अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
१४ साउन २०८१ को ‘नयाँ पत्रिका’ ले लेख्यो, ‘अलोकप्रिय बन्दै छन् माडुरो’, ‘भेनेजुयलाको राष्ट्रपति निर्वाचनमा ११ वर्षदेखि सत्तामा रहेका माडुरो भारी मतान्तरले पराजय हुने प्रक्षेपण भइरहेको छ ।’
यो समाचार शीर्षक र टिप्पणीले मलाई एकछिन केही दिनदेखि टीभी हेर्न नपाएको र ल्याटिन अमेरिकी देशहरूको समाचार हेर्न नभ्याउँदा अल्मलिएँ । तर, निर्वाचनको मत सर्वेक्षण र टिप्पणीप्रति विश्वास लागेन । औषधि सेवनपछि म निदाएँ, मनलाई सा¥है विषादले छोपेको थियो ।
बिहान ६ बजे निद्रा खुल्यो, १५ साउन २०८१ को दिन ! ढोकाको घण्टी बज्यो, ‘मजदुर’ दैनिक आइसकेको रहेछ । एक बहिनीले पढिन्, “भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनमा निकोलस माडुरो ५१.२० प्रतिशत मत प्राप्त गरी विजयी । खिन्न मनमा फेरि खुसी र उत्साह थपेको अनुभव भयो । मैले पश्चिम गोलाद्र्ध र दक्षिण अमेरिकामा क्युवा, भेनेजुयला, निकारागुआ, बोलिभियामा समाजवाद र प्रगतिशील पक्षहरूले एकपछि अर्काे सफलता प्राप्त गर्दै गरेको अनुभव गरेँ । अमेरिकी साम्राज्यवादले ल्याटिन अमेरिकी देशहरूको खनिज र व्यापार कब्जा गरी लुटपाट मच्चाइरहेको थियो । संरा अमेरिकी पाँचौँ राष्ट्रपति जेम्स मुनरो (१८१७–१८२५ कार्यकाल) ले ती सबै देशहरूलाई संरा अमेरिकाको करेसाबारी भनेकोमा बोलिभारीयाली आन्दोलनकारी र क्युवाका पार्टी समर्थक आन्दोलनकारीहरूले विरोध गरेका थिए ।
अमेरिकी साम्राज्यवादी एजेन्ट र प्रतिगामीहरू पराजित भएको समाचारको अर्काे पाटो हो – भेनेजुयलाको तेलको खानी अमेरिकी एकाधिकारीहरूको हातमा पर्नेछैन । भेनेजुयाली जनताले चाहेको खण्डमा पेट्रोल र अन्य कच्चा माल बेचेर देशको अर्थतन्त्रलाई सुधार गर्नेछ र जनताको जीवन स्तरलाई उठाउन सक्नेछ । नेपालमा जस्तै अमेरिका गइरहेका आफ्ना जनता पनि फर्कने छन् । अमेरिकामा एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका करोडौँ जनता काम गर्दै छन् । तिनीहरूमध्ये धेरैलाई थाहा छ – अमेरिकी पुँजीपतिवर्गले हाम्रो देशलाई लुटेको हुनाले त्यहाँ काम गर्ने र नागरिकता पाउने अधिकार छ, जसरी पुस्तौँदेखि अफ्रिकी– अमेरिकी जनता त्यहाँ सङ्घर्षरत छन् । प्राप्त रिपोर्टअनुसार संरा अमेरिकामा विदेशबाट गएका करोडौँ जनता, त्यहाँ कार्यरत कामदार जनता अमेरिकी सरकारको शोषण, अन्याय, अत्याचार र भेदभावको नीतिको विरोधमा सङ्घर्षरत छन् ।
त्यस साम्राज्यवादी नीतिको विरोधमा नेपालबाट गएका युवाहरूको यो पुस्ता नभए पनि अर्काे पुस्ता सङ्घर्षमा भाग लिनेमा कुनै दुविधा छैन, किनभने त्यहाँ तल्लो दर्जाको काम गर्नेहरूमाथि ठुलो शोषण र भेदभाव छ ।
हाम्रा नेपाली युवाहरूले अब संरा अमेरिका र ल्याटिन अमेरिकी देशहरूको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन अमेरिकी लुट र आक्रमणको बारे तथा त्यहाँ समाजवादी आन्दोलनको अध्ययन आवश्यक छ भन्ने बुझ्न थाले ।
अर्काे सुखद कुरा
१५ साउन २०८१ को दिन बिहान ८ बजे कोरियाली जनतासँगको ऐक्यबद्धता समिति, नेपालको २०८१ को प्रकाशन ‘स्मृतिमा किम इल सङ’ शीर्षकको ६८ पृष्ठको सुन्दर पुस्तिका हातमा दिइन् बहिनीले !
सन् १९९४ जुलाई ८ को दिन कामरेड किम इल सङको देहावसान भएको थियो । गत असार २४ गते उहाँको ३० औँ स्मृति दिवस हो । उहाँको जन्म १५ अप्रिल १९१२ मा एक देशभक्त किसान परिवारमा भएको थियो ।
यसकारण, साउन १५ मेरो निम्ति सुखद दिन रह्यो, ‘मजदुर’ दैनिकका साथीहरूलाई साधुवाद !
तपाईँको एक पाठक
Leave a Reply