भर्खरै :

मौनताको छायामा परेको प्रेम

मौनताको छायामा परेको प्रेम

“केशरी दिदी, केशरी दिदी”
“तल को आउनुभएको ?”
“म पुष्पा, पत्रकार सरको सहयोगी”
“ए, आउनुस् भित्र कोठामा बसौँ !”
दुवै कोठाभित्र प्रवेश गरे, नजिकैको चकटीमा बसे । कोठाको सजावट पुरानै शैलीको थियो । भित्तामा एउटा खाट, ओछ्यान, तकिया र रङ्गीन तन्ना । खाटको दुई हातमाथि एउटा सानो झ्यालले उज्यालो र तातो हावा बाहिर गई कोठा गुम्सिने सम्भावनालाई सहयोग पु¥याउँदै थियो ।
केशरीले खुसी हुँदै पुष्पासँग सोधिन्, “पुष्पा बहिनी, पत्रकार सरसँग काम गरेको कति वर्ष भयो ?” ‘मैले पत्रकार सरसँग काम गरेको तीन वर्ष भयो, म बिहान कलेजमा जान्छु र एम.ए. राजनीतिशास्त्र पढ्दै छु’ पुष्पाले उत्तर दिइन् र थपिन्, “केशरी दिदी, हजुरको सरसँग कहिले र कसरी परिचय भयो र एक पत्रकारको जीवनबारे आफ्नो दृष्टिकोण बताउनुभएमा म साह्रै अनुग्रहित हुने थिएँ । म पत्रकारहरूबारे एक निबन्ध लेख्दै छु ।”
केही सम्झने कोसिस गर्दै पुरानै शैलीले फरिया र चोलो लगाएकी केशरीले जिज्ञासाअनुसार कुरा बताउन थालिन्, “ठीक साल र समय बिर्सेँ तर २० वर्षभन्दा पहिले प्रवेशिका परीक्षा दिएकी थिएँ र म अङ्ग्रेजी र गणित नराम्रो भएर अनुत्तीर्ण भएँ । त्यसबेलादेखि घरको चाँजोपाँजो नमिलेर पढ्न छोडेँ । मेरो कुराबारे सम्झाउने, बुझाउने र सहयोग गर्ने दाइ र दिदीहरू पनि हुनुहुन्न, आमा र बुबा मात्रै हुनुहुन्छ ।”
झन्डै ४० उमेरकी केशरीले पुराना आफ्ना स्मरणलाई ताजा बनाउने उद्देश्यले दुःख र सुख मिश्रित स्वर र मुखाकृतका नयाँ र पुरानो उमेरको दोसाँधमा टेकेकी मुहारमा झल्किरहेको मसिना रेखा देखिँदै थियो र आफ्नो मनका कुरा जोड्दै भनिन्, “पत्रकार सरलाई एउटा राजनीतिक मुद्दा लाग्दा उहाँ भूमिगत हुनुभयो । त्यही सिलसिलामा हाम्रा मामाहरूले हाम्रो घरमा ल्याउनुभयो रातको १२ बजे । मार्साप हाम्रो जिल्लामा एक दुई महिना बस्नुहोला, तर १५–२० दिनभित्र अन्तै जानुपर्ने स्थिति पनि आउन सक्थ्यो । झ्यालमा पर्दा राखिराख्नु र माथिका कोठामा उहाँलाई मिलाउनु र कसैलाई भेट्न नदिनु र कोठाको ढोकामा भित्र पनि पर्दा राख्नु । खानेकुरामा उहाँ घरमा जे जुर्छ त्यही सादा खाना खानुहुन्छ । बार्दलीको शौचालयमा कपडा कहिले नखोल्ने तर बरोबर फेर्ने, भाञ्जी भनेर मामाहरू बिहान सबेरै हिँड्नुभयो । सरलाई सुरक्षापूर्वक जोगाउने जिम्मेदारी सुम्पेको हामीले अनुभव गर्यौँ । सरको निम्ति माथिल्लो चोटाको कोठा मिलायौँ ।”
पुष्पाले आफ्नो टिपोट कापीमा लेख्दै गइन् र केशरीले बिचमा राखेको जिज्ञासाको जवाफमा तिनले भनिन्, “मेरा दुई दाजुभाइ किसानै हुनुहुन्छ, आमाबुबा उमेर पुग्नुभएको र भाउजूहरू घरखेतको काममा दाजुहरूसँग लाग्नुहुन्छ । तर, दुवै राजनैतिकरूपले शिक्षित हुनुहुन्छ । यसकारण, अहिले म अलि स्वतन्त्रतापूर्वक काम गर्न पाउँदै छु ।”
“पुष्पा धेरै भाग्यमानी हुनुहुन्छ, घरमा सबैको सहयोगले काम गर्न सजिलो हुन्छ । … हाम्रो त सानो परिवार त्यही पनि सुखी नै छौँ,” केशरीले पुष्पालाई उत्साहित गरिन् ।
खाली चिया लिएर आमा कोठामा प्रवेश गरिन् । केशरीले परिचय दिइन् । पुष्पाले आमालाई अभिवादन गरिन् । आमाले दुबै छोरीहरूलाई चिया र खाजा अगाडि सारेर भनिन्, “पहिले पहिले छोरी केशरी एक्लै हुन्थिन् तर आज दुईजना छोरी, मलाई साह्रै खुसी लाग्यो ।” केशरीले पुष्पाको बारेमा सबै बताइन् । कुरा सुनेर आमाले पुष्पालाई आशिष दिइन् ।
पुष्पाले पुनः आफ्नो जिज्ञासा अगाडि सारिन्, “केशरी दिदी के तपाईँले पार्टीको सदस्यता लिनुभएको छ ?” “अहँ, कसले दिनु मलाई सदस्यता !” केशरीले उत्तर दिइन् ।
हाम्रो यो बस्ती त पहिले पहिले राणा समर्थक भन्ने पुरानियाँहरू पछि गोरखा दल । अनि काङ्ग्रेस आएपछि काङ्ग्रेस, राप्रपा आएपछि राप्रपा भए । पछि त कहिले एमाले, कहिले काङ्ग्रेस, जो जो सरकारमा आयो, उसको उसको पछि लाग्थे गाउँलेहरू । एमाओवादी आउँदा एमाओवादी, घण्टी आउँदा घण्टी बने, कोही त भट्टीको एक बटुको जाँडले १० तिर पल्टिने गर्छन् । राजनीतिक चेतनाको अभाव नै यस बस्तीको समस्या हो । यहाँ राजनीतिक कार्यकर्ताहरू झन् खराब, तास–जुवा, जाँडरक्सी, बेइमानी, सहकारी मास्नमा पल्केका छन् । कोही कोही त बाटो, पुल र अन्य निर्माण कार्यमा ठेकेदारहरूको पछि लाग्छन् । राजनीतिक कार्यकर्ताको त यहाँ कुनै मूल्य हुन्न, हुन्छ पनि कसरी ? केही थाहा छैन ।”
पुष्पा, “होइन दिदी, अरु दिन यी कार्यकर्ता के गर्छन् ?” “अहो ! तीन तीन महिनामा सरकार फेरेपछि बरोबर काम पाइने रहेछ नि त ।” (एकछिन रोकिन्छन् र भन्छिन्) बरु तिनीहरूलाई पैसा दिनुभन्दा तिनीहरूको जानकारीअनुसार स्कूल र कलेजमा भर्ना गरिदिएको भए देशले योग्य केटाहरू पाउँथे र परिवारहरूले पनि योग्य र इमानदार छोराहरू पाउँथे । पुष्पा बहिनी, नयाँ पुस्ता बिग्रेकै शासक दल र त्यसका नेताहरूले नै गर्दा हुन् ।”
आमा बाहिरिँदै भनिन्, “लौ छोरीहरू आफ्ना राजनीतिक कुराहरू गर्नू, म घरको काममा लाग्छु ।”
“केशरी दिदी, अब नयाँ विषयमा प्रवेश गर्न चाहन्छु, अनुमति पाउँ है त ?” ठट्टा मिसिएको स्वरमा पुष्पाले सोधिन् । उनले भनिन्, “केशरी दिदी, हजुर पार्टी सदस्य नभए पनि राजनीतिक विषयमा जानकारी राख्नु हुन्छ । विश्लेषणले त दिदीलाई कसैले पनि राजनीतिक कार्यकर्ता होइन भन्न सक्दैनन् ।” “तर के हजुरले हाम्रो पत्रकार सरलाई आन्दोलन अघि र पछि कहिले भेट्नुभएन ? वा उहाँ हजुरलाई भेट्न कहिले आउनुभएन ?”
“मैले बुझेसम्म, पुष्पा बहिनी, भूमिगत कालमा उहाँको बस–उठको त कुनै मेसो नै नहुने भनी मामाहरू भन्नुहुन्थ्यो । अहिलेको खुला राजनीतिक परिस्थितिमा पनि उहाँ आफूलाई पार्टीले दिएकै काममा रातदिन लाग्नुहुन्छ भन्ने सुनेको छु, पुष्पा ।”
“त्यसो भए तपाईँहरू आपसमा भेट्नुहुन्न हो ?”
“ हो ।”
“के दिदीले सरलाई सम्झनुहुन्छ त !”
“किन नसम्झिनु नि ! दुवै छाक मैले नै भान्सामा उहाँलाई हेरचाह गर्थँे, दिनको चिया खाजा मैले नै पु¥याउँथेँ । पुष्पा, अरु के भनुँ ?”
“सरले हजुरलाई राजनैतिक कक्षा र जीवनको बारे केही बताउनुहुन्न ? अहँ ! केही बोल्नुहुन्नथ्यो । सायद स्वास्नीमानिससँग बोलेमा पाप लाग्छ भन्ने मनमा होला कि ?”
“अनि दिदी बोल्नुहुन्नथ्यो त ?”
“पुष्पा बहिनी, मैले उहाँसँग के बोल्ने ? त्यसो गर्न सुहाउँछ ? छोरी मान्छे भएर ?”, दुःख मिसेको हाँसोमा प्रश्न गरिन् केशरीले ।
पुष्पा एकछिन टोलाएर बसिन् र मौन स्थितिलाई भङ्ग गर्दै केशरीले भनिन्, “मामाहरूले त पत्रकार सरले केशरीको सञ्चो–बिसञ्चो, के कस्तो भनी सोध्नुहुन्थ्यो भन्नुहुन्थ्यो रे ।” एकछिनपछि केशरीले थपिन्, “मैले त उहाँ विवाह गर्नुभएको होला; भाउजू र केटाकेटी स्याहार्न उहाँलाई फुर्सतै भएन होला भनी मनमा लिएकी थिएँ । अरु मलाई थाहा छैन, बरु पुष्पा बहिनीलाई थाहा होला पत्रकार सरको विषयमा सुनौँ न बहिनीको मुखबाटै, आफू त सहयोगी होइन सरको ?”
“हो, केशरी दिदी, म उहाँको सहयोगी हुँ । मैले उहाँको कार्यक्रम मिलाउने, फाइल मिलाउने, लेखहरू साफी गर्ने, टाइप गर्नेदेखि पाहुनालाई चिया नास्ता बन्दोबस्त गर्ने र उहाँको समयमा भान्साको काम पनि मैले नै मिलाउने गर्छु । तर, व्यक्तिगत वा घरको कुरा मसँग केही गर्नुहुन्न । बरु, अघि उहाँले ‘केशरी बहिनीसँग मैले सञ्चो बिसञ्चो सोध्नु’ भन्नु हुँदै समयमै बैठकको काम सिधेमा बहिनी मामाहरूसँग म पनि पुग्न सक्छु भन्नुभएको थियो । मलाई मामाहरूले घर देखाएर उहाँहरू बैठकमा जानुभएको थियो ।”
“पुष्पा बहिनी लोग्नेमानिसको महिलाप्रति गर्ने व्यवहारमा कुनै परिवर्तन आएको मलाई लाग्दैन, भन्ने बेलामा महिलाहरू आधा–आकाशको कुरा त गर्नुहुन्छ । अनि हाम्रो सरको व्यवहार पनि त्यस्तै हो दिदी ?” केशरी केही क्षुब्ध हुँदै मनको बह पोखिन् । उनले भनिन्, “सिद्धार्थ गौतमले पनि कति समयसम्म आइमाईहरूलाई सङ्घ अर्थात् विहारको सदस्य नमानेको कुरा सुनेकी थिएँ, धेरै पछि मात्रै स्वास्नीमानिसहरूले भिक्षु बन्ने पाउने भए ।”
पुष्पाको आँखाबाट अचानक आँसु बर्र खस्न लाग्यो र अवरुद्ध गलालाई सफा गर्दै तिनले भनिन्, “दिदी मैले विषयको मर्म बुझेँ, हजुरको स्वच्छ भावना पनि बुझ्ने मौका पाएँ। म तपाईंको मनको कुरालाई एक बहिनीको रूपमा सरसँग वकालत गर्छु र सकेसम्म आजै म केशरी दिदीसँग भेटघाट हुने कार्यक्रम बनाउँछु । मैले पहिले विषयको गहिराइमा जान सकिनँ ।” दिदी, म सरका सहयोगीको रूपमा क्षमा माग्दै छु ।”
केशरीले पुष्पालाई अँगालो हाल्दै उसको आँसु पुछ्न मद्दत गर्दै थिइन् र भनिन्, “पुष्पा तिमीले रुने होइन रुनु त मैले पथ्र्यो !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *