अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मितभाषी, गम्भीर र मधुर मुस्कुराहट । आक्कलझुक्कल झुल्किहाल्ने नयाँ सडकको कविकुना । कविकुना भनेपछि त्यहाँ धेरैजसो स्रष्टाहरू नै आउँदा होलान् भन्ने बुझ्न सकिन्छ । हल्का हेराइमा, यस्तै लाग्यो नारायण तिवारीको छवि ।
‘अस्थिपञ्जर’, प्रकाशन (२०५४) का मितिले उहाँको कथायात्रा २७ वर्षअघि सुरू भएको रहेछ । त्यसपछि ‘शत्रु’ २०६६ मा प्रकाशित भएको रहेछ । यहाँ कथासङ्ग्रहको मात्र कुरा छ । तर उहाँको मुक्तक, लघुउपन्यास, लघुकथा, कविता र बालकथा प्रकाशनलाई एकैसाथ राखेर हेर्ने हो भने उहाँ निकै लगनशील, बहुप्रतिभा सम्पन्न साहित्य साधक हुनुहुन्छ भन्ने नै बुझिन्छ ।
मलाई मान्छे मन परेपछि, तिनका कृतिहरू खोज्ने बानी लागेको छ । तर मनपरेका जति सबै सर्जकका प्रतिनिधि रचनाहरू पढिसकेको पनि छैन । उदाहरण नै दिऊँ भने, नारायण ढकालको ‘प्रेतकल्प’ दुई वर्षदेखि थन्किरहेको छ । अब त खोलूँ, खोलूँ लागिरहेको छ ।
तर, यसअघि हरिबहादुर श्रेष्ठसँग भेटघाट गर्ने सन्दर्भ उठेपछि नारायण तिवारीको कथासङ्ग्रह पढ्न लागेँ– ‘काठमाडौँमा सूर्यस्नान’ (साझा प्रकाशन, २०६९) । व्यक्तित्वजस्तै सरल कथाहरू दैनिक जीवनका । न लामा, न त छोटा, समकालीन र आफ्नै परिवेशका । बोधगम्य, आफ्नो समयका सघन छापहरू । कथावस्तु विविध ।
पाठकको आआफ्नो रूचि हुन्छ होला । ‘काठमाडौँमा सूर्यस्नान’ राजधानीको गणतान्त्रिक घाममा उभिएर नुहाउनु थियो (पृ. २१, पहिलो अनुच्छेद) राम्रो कथा त भयो नै, मलाई मूलतः विराटनगर र काठमाडौँको पृष्ठभूमिमा लेखिएका यी कथाहरू पनि विचारोत्तेजक लागेका छन् । पढ्दापढ्दै अडिएर सोच्नुपर्ने अनुच्छेदहरू ।
१) डढेलो (मधेश उपद्रव)
२) एउटा लेखकको मृत्यु (अभावहरूबिच सङ्घर्षरत लेखक)
३) बक्र रेखाहरू (मधेसी र पहाडीबिच विभेद र वैरभाव)
४) परदेशी बाबु (जातीय छुवाछुत)
५) पल्टनबजार (कामाक्षा मन्दिरको भ्रमण)
६) उत्मा उर्फ उत्तिमलाल (अथवा रिक्सावाला)
७) इष्टमित्र (धाकधक्कु लाउने छिमेकी) र अरू कथाहरू ।
‘… ऊ त खाँटी माओवादी बनीवरी फेरि काङ्ग्रेस बनौँ कि एमाले बनौँ भनी धरमर भइरहेको रहेछ ।’ (पृ २१ हरफ, चौथो अनु.)
यस कथनबाट पनि एक्काइसौँ शताब्दीको छैटौँ शताब्दीमा आइपुग्दा राजनैतिक अवसरवाद कसरी झाँगिएको रहेछ भन्ने छनक पाइन्छ । कथाकार नारायण तिवारीका कथामा वर्गीय विभेद र उन्मुक्तिका अभिलाषाहरू पर्याप्त अभिव्यक्त भएका छन् । तर परिवर्तनको पाङ्ग्रा टक्क अडिएको छ– लोकतन्त्र र गणतन्त्रमा । के ‘आमाको सपना’ पूरा भइसक्यो ? के सपना विपना भइसक्यो ? साहित्य समाजको ऐना त हुँदै हो, भविष्य देखाउनसक्ने ‘टेलिस्कोप’ पनि हुनुपर्दछ । साहित्यकार कलाको प्रयोग गर्दै, सूक्ष्म निर्देश पनि गर्दछन् । त्यसैले, छोरीको सपना पनि लेखिनुपर्ने हो ।
उहाँले सिधासादा र कल्याणकारी भावना भएका चरित्रहरूको पनि चयन गर्नुभएको छ । जस्तो, रिक्सावाला उत्मा अर्थात् उत्तिमलाल । सुदामा जस्तो दीनहीन महेश (उत्ताल तरङ्ग), सहयोगी भावनाको प्रतिनिधि राजकुमार (डढेलो), नास्तिक बन्दैगएकी छोरी (चलन), परिवारबाट बिछोडिएको सिपाही बिर्खबहादुर (युद्धविराम), समानतावादी युवा सुन्दरकुमार विश्वकर्मा (परदेशी बाबु), सहयोगी भारतीय नेपाली विमल लामा (पल्टनबजार), क्रूर दलनमा जीवन काटिरहेको पासवान (सीमान्तकृत), दयालु घरपति (धरातल) जस्ता पात्रहरूको छनोटबाट उहाँको वर्गीय रूझान प्रस्ट भएको छ ।
अर्कोतिर स्वाभाविक नै लाग्ने भए पनि भोलेभाला ‘श्रीमती’ को कथामा धेरैपटक (तस्बिर, काठमाडौँमा सूर्यस्नान, चलन, चक्रवात, एउटा लेखकको मृत्यु, एक जुगमा एक दिन, इष्टमित्र, पल्टनबजार, उत्मा उर्फ उत्तिमलाल, झन् हँसिलो–हँसिलो) प्रयोग भएको छ ।
‘… पहाडे–मधेसी मिलेरै बसेको भए पनि हेप्न चाहिँ पहाडेले मधेसीलाई हेपेकै हो । गरिबै भए पनि शासकीय दम्भ कहाँबाट–कहाँबाट एउटा तराईको लुरे पहाडेमा पनि आउँथ्यो–आउँथ्यो र मधेसीलाई हेप्थ्यो–हेप्थ्यो । तर धनी मधेसीले पनि त हेप्दथ्यो । धनी मधेसीले त गरिब लुरे पहाडेलाई कहाँ टेथ्र्यो नि ¤ अझै धेरै धनी मधेसीहरूले त त्यस्ता शासकीय पहाडेहरूलाई त आफ्नो खल्तीमै हालेर हिँड्दैनथे र ? जे होस्, सामन्ती सोच, संस्कार नै आखिर सबै कुराको जड थियो वा हो झैँ लाग्छ मलाई त ।’ (पृ. ५३, अनु. ४)
नेपाली समाजको तल्लो वर्गप्रति सहानुभूति राख्ने र भरथेग गर्ने संस्कृतिका संवाहक कथाकार मधेशमा व्याप्त सामन्तवादप्रति आक्रामक पनि हुनुहुन्छ । मधेश विद्रोहमा खासगरी तल्लो वर्गले नै बलिदान गरेको तथ्य पनि उजागर गर्नुहुन्छ उहाँ । तर संसारै डसिरहेको दलाल पुँजीवादप्रति उहाँ अप्रकट जस्तो भान हुन गएको छ । तीव्रगतिमा भइरहेको सहरीकरणको नयाँ बस्तीमा छिमेकीपन कसरी कक्रिएको छ, तलको उद्धरणबाट चाल पाइन्छ ।
‘बाटामा हिँड्दा टोलका मानिसहरूलाई चिनेपछि अत्यन्त आत्मीयता जनाउँदै हात उठाइन्थ्यो तर उहाँहरूका हात ‘अर्ध–उठित’ अवस्थामा झुल्दथे । त्यसप्रति त्यतिसारो ध्यान जाँदैनथ्यो पनि । तर अभिवादनमा आफ्ना ओठ मुस्कुराउँदा उहाँहरूका अझ खुम्चिन्थे । किन यस्तो भइरहेको छ ।’ (पृ. १०५, अनु. ९)
उहाँको रोचक शैली÷कथोपकथनका केही दृष्टान्तहरू यस्ता छन्ः
अ) ‘मानौँ समुद्रको छाल उठ्छ, ‘जाऊँ’, छाल फेरि ठोकिएर शान्त बस्छ– ‘नजाऊँ’ (पृ. १४, अनु. ६)
आ) “हो, त्यो मधेश नै मेरो पहाड हो … ।” (पृ. २६, अनु. ४)
इ) “सय खुन माफी दिने भगवानलाई त्यसो भए हामीले किन मानिराख्ने हगि बुबा …” (पृ ३७, अनु. ७)
उहाँले अनौठो लाग्ने नयाँ क्रियापद र देशज शब्दको प्रयोग पनि गर्नुभएको छ । जस्तै, अन्ठाउनु, झट्किनु, भाँप्नु, उठौना, एकाप्रातै, टुटपुँजिया, थेत्तर (थेत्तरो ?), दरदियाद, फुटानी र बाताबाती । यस्ता शब्द अरू पनि छन् । यिनको अर्थ पादटिप्पणी वा परिशिष्टमा राखिदिए आमपाठकलाई अर्थबोध गर्न सहज हुने थियो ।
रोचक प्रयोगका खण्डवाक्यहरू पनि हेरौँः आँखा फुकालेर हे¥यो (घुरेर हे¥यो), उमङ्गको डढेलो (उमङ्गको राप), चाँदी कटाइ (भ्रष्टाचार गर्नु), पैसा तिरेर चल्दिएँ (पैसा तिरेर गएँ) ।
“कहिलेकाहीँ लाग्छ– यो लोकतन्त्र पनि बलियाकै लागि पो आयो । जो बलिया छन् तिनकै सङ्गठन छ, जो निर्धा छन् खोइ तिनको सङ्गठन ?” (पृ. ११६, दोस्रो हरफ)
समग्रमा यो कथासङ्ग्रह पठनीय छ । मैले त सङ्ग्रह नै गरेको छु । आगामी सङ्ग्रहमा हिमाली जनजीवन, कुपोषण, जलवायु परिवर्तन, क्षेत्रीय प्रभुत्व, विश्वव्यापी हैकम, बिटुलिएको लोकतन्त्र, विसर्जनवादी वामपन्थी नेतृत्व, समाजवादको आभा र सचेत नागरिकको कर्तव्यजस्ता कथावस्तुहरू समेटिएका कथाहरू पढ्न पाउनेछौँ भन्ने अपेक्षा गरौँ, शुभकामना !
अगस्ट २०२४
Leave a Reply