भर्खरै :

समाज परिवर्तनको लागि कार्यकर्ताहरू जुट्नुपर्ने

समाज परिवर्तनको लागि कार्यकर्ताहरू जुट्नुपर्ने

भक्तपुर, २६ साउन । नेपाल मजदुर किसान पार्टी वडा नं. १० समितिको आयोजनामा शनिबार समसामयिक राजनीतिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले पार्टीको साङ्गठनिक जीवन सङ्घर्षपूर्ण हुने विचार व्यक्त गर्दै पुरानो पुस्ताले नयाँ पुस्तालाई पार्टीको सिद्धान्त र विचारबाट सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाज परिवर्तनको लागि कार्यकर्ताहरू जुट्नुपर्ने औँल्याउँदै उहाँले राजनीति पद र पैसाको निम्ति होइन देश र जनताको सेवा गर्न हो भन्नुभयो ।
साहित्यिक र सांस्कृतिक गतिविधिबाट पनि जनतालाई सुसूचित पार्न सकिने विचार व्यक्त गर्दै उहाँले सङ्गठन विस्तार र व्यापक बनाउन कार्यकर्ताहरू खटिरहनुपर्ने उल्लेख गर्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले साङ्गठनिक जीवनले अनुशासित र कर्तव्यपरायण बनाउने धारणा राख्दै पार्टी सङ्गठन एउटा सिक्ने र सिकाउने थलो हुने बताउनुभयो ।
“पार्टी कार्यकर्ताहरूले सङ्गठनको निर्देशन र साङ्गठनिक आचरण पालना गर्नुपर्ने भएकोले हरेक कार्यकर्ताहरू सङ्गठनको उद्देश्य प्राप्तिमा आफूलाई परिचालित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत रहेकोले पुँजीवाद र समाजवादको भिन्नताबारे जनतालाई सुसूचित पार्नुपर्ने पनि उहाँले बताउनुभयो
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले पार्टी सदस्य हुन पाउनु एउटा गौरवको रूपमा लिनुपर्ने चर्चा गर्दै पार्टी सदस्यहरू अनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ता भएपछि साङ्गठनिक जिम्मेवारी आउने हुनाले पार्टी निर्देशनअनुसार कार्यक्रममा सहभागी हुनुको साथै दिइएअनुसारको जिम्मेवारी निर्वाह गर्न कार्यकर्ताहरू अघि सर्नुपर्छ ।”
नेमकिपा भनपा वडा नं. १० समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामलक्ष्मी दुवाल र कृष्णनारायण दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *