भर्खरै :

कार्टुन प्रदर्शन पनि आन्दोलनको एक रूप

कार्टुन प्रदर्शन पनि आन्दोलनको एक रूप

आन्दोलनका रूपहरू धेरै हुन्छन् । आमसभा, कोणसभा, जुलुस र मशाल जुलुसजस्तै कार्टुन प्रदर्शन पनि आन्दोलनको एक महत्वपूर्ण अभियान हो । कथा, निबन्ध र लेखहरू लामा हुन्छन् । कतिपय पाठकहरू लामो रचना पढ्न रुचाउँदैनन् । अझ अहिलेका युवाहरू त लामो लामो रचना पढ्न चाहँदैनन् । त्यस्तै लामो भाषण पनि सुन्न चाहँदैनन् । त्यस्ता खालका युवा पाठकहरूको समेत मन जित्ने आन्दोलनको एक सशक्त रूप हो कार्टुन प्रदर्शन ।
वि.सं. २०३५/३६ सालतिर सोभियत सङ्घले अफगानिस्तानमा सेना पठाएर त्यहाँको राजालाई हटाएर आफ्नो कठपुतली सरकार बनायो । त्यसको विरोधमा अफगानी जनताले सशक्त प्रतिकार गरे । त्यस्तै भियतनामलाई उक्साएर समाजवादी देश कम्पुचियामाथि आक्रमण गर्न लगाइयो । भियतनामभन्दा कैयौँ गुणा ठुलो र शक्तिशाली समाजवादी देश चीनको सिमानामा किचलो गर्न लगाइयो । जसरी साम्राज्यवादी देश अमेरिकाको उक्साइमा भारतले चीनको सिमाना डोकलाम र अन्य ठाउँमा युद्ध उत्तेजक गतिविधि ग¥यो त्यस्तै तत्कालीन सोभियत सङ्घले भियतनामलाई उक्साएर समाजवादी देश चीनको विरोधमा उक्सायो । अन्ततः चीन र भियतनामबिच सीमा युद्ध नै भयो । त्यस युद्धलाई लिएर चिनियाँ नेता तङ स्याउ पिङले भन्नुभएको थियो, “यो चीनले आक्रमण गरेको नभई भियतनामलाई पाठ सिकाएको हो ।” त्यस्तै लेनिनले मुखले समाजवादको कुरा गर्ने तर कामले साम्राज्यवादको काम गर्नेलाई सामाजिक साम्राज्यवाद भन्नुभएको थियो । ठीक त्यस्तै तत्कालीन सोभियत सङ्घले साम्यवादको नाममा साम्राज्यवादको काम गरेको हुँदा का. रोहितले सोभियत सङ्घलाई रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भनेर रामबहादुर ज्यापुको नाममा पुस्तक लेख्नुभएको थियो । तत्कालीन सोभियत सङ्घले विभिन्न देशमा सेना पठाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले विभिन्न जिल्लाहरूमा जुलुस प्रदर्शन र आम सभा गरेको थियो ।
नेमकिपाले रुसी सामाजिक साम्राज्यवादको विरोधमा सभा जुलुस मात्र गरेन; वि.सं. २०३६ पुसको दोस्रो हप्तातिर भक्तपुरको साकोठामा कार्टुन प्रदर्शन ग¥यो । प्रदर्शन अवलोकन गर्ने युवा, विद्यार्थी, शिक्षक र ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढेकोले कार्टुन प्रदर्शन ५–६ दिन नै भएको थियो । देशमा बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायती व्यवस्थामध्ये कुन व्यवस्था जनतालाई मनपर्छ छान्ने अधिकार जनमतसङ्ग्रहमार्फत दिइएको हुँदा कार्यक्रममा प्रहरी हस्तक्षेप भएन । कार्टुनमार्फत बौद्धिक जगत्मा मात्र होइन साधारण जनतामा पनि निरङ्कुश पञ्चायती व्यवस्था र रुसी सामाजिक साम्राज्यवादको विरोधमा सशक्त सन्देश गएको थियो ।
