भर्खरै :

सदस्यहरू संस्थामा संलग्न सबैको सेवामा समर्पित हुनु जरुरी

सदस्यहरू संस्थामा संलग्न सबैको सेवामा समर्पित हुनु जरुरी

भक्तपुर, ११ असोज । भक्तपुर योङ सर्कलको पुनः गठन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा एक समारोहबिच शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले दाफा, भजन, गुठीजस्तै भक्तपुर योङ सर्कल पनि एउटा समाज भएकोले यसको नेतृत्व गर्ने समितिका पदाधिकारी र सदस्यहरू संस्थामा संलग्न सबैको सेवामा समर्पित हुनु जरुरी छ भन्नुभयो ।
संस्थाका सदस्य र परिवारलाई समेत देश र विदेशका विषय बताएर शिक्षित बनाउने कार्य समितिको काम हुनुपर्नेमा उहाँले सजग गराउनुभयो ।
नवदुर्गा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गणेशभक्त साखले सो क्याम्पस सञ्चालन हुननसकेको कारण जनाई उक्त क्याम्पसको सम्पत्ति भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्नुभएको अतिथि सुवालले जानकारी गराउनुभयो ।
जिल्ला भलिबल सङ्घका अध्यक्ष तथा भक्तपुर योङ सर्कलका सल्लाहकार विनोदचरण रायले नेपालको भलिबल खेल विकासको लागि भक्तपुरले सुरूवाती चरणमा गरेका योगदानहरूको स्मरण गर्नुभयो । सर्कलले नेपालमै पहिलोपटक विभिन्न थरीका भलिबल प्रतियोगिताको सुरूआत गरेको बताउँदै त्यस्तो इतिहासलाई बङ्ग्याउन खोजेको तर्फ सतर्क हुनुपर्ने बताउनुभयो । नेपालमै पहिलोपटक बिच–भलिबल, भेट्रान्स भलिबल, सिटिङ भलिबल, पार्क भलिबल, मिक्स भलिबल, अन्तर्राष्ट्रिय क्लब च्याम्पीयनशीप, फुटसल प्रतियोगितालगायत पहिलो अन्तर्राष्ट्रिय रेफ्री र पहिलो महिला राष्ट्रिय रेफ्री उत्पादन गरेको बताउनुभयो ।
लौह पुरूष गणेशमान सिंहको अन्तिम भाषण सहिद स्मृति खेल मैदानमा भएको बताउँदै उहाँले भक्तपुर योङ सर्कल नेपालकै उत्कृष्ट क्लबको रूपमा पुरष्कृत भएको स्मरण गर्नुभयो । व्यवसायी तथा सर्कलका पहिलो खेलकुद प्रशिक्षक विश्वराम कवांले युवा शक्ति नै देशको शक्ति भएकोले युवाहरूलाई शारीरिक एवं मानसिक रूपमा तन्दुरूस्त बनाउनु खेलकूदको आवश्यकता भएको बताउनुभयो ।
भक्तपुरको विकास एवं परिवर्तनको लागि नेपाल मजदुर किसान पार्टीको विचार र सिद्धान्तले मार्गनिर्देश गरिरहेको बताउँदै तत्कालीन अवस्थामा विभिन्न क्लबहरूले गरेका योगदानको स्मरण गर्नुभयो ।
सर्कलका पूर्वअध्यक्ष एवं सल्लाहकार रवीन्द्र खर्बुजाले समय परिस्थिति सुहाउँदो विविध क्रियाकलाप नै क्लबको जीवन भएकोले त्यस्ता गतिविधि गर्दै लानुपर्ने बताउनुभयो ।
तात्कालीन समयमा क्लब समाजमा रहेका विभिन्न कुरीति, कुसंस्कारलगायत युवाहरू जाँड, रक्सी, लागूपदार्थ र दुव्र्यसनीविरूद्ध सामाजिक चेतनामा लागेको स्मरण गर्नुभयो ।
सर्कलका अर्का पूर्वअध्यक्ष एवं सल्लाहकार आसराम वैद्यले सर्कलको निरन्तरता र जीवन्तताको लागि विभिन्न समयमा सदस्यहरूले गरेका गतिविधि एवं सङ्घर्षहरू अहिलेको पुस्ताको लागि आत्मबल पुग्ने बताउनुभयो ।
सर्कलका सल्लाहकार श्यामसुन्दर मातांले क्लब स्थापनाको आधार, गतिविधि र इतिहासबारे स्पष्ट पार्नुभयो ।
‘कला, खेलकूद र मित्रता, युवा जगतको आवश्यकता’ भन्ने मूल नाराका साथ ०४१ सालमा औपचारिक रूपमा स्थापित सर्कल वि.सं.२०३७ सालमा जनहित सेवा क्लब, २०३८ सालमा इन्द्रायणी क्लब, २०४१ सालमा जी.पी. युथ मण्डल हुँदै २०४४ सालमा भक्तपुर योङ सर्कल बनेको थियो ।
भक्तपुर योङ सर्कलका अध्यक्ष गणेशभक्त खर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रामसुन्दर सुजखु र पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो ।
निर्वाचनमण्डलका संयोजक रवीन्द्र खर्बुजाले राजन जतिको अध्यक्षतामा उपाध्यक्ष रामसुन्दर सुजखु, सचिव पुण्यराम स्वंगमिखा, कोषाध्यक्ष सन्दिप खर्बुजा, सदस्यहरू रामसुन्दर मातां, वीरेन्द्र वैद्य, इन्द्रभक्त पञ्च, विकास खर्बुजा, निरोज वैद्य, प्रज्वल खत्री, रमा मातां, विकास बोयजु र राकेश मातासहितको १३ सदस्यीय नयाँ समिति निर्वाचित भएको घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *