भर्खरै :

सभ्यताको बग्दो ऐना

सभ्यताको बग्दो ऐना

खोला केवल बग्ने पानी होइन,
यो ढुङ्गा र बालुवाको मात्र कहानी होइन ।
यो त बगिरहेको पावन हिन्दू सभ्यता हो,
हाम्रो सनातन चिनारी र अमर विरासत हो ।
यहीँ दोभानमा हुन्छन् देवकार्य र पितृका तर्पण,
त्रिवेणीमा चल्छन् श्रद्धा र आस्थाका पवित्र अर्पण ।
हनुमन्तेको काख र खासाङखुसुङको यो फेरो,
सजाउँदै छन् आज आफ्नै इतिहासको नयाँ सवेरो ।
हिजो यता र उता अल्झिएका अवरोध र तगारोहरू,
हटे आज सबै, फेरिएका छन् बग्ने धार र किनाराहरू ।
चोखिन त बाँकी नै छ जल, तर बाटो पाउँदा यो हाँसेको छ,
नाच्दै र रमाउँदै, आफ्नै सुरमा सुसाएको छ ।
बिहान सबेरै, काग नकराउँदै ल्याइने चोखो पानी,
त्यही जलले सुरु हुन्छ सनातन धर्मको पवित्र जिन्दगानी ।
माघ महिनाको ठन्डीमा, स्वस्थानीको त्यो कठिन व्रत,
नदीकै किनारमा पूरा हुन्छ भक्तिको दिव्य सङ्कल्प ।
घाटैमा छ ब्रह्मढुङ्गा, जहाँ जीवनको अन्तिम श्वास अडिन्छ,
त्यही खोलाको जलले ओठ भिजाइ, आत्माले मुक्ति रोज्छ ।
विसर्जित ती केश अनि जुनी जोख्ने अन्तिम विधान,
यिनकै काखमा सेलाइन्छ, अनि सुरु हुन्छ महाप्रस्थान ।
चाहे देवघाटको सङ्गम होस्, चाहे हरिद्वारको त्यो घाट,
गंगोत्री, प्रयागराज या द्वारिकाको भव्य ठाट ।
संसारका सारा तीर्थ, सारा ध्यान र सारा ज्ञान,
खोलाकै किनारमा जागे, खोलाकै धारमा पाए पहिचान ।
यो भौतिक रूपमा जीवनको तिर्सना मेट्ने मूल हो,
आध्यात्मिक रूपमा भने यो भव्य सागर तार्ने कुल हो ।
खोला नै हो जीवनको चक्र, खोला नै हो संसार,
अविरल बगिरहोस् यसको स्वच्छता र चेतनाको धार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *