भर्खरै :

प्रज्ञा र फाइन- पूँजीवादमा दुई रुप

-करभिका
शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरभित्र पुस्तकसम्बन्धि दुई अलग–अलग कार्यक्रम भए । प्रतिष्ठानको भुई तल्लाको लबीमा प्रज्ञाकै आयोजनामा पुस्तक प्रदर्शनी भइरहेको थियो भने प्रतिष्ठान परिसरभित्रैको डबलीमा फाइन प्रिन्ट नामको प्रकाशन संस्थाले एक जना लेखकको पुस्तक विमोचन कार्यक्रम आयोजना गरेको थियो ।
उपन्यासकार नयनराज पाण्डेको नयाँ कृति ‘यार’ सार्वजनिक कार्यक्रममा सहभागी बन्न डबलीमा झण्डै पाँच सय मानिस भेला भएका थिए । सार्वजनिक पुस्तक चार सय मूल्यमा विक्री भइरहेको थियो । पुस्तक किन्न सहभागीहरु लाइन मात्र बस्नुपरेको थिएन बरु लेखकलाई आफूले खरिद गरेको पुस्तकमा हस्ताक्षर गराउन पनि उनीहरुले लामै लाइन बस्नु परेको थियो । कार्यक्रमको समाचार सङ्कलन गर्न आएका सञ्चारकर्मीहरुको सङ्ख्या पनि राम्रै थियो । लगभग धेरै सञ्चारमाध्यमहरुले त्यो कार्यक्रमको समाचार सम्प्रेषण मात्र गरेनन् बरु सार्वजनिक पुस्तकबारे अबका हप्ताहरुमा विभिन्न रुपमा चर्चा–परिचर्चा पनि गरिनेछन् ।

एकै स्थानमा भएका दुई कार्यक्रमबीचको रुप–रङ्ग परख गरे पछि केही प्रश्न स्वाभाविक रुपमा उठेको छ ः फाइन प्रिन्टको प्रचारबाजी सही हो वा प्रज्ञाको उदासिनता ठीक हो ?

तर प्रज्ञाको आयोजनामा भइरहेको पुस्तक प्रदर्शनीबारे भने त्यहाँ गएर मात्र धेरैले जानकारी पाए । बाहिरको कार्यक्रममा सहभागी बन्न प्रज्ञा परिसरमा भेला भएका मानिसमध्ये निकै थोरैमात्र पुस्तक प्रदर्शन चियाउन भित्र पसे । प्रज्ञाले पनि धेरै नयाँ पुस्तक प्रकाशन गरेको छ, प्रदर्शनीमा राखिएका धेरै पुस्तकमध्ये केही त नवप्रकाशित नै छन् । तर मुस्किलले भित्र पसेका अवलोकनकर्तालाई पनि लामो समयसम्म हलभित्र राख्न ती पुस्तकहरु सफल भएनन् । त्यसको अर्थ त्यहाँ राखिएका पुस्तक महत्व नभएका पक्कै थिएनन् । वास्तवमा ती सबैका बेग्लै र गम्भीर महत्व छ । नेपालका नाम कहलिएका लेखक र चिन्तकहरुले लेखेका ती पुस्तकहरु सबै पठनीय र निकै मिहिनेतका साथ लेखिएका हुन् ।
एकै स्थानमा भएका दुई कार्यक्रमबीचको रुप–रङ्ग परख गरे पछि केही प्रश्न स्वाभाविक रुपमा उठेको छ ः फाइन प्रिन्टको प्रचारबाजी सही हो वा प्रज्ञाको उदासिनता ठीक हो ? फाइनले निकालेको पुस्तकभन्दा प्रज्ञाको प्रदर्शनमा राखिएका पुस्तकहरुको महत्व कति हो कति गुणाले उँचो छ । तर प्रज्ञाको प्रदर्शनी किन रङ्ग उडेको कपडा जस्तो छ र फाइनको कार्यक्रम किन रङ्ग पोतेको स्याल जस्तो छ ? नेपाली समाजमा पूँजीवादी अर्थप्रणाली क्रमशः बलियो बन्दै गएको यो सबभन्दा व्यवहारिक उदाहरण हो ।
पूँजीवादी बन्दोबस्तमा राज्यसँग धेरै गुण भएर पनि राज्यका निकायहरुको उदासिन शैली, प्रचारमा कमी, पुरानो व्यवस्थापन र पुरातन नेतृत्वका कारण गुण अवगुणमा परिणत हुने गर्दछ । अनि निजी क्षेत्रले आफूसँग सानो गुण मात्र भए पनि ठूलै प्रचारबाजीका कारण बजारमा आफ्नो उत्पादन बिकाउने गरेको हुन्छ ।
प्रज्ञालाई आफूसँग हुँदै नभएको कुराको प्रचार गर्न भन्नु अनैतिक हो । तर कम्तीमा प्रज्ञाले आफूले गर्ने गरेका कामको सही तरिकाबाट प्रचार मात्र राम्रो गर्न सके पनि उसको उचाई धेरै माथि हुने थियो । प्रज्ञालाई पञ्चायती रङ्ग उडेको कपडाबाट नयाँ कलेवरमा उतार्न लोकतन्त्र र जनवादको वकालत गर्ने नेतृत्व गएर पनि सफल हुन सकेको देखिएन । पूँजीवाद यस्तै हो भनी स्वीकारिएको हो वा पुरानै मेसिनको आफू पाटपुर्जा बनेका हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *