हिजोका शासकहरूको चुनावको वातावरणको अर्थ के हो ?
- कार्तिक १५, २०८२

(‘आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास’ पुस्तक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०४१ सालमा लेख्नुभएको लेखहरूको सङ्कलन हो । उक्त लेखको सङ्कलन २०४६ सालमा पुस्तकाकारमा प्रकाशित भएको थियो । ‘नेपालको आर्थिक विकास सन्दर्भ’, ‘के नेपाल आफ्नो खुट्टामा उभिन सक्छ ?’ र ‘जनसङ्ख्या नियन्त्रणबारे तुलनात्मक अध्ययन’ शीर्षकका लेखहरू एक पर्यवेक्षकको नाममा ‘आधार’ साप्ताहिक वर्ष १ को २०४१ साल अङ्क १९ देखि २६ सम्म क्रमशः छापिएका थिए । हालै प्रकाशित यो पुस्तक तेस्रो संस्करणको हो । – सं)
भूमि, पुँजी, विविध प्राकृतिक स्रोत, प्राविधिक ज्ञान, सम्भावित युद्ध तथा देशको रक्षाशक्ति र अन्य सम्भावनालाई ध्यान दिएर मात्रै नेपालमा जनसङ्ख्या नियन्त्रणमा जोड दिनु उचित हुन्छ ।
 जनसङ्ख्या नियन्त्रणबारे बढी जोड दिने देशमा युरोपका केही पुँजीवादी देश, जापान र केही वर्षयता चीन देखापरेका छन् । भूमिको हिसाबले तिनको स्थिति वा जनघनत्वसँग नेपालको तुलना गर्नु आवश्यक छ । सन् १९८३ को संयुक्त राष्ट्रसङ्घको विवरण, सन् १९८२ को चिनियाँ जनगणनामा आधारित सन् १९८४ मा प्रस्तुत अन्तर्राष्ट्रिय सेमिनारको तथ्याङ्क र २०३८ सालको नेपालको जनगणनाअनुसार तथ्याङ्क तल दिइएको छ :

 माथिको विवरणअनुसार तीन युरोपेली मुलुक, जापान र चीनका दुई प्रान्तको तुलनामा नेपालको जनघनत्व कम छ । फ्रान्सको जनघनत्व नेपालको भन्दा कम छ । यसकारण, पेरिस जनसङ्ख्या बढाउने पक्षमा छ र छोराछोरी जन्माउनेलाई सरकारले सहुलियत वा भत्ताको बन्दोबस्त गरेको छ ।
 चीन संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देश हो । अनेक राजनीतिक कारण र अत्यन्त बढ्दै जाने जनसङ्ख्या र तीन आर्थिक प्रगतिको सन्तुलन कायम हुन नसक्ने हुँदा चीनले जनसङ्ख्या नियन्त्रणमा ध्यान दिनु आश्चर्यको कुरा होइन ।
 पुँजी वा औद्योगिक उत्पादनको हिसाबले जापान, पश्चिम जर्मनी, बेलायत र इटाली अगाडि बढेका देश हुन् । ५० देखि २०० वर्षसम्म ती देशका प्राकृतिक स्रोत–साधन उपयोग गर्दै गएको हुँदा रित्तिँदै छन् र पुँजी लगाउन नयाँ ठाउँ र बजार खोज्दै जानुपर्ने तिनको स्थिति छ । नेपालमा पुँजीको विकास भर्खरै सुरु भएको मान्नुपर्छ र प्राकृतिक स्रोत–साधन उपयोग गर्न पनि सकिएको छैन । देशको खानी र जलस्रोतमध्ये १०० भागको एक भाग पनि उपयोग गर्न सकिएको छैन । देशको २२ प्रतिशत जग्गामात्रै खेतीयोग्य छ । त्यसमध्ये १० प्रतिशतमा मात्रै सिँचाइको बन्दोबस्त छ ।
 विज्ञान र प्रविधिमा विकास भइसकेका देशमा आवश्यक मानिसहरूको कार्यशक्तिको स्थान यन्त्र वा मेसिनहरूले लिन सक्छन् । तर, नेपालको स्थिति त्यस्तो छैन । नेपालले झन्डै १६०० किलोमिटर मात्रै बा¥है महिना चल्नसक्ने सडक बनाउन सकेको छ । जनसङ्ख्या र क्षेत्रफलको हिसाबले पक्की सडकको लम्बाइमा नेपाल संसारमा सबभन्दा कम मानिन्छ र कच्ची सडक, घोडेटो र गोरेटोमा सामान ओसारपसार गर्छ । विकसित देशमा जस्तै रेल, सडक, रज्जुमार्ग वा विमानले होइन बरु भरिया र घोडा, खच्चर अनि चौरीबाट काम लिइन्छ । रेलको नाममा नेपालमा २९ किलोमिटर जनकपुर–जयनगर रेलमार्ग छ । हेटौँडा–काठमाडौँमा ४२ किलोमिटर रज्जुमार्ग छ । हवाई मार्गको नाममा ७५ जिल्लामा २१ ओटा मात्र हवाई–अड्डा छन् । तिनको पनि नियमित उडान छैन । हवाइ यातायातलाई व्यापारिक वा नागरिक सेवाभन्दा पनि सरकारी सेवाको निम्ति लगाइएको देखिन्छ ।
 नेपालमा यातायातको क्षेत्रमा जसरी मानिसको श्रमशक्ति नै प्रमुख शक्ति छ; यस्तै अन्य क्षेत्रमा पनि जनशक्ति नै मुख्य शक्ति हो । युरोप वा जापानमा यातायात, खेती र उद्योगमा मानिस होइन यन्त्र वा मेसिन मुख्य कार्यशक्ति हुने गर्छ ।
 बेलायतमा सन् १७६४ मा जेनी भन्ने एक नयाँ चर्खाको आविष्कार भयो । पुरानो चर्खामा ६ जनाले गर्ने काम एकै जनाले गर्न सक्ने भयो । नयाँ चर्खाको सानो विकासबाट एक व्यक्तिले १६ देखि १८ गुणा बढी काम गर्न सक्ने भयो । सन् १७५८ र १८०४ सम्ममा चर्खाको यान्त्रिकीकरण हुँदा एक व्यक्तिले १४ सयदेखि २ हजार गुणा काम गर्न सक्ने भयो ।
 युद्धको सम्भावना घटेको होइन, बढेको छ । अब हुने युद्धले ठुलो आकार ओगट्नेछ र पहिलेभन्दा बढी संहार हुनेछ ।
 नेपोलियनले लडेको वाटरलूको युद्धदेखि सन् १९१२–१९१३ अर्थात् विश्वयुद्धअघि सम्म झन्डै १ सय वर्षभित्रै ४५ लाख मानिस मारिएका थिए ।
 पहिलो विश्वयुद्ध अर्थात् सन् १९१४–१९१८ सम्म अथवा सवा ४ वर्षभित्र १ करोड मानिस मारिएका थिए । युद्धपछि ठुलो महामारी फैली ४० लाखभन्दा बढी मानिस मरे । ६० लाख जति मानिस लुला–लङ्गडा वा अन्धा भए । लडाइँमा युवकहरू धेरै मरेको हुँदा श्रमशक्ति घटी सबै देशले ठुलो आर्थिक सङ्कट भोग्नुपर्यो ।
 दोस्रो विश्वयुद्धमा झन्डै ५ करोड जनता मारिए । यहुदीहरूमात्रै ६० लाख मारिए । गैरयहुदी पोल जातिका मानिस मात्रै २० लाख मारिए । क्षेत्रफल र जनसङ्ख्यामा नेपालभन्दा दोब्बर ठुलो देश जर्मनीका ३७ लाख मानिस मारिए । यस हिसाबले एसियामा युद्ध भयो भने लडाकु जातिको रूपमा नेपाल पनि युद्धमा फस्नेछ । यहुदी, पोल र जर्मनहरूजस्तै मारिएको खण्डमा नेपालका झन्डै आधा वा ३ भागको १ भाग जनता केही वर्षभित्रै समाप्त हुनेछन् ।
 दोस्रो विश्वयुद्धमा २ करोड ७० लाख रूसी र २ करोड चिनियाँ मारिए । युरोपमा मात्रै १ करोड ३० लाख मानिस युद्धमा मारिए । लडाइँमा नगएका १ करोड ७० लाख सर्वसाधारण मारिए । २ करोड ५० लाख रूसीहरू घरबारविहीन भए ।
 त्यसो त पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीहरू युद्धमा नमुछिएका होइनन् । एक अध्ययन अनुसार पहिलो विश्वयुद्धमा झन्डै १ लाख नेपालीहरू युद्धसँग जोडिए । धेरै ‘गोर्खाली’ सिपाही बेलायतको तर्फबाट लडेको हुँदा सन् १९२० को गणनाअनुसार नेपालको जनसङ्ख्या सन् १९११ को तुलनामा ