भर्खरै :

सिंहासनमा रमेर आमूल परिवर्तन असम्भव

माक्र्सवादीहरू आमूल परिवर्तन चाहन्छन् । आमूल परिवर्तन पुँजीवादी संसदीय निर्वाचनबाट सम्भव छैन । आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्ष आवश्यक हुन्छ । वर्गसङ्घर्षको बाटो नलिने दल सच्चा कम्युनिस्ट हुँदैन । आफूलाई सच्चा कम्युनिस्ट दाबी गर्ने माओवादी पनि वर्गसङ्घर्षको बाटो छोडेर संसदीय बाटोमा लाग्यो । शोषणमा आधारित सरकार र समाजलाई उल्टाउनु र त्यसको ठाउँमा मजदुर, किसान, शोषित पीडित जनताको शोषण नहुने वर्गको सरकार र समाज निर्माण गर्नु नै क्रान्ति हो । क्रान्तिको कुरा देशका सामन्त, पुँजीपति, जालीफटाहा, कमिसनखोर, भ्रष्टाचारी र अपराधीहरू सुन्नै चाहँदैनन् । किनभने, उनीहरू क्रान्तिविरोधी हुन्छन् । कम्युनिस्टहरू क्रान्तिविरोधी हुँदैनन् । देशका सबै कम्युनिस्टहरू पार्टीको सिद्धान्त र विचारअनुसार लागेका भए जनता छिट्टै सचेत र सङ्गठित हुनेछन् । यसले आमूल परिवर्तन गर्न सहयोग पु¥याउँछ ।
देशका कति कम्युनिस्टहरू संशोधनवादी देखिए; अवसरवादी देखिए या उनीहरूले कम्युनिस्टको सिद्धान्त र विचार छोडे । कम्युनिस्टहरूको सिद्धान्त, विचार र साहित्य गहिरिएर अध्ययन नगर्दा समाजवादी चिन्तनमा चुनौती थपिएको हो । समाजवादी विचार र समाजवादी साहित्य नपढी न देशमा समाजवाद स्थापना हुन्छ न देश र जनताको सेवा नै गर्न सकिन्छ । आमूल परिवर्तन चाहने दलको उद्देश्य सभ्य, सुसंस्कृत र आदर्शाेन्मुख समाज स्थापना गर्नु हो ।
कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याउनु कम्युनिस्टहरूको कर्तव्य हो । सिद्धान्त र विचार जनतामाझ नलगी, जनतालाई नबुझाई कम्युनिस्टप्रति जनताको विश्वास कसरी हुन्छ ? पैसा बाँडेर, लोभलालच देखाएर, धाकधम्की दिएर, जागिरको प्रलोभन देखाएर र आश्वासन बाँडेर जनताको मत लिनु एउटा पक्ष हो भने जनतालाई सिद्धान्त र विचार बुझाएर सचेत र सङ्गठित गरेर परिवर्तनको बाटो तयार गर्नु अर्काे पक्ष हो । श्रमजीवी जनताको मत लिएर बहुमत प्राप्त गरी सरकार गठन गर्ने तर श्रमजीवी जनताको सेवा गर्न ऐन कानुन नबनाउने सरकार कसरी श्रमजीवी जनताको सरकार हुन्छ ? कम्युनिस्ट भनिने दलको नेतृत्वमा पटक पटक सरकार गठन भए पनि कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गर्न नसक्नुको कारण उनीहरू सच्चा कम्युनिस्ट नहुनु पनि हो ।
सरकारमा जाने कम्युनिस्टहरूले आफ्नो सिद्धान्त नै छोडे । उनीहरूले सिद्धान्त र विचारलाई पाखामा थन्काए । कम्युनिस्टहरूको सबभन्दा कमजोरी पक्ष यही हो । सिद्धान्त र विचार छोडेर सत्तामुखी राजनीति गरेपछि आमूल परिवर्तनको बाटो कसरी तयार हुन्छ ? कम्युनिस्टको नाउँमा भोट लिएर कम्युनिस्टको सिद्धान्तविपरीत काम गर्नु के जनतालाई विश्वासघात गर्नु होइन ? कम्युनिस्ट पक्षहरूको भोट लिएर पुँजीपतिवर्गको पक्षपोषण गर्नु के गलत होइन ? जनताको शोषणविरोधी राजनीतिलाई समर्थन गर्नैपर्छ । वर्ग, युद्ध र शोषण भएको समाज रहेसम्म संसार अशान्त, शोषण, पीडा र दुःखको खाल्डोको रुपमा रहिरहने छ । देश र जनताको सेवा गर्न जनताको राजनीतिको पक्षमा लाग्नैपर्छ ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा पनि विज्ञान हो । त्यसले मानव समाजमा वर्गसङ्घर्षको उत्पति, त्यसको विकास र अन्त्यबारे वैज्ञानिक अध्ययन प्रस्तुत गरेको थियो । माक्र्स र एङ्गेल्स पनि न्युटन र डार्विनजस्तै वैज्ञानिक हुनुहुन्थ्यो । उहाँहरूले मानव समाजसम्बन्धी दृष्टिकोण दिनुभयो र सामाजिक व्यवस्था नै फेरिदिने सिद्धान्तको आविष्कार गर्नुभयो । यसकारण, माक्र्सवाद कहिले पनि पुरानो हुँदैन । त्यो वैज्ञानिक समाजवाद हो । वर्ग रहेसम्म वर्गसङ्घर्ष भइरहन्छ । वर्गसङ्घर्षले नै देशमा आमूल परिवर्तन हुन्छ । हरेक सच्चा कम्युनिस्ट पार्टीले आमूल परिवर्तनको निम्ति काम गरेको हुन्छ; काम गर्नुपर्छ । पार्टीको नाउँ कम्युनिस्ट पार्टी राखेर काम सबै पुँजीपतिवर्गको पक्षमा गर्छ भने त्यो कसरी कम्युनिस्ट पार्टी हुन्छ ? अतः आफूलाई कम्युनिस्ट भनी सरकारमा जाने दलका नेताहरूले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ; काम गर्न नेता, कार्यकर्ता तथा जनतालाई उत्साहित गर्नुपर्छ । सिंहासनमा बसेर, रमेर कम्युनिस्ट आन्दोलन अघि बढ्दैन; समाज परिवर्तन हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *