान्तका सहन्यायाधिवक्ता भए ।
सन् १७८९ देखि १८३० सम्मको ‘फ्रान्सेली क्रान्तिको इतिहास’ लेखेर उनी रुढीवादी विचारको विरोधमा अगाडि बढे । त्यसकारण, उनले न्यायाधिवक्ताको पद गुमाए । सन् १८३१ मा फ्रान्सकै कोतेदोर भन्ने निर्वाचन क्षेत्रबाट उनी प्रतिनिधिसभामा चुनिए र परिवर्तनवादी पक्षमा उभिए ।
इतिहासको पुस्तकमा सरकारको विरोध गरेको मुद्दामा १८३४ मा ४६ वर्षको उमेरमा उनलाई पाँच वर्षको लागि देश निकालाको सजाय भयो ।
काबेटले बेलायतमा राजनैतिक शरण लिए । त्यहाँ उनी थोमस मोर (१४७८–१५३५) को ‘स्वप्न लोक’ (युटोपिया) बाट प्रभावित भए । थोमस मोर बेलायतका राजनीतिज्ञ, कल्पनावादी साम्यवादका सुरुआती प्रतिनिधिमध्ये एक थिए । त्यस्तै बेलायतकै काल्पनिक समाजवादी रोवर्ट ओवेन (१७७१–१८५८) का पुस्तकहरू र उनका कल्याणकारी कारखानाका मजदुरहरूलाई दिइएको सहुलियतहरूबाट काबेट प्रभावित भए । ओवेन पनि बेलायतका एक चर्चित काल्पनिक समाजवादी थिए । त्यसबेला फ्रान्सका एक प्रसिद्ध काल्पनिक समाजवादी चाल्र्स फ्युरिए (१७७२–१८३७) बाट पनि उनी प्रभावित थिए ।
काबेटले पनि एक साम्यवादी समाजको कल्पना गरे, जहाँ पूर्णरूपले निर्वाचित प्रजातान्त्रिक सरकारले शासन गर्छ र त्यहाँको आर्थिक क्षेत्रको गतिविधि सबै सरकारबाटै सञ्चालित हुन्छ । हरेक परिवार त्यस समाजको सदस्य हुन्छ । त्यहाँ व्यक्तिगत सम्पत्ति हुँदैन र सबै सम्पत्ति समाजको हुन्छ । उनले त्यस काल्पनिक साम्यवादी समाजलाई ‘इकारिया’ नाम दिए । सो सम्बन्धमा आफूले लेखेको पुस्तकलाई उनी व्यवहारमा कार्यान्वयन गर्न चाहन्थे ।
‘इकारिया’ मा पुँजीवादी उत्पादनको बन्दोबस्त गर्ने मजदुरहरूको सहकारी थियो । केही लेखकहरूले त्यस विषयमा महत्व दिएनन् भने माक्र्स र एङ्गेल्सले ‘इकारियाको यात्रा’ लाई पनि आफ्नो जानकारीमा लिए । ५ वर्षको देश निकालापछि १८३९ मा उनी फ्रान्स फर्के र साम्यवादी समाज स्थापना गर्ने आन्दोलनमा लागे ।
सन् १८४१ मा ‘जनता’ लाई पुनः प्रकाशन गरे तथा क्राइश्चेली धर्मको समानताबारे उनको दृष्टिकोणमा पनि चर्चा र छलफल नै भइरहन्थ्यो । उनले जिसस क्राइस्ट र क्राइश्चेली धर्मबारे पाँच भागसम्मको पुस्तक लेखे र छापे ।
सन् १८४६ र ४७ मा फ्रान्सेली समाजलाई सुधारबाट ‘साम्यवाद’ लागू गर्ने उनले सपना देखे । उनले १८४८ मा संरा अमेरिकाका ‘साम्यवादी’ समाज वा ‘इकारिया’ स्थापना गर्न कुरा मिल्ने फ्रान्सेलीहरूलाई अमेरिका लगे । ‘इकारियाली’ समाजमा काबेट १० वर्षको निम्ति प्रमुख छानिए । त्यसबेला उनी ६० वर्षका थिए ।
३ फेब्रुअरी सन् १८४८ मा न्यू ओर्लेन्स र टेक्सासको डलासमा ३२० एकड वा झण्डै ६५० बिघा भूमिमा काम थालियो । विभिन्न खालका मानिसहरू हुनु र फ्रान्सेली सुविधामा बसेका र अमेरिकाका बञ्जर जग्गामा काम गर्नुपर्दा तीन भागको एक भाग समर्थकहरू फ्रान्स फर्के । बाँकी भएका १४२ पुरुष, ७४ महिला र ६४ जना केटाकेटीमध्ये २० जना बाटामै झाडापखालाले मरे ।
सन् १८४९ मा मिसिसिपी नदीको छेउमा नोभो (ल्बगखयय) मा १२ एकड जग्गा किने र काबेट एक वर्षको निम्ति एकमतले नेता चुनिए । १८५५ सम्ममा उनले त्यहाँ एक कृषि समुदायको रूपमा विकास गरे । शिक्षा–संस्कृतिप्रति चाख राख्ने हुनाले उनले नोभो इकारियाली समूहमा ५०० जति सदस्यहरूबाट राम्रो खेतीपाती विकास गरे । पसल, विद्यालय, पीठो पिस्ने कलघर (घट्ट), काठ चिर्ने मिल स्थापना गरे । रक्सी बनाउने एक भट्टी, अङ्ग्रेजी र फ्रान्सेली भाषाका समाचारपत्रहरू चलाए, ३९ जनाको सङ्गीत र बाजा गाजाको टोली बनाए । नाचघर र ४ हजार पुस्तकहरू भएको त्यस राज्यको सबभन्दा ठुलो पुस्तकालय पनि बनाए ।
इकारिया समाजमा शनिबारको दिन समाजका सबै सदस्यहरू भेला भएर आफ्ना समस्याहरूमाथि छलफल गर्थे । छलफलमा महिलाहरूले पनि भाग लिन्थे तर महिलाहरूको मताधिकार भने थिएन । पुरुषहरूको मात्रै मताधिकार थियो । त्यसो त युरोप र संसारकै त्यही स्थिति थियो । त्यहाँ धार्मिक गतिविधि हुँदैनथ्यो र नैतिकता तथा लोककल्याणबारे आइतबारको दिन कुराकानी हुन्थ्यो । त्यस समूहको २०० माइल टाढा पनि त्यस्तै साम्यवादी समाज स्थापना गरियो ।
सन् १८५१ मा काबेट ६३ वर्षका थिए । फ्रान्समा उनका पुराना साथीहरूले उनलाई ठगीको मुद्दा लगाए । त्यहीँ साल मई महिनामा उनी फ्रान्स फर्के । जुलाई महिनामा अदालतबाट उनी निर्दोष साबित भए । सन् १८५२ मा उनी नोभो इकारियामा फर्कँदा केही मानिसहरूले सुर्ती र रक्सी खान थालेका थिए, महिलाहरू राम्रा राम्रा लुगा लगाएर झिलिमिली गर्न थालेका थिए तथा सामूहिक सम्पत्तिलाई निजी सम्पत्ति गर्न खोज्दै थिए । २३ नोभेम्बर सन् १८५३ मा उनले ४८ वटा नियमहरू बनाएर रक्सी र सुर्ती खान बन्द गराए । तर, केहीले शिकार खेल्न र माछा मार्न पाउनुपर्ने, ज्यासलमा पनि गफसफ गर्न पाउनुपर्ने आदि माग राखी काबेटलाई सर्वसत्तावादी, अस्थिर र भावुक भन्दै आलोचना गर्न थाले ।
सन् १८५५ मा समाजको विधानमा परिवर्तन गर्न खोज्दा काबेट आजीवन अध्यक्ष बन्न खोजेको भन्दै समर्थकहरूले हडताल गरे । त्यसलाई नियन्त्रण गर्न सामूहिक भान्छा घर बन्द गराए । ५२६ जनाको समुदायमा मिसिसिपी नदीको पारिबाट आएका तथा आर्थिक रूपले पीडित फ्रान्सबाट आएका ५७ जनालाई समुदायमा सामेल गर्न मानेनन् । ती नयाँ आगन्तुकहरूले फ्रान्सको ‘जनता’ कार्यालयबाट पैसा लिएर आएका थिए र त्यसले असमझदारी बढायो । सन् १८५६ मा काबेटले लेखेको ‘अमेरिकी समता समाज’ पुस्तकमा उल्लिखित श्रम विभाजन र खाद्यान्न वितरणको विषयलाई लिएर समुदायमा बहस चर्किएको बताइयो । समस्या समाधान गर्न नसकेपछि काबेटले १८५६ अक्टोबरमा १८० जना सदस्यसँग नोभो छोडे र तीन समूह गरी न्यु ब्रमेन, मिसौरी र त्यसको नजिकै सेन्ट लुइसमा गए ।
८ नोभेम्बर १८६५ मा ६८ वर्षको उमेरमा काबेटलाई हृदयघात भयो । मिसौरी गएका उनका समूहहरूका अन्तिम समूह बिदा भएको केही दिनपछि उनी बिते ।
१५ फेब्रुअरी सन् १८५८ मा काबेटका उत्तराधिकारी मेर्काडेरको नेतृत्वमा उनको अस्तुलाई सेन्ट लुइसको पश्चिममा समाधिस्थ गरियो । मेर्काडेर पेसाले एक वकिल थिए । चेल्टहाम भन्ने त्यो ठाउँ ‘साम्यवादी समाज–इकारियाली बस्ती’ को रूपमा कायम रह्यो ।
विभिन्न स्थानमा स्थापित ती ‘साम्यवादी समूहहरू’ सन् १८८३ सम्म टुटफुट हुँदै अस्तित्वमा रहे । सन् १८९८ अर्थात् स्थापनाको ४६ वर्षसम्म कोर्निङ भन्ने ठाउँमा अस्तित्वमा रह्यो ।
पश्चिमी इलिमोस विश्वविद्यालयको पुस्तकालयमा इकारियाली अध्ययनको एक केन्द्र छ । त्यहाँ समाजवादी समाजको कागजपत्र र अभिलेखहरू सँगालिएका छन् । नोभो ऐतिहासिक साम्यवादी समाजका केही दस्ताबेज र प्रमाणहरू पनि प्रदर्शित छन् ।
स्रोत : जनताको साहित्य, वर्ष ४६, अङ्क १२, चैत/वैशाख २०७६/०७७
Leave a Reply