जनताको विभिन्न तहबाट राम्रो प्रतिक्रिया आएकोले भक्तपुरबाहेक अन्य जिल्लामा पनि कार्टुन प्रदर्शन गर्नुपर्ने महसुस पार्टीले ग¥यो । सोहीअनुसार पुसको तेस्रो चौथो हप्तातिर काठमाडौँको त्रिपुरेश्वरमा कार्टुन प्रदर्शन भयो । पहिलो दिनको प्रदर्शनी पूर्ण ढङ्गले सम्पन्न भयो । दोस्रो दिन पनि कार्टुन प्रदर्शन शान्तिपूर्ण ढङ्गले चलिरहेको थियो । प्रदर्शनी हेर्न साधारण जनतादेखि बुद्धिजीवीहरूको घुइँचो लागेको थियो । तत्कालीन सोभियत सङ्घका महासचिव एवम् राष्ट्रपति ब्रेझनेभको व्यङ्ग्यात्मक कार्टुन हेरेर दर्शकहरू अत्यन्त प्रभावित भएका थिए । हाम्रो टोली नेताले मलाई कार्टुनको जिम्मा दिएका थिए । प्रदर्शनी स्थलमा चार जना प्रहरीले चारैतिर नियालेर हेरे । कार्टुन हेर्नेहरूको भिड थियो । एकजना दर्शकलाई प्रहरीले समातेर लान खोज्दा किन भनेर सोध्यो । प्रहरीले यो कार्टुन प्रदर्शन तिमीले गरेको होइन भनी सोध्यो । मैले गरेको होइन भनी उनी खुरुखुरु गए । अरू दर्शकहरू पनि डराए । त्यसपछि प्रहरीहरू मतिर आए । प्रहरीको पञ्जामा म कहिल्यै परेको थिएन । मनमा चिसो परेको थियो । त्यहाँको जिम्मेवारी मलाई सुम्पेकोले भाग्न पनि उचित ठानिन । मनमा डर लागे पनि स्टुलमै बसिरहेँ । प्रहरीहरूले भने, “यो कार्टुन प्रदर्शन तिमीले गरेको हो ? मैले भनेँ, हो । त्यसो भए हामीसँग पुलिस क्लव हिँड भने । यी कार्टुन छोडेर म कहीँ जाँदिन भनी जवाफ फर्काउँदा प्रहरीले मेरो पाखुरा समातेर तानेर लान खोज्दा हाम्रो नेता दौडेर आएर मलाई छोडाउँदै यसलाई किन समातेको भनी भने । प्रहरीहरूले अकमकिएर भने, “यो कार्टुन प्रदर्शन यसले गरेको रे ।” हाम्रो नेताले प्रहरीलाई हप्काएर भने, “यो प्रदर्शन उसले गरेको होइन, मैले गरेको हुँ । कहाँ लानुपर्ने हो मलाई लानु ।” यो कुरा सुनेर प्रहरीहरू पछाडि हटे । हाम्रो नेताले भने, “यस्तो बच्चालाई तर्साउने होइन मलाई समात ।” प्रहरीले समातेर पुलिस क्लबतिर लगे । यतिकैमा हाम्रा ४/५ जना साथीहरू त्यहाँ आइपुगे । ४ बजेपछि कार्टुनहरू निकालेर दुईजना साथीहरूलाई दिएर घर पठाएँ ।
म र अरू दुई जना साथी पुलिस क्लवको पर्खाल बाहिरको पेटीमा बसिरह्यौँ । नेतालाई पुलिस क्लवको चौरमा राखेको हामीले देखेकोले उहाँलाई कहाँ लान्छ र केके गर्छ भनी पार्टीमा रिपोर्ट दिनको लागि त्यहीँ बसिरहेका थियौँ । करिब ५ बजेतिर हाम्रो नेताजीलाई प्रहरीले अन्त कतै लान बाहिर ल्यायो । नेताजीले हामीलाई भने, “अब मलाई अञ्चलाधीश कार्यालय लान्छ ।” उहाँले कार्टुनहरू के भयो भनी सोध्नुभयो । कार्टुन सुरक्षित छ भनी जवाफ दिएँ । त्यसो भए यहीँदेखि जुलुस गरेर जाने भन्दै उहाँले नारा लगाउनुभयो ।
पुलिस हस्तक्षेप बन्द गर, मौलिक र राजनैतिक अधिकार फिर्ता गर, रुसी सामाजिक साम्राज्यवाद मुर्दावाद आदि नारा घन्काउँदै पुलिस क्लवदेखि हाम्रो कार्यक्रम स्थल त्रिपुरेश्वरमा पुग्दा त्यहाँ पर्खालमा उभेर नेताजीले भाषण गर्नुभयो, हाम्रो कार्टुन प्रदर्शन हिजो र आज दुई दिनको मात्र थियो । तर, हाम्रो शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप भएको विरोधमा भोलि एक दिन पनि हुनेछ । यसरी रुसी सामाजिक साम्राज्यवाद र तानाशाही पञ्चायती व्यवस्थाको विरोधमा बोलिरहँदा प्रहरीले तानेर पर्खालबाट तल झारे र अञ्चलाधीश कार्यालयतिर लगे । फेरि अघिकै नारा लगाएर अञ्चलाधीस कार्यालयसम्म गयौँ । करिब ६ बजेतिर नेताजी छुट्नुभयो । हामीसँगै घर फक्र्यौँ । तेस्रो दिन पनि ठीक १० बजे कार्यक्रम सुरु भयो । करिब १ बजेतिर प्रहरीहरू आएर कार्टुन निकाल भने । हाम्रा साथीहरूले शान्तिपूर्ण तवरले आन्दोलनका गतिविधिहरू गर्ने जनताको मौलिक हक भएकोले शान्तिपूर्ण तरिकाले कार्टुन प्रदर्शन भइरहने बताए । प्रहरीले बलपूर्वक कार्टुन निकाल्न खोज्दा केही बेर घम्साघम्सी भयो । प्रहरीसँग भिडन्त भएमा हाम्रो कार्टुनहरू च्यातिने र हराउने हुँदा तेस्रो दिनको कार्टुन प्रदर्शन त्यतिकै सकाएर हामी फक्र्याैँ ।
पार्टीको निर्देशनअनुसार माघ २ गते ललितपुर जिल्लाको पाटन ढोकामा कार्टुन प्रदर्शन भयो । बडो उत्सुकताका साथ कामदार जनता, विद्यार्थी र बुद्धिजीवीहरू कार्टुन हेर्दै थिए । प्रहरीले कार्टुन बिथोल्न खोज्दा प्रहरी र हाम्रा साथीहरूबिच भनाभन भयो । केही कार्टुन प्रहरीले लगे, केही च्याटे र धेरैजसो कार्टुन हामीले सुरक्षित साथ ल्यायौँ । घम्साघम्सीको क्रममा एकजना कार्यकर्ता पक्राउमा परे । उहाँलाई सुरक्षा कानुन लगाएर नखु जेल चलान गरियो । उक्त पक्राउको विरोधमा पाटन ढोकाबाट मङ्गलबजारसम्म जुलुस गरी कोणसभा गरियो । माघ ७ गते बनेपामा पनि कार्टुन प्रदर्शन भयो । बनेपामा कुनै किसिमको प्रहरी अवरोध भएन । कार्टुन प्रदर्शन भइरहँदा धेरैले कार्टुन अवलोकन गरे । यसरी तत्कालीन नेमकिसङ्गठनको निर्देशनमा विभिन्न जिल्लामा कार्टुन प्रदर्शन गरी रुसी सामाजिक साम्राज्यवादलाई जनताबिच उदाङ्ग्याउने काम भयो । कार्टुन प्रदर्शन पनि आन्दोलनको नयाँ रूप हो भनी टिप्पणी गर्नेहरूको सङ्ख्या कमी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *