न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
खबर डरलाग्दो छ । वैज्ञानिक र राजनीतिज्ञहरूले वर्षौँदेखि यस्तो दिन आउँछ भनेका थिए । सन् २०२६ को वर्ष आधा बितेको छैन । विश्वभरि प्राकृतिक विपत्तिले गर्दा झन्डै १ खर्ब डलर बराबरको क्षति भइसकेको छ । ‘स्विस रे संस्थान’ ले गरेको अध्ययनको निष्कर्ष हो यो ।
भेनेजुयला, कोलम्बिया, इन्डोनेसियाजस्ता देशमा ठुलठुला भूकम्प गइसकेका छन् । उक्त संस्थानको अध्ययनअनुसार ‘ल्याटिन अमेरिकालगायत विश्वका विभिन्न स्थानहरू लगातार भूकम्प’ को जोखिममा छन् । तिनले एकै झट्कामा धेरै व्यक्ति, समुदाय र स्थानीय अर्थतन्त्र सखाप पार्न सक्ने सम्भावना छ ।
युरोपमा तापलहर र खडेरीले धेरै मानिसलाई सताएको छ । युरोपका कैयन् देशको मृत्युदर बढेको छ । चर्को गर्मीले गर्दा सन् २०२६ को गर्मीयाममा जर्मनीमा मात्र १४ हजार मानिसको मृत्यु भयो ।
जून महिनाको अन्त्यतिर एकै हप्तामा ९६ सय जर्मन जनताको मृत्यु भयो । एक अध्ययनअनुसार त्यो हप्ता जर्मनीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । उक्त अध्ययन रोबर्ट कोच संस्थानले गरेको थियो ।
राष्ट्रिय जनस्वास्थ्य संस्थानले जनाएअनुसार स्पेनमा गर्मीका कारण जून १ गते यता झन्डै ४५ सय मानिसको मृत्यु भयो । त्यसै अवधिमा फ्रान्समा ७३ सय मानिसको मृत्यु भएको फ्रान्सेली स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अगस्ट महिनाको अत्यतिर पश्चिम अमेरिकाको ठुलो भूभाग डढेलोको चपेटामा परेको थियो । आगलागी गाउँमा सरेपछि घण्टाभरमै धेरै गाउँ खरानी भएका थिए ।
फिडेलको दूरदृष्टि
यसकारण, क्युवाली क्रान्तिका नेता फिडेल क्यास्त्रोको भनाइ दिन प्रतिदिन सान्दर्भिक बन्दै छ । सन् १९९२ को जून महिनामा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलन भएको थियो । सम्मेलनमा उहाँले उद्घोष गर्नुभएको थियो, “एउटा महत्वपूर्ण जैविक प्रजाति हराउने खतरामा छ । मानव जाति नै त्यो प्रजाति हो । मान्छेको प्राकृतिक आधार अहिले द्रुतगतिमा नष्ट हुँदै छ । यो समस्याबारे हालै मात्र हाम्रो आँखा खुलेको हो । जब कि ढिलो भइसकेको छ । वातावरणको अचाक्ली विनाशका लागि मूलतः विकसित समाजहरू दोषी छन् भन्ने तथ्य बिर्सनुहुन्न ।”
अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा हालै एउटा अध्ययन भयो । त्यसको प्रतिवेदन ‘नेचर सस्टेनेबिलिटी’ जर्नलमा प्रकाशित भएको छ । सो प्रतिवेदनअनुसार विश्वको तापमान (१८ औँ शताब्दीको भन्दा) २ डिग्रीभन्दा माथि उक्लियो भने सन् २०५० सम्ममा पृथ्वीका ३ अर्ब ७९ करोड मानिसहरू चर्को गर्मीमा छटपटिनुपर्नेछ ।
यो भनेको सन् २०१० को भन्दा दोब्बर हुनेछ । अर्थात्, जलवायु सङ्कट वैज्ञानिकहरूले अनुमान गरेभन्दा तीव्रगतिमा चुलिँदै छ ।
ल्याटिन अमेरिका सबैभन्दा अप्ठ्यारो परिस्थितिमा छ । त्यहाँ तापमानवृद्धि अझै १.५ डिग्रीमुनि छ ।
अनुसन्धानकर्मीहरूले जनताको स्वास्थ्य चरम गर्मीको मारमा पर्ने बताउँदै आएका छन् । तापलहरले गर्दा मृत्युदर र मुटुका समस्याहरू ह्वात्तै बढ्नेछ ।
एकपछि अर्को तापलहर र चरम खडेरीले युरोपलाई सनासोले झैँ पक्रेको छ । यसले कृषिमा अभूतपूर्व सङ्कट ल्याएको छ । तरकारी र दलहनको उब्जनीमा ¥हास आएको छ । अन्न बालीमा अझ भयावह गिरावट हुने अनुमान छ । बेलायती पत्रिका ‘द गार्जियन’ मा प्रकाशित एक खबरको निष्कर्ष हो यो ।
