अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर १९, साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण, ९ वडा समितिको संयुक्त आयोजनामा शनिबार भ्रष्टाचारविरोधी कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव पे्रम सुवालले नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले २०१९–२० सालदेखि नै भ्रष्टाचारविरोधी आन्दोलन अगाडि बढाउँदै आएको चर्चा गर्दै नयाँ पुस्तालाई पुँजीवादी प्रवृत्तिको खण्डन गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका संसदीय दलहरू पुँजीवादी निर्वाचन जित्ने र सरकारमा पुग्नेमा केन्द्रित भइरहेका छन् । सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् ।”
“केही वर्षअगाडि सरकारकै एक सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताउनुभयो । यसलाई सरकारहरूले खण्डन गरेनन् । नेका, एमालेको संयुक्त सरकारका कतिपय मन्त्रीहरू आर्थिक अनियमिततामा परेको खुलासा भएको छ”, सांसद सुवालले भन्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “विश्वको कम्युनिस्ट आन्दोलनमा माक्र्स–एङ्गेल्सको मृत्युपछि संशोधनवादी बाटो लिने जर्मनीका बर्नस्टिन हुन् । नेपालमा निर्वाचन जितेर प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री पदमा पुगेका संसद्वादी कम्युनिस्टहरू बर्नस्टिनको बाटोमा गएका हुन् ।”
उहाँले नेका र एमालेबिच संयुक्त सरकार गठनको सहमति मजदुर र किसानको घरमा नभएको हुँदा उक्त सहमतिलाई देश र जनताको हितमा भएको भन्न नमिल्ने बताउनुभयो ।
उहाँले व्यापक जनतालाई राजनैतिकरूपले सचेत नबनाई भारतमा नक्सलवादी आन्दोलन सुरु भएको र त्यसकै पदचिह्नमा तत्कालीन झापा गुटले व्यक्तिहत्याको बाटो लिएको बारे नयाँ पुस्ता स्पष्ट हुनु आवश्यक छ भन्नुभयो ।
उहाँले थप्नुभयो, “नेपाल मजदुर किसान पार्टीविरुद्ध प्रतिक्रियावादीहरूले भारत प्रवास र नेपालभित्र पटकपटक षड्यन्त्र गरेका छन् ।”
सांसद सुवालल भन्नुभयो, “दासमालिकविरुद्ध दासहरूले र सामन्तहरूविरुद्ध भूदासहरूले विद्रोह गरेका थिए । बेलायत र फ्रान्सका पुँजीपतिवर्गले तत्कालीन राजतन्त्रको विरोधमा सशस्त्र सङ्घर्ष गरेका थिए । यसकारण, वर्गसङ्घर्ष र सशस्त्र सङ्घर्ष गरेका सबै कम्युनिस्ट हुने होइनन् ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले सहकारी संस्थाको बचत रकम हिनामिना गर्ने ठगहरूको संरक्षणमा सरकार लागेको हुँदा भ्रष्टाचार बढेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका सचिव पाण्डव सुवालले ठुला भ्रष्टाचारको काण्डमा प्रधानमन्त्री, मन्त्रीलगायत उच्च अधिकारी जोडिनुले सिंहदरबार भ्रष्टाचारको अखडा भएको पुष्टि हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगरपालिका ९ वडा समितिका अध्यक्ष रविन बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण ९ वडा समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, चानपा ९ का वडाध्यक्ष गणेश त्यात, युवा कार्यकर्ता उत्तम साखकर्मीलगायतले भ्रष्टाचारको विरोधमा जनताको आन्दोलन आवश्यक भएको बताउनुभयो ।
Leave a Reply