अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
गण्डकी । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ ।
सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिकरूपमा घोषणा गरिएको हो ।
पदमार्गको अध्ययन एवम् अनुसन्धानका लागि गुरुङ पर्यटन व्यवसायी सङ्घ, नेपाल गण्डकी प्रदेशको आयोजनामा जेठ २१ देखि ३० गतेसम्म उक्त पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिनुभयो । “हामीले पदमार्ग योजनामा काम गरिरहेका इन्जिनियर, अन्वेषक, जीपीएस एक्सपर्ट सञ्चारकर्मी, सङ्घका पदाधिकारी, पर्यटक पथप्रदर्शक तथा सहयोगीसहित ३७ जनाको समूहले यस पदमार्गको स्थलगतरूपमा नै खोज तथा अनुसन्धान गरेका हौँ,” उहाँले भन्नुभयो ।
यस पदमार्गले दुईवटा ऐतिहासिक विरासतलाई बोकेको सङ्घका संस्थापक अध्यक्ष बोरबजङ्ग गुरुङ बताउनुहुन्छ । यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीहरूमा फैलिएको भनाइ रहेको उहाँले बताउनुभयो । “गुरुङ समुदायको प्ये ल्हु ताँमा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ,” उहाँले भन्नुभयो ।
दोस्रो ऐतिहासिक विरासतका रूपमा कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथा सुन्न पाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले खोज गरिएको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उजागर भएको छ । वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारीहरू नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका छन् ।”
पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपु डाँडा, तप्रो, क्होलोसोँथर, ठुलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँ पालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्गको पहिचान गरिएको हो । यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङलगायत गाउँहरूबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो ।
एक हजार ६ सय मिटरदेखि चार हजार नौ सय १० मिटर उचाइमा पदमार्ग
भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइको ताङतिङदेखि सुरु भई पदयात्राको उच्चविन्दु चार हजार नौ सय १० मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ) सम्म रहेको छ । ताङतिङदेखि पछि पदयात्रीहरूको बास तीन हजारभन्दा माथिको उचाइमा हुन्छ । ताङतिङबाट माथि गइसकेपछि तीन हजार मिटर उचाइको कर्पुुडाँडादेखि पदयात्रीहरूले धेरै उकालो र ओरालो नगरी तिमाङसम्म पुग्ने संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।
पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार पाँच सय ८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक गन्तव्य पनि हो । यहाँको दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण यसको महत्व अझै चुलिएको छ । प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठुलाठुला खर्क र पाटनहरू रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।
प्रकृतिसँगै संस्कृतिलाई पनि जोड्ने यस पदमार्गको प्रवेश गर्नेदेखि पदयात्रा समाप्त गर्ने स्थानमा गुरुङ गाउँ पर्दछन् । ती गाउँहरूमा घरवास सञ्चालनमा रहेका छन् भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा रहेका छन् । गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि यहाँका पर्यटकीय आकर्षण हुन् ।
प्राचीन नुन व्यापारको मार्ग, क्होलासोँथरको ऐतिहासिकतासँगै तत्कालीन समयमा धर्मशाला र बिसौनीका भग्नावशेषले यहाँको प्राचीन गरिमा र महत्वलाई अझै उजागर गरेका छन् । त्यस्तै, कास्की, लमजुङ मनाङका भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुभव लिन पाइन्छ ।
जैविक विविधताले सम्पन्न
यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधिजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गीले पनि यहाँको महत्व अझै बढाएको छ । यस पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँच औँले, वन लसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानीअनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै हिँड्न सकिन्छ । डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ ।
त्यस्तै, पदमार्गको सूचनापाटी कतिपय बिग्रिए भत्किएको अवस्थामा रहेको तथा कतिपयमा गलत सूचना समेत रहेको भेटिएको हुँदा सूचना पाटीहरू, पथप्रदर्शन गर्ने पोललाई मर्मत तथा नयाँ स्थापना गर्नुपर्ने भनिएको छ । जलवायु परिवर्तनलगायत विभिन्न कारणले गर्दा पानीका मुहान सुक्ने तथा भएको मूल पनि सानो भएको हुँदा ती मुलको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, पदमार्गमा रहेका क्होलासोँथरलगायत पुरातात्विक महत्वका क्षेत्रको उत्खनन र संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने सङ्घले सुझाव दिएको छ ।
पदमार्ग क्षेत्रका पुरातात्विक वस्तुको सुरक्षाका लागि विशेष पहल गरिनुपर्ने, पदमार्गको प्रवेशविन्दुका रूपमा रहेका गाउँमा रहेको सांस्कृतिक अवयवहरू लोप हुने अवस्थामा रहेको हुनले तिनीहरूको संरक्षण र पुनःस्थापनाका लागि विशेष पहल गर्नुपर्ने, भिर मौरीको मह काढ्ने, राडीपाखी बुन्ने तथा पशुपालनलायत परम्परागत पेसा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्नका लागि पहल थाल्नुपर्ने सुझावमा उल्लेख छ । पदमार्गमा पशुचौपाया हिँडेमा त्यसले पदमार्गलाई चाँडो बिगार्ने भएकाले पशुचौपायाका लागि छुट्टै बाटोको व्यवस्था गर्नुपर्ने भनिएको छ । रासस
Leave a Reply