फ्रान्समा ब्रोकाउलीको उत्पादनमा ६० प्रतिशत, केराउमा ४० प्रतिशत र बन्दामा ५०–१०० प्रतिशत कमी आइसकेको छ । सन् २०२५ मा मकैको उब्जनीमा ३५ प्रतिशत गिरावट आयो । जम्मा ९० लाख टन उत्पादन भयो । यो सन् १९८० यताकै सबैभन्दा न्यून उत्पादन हो ।
पशुपालनको पनि त्यही हाल छ । ‘द गार्जियन’ ले जनाए अनुसार फ्रान्समा दूधको उत्पादनमा १०–१५ प्रतिशत कमी आएको छ । हिउँदका लागि पराल, स्याउला आदिको भन्डारमा ३० प्रतिशत कमी आएको छ । अन्डा उत्पादन प्रतिदिन झन्डै १० लाखका दरले घट्दै छ । तापलहरले गर्दा पन्छीको मृत्युदर बढेको हुनाले अन्डाको उत्पादनमा गिरावट आएको हो ।
अरू देशको स्थिति पनि फरक छैन । इटलीका ६० प्रतिशत खेतखलियान खडेरीको चपेटामा छन् । यसले गर्दा कृषि अर्थतन्त्रमा ३.४ अर्ब डलरको क्षति पुगेको छ । स्पेनका धेरै क्षेत्रमा दलहनको उत्पादन ह्वात्तै घटेको छ । सन् २०२६ मा वाइन उत्पादनमा २० प्रतिशत गिरावट आउने अनुमान गरिएको छ ।
‘डिटियू स्पेस’ नामक संस्थाले हालै एक अध्ययन ग¥यो । प्रतिवेदन जियोफिजिकल रिसर्च जर्नलमा प्रकाशित छ । सो प्रतिवेदनअनुसार आर्कटिक सागर जलवायु परिवर्तनको चर्को मारमा छ । ग्रिनल्यान्डमा हिउँको मात्रामा गिरावट आएको छ । विगत २८ वर्षमा ग्रिनल्यान्डमा बरफ थपिने भन्दा पग्लिने दर बढेको छ । यसले विश्वभरि नै मानव जाति र पर्यावरणमा गम्भीर खतरा ल्याउने प्रतिवेदनको ठहर छ ।
ग्रिनल्यान्डको बरफ पृथ्वीकै ठुला ताजा पानीका भण्डारमध्ये एक हो । समुद्री सतहबाट ७.४ मिटरसम्म अग्लो बरफको तह पाइन्छ यहाँ । त्यहाँबाट एक सेन्टिमिटर बरफ पग्लिनुको अर्थ विश्वका तटीय क्षेत्रमा बसोबास गर्ने ६० लाख मानिसहरू डुबानमा पर्नु हो ।
यसरी समुद्री किनार डुबानमा परे ठुलो सङ्ख्यामा मानिसहरू विस्थापित हुनेछन् । उनीहरू अग्ला स्थानमा गएर जलवायु शरणार्थी बन्नेछन् ।
समुद्रको तापमान बढेसँगै आँधीतुफानको सङ्ख्या पनि बढ्नेछ । तुफानहरू अझ हिंस्रक र खतरनाक हुनेछन् । ती तुफानले सहरहरूलाई उजाड्नेछन्, बालीनाली बिगार्नेछन्, भौतिक पूर्वाधार ध्वस्त पार्नेछन् । सर्वत्र रोग, भोक र शोक बढ्नेछ ।
त्यही भएर हामीले बरोबर फिडेल क्यास्त्रोलाई पढ्नुपर्छ । उहाँले रियो दि जेनेरियोमा गर्नुभएको भविष्यवाणी सबैलाई सुनाउनुपर्छ । उहाँले जोड दिएर आफ्नो मन्तव्य राख्नुभएको थियो, “प्रतिवर्ष वनजङ्गल हराउँदै छन् । मरुभूमि बढ्दै छन् । अरबौँ टन उर्वर माटो समुद्रमा थुप्रिँदै छ । असङ्ख्य प्रजातिहरू लोप हुँदै छन् । जनसङ्ख्याको चाप र गरिबीले गर्दा बाँच्न हम्मेहम्मे पर्दै छ । प्रकृतिको दोहन गर्दा पनि यो मुश्किल टरेको छैन । यसका लागि तेस्रो विश्वका मुलुकहरूलाई दोष दिन मिल्दैन । हिजो जो कसैका उपनिवेश थिए, आज अन्यायी विश्व अर्थव्यवस्थाले गर्दा तिनीहरू शोषित छन्, लुटिएका छन् ।”
आज यो प्रश्न सोध्नुको विकल्प छैन – यो खतराका लागि सबैभन्दा जिम्मेवार विकसित भनाउँदा देशहरूले के परिस्थितिको सामना गर्लान् ? अथवा, आफ्नो घाँटीघाँटी नआउञ्जेल उनीहरूले चुपचाप रमिता हेर्लान् ?
(लेखक क्युवाली पत्रकार हुन् । उनी ‘संरा अमेरिकामा क्युवाली प्रवासी’, ‘अफ्रिकामा क्युवाली डाक्टरहरूको गुप्तकथा’ र ‘मायामी माने फोहर पैसा’ जस्ता पुस्तकका लेखक हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply