जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
आमापछिको असल र संस्कारी घरमुली बुहारी शोभा प्रधान
हामी सगोलमा छँदा लस्करै बसेर खाना खाने गथ्र्यौँ । म अलिकति फूडी (म्हुतु सामा) स्वभावको भएकोले खानाको थालमा अन्डा, माछामासु र ट्वाक्क परेको अचार नहुँदासम्म भातको गाँस निल्न सा¥है मुश्किल हुन्थ्यो । औँलाहरू थालमा नाचिरहन्थे तर गाँस टिपेर मुखमा हाली निल्न नसक्नेसम्मको अवस्था सृजना हुने गथ्र्याे । मेरो अवस्था देखेर दाइले मेरो लागि एउटा अन्डा बनाइदिन भन्नु हुन्थ्यो; एकैछिनमा शोभा भाउजूले मेरो थाल अन्डाले सजाइदिनु हुन्थ्यो । लाज मानेर भए पनि म दङ्ग हुन्थेँ तर अरू दाजु–भाइको थालमा अन्डा नहुनु मेरोमा मात्र हुनुले स्वाभाविक रूपले मलाई सङ्कोच लाग्थ्यो; अप्ठेरो हुन्थ्यो । तर, फेरि त्यति नहुँदो हो त मेरो थालमा केही खाना बाँकी हुन्थ्यो । हाम्री आमा कसैले पनि अन्न फालेको सा¥है मन पराउनु हुन्न । उहाँ भन्नुहुन्थ्यो, “बाबू जा वाय् मत्यो, अन्नं सरा बिस । वा छग सय्केता खुला बी” अर्थात्– “खाना फाल्न हुँदैन, बाबू ! अन्नले सराप्छ† एक गेडा धान फलाउन ६ महिना लाग्छ ।”
।२।
कहिलेकाहीँ मैले खान नसकेर थालमा बाँकी राखेको खानाले आमाको मन नदुखोस् र मैले आमाको गाली खान नपरोस् भन्ने हेतुले बिना कुनै सङ्कोच थालमा छोडेको खानासमेत खानुभई भान्साको वातावरण शान्त पार्न शोभा भाउजूले सौम्य भूमिका निर्वाह गर्नुहुन्थ्यो । यस्तो देखेपछि “आय् शोभा, वाय्गु जा वाताहे नकेब्यू । छं यङ थ्वाय्गु बानीचा स्येनितिनी कः” अर्थात् “ए शोभा, उसले छोडेको भात उसलाई नै खान देऊ, तिमीले गर्दा यसको बानी बिग्रिने भयो” भनी आमाले मलाई सङ्केत गर्दै दुःखमानी भाउजूलाई भन्नुहुथ्यो । शोभा भाउजू भने आमाका ती वाक्यहरू नसुने भैmँ गरी निहुरिँदै भातको गाँस निल्दै हाँसेर टारिदिनुहुन्थ्यो । भान्सामा मेरो खराब बानीले गर्दा घरेलु वातावरण सौहार्द नहुने र आफू स्वयम्लाई पनि अप्ठेरो हुने भएकोले अब उपरान्त आमाको चित्त नदुखाउने र भाउजूलाई दुःख नदिने दृढ सङ्कल्प गर्दै पहिल्यै सफासँग भोजन गर्ने कठोर वाचा गरेँ । मेरो यस आनीबानीमा सय प्रतिशत प्रगति भएको सकारात्मक परिणाम हालसम्म पनि कायम नै छ । मेरा अन्य दाजुभाइलाई यस मामिलामा अबका दिनहरूमा पनि मसँग प्रतिस्पर्धा गर्न सहज हुने छैन सायद !
त्यतिबेला शोभा प्रधानलाई भाउजू भनी सम्बोधन गर्न पाएको एक दुई वर्षमात्र भएको थियो । उहाँलाई भित्रबाट छाम्दा महसुस हुने गरी काखीमा ठुलो आकारको पिलोजस्तो खटिराले सताइरहेको थियो । अस्पताल गई चिकित्सकसँग सल्लाह लिनु अनिवार्य थियो । अस्पताल जाने दिन निधो भयो तर उहाँले सहयोगको लागि आफूसँग अस्पतालमा आइदिन दाजुलाई आग्रह गर्नुभएन । आफ्नो श्रीमान्को हरेक दिनको समय पार्टीको कार्य र जनताको सेवाको लागि अत्यन्त महत्वपूर्ण छ भन्ने वास्तविकताबारे शोभा भाउजूलाई राम्रो बोध थियो । त्यसैले, सहयोगको लागि भक्तपुर अस्पतालमा उहाँसँग म गएँ । पिलोको अवस्था बुझेर सानो शल्यक्रिया गर्न हतार भएको जानकारी अस्पतालले दियो र लगत्तै चिरफार सुरु गरियो । त्यो पिलोबाट त्यति धेरै बाक्लो पीप निस्केको अहिलेसम्म मैले देखेको छैन । म त डरले आत्तिएँ† तर भाउजूले बिना कुनै Painkiller गरेको उक्त शल्यक्रियाको प्रलय पीडा सहेरै बस्नु भो ।
विकसित देशहरूको हकमा भने श्रीमती गर्भवतीपछि प्रसव पीडा हुँदा बखतमात्र होइन कुनै पनि प्रकारको स्वास्थ्य समस्याले पिरोलिँदा श्रीमान् उनको सामिप्यमा हुुनु अनिवार्य छ । यसका धेरैै सकारात्मक मनोवैज्ञानिक कारणहरू छन् भन्ने वास्तविकता चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको धेरैलाई थाहा भएकै कुरो हो । साथै किनमेल (Shopping ) का लागि बजार जाँदा हरेक नारीले आफ्नो श्रीमान्को साथ–सङ्गत औधी मन पराउँछन् । नढाँती भन्दा, मेरो हकमा देशबाहिर या भित्र आफ्नो हैसियतअनुसार प्रत्येक सानोखाले किनमेलमा म धैर्यताका साथ मेरी इन्दिराको छेउछाउमै उभिएको हुन्थेँ । किनमेलको सिलसिलामा Shopping Mall भित्र श्रीमान्को एकछिनको समयले उसको जीवनसङ्गिनी हर्षित हुन्छिन् भने त्यो दाम्पत्य जीवनको सुन्दर पक्ष हो भनेर बुभ्mनुपर्छ । पुरुषप्रधान समाजको मानसिकता च्यापेर श्रीमतीलाई नोकर्नीको दर्जामा स्वीकार गर्नु भनेको ‘दहेज’ वा दाइजोको नाउँमा छिमेकी मुलुक भारतमा विवाहित महिलाहरूमाथि गरिने असह्य यातना र घोर अत्याचार गर्नु जत्तिकै निन्दनीय र घृणित छ । मानवताको सीमा नाघेर तुच्छ व्यवहारमार्फत स्वास्नीलाई तह लगाएको छु भनी चौडा छाती गर्नु कुनै पुरुषार्थ होइन त्यो त कायरता हो ।
सामाजिक समस्यासँगै घरायसी समस्या समाधानमा पनि पुरुष र महिलाको भूमिका समान हुनुपर्छ भन्ने यथार्थ सबै लोग्नेमान्छेले बुझ्नु आवश्यकै छ अन्यथा महिला दिवसको अवसरमा मात्र नारी स्वतन्त्रता, नारी हकहित, नारी अधिकार र नारी समानताको वकालत गर्नु नारीप्रतिकै अपमान हो; बेइमानी हो; निर्दोष जनतामाथिको छलकपट हो । सायद यसै दुष्ट र अनैतिक चरित्रका निच व्यक्तिहरूका कारण आजित भएका धेरै भुक्तभोगी महिलाहरू भन्ने गर्दछन्, कुनै पनि चलचित्रका लेखक–कलाकारहरूले ३ घण्टासम्म दर्शकलाई मूर्ख बनाउँछन् भने मुलुकको राजकाज कब्जा गर्ने मनसाय भएका निर्लज्ज र बेवकुफ राजनीतिक नेताहरूले जनतालाई जिन्दगीभर मूर्ख बनाउँछन् ।
।३।
बज्रपात झेलेका अनभिज्ञ भद्र सासू र सहनशील निडर बुहारी
२०४५ सालको ‘भक्तपुर काण्ड’ को बखत नेमकिपाको काम र गतिविधिहरूप्रति सकारात्मक धारणा विकास गरेका सज्जन व्यक्तिहरूलाई समेत गिरफ्तार गरी १३ (क) अर्थात् फाँसीको माग गरिएको थियो । शोभा भाउजू त्यतिञ्जेल नेमकिपाको कुनै पनि वर्गीय कमिटीहरूसँग आबद्ध हुनुभएको थिएन । उहाँ साँझ–बिहान एउटी गृहिणी र दिउँसो एउटी शिक्षिकाको भूमिकामा हुनुहुन्थ्यो । ‘दिएको खाने अ¥हाएको गर्ने’ बानी परेका स्थानीय प्रहरी प्रशासनलाई यसको कुनै हेक्का नै थिएन । नेपाल प्रहरीको केन्द्रीय कार्यालय (Nepal police Club) को हिरासतमा यातना भोगिरहेका आफ्ना श्रीमान्को बारे सोधपुछको बहानामा, चार पाँच जना पुरुषहरू हुने घरमा एकजना मात्र पनि नहुँदाको समयमा डकैती शैलीमा बिना कुनै सूचना लाठी र बन्दुक भिरेका Intimidating स्वभावले ग्रस्त प्रहरी जत्था घरभित्र पस्थे; लाठी बजार्दै नानाभाँतीका प्रश्न गर्थे । तिनीहरूले जबरजस्ती दराज फोरेर अध्ययनका लागि धेरै वर्ष खर्चेर सङ्कलित सबै महत्वपूर्ण पुस्तकहरू जफत गरे । यो २०४५ सालको भक्तपुर काण्डको सत्य कथा हो ।
तर, ‘गोहीको आँसु’सँगै प्रहरीका उच्च ओहदाका अधिकारीहरूबाट व्यक्त हुने गुलियो पोतेका, सुन्दा मीठो लाग्ने भाष्य वाक्छल मात्र हो भन्ने यथार्थ भाउजूलाई थाहा थियो । थुप्रै लोभलालच देखाएर पनि केही सीप नलागेपश्चात् ‘ह्योजु’को हत्यामा आफ्नो श्रीमान्को भूमिका रहेको हो भनी सानो कागजमा हस्ताक्षर गरी स्वीकार्न भाउजूलाई धेरै तनाव र मानसिक यातना दिन थाले अन्यथा परिणाम अप्रिय हुने धम्की दिन्थे । तर, आफ्नो निर्दोष श्रीमान्विरुद्धको लाञ्छना र आरोप सरासर असत्य, अप्रमाणित, झूट र जालझेलभित्रको प्रतिशोध मात्र हो भनी बुझेकाले राजनीतिकरूपले परिपक्व नभइसकेको अवस्थामा पनि शोभा प्रधान चट्टानजस्तै अविचलित उभिनुभयो । उहाँले आफ्नो देशभक्त स्वाभिमानी श्रीमान्विरुद्ध लगाइएका मिथ्या आरोपहरूको प्रतिवाद गरिरहनुभयो । भाउजूलाई धेरै चुनौतीहरूसँग एकैसाथ लुकामारी खेल्दै एक–एक गरी सबैलाई पछार्नु थियो ।
गर्भमा विकसित हुँदै गरेको शिशुको लागि पथ–परहेजको अनुशासनमा बस्ने कि; काखमा हुर्कँदै गरेको बालकलाई स्याहार्ने कि; श्रीमान्उपर लगाइएको राजनीतिक प्रतिशोधको आधारहीन लाञ्छनाको सामना गर्ने कि† काम विशेषले बाहिर निस्कँदा नेमकिपाप्रति भिन्न मत राख्ने केही क्षुद्र पथचारीहरूबाट गरिने अपमानसँग जुझ्ने कि† दुराशयले भरिएको मन भएका अधम छर–छिमेकी र केही घटिया आफन्तहरूको असह्य व्यवहारलाई चुपचाप सहने कि† चुत्थो प्रहरी प्रशासनले दिने मानसिक तनाव र यातनालाई कसरी बढार्ने भन्नेबारे सोच्ने कि; मुलुक र नेपाली भुइँमान्छेहरूको सेवामा लागेका आफ्ना ज्येष्ठ पुत्रमाथि के ‘अनिष्ट’ आइलागेको भन्दै बिलौनाले छट्पटिएकी सासूमालाई सम्हाल्ने । यस्ता अनेक जटिलताहरूलाई एक्लोज्यानले यो गर्ने कि त्यो गर्ने भइरहन्थ्यो शोभा भाउजूलाई । बज्रपात पर्नु भनेको यही हो सायद ¤ आफूमाथि आकाश खस्नु भनेको पनि यही हो सायद ! न खाएको विष लाग्नु भनेको पनि यही नै हो सायद ¤ यसरी शोभा भाउजूमाथि एकै खेपमा सबैखाले निर्दयी प्रकोपहरूले मानवता बिर्सेर कुल्चिन खोजे । यी यावत् अप्रिय घटनाहरूबाट एकदमै अनभिज्ञ अबोध छोरो छातीमा च्यापी आफू एक्लो हुँदा विगत सम्झेर भाउजूका पनि आँखाहरू नभिजेका कहाँ होलान् र ? प्रहरी प्रशासनको कडा निगरानीका कारण साथीभाइ र दिदीबहिनीसँगको फाटफुटको भेटमा आफ्नाहरूलाई पनि धेरै पीडा नहोस् भन्ने अभिप्रायले आफ्नो अनुहारमा पहिलेजस्तै उज्यालोपन कायम राख्न आत्मबलका धनी सहनशील शोभा भाउजूले भरपूर प्रयास गर्नुहुन्थ्यो । यही सन्दर्भमा अहिले नेपालको साङ्गीतिक बजारमा चर्चित गायक दीप श्रेष्ठको गीत सम्झिन मन लाग्छ –
झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र ?
तर झर्नु नझर्नु त्यो अर्काे कुरा ! बाक्लो हरियो मनोरम अग्लो जङ्गलको बिच भएर बग्ने खोलाले तल झरेपछि मात्र अद्भूत लामो झरना भनेर सबैतिरबाट प्रशंसा प्राप्त गर्छ । मुग्लिङ–नारायणघाट सडकतिर चण्डी भञ्ज्याङमा अवस्थित धेरै अग्लाइबाट तलसम्म खस्न मन पराउने अति सुन्दर जलविरे झरनालाई मात्र थाहा होला–भुइँको चट्टानसँग बज्रिनुको पीडा ! चाहे यसलाई जलविरे भनून् या लामो झरना† पीडा उही हो जसलाई शोभा भाउजूसँग तुलना गर्न मन लाग्छ ।
Leave a Reply