भर्खरै :

जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्

  • श्रावण २, २०८३
  • चाङ होङवेइ
  • विचार
जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्

आज म अनुवादकको रूपमा यहाँ उभिएर जेलका चिट्ठीहरू पुस्तकको चिनियाँ संस्करण औपचारिक रूपमा तपाईँहरूमाझ सार्वजनिक भएको यस खुसीको क्षणको साक्षी बन्न पाएकोमा अत्यन्त हर्षित छु । सर्वप्रथम, यस पुस्तकका लेखक अध्यक्ष रोहितज्यू तथा यस पुस्तकको अनुवाद र प्रकाशनलाई सम्भव बनाउन धेरै मेहनत गर्नुहुने सुरेन्द्रराज गोसाईप्रति मेरो हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्न चाहन्छु । मेरा सहअनुवादक प्रणय चित्रकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस कृतिलाई अझ राम्रो बनाउन बहुमूल्य सुझाव दिनुहुने सम्पूर्ण मित्रहरू, चिनियाँ शिक्षकहरू वाङ लियान, च्राओ चवन, फाङ होङयु ,याओ यीफान तथा नेपाली शिक्षकहरू विनय, नवीन र तालोङप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
गत वर्षको जनवरीमा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई अङ्ग्रेजी संस्करण Letters from Jail लिएर काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको कार्यालयमा आउनुभयो र मलाई यस पुस्तकको चिनियाँ अनुवाद गर्ने जिम्मेवारी लिन आग्रह गर्नुभयो । मैले त्यो जिम्मेवारी स्वीकार गरेको क्षणदेखि नै आफ्नो काँधमा ठुलो जिम्मेवारी आएको महसुस गरेको थिएँ । मेरो लागि यो अनुवाद भाषाको परिवर्तन मात्र थिएन; यो त एक प्रकारको लामो, शान्त तर निरन्तर मन छुने आत्मिक संवाद थियो । जब मैले पहिलोपटक जेलका चार पर्खालभित्र लेखिएका यी पत्रहरूमा एक–एक शब्द पढ्न थालेँ । मैले सबैभन्दा पहिले जेल–जीवनको अँध्यारो र कठिनाइ होइन, बरु कागजका प्रत्येक पानाबाट देखिने जीवनको बलियो ऊर्जा महसुस गरेँ । यी पत्रहरूले रोहितज्यूले जेलभित्र न्याय, लोकतन्त्र र समाजका लागि गरेको सङ्घर्ष, उहाँका विचार, दृढ सङ्कल्प र आत्मविश्वासलाई देखाउँछन् । तर, पुस्तकभरि कतै पनि गुनासो छैन, निराशामा हार मानेको भावना छैन । प्रत्येक हरफमा परिवारप्रतिको गहिरो माया, जीवनप्रतिको साँचो सोच र कठिन परिस्थितिमा पनि आफ्नो आत्मा, मानवता, नेपाली संस्कृति तथा वास्तुकलाप्रतिको स्पष्ट सोच र आशाको भावना देखिन्छ । यस पुस्तकले पति–पत्नीबिचको प्रेममात्र होइन, राजनीतिक सीमालाई पनि पार गर्दै जीवन, समाज र आशाबारेको गहिरो मानवीय भाव प्रस्तुत गरेको छ ।
अनुवादको क्रममा मैले सधैँ गहिरो सम्मान र जिम्मेवारीको भावना बोकेको थिएँ किनभने मैले केवल शब्दहरू होइन, ती शब्दहरूको पछाडि लुकेको भावनालाई पाठकसम्म पु¥याउनुपर्ने थियो । त्यो भावना, जसले जेलको कठिन वातावरणमा पनि आफ्नो सद्भावना जोगायो, अन्धकारका बिच पनि जीवनप्रतिको प्रेम गुमाएन । रोहितज्यूले अत्यन्त सरल भाषामा उत्कृष्ट विचार व्यक्त गर्नुभएको छ । पत्नीप्रतिको स्नेह, छोराप्रतिको चिन्ता, विगतका सम्झना र आफ्ना आध्यात्मिक मूल्यहरूप्रतिको अटल निष्ठा, यी सबै भावना कुनै शब्दावलीबिना अत्यन्त प्रभावशाली ढङ्गले प्रस्तुत भएका छन् ।
त्यसैले, मैले प्रत्येक शब्द, प्रत्येक वाक्य र प्रत्येक भावलाई अत्यन्त सावधानीपूर्वक चयन गर्ने प्रयास गरेँ ताकि ती पत्रहरूमा रहेको निष्कपटता र कठिन परिस्थितिमा पनि निभ्न नदिइएको आशाको ज्योति कतै कमजोर नहोस् । मेरो चाहना यही हो कि चिनियाँ पाठकहरूले पनि यो पुस्तक पढ्दा भाषाको सीमालाई पार गर्दै लेखकको सबैभन्दा साँचो भावना महसुस गर्न सकून् र प्रेम तथा उज्यालोको खोजी गर्ने यस यात्रालाई अनुभव गर्न सकून् ।
हामी प्रायः साहित्यको कुनै सीमा हुँदैन भन्छौँ । वास्तवमा समय र स्थानको सीमाभन्दा पर पुगेर मानिसको मन छुने शब्दहरू परिस्थिति, पहिचान वा हैसियतसँग सम्बन्धित हुँदैनन्† तिनीहरू मानवताको न्यानोपन र आत्मिक शक्तिसँग सम्बन्धित हुन्छन् ।
‘जेलका चिट्ठीहरू’ पुस्तकको सबैभन्दा ठुलो महत्व कुनै असाधारण घटनाको वर्णन गर्नुमा छैन बरु प्रत्येक पाठकलाई यो सम्झाइदिनुमा छ कि जीवनमा जति नै कठिन समय आए पनि यदि हाम्रो मनमा राम्रो भावना र आशा जीवित रह्यो, यदि हाम्रो आत्माले अन्धकारसँग कहिल्यै हार मानेन भने हामीलाई कुनै पनि कठिनाइले हराउन सक्दैन । जेलभित्र लेखिएका यी शब्दहरू दुःखले कमजोर भएका छैनन्† बरु ती आफैँ एउटा उज्यालो बनेका छन्, जसले लेखकको आफ्नै मन उज्यालो बनाउनुका साथै जीवनमा अन्योल, कठिनाइ र जिम्मेवारीको भार बोकेर अघि बढिरहेका प्रत्येक व्यक्तिलाई पनि हौसला दिन्छन् ।
आज यो कृति अझ धेरै पाठकसम्म पुग्न लागेको छ । एक अनुवादकको रूपमा मेरो सबैभन्दा ठुलो इच्छा यही हो कि यी न्यानोपन र शक्तिले भरिएका शब्दहरू अझ धेरै मानिसहरूले पढून्, बुझून् र सम्झिरहून् । यी पत्रहरू पढ्ने क्रममा हामीले कठिन परिस्थितिमा पनि अडिग रहन सक्ने शक्ति र कोमलतामात्र होइन, आफ्नै जीवनलाई पनि फर्केर हेर्न सकौँ† अहिलेको उज्यालो र स्वतन्त्रताको मूल्य बुझ्न सकौँ; साधारण जीवनमा पनि आफ्नो मनको उज्यालो जोगाइराख्न सकौँ र जीवनका चुनौतीहरूको सामना गर्ने साहस र आत्मविश्वास सधैँ कायम राख्न सकौँ ।
यस पुस्तकको अनुवादबारे छोटो जानकारी दिन चाहन्छु । रोहितज्यूका मूल पत्रहरू नेपाली भाषामा लेखिएका थिए । गत वर्ष तिनको अङ्ग्रेजी संस्करण प्रकाशित भइसकेको थियो । यसपटक चिनियाँ अनुवाद अङ्ग्रेजी संस्करणलाई आधार मानेर गरिएको हो । विभिन्न भाषामा रूपान्तरण हुँदै आएको यस प्रक्रियामा भाषागत भिन्नता तथा चिनियाँ भाषामा अनुवादका कारण कतिपय स्थानमा मूल नेपाली भाव पूर्ण रूपमा व्यक्त हुन नसकेको हुनसक्छ । यदि कुनै त्रुटि, कमजोरी वा अपूर्णता रहेको भए, पाठकवर्गबाट सहृदयतापूर्वक क्षमाको अपेक्षा गर्दछु ।
अन्त्यमा, यस पुस्तकलाई प्रकाशित गर्न र पाठकसम्म पु¥याउन योगदान गर्नुहुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँ उपस्थित सम्पूर्ण अतिथि तथा मित्रहरूलाई समय दिएर सुन्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।
जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस् र यसलाई पढ्ने प्रत्येक व्यक्तिको हृदयमा आशा, साहस र उज्यालोको किरण फैलियोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
(यो मन्तव्य बाल विकास इङलिस सेकेन्डरी स्कूलद्वारा शुक्रबार आयोजित चिनियाँ भाषामा अनुदित ‘जेलका चिट्ठीहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा पुस्तकका अनुवादक चाङ होङवेइले व्यक्त गर्नुभएको हो–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *