भर्खरै :

उद्यमशीलता आजको आवश्यकता

  • श्रावण २४, २०८१
  • सत्यराम कासिछ्वा
  • विचार
उद्यमशीलता आजको आवश्यकता

उद्यमशील जनशक्तिबिना देशको विकास असम्भव छ । यसको लागि नयाँ पुस्ताको रूपमा रहेका विद्यार्थी जीवनदेखि नै उद्यम गर्ने र त्यसको व्यावसायिक जोखिमसँग समयसमयमा परिचित गराउनुपर्छ । शैक्षिक संस्थाले दिने सैद्धान्तिक ज्ञानले मात्र उद्यमशील बनाउँदैन ।
देशमा भएका खनिज, जडिबुटीलगायत प्राकृतिक स्रोतसाधनको सम्मुचित प्रयोग गर्नुपर्दछ । जसले देशको समृद्धिको लागि आवश्यक जनशक्ति उत्पादनको उद्यमशील लक्ष्यसहित सरकारले शिक्षण संस्थाहरूबाट प्राप्त गर्ने सोच राख्नुपर्छ । नयाँ पुस्ताका विद्यार्थीहरूमा उद्यमशीलताको भावना विकास गर्न सकेमा समग्र देशको अर्थतन्त्र सुधार हुन्छ ।
उद्यमशीलताले नयाँ वस्तुको उत्पादन, रोजगारी सृजना तथा आर्थिक समृद्धिलाई टेवा पुर्याउँछ । उद्यमशील विद्यार्थीहरूले विद्यमान र विगतका उद्योगको खोज अनुसन्धान गरी पुनः जागृत वा पुनरूत्थान गर्न अघि सर्छ । आजका विद्यार्थीहरू खोज अनुसन्धानमा सक्रिय हुने भएकोले विश्व बजारका उद्यमशील सीपहरूलाई मौलिक ढाँचामा रूपान्तरण गर्न तम्तयार हुन्छन् । जसले नयाँ आविष्कारसहित सफल व्यवसायी बनाउन अग्रसर भएका हुन्छन् ।
अध्ययनपछि प्राप्त गरेको ज्ञान, सीपलाई अवधारणा सहित कार्यक्षेत्रमा प्रयोग गर्दा प्रतिस्पर्धी बजारमा थप सम्भावना बोकेको हुन्छ । उद्यमशीलताले मानसिकरूपमा रचनात्मक संस्कृतिलाई प्रोत्साहित गरी प्राविधिक प्रगति र उत्पादन बढाउन सहयोग गर्दछ । राज्यले उद्यमशील शिक्षामा लगानी गरेर दीर्घकालीन समृद्धि र विकासलाई अगाडि बढाउन नयाँ पुस्ता तयार गर्नुपर्छ ।
स्थानीय जनताको आवश्यकताअनुरूपको व्यवहारिक सीप र सैद्धान्तिक अवधारणाले विश्व बजारको अनुसन्धान, वित्तीय व्यवस्थापन तथा रणनीति तयार गर्न सघाउँछ । देशको वैदेशिक व्यापार घाटालाई कम गर्ने उद्यमशील जनशक्तिको माध्यमबाट निर्यातमुखी व्यवसायको रूपमा मौलिक कृषि वस्तु, हस्तकला एवम् पर्यटकीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।
नयाँ पुस्ताका उद्यमशील जनशक्तिलाई खोज अनुसन्धानको माध्यमबाट आएकोे नयाँ सीप, ज्ञान र अवधारणा निर्माणसहित प्रयोगात्मक परीक्षण र प्रशिक्षण दिई स्वदेशमै राज्यले व्यवस्थापन गरेर उद्यमशील बनाउने जाँगर दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *