सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
‘रुसको डिसेम्बर विद्रोह’ (जारविरुद्ध षड्यन्त्र) पुस्तक रुसी अक्टोबर क्रान्तिभन्दा ९२ वर्ष अगाडि सन् १८२५ को डिसेम्बरमा क्रान्तिकारी रुसी कुलीन युवाहरूले जारको तानाशाही र भूदास प्रथाविरुद्ध गरेको विद्रोहको कथा हो । डिसेम्बर महिनामा भएको विद्रोह भएर ती युवाहरूलाई डिसेम्बरवादी भनिन्छ ।
डिसेम्बरवादीहरूले रुसमा निरङ्कुश राजतन्त्रको अन्त्य गरी संवैधानिक व्यवस्थासहितको खुला वा उदार राजनैतिक व्यवस्थाको परिकल्पना गरेका थिए । यसको निम्ति सैनिक विद्रोह गरेर रुसी सम्राट अर्थात् जारलाई संविधान जारी गर्न बाध्य पार्ने, त्यसो नगरे तानाशाही जारकै हत्या गरेर कानुनमा आधारित नयाँ राजनैतिक व्यवस्था ल्याउने क्रान्तिकारी रुसी युवाहरूको उद्देश्य थियो ।
सैनिकरूपमा बलियो भएर पनि राजनैतिक चेतना, आर्थिक प्रगति र प्राविधिक विकासमा त्यत्तिबेलाको सामन्तवादी रुस पश्चिम युरोपेली पुँजीवादी राज्यहरूको तुलनामा धेरै पछाडि थियो । रुसी युवाहरूको दृष्टिकोणमा रुस पछि पर्नुको प्रमुख कारण जारको तानाशाही व्यवस्था सँगसँगै रुसमा प्रचलिन आमानवीय भूदास प्रथा थियो । त्यत्तिबेला रुसमा ८० प्रतिशत जनता भूमिसँग बाँधिएको बाँधा किसान वा भूदास थिए जो रुसी सामन्तवादी उत्पादन व्यवस्था र रुसको सैन्य बलका आधार थिए । भूदास प्रथाले पुँजीवादी आर्थिक परिवर्तनको निम्ति चाहिने श्रम शक्तिलाई जमिनसँगै बाँधिराख्दा रुसमा पुँजीवादी उत्पादन व्यवस्थाको विकास हुन सकेको थिएन । डिसेम्बरवादी युवाहरू रुसी किसानहरूलाई जमिन वितरण गरी स्वतन्त्र किसानको रूपमा उभ्याउन चाहन्थे ।
‘रुसको डिसेम्बर विद्रोह’ (जारविरुद्ध षड्यन्त्र) पुस्तकमा डिसेम्बर विद्रोहको पृष्ठभूमि, विद्रोहको घटनाक्रम र विद्रोहका नायकहरूको कथा सँगसँगै नयाँ पुस्तामा युवाहरूमा विद्रोहको प्रभावबारे चर्चा गरिएको छ ।
पुस्तकलाई मूलतः ३–३ पाठका ४ वटा खण्डहरूमा बाँडेर हेर्न सकिन्छ ।
पहिलो खण्ड अर्थात् पुस्तकका सुरुका ३ वटा पाठहरूमा रुसको डिसेम्बर विद्रोहको घटनाक्रम, विद्रोहको पृष्ठभूमि सँगसँगै रुसी गुप्त समाजहरूका गतिविधि र रुसमा भूदास प्रथाको उदयबारे चर्चा गरिएको छ । राजनीतिमा व्यापक कामदार जनताको सहभागी र नेतृत्व विकास नभइसकेको र खुला राजनैतिक पार्टीहरूको विकास नभइसकेको सामन्तवादी युरोपका पुँजीवादी क्रान्तिहरूमा सीमित शिक्षितहरू मात्र समेटिने गुप्त समाजहरूको ठुलो भूमिका रहन्थ्यो । रुसी युवाहरूले पनि त्यही बाटो रोजेका थिए ।
त्यसैगरी दोस्रो खण्ड अर्थात् पाठ ४, ५ र ६ मा डिसेम्बर विद्रोह असफल भएपछि झुन्ड्याइएका ५ जना क्रान्तिकारी युवाहरूमध्ये ३ जना युवाहरू पाभेल पेस्तेल, सर्गेई मुराभ्योभ एपोष्टोल र कोन्द्राति रिलेत्का जीवनीबारे छुट्टाछुट्टै चर्चा गरिएको छ ।
तेस्रो खण्ड अर्थात् पाठ ७, ८ र ९ मा साइबेरिया निर्वासनमा पठाइएका १२१ जना क्रान्तिकारी युवाहरूको जीवन र दृढताबारे चर्चा गरिएको छ । कठीन दैनिकीबिच पनि कसरी ती क्रान्तिकारीहरूले क्रान्तिकारी भावना कायम राखे र रुसको परिवर्तन निम्ति निरन्तर काम गरिरहे भन्ने कुरा यस खण्डमा चर्चा गरिएको छ । यस खण्डमा मिखाइल लुनीन, कुमार सर्गेई भोल्कोन्सकी र कुमार सर्गेई टुबेस्कोईलगायतका युवाहरूको उदाहरणीय जीवनका साथसाथै सम्पूर्ण मान–पदवी, सुख–सुविधा र बालबच्चासमेत त्यागेर आफ्ना पति, छोरा, दाइ र भाइलाई सहयोग गर्न साइबेरिया निर्वासनमा पुगेका महिलाहरूको उदाहरणीय कथा भनिएको छ ।
चौथो खण्डको पाठ १०, ११ र १२ मा समकालीन कवि अलेक्सेन्डर पुश्कीन, नयाँ पुस्ताका क्रान्तिकारी लेखक हार्जेन र उपन्यासकार लेभ तोल्तोयको आँखाबाट डिसेम्बर विद्रोह, नयाँ पुस्तामा डिसेम्बर विद्रोहको प्रभाव र डिसेम्बर विद्रोहको भावनालाई प्रसार गर्न नयाँ पुस्ताका क्रान्तिकारिहरूले खेलेका भूमिकाबारे चर्चा गरिएका छन् ।
रुसी डिसेम्बर विद्रोह कुलीनवर्गको विरुद्ध कुलीनवर्गका युवाहरूको विद्रोह थियो । रुसको पछ्यौटेपनले ती युवाहरूलाई आफ्नै बुबा र बाजे पुस्ताविरुद्ध विद्रोह गर्न प्रेरित गरेको थियो । त्यो विद्रोह ती युवाहरूको देशप्रति समर्पणको अभिव्यक्ति थियो ।
धेरै युवाहरू नेपोलियनविरुद्ध लड्दै फ्रान्स, बेल्जियमजस्ता र राजनैतिक खुलापन र औद्योगिक विकासको हिसाबले अगाडि बढेका मुलुकहरूमा पुगेका थिए र रुस पनि राजनैतिक र आर्थिकरूपमा त्यसरी नै अगाडि बढ्नुपर्छ भन्ने भावना उनीहरूमा पलायो । विद्रोहका कति नेतृत्वदायी युवाहरू त्यत्तिबेलाको युरोपको राजनैतिक र सामाजिक क्रान्तिकारी विचारहरूको केन्द्र पेरिस सहरमा हुर्केका थिए । तर, रुसी रुढिवादी शासकहरू भने रुसले पश्चिम युरोपको पुँजीवादी बाटो लिन नसक्ने भन्दै रुसको परिवर्तनले आफ्नै मौलिक बाटो लिनुपर्छ भन्ने मत राख्थे । ‘विदेशी बाटो’ लिने वा ‘मौलिक रुसी बाटो’ भन्ने विवाद रुसी आन्दोलनमा २०० वर्षदेखि अहिलेसम्म निरन्तर चल्दै आएको छ । डिसेम्बर विद्रोह त्यसको पहिलो पटाक्षेप मात्रै थियो ।
गुप्त समाजको नेतृत्व डिसेम्बर विद्रोहको अर्को विशेषता थियो । राजनैतिक परिवर्तनको आन्दोलनको व्यापक जनता सहभागी भए फ्रान्सेली क्रान्तिमा जस्तै अराजकता निम्तिने डर रुसी युवाहरूमा थियो । व्यापक कामदार जनताको सचेत राजनैतिक पार्टीको धारणा परिपक्व नभइसकेको समयमा यसलाई स्वाभाविक मान्न सकिन्छ । केही युवाहरूले व्यापक जनतालाई पनि समेट्नुपर्ने तर्क राख्न थालेका थिए तर बहुमत त्यसमा सहमत भएनन् । त्यसैको परिणाम स्वरूप विद्रोह हेर्न पुगेका मस्कोका जनता रमिते मात्र बने ।
हरेक राजनैतिक आन्दोलनमा जस्तै डिसेम्बर विद्रोहमा पनि पाभेल पेस्टेल, सर्गेई मुराभयोभ, निकिता मुराभयोभजस्ता वैचारिकरूपमा नेतृत्व गर्ने युवाहरू थिए, रुसीबाहेक पोलियाली, युक्रेनी र बेलारुसी जातिका युवाहरूलाई पनि समेट्न सक्ने बेस्टुजेभ रुइमीन, कोन्द्राति रिलिएभजस्ता कुशल सङ्गठक र व्यवस्थापकहरू थिए । आफ्नो गतिविधिको रापले विद्रोहमा सहभागीहरूलाई उत्साहित पार्न सक्ने सुखिनोभ र प्यानोभहरू थिए । थिए–हरेक आन्दोलनमा जस्तै मुख्य समयमा पछि हट्ने डरछेरुवा ‘क्रान्तिकारी’ र शत्रुलाई सूचना पु¥याउने विश्वासघातीहरू पनि ।
सबै कुरा व्यवस्थित भएर पनि योजनाभन्दा अघि नै बिनातयारी विद्रोहमा जानुपर्ने बाध्यता नै सायद डिसेम्बर विद्रोहको असफलताको प्रमुख कारण थियो । कस्तो व्यवस्था ल्याउने भन्ने कुरामा स्पष्ट भएर पनि कसरी विद्रोहलाई अगाडि बढाउने भन्ने विषयमा व्यापक छलफलको अभाव पनि सायद अर्को कारण हुनसक्छ । तर, डिसेम्बर विद्रोहको भावना भावी पुस्ताका युवाहरूलाई क्रान्तिकारी बाटोमा दोहो¥याउने कोशेढुङ्गा साबित भयो । हार्जेनदेखि तोल्सतोयसम्म, प्लेखानोभदेखि लेनिन सम्मका युवाहरूले डिसेम्बरवादी भावनालाई अझ अगाडि बढाउन आफ्नो पसिना बगाए । त्यसकारण, डिसेम्बर विद्रोहलाई रुसी अक्टोबर क्रान्तितर्फको पहिलो पाइला पनि भन्न सकिन्छ ।
पुस्तकको प्रमुख सन्दर्भ सामग्री सोभियत इतिहासकार नितिन इडेलमानद्वारा लिखित ‘जारविरुद्ध षड्यन्त्र’ (Conspiracy Against Tsar) भन्ने पुस्तक हो । उक्त पुस्तकका साथै सन्दर्भ सामग्रीमा उल्लेखित आभ्राम यार्मोलिस्कीको पुस्तक ‘क्रान्तितर्फको बाटो’ (The Road to Revolution), ओर्लान्डो फिग्सको पुस्तक ‘रुसको सांस्कृतिक इतिहास’ (Natasha’s Dance : A Cultural History of Russia) र अन्य लेखहरूको सार नै ’रुसको डिसेम्बर विद्रोह’ पुस्तक हो भन्ने कुरा बुझ्न सकिन्छ ।
सरल भाषामा लेखिएको यो ‘रुसी डिसेम्बर विद्रोह’ पुस्तकले ‘Conspiracy Against Tsar’ जस्ता मौलिक कृतिहरू अध्ययन गर्न भूमिका निर्माण गर्ने विश्वास लिन सकिन्छ ।
Leave a Reply