भर्खरै :

हजुरआमा : मेरो पोषण ज्ञान पाठशाला

हजुरआमा : मेरो पोषण ज्ञान पाठशाला

रेडियो, टीभीमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ भन्छन् । म वास्तवमा पोषणविद् होइन किनभने योबारे औपचारिक ज्ञान मेरो छैन । तर, पोषणको ज्ञान मैले हजुरआमा र उहाँको भान्छाबाट, गाउँघरका महिला कुरा गर्दा, कुपोषित बालबालिकाका अभिभावकसँग कुरा गर्दा पाएकी हुँ । उनीहरूसँग सिकेका कुरा मैले टिपोट गरेर, लेखेर प्रकाशित गरेकी मात्र हुँ । त्यसैले समुदाय र मेरो हजुरआमाको भान्छा मेरो पोषणको पाठशाला हो भन्न सक्छु ।
हजुरआमासँग हुर्केकी म उहाँले गाई दुहुँदा हेरिरहन्थेँ । “दूध तताएर एक बटुको नदिएसम्म म भान्छाबाट टसमस हुँदैनथेँ रे,” आमाले भन्नुभएको । त्यही दूध खाएर मजबुत भएकी । हजुरआमाले खिर पकाउँदा मन खुसी हुन्थ्यो । खिरको पौष्टिकताबारे ठुलो भएर मात्र बुझेँ । हजुरआमाले फलामको भाँडामा पकाएको मासको दाल जिम्बुले झान्दा भान्छा बसाउँथ्यो । अहिले पनि हाम्रो भान्छामा मासको दालसँग जिम्बु नभई हुँदैन । जिम्बुले पेटको स्वास्थ्य राम्रो राख्छ भन्ने धेरैपछि बुझेँ ।
हजुरआमाको भान्छामा रातो दालमा जिरा हालेर झान्ने चलन थियो । दालमा मेथी, जिरा हालेर झान्दा ‘दालले पेटमा उत्पन्न गर्न सक्ने ग्यासमा पनि कमी आउँछ’ भन्ने विज्ञानले सिकायो । निरक्षर मेरी हजुरआमालाई विभिन्न गेडागुडीले पेटमा ग्यास उत्पन्न गर्ने भएकाले दालमा झान्नुपर्छ भन्ने ज्ञान थियो । त्यो ज्ञान सासूबाट सिक्नुभएको थियो सायद ।
५७ वर्षअघि मैले सात वर्षसम्म घरमा नै गुरुजीसँग पढेँ । त्यसपछि एकैचोटि दुई कक्षामा भर्ना भएकी । सात वर्षसम्म जताततै हजुरआमासँगै जान्थेँ । हजुरआमा कसैलाई भेट्न जाँदा बारीका तरकारी वा अम्बा लैजानुहुन्थ्यो कोसेली । पाहुना गएको घरमा हलुवा र चिया दिँदा दङ्ग पर्थेँ । त्यसैले हजुरआमा अन्यत्र जाँदा पछि लागिहाल्थेँ । घिउमा पकाएको सुजी वा गहुँको हलुवा त ऊर्जाको स्रोत रहेछ भन्ने पछि मात्र बुझेँ ।
हजुरआमाको भान्छामा पनि विभिन्न खाजा बन्थे– हलुवा, रोटी, निम्की, खिचडी । ती घरेलु परिकार खाएर हुर्केकी मैले पनि सिकेँ, ‘घरको खाजा उत्तम’ किनभने हामीलाई कुपोषण भएन, कुनै भिटामिन, अनेकथरीका बाहिरका बट्टाको खाना आवश्यक परेन, घरकै खाजा खाने चलन थियो ।
हाम्रो पालामा पत्रु खानाको बजार नै थिएन । त्यसैले अहिले जब ‘कसैले के खाजा खाने र बिस्कुट, पाउरोटी, मोमो, चाउचाउबाहेक’ भन्दा त मलाई अचम्म लाग्छ, किन हामीले आफ्नो मौलिक खाजा बिर्सेको ? सानैदेखि हजुरआमाले बनाएको खाजाले पछि मलाई सिकायो, घरमा बनेको खाजा स्वस्थ हुन्छ, सस्तो पनि हुन्छ । त्यसैले मेरो पोषणको पाठशाला हजुरआमाको भान्छा हो ।
पेट दुख्दा वा पखाला लाग्दा हजुरआमाले बनाएको लसुन र मेथी मुग हालेको जाउलो नै औषधि हुन्थ्यो । मुगको दालले स्वास्थ्यलाई राम्रो गर्छ, मेथी र लसुनले पखाला लागेको बेला ठीक गर्छ भन्ने परम्परागत ज्ञान थियो हजुरआमालाई । मुगको दालमा प्रोटिन, मेथीमा लौह तत्व हुन्छ भन्ने कुरा मैले पछि थाहा पाएँ । अनि लाग्यो मेरो हजुरआमा त ‘पोषणविद्’ नै थिइन् कि क्या हो ? पोषणको वैज्ञानिक अनुसन्धानबारे केही थाहा थिएन ।
हजुरआमालाई गहतानी (मास र गहतको मिश्रण) को दाल पकाउँदा बडो मेहनत लाग्थ्यो । मास भिजाएर, सिलौटामा पिसेर फलामको भाँडामा पकाउनुहुन्थ्यो । ‘डुबका’ अर्थात् मासको फुलौरा, गहतानी कहिले पाक्ला र भातसँग ग्वामग्वाम खाउँला जस्तो लाग्थ्यो । अहिले थाहा भयो मलाई, ‘गहत र मास दुवै प्रोटिन र सुक्ष्म पौष्टिक तत्वले भरिपूर्ण’ हुन्छन् । अहिले म गहतको विभिन्न परिकार खान्छु ।
गहतानी फलामको भाँडामा पकाउने चलन थियो । गहतानी पाकेपछि अलिकता अमिलो हालेर स्वाद बढाउने चलन थियो र अमिलोको भिटामिन सिले फलामको भाँडामा पकाएको गहत र मासको गहतनीमा रहेको लौहतत्व शोषण गर्न झन् मद्दत गर्छ । गहतानीको स्वाद र स्वास्थ्यसँगको सम्बन्ध हजुरआमाले किताबमा पढेर थाहा पाउनुभएको होइन । भिटामिन सीले लौहतत्व शोषण गर्न मद्दत गर्छ भन्ने विज्ञानले सिद्ध गरेको छ ।
गहतानी र भातमा अलिकता घिउ हालेर दिने मेरी हजुरआमालाई थाहा थिएन चिल्लोको उपस्थितिले शरीरमा भिटामिन ‘ए’, ‘डी’ र ‘के’ घुल्न मद्दत गर्छ तर भातमा हजुरआमाले घिउ हालेर गहतानीसँग मुछेर खाँदा त म सानैदेखि स्वस्थ पो बन्न पुगेछु, अहिले पनि दाल भात खाँदा घिउ छुट्दैन ।
सानोमा वर्षात्को बेला फोहोर पानीमा खेलेपछि खुट्टाभरि घाउ भएर पिप भरिन्थ्यो । हजुरआमाले मनतातो पानी र नुनले घाउ धोएर, आगोमा सियो पोलेर पिप फुटाउनुहुन्थ्यो अनि रुवाले सफा गरेर घिउमा बेसार मलेर खुट्टामा लगाइदिनुहुन्थ्यो ।
“बेसारमा तेल घोलेर लगाउँदा मात्रै छालाले राम्रोसँग शोषण गर्छ भन्ने ज्ञान,” हजुरआमालाई रहेछ । यो ज्ञान मैले ३० वर्षको उमेरपछि धेरै पढेपछि मात्र थाहा पाएँ । यसैले बारम्बार भन्ने गर्छु–परम्परागत ज्ञानले भरिपूर्ण भएकी मेरी हजुरआमा हुन् मेरो पोषण ज्ञानको पाठशाला ।
हजुरआमाले अमिलो मोहीमा प्रोटिनले भरिपूर्ण बेसन हालेर बनाउने कढी र त्यसमा बेसनकै फुलौरा पकाउनुहुन्थ्यो ।
हजुरआमाको त्यो कढीलाई अहिले मैले केही परिमार्जन गरेर अमिलो मोहीमा बेसन, कोदो, फापर, चामलको पिठोसमेत हालेर पकाउँछु । अलिकता हरियो तरकारीहरू मसिनो टुक्रा पारेर हाल्छु । यो झोल र भात पनि सजिलै खान सकिन्छ । कति चोटि त यो आफैमा पूर्ण भोजन बन्छ । यो सुप खाएपछि त मलाई भात रोटी केही खानै पर्दैन । यस्ता थुप्रै ‘रेसिपी’ खाएर हुर्केकी म गर्वसाथ भन्छु, हजुरआमा मेरा पोषण गुरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *