भर्खरै :

सन्दर्भ : भक्तपुर काण्ड/देश र जनताको हितमा लड्ने सच्चा कार्यकर्ताहरू कहिल्यै झुक्दैनन्

सन्दर्भ : भक्तपुर काण्ड/देश र जनताको हितमा लड्ने सच्चा कार्यकर्ताहरू कहिल्यै झुक्दैनन्

देश र जनताको हितमा लड्ने सच्चा कार्यकर्ता गलत व्यक्ति, संस्था, शासकको अगाडि कहिल्यै झुक्दैनन् । त्यस्ता योद्धाहरू जस्तोसुकै दुःख, कष्ट र सङ्कट आइपरे पनि निरास हुँदैनन् । उनीहरू हरेक चुनौतीको डटेर सामना गर्छन् । त्यस्ता योद्धाहरू निःस्वार्थी, त्यागी र देशभक्त हुन्छन् । उनीहरू कुनै शासक, देशी तथा विदेशीको शक्तिको प्रभाव र दबाबमा बस्दैनन् न त कुनै लोभ र धम्कीको अगाडि नै झुक्छन् । यस्ता निःस्वार्थी एवम् देशभक्त व्यक्ति, संस्था वा पार्टीलाई कुनै बहानामा प्रतिक्रियावादी देशी तथा विदेशी शक्तिले षड्यन्त्र रचेर निरास पार्न खोज्छन् । प्रतिक्रियावादीहरूले नेमकिपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूलाई भक्तपुर काण्डको जाल फ्याकेर, षड्यन्त्र गरेर निरास पार्न खोजेका थिए । नेमकिपाका नेता तथा कार्यकर्ताहरू निरङ्कुश पञ्चायती सरकारले दमन गरेर जतिसुकै लोभ देखाए पनि रत्तिभर झुकेनन् । देशघाती षड्यन्त्र रचेर देश र जनतालाई दुःख दिने शासक र सरकारको ढिलोचाँडो पतन निश्चित छ । समय र इतिहासले यहीँ तथ्य देखाइरहेको छ । देश र जनताको निःस्वार्थ सेवा गरिरहेको नेमकिपामाथि देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले कुनै बहानामा कुनै पनि बेला फेरिफेरि जालझेल या षड्यन्त्र गर्न सक्छन् । त्यसको विरुद्धमा जनतालाई सचेत र सङ्गठित गरेर लडिरहनु आवश्यक छ । जर्मनीको संसद् भवन (राइखस्टाग) मा आफैँले आगो लगाएर प्रतिक्रियावादी शासकहरूले कम्युनिस्ट सांसदहरूलाई दबाएका थिए । तर, कोही पनि झुकेनन्, आत्मसमर्पण गरेनन् । नेमकिपाले विश्वको शोषण र अन्यायमा परेका, साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी तथा फासीवादी देश र शासकहरूले गरेको आक्रमण, दमनविरुद्ध सङ्घर्ष गरिरहेका देश र जनतालाई साथ र समर्थन गरिरहेको छ । यो अन्तर्राष्ट्रवादी पार्टीको धर्म हो । जुन अरु कम्युनिस्ट, प्रजातन्त्रवादी भनिने दलले गर्ने आँट गरेनन् ।
विश्वमा त्यस्ता देश, नेता र जनता पनि छन् जसले आफ्नो देश र जनतालाई अनि विश्वका तमाम शोषितपीडित र गरिब जनताको सेवालाई जहिल्यै शिरमा राख्छन् । त्यस्ता योद्धाहरूले मात्र देश बनाउँछन् तथा शोषण र अन्यायमा परेका जनतालाई मुक्त गराउँछन् । त्यस्ता योद्धाहरूको रगत पसिनाले मात्रै देशको माटोमा देशभक्ति भावना, विचार, न्याय र स्वतन्त्रताको लागि लड्ने विचारले युगौँ युग सिञ्चित गरिरहेको हुन्छ । त्यस्ता योद्धाहरूले आफ्नो विचार र सिद्धान्तअनुसार आफ्नै खुट्टामा उभेर स्वाधीन र स्वतन्त्र भएर जनतालाई शोषण उत्पीडनबाट मुक्ति दिलाउने र देश निर्माणलाई निरन्तर अगाडि बढाइरहेका हुन्छन् । उनीहरू कसैको हस्तक्षेप र थिचोमिचोलाई स्वीकार्दैनन् ।
कार्ल माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङ, किम इल सङ, फिडेल क्यास्ट्रो, होचि मिन्ह, चे ग्वेभारा, साल्भाडोर, एयेन्डे, क्रिसहानी, प्याट्रिस लुम्बुवा आदि विश्वले चिनेका नेताहरू हुन् । उनीहरू आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकताको निम्ति जीवनभर लडिरहे । ती योद्धाहरूमाथि साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी र पुँजीवादीहरूले आक्रमण गरेका थिए । उनीहरूको अन्याय, अत्याचार र आक्रमणको विरोधमा स्वतन्त्रताको निम्ति न्यायप्रेमी जनता लड्दै छन् । एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपबाट ती देशका जनताको सङ्घर्षबाट ती आक्रमणकारीहरू भाग्दै छन् । त्यस्तै, जेनी माक्र्स, क्रुप्सकाया, याङ काई हुई, अन्ना लुइ स्ट्रङ, क्लारा जेटकिनजस्ता क्रान्तिकारी महिला नेतृहरूले पनि आफ्नो सास र लासलाई खेर जान दिएका छैनन् । उनीहरूले विश्वका जनताको मुक्तिको लागि, समाजवादको लागि वीर योद्धा, नेताहरूलाई अलिकति पनि विचलित नभइकन साथ, सहयोग र प्रेरणा दिइरहे । उनीहरू विश्वका गरिब, अशिक्षित र शोषितपीडित महिलाहरूको मुक्तिको लागि जीवनभर लडिरहे । उनीहरूले सङ्घर्षको बाटो पछ्याइरहे । उनीहरूले विश्वका महिलाहरूलाई लड्न र सङ्घर्ष गर्न हौस्याइरहेका थिए ।
अब्राह्म लिङ्कन, नेल्सन मन्डेला, महात्मा गान्धी, भगत सिंह, स्लाभोदान मिलोसोभिच, ह्युगो चाभेज, जनरल नोरिएगा, सद्दाम हुसेन, कर्णेल गद्दाफीजस्ता योद्धाहरू देशको स्वतन्त्रता र न्यायको लागि जीवनभर लडे । उनीहरूले साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद, जातिवाद, रङ्गवाद, ठुलो देशले सानो देशलाई र धनी देशले गरिब, अशिक्षित देशमाथि गर्ने हस्तक्षेप, आक्रमण आदिको विरोधमा सङ्घर्ष गरेका थिए । त्यसको विरुद्धमा उनीहरूले विश्वका जनतालाई उठाउने काम गरेका थिए । उनीहरू त्यस्ता अत्याचारी देश र शासकको अगाडि रतिभर झुकेनन्, आत्मसमर्पण गरेनन् । त्यसैले, ती अत्याचारीहरूले अनेक षड्यन्त्र रचेर उनीहरूलाई बन्दी बनाए र अनेक बहानामा हत्या गरे । ती योद्धाहरूले विश्वमा साम्राज्यवाद, उपनिवेशवाद, हस्तक्षेप, थिचोमिचो, वर्णभेद, अन्याय, अत्याचारको अन्त्य नभएसम्म त्यसको विरोधमा विश्वका जनतालाई लड्न प्ररेणा दिइरहे ।
त्यसो त हाम्रो देशमा पनि स्वदेशी तथा विदेशी शक्ति, साम्राज्यवादी, विस्तारवादी र त्यसका दलालहरूले अनेक षड्यन्त्र गरेर, देशको स्वाधीनता र सार्वभौमिकताको लागि लडेका वीर योद्धाहरूको हत्या गरेको इतिहासमा पढ्न र सुन्न पाइन्छ । भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरलगायतका देशभक्त वीर योद्धाहरूले विश्वमा साम्राज्य फैलाउँदै छिमेकी देशहरू चीन र भारतलाई खाइ सकेर नेपाललाई पनि त्यस्तै खान आएका अङ्ग्रेजसँग शरीरमा एक थोपा रगत भएसम्म वीरतापूर्वक लडेका थिए । उनीहरू अङ्ग्रेजको लोभ र धम्कीसामु झुकेनन् । त्यसैले, हाम्रो देश जोगिएको थियो । त्यसरी नै प्रजातन्त्रको लागि लडेका गङ्गालाल श्रेष्ठ, शुक्रराज जोशी, धर्मभक्त माथेमा, दशरथ चन्दजस्ता वीर सहिदलाई पनि अत्याचारी राणाहरूले झुकाउन, आत्मसमर्पण गराउन अनेक षड्यन्त्र गरे, लोभ देखाए, अमानवीय यातना दिए तर प्रजातन्त्रको लागि उनीहरू झुकेनन् । राणाहरूले उनीहरूलाई गोली ठोकेर, झुन्ड्याएर हत्या गरे र उनीहरू सहिद भए । त्यसैको परिणाम देशमा राणा शासनको अन्त्य भयो र प्रजातन्त्रको उदय भयो ।
यसरी देश र जनताको निःस्वार्थ सेवा गर्ने, प्रजातन्त्र, न्याय, स्वतन्त्रताको लागि लड्ने नेता, कार्यकर्तालाई अनेक लोभ देखाएर, सुविधा दिएर, षड्यन्त्र गरेर आक्रमण गरेर साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी, दलाल अत्याचारीहरूले दमन गरेर बाटो छोडाउने अनेक षड्यन्त्र गरे । सचेत र सङ्गठित जनताको साथ, समर्थन र सङ्घर्षले त्यस्तो षड्यन्त्रबाट उनीहरू बचे । त्यसैले, त्यस्तो सम्भावित षड्यन्त्र र हस्तक्षेपदेखि सधैँ सचेत र सङ्गठित भएर सबै लड्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *