भर्खरै :

घोकन्ते विद्या अनुत्पादक

भक्तपुर, २९ पुस । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा भक्तपुर जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले घोकन्ते विद्याले असल नागरिक तयार नहुने भएकाले योग्य, इमानदार र देशभक्त विद्यार्थी तयार गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू गरिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरको बागीश्वरी मावि र कलेजको आयोजनामा शनिबार नगरकोटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘घुस खान पाउने ठाउँमा जागीर रोज्नुभन्दा देश र जनताको हितमा लाग्ने, ज्येष्ठ नागरिकलाई सेवा गर्नेलगायतका व्यवहारिक शिक्षा विद्यालयले दिंदै जानुपर्छ । नयाँ पुस्तालाई पुराना राम्रा व्यक्तिहरूको जीवनी अध्ययन गर्न लगाउनुपर्छ, गाली गरेरभन्दा प्रोत्साहन, प्रशंसा गरेर आपूmतिर शिक्षकहरुले विद्यार्थीहरुको ध्यान केन्द्रित गर्नुपर्छ ।’
एनजीओलाई आफ्नो देशको हितमा काम गराउनका लागि विदेशी सहयोग गरिरहेको स्पष्ट पार्दै अध्यक्ष रोहितले पूँजीवादी व्यवस्था टिकाउनको लागि विदेशीले जस्तोसुकै कदम चाल्नसक्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम सुवाल, प्रदेशसभा सदस्यमा निर्वाचित सुरेन्द्रराज गोसाई र समानुपातिकतर्फका सिर्जना सैंजूलाई बधाई ज्ञापन गरिएको थियो ।
बागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले स्वागत गरेको कार्यक्रम कलेज प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका रविन्द्र ज्याख्व, सहप्राचार्य ज्ञानसागर प्रजापतिले पनि बधाई मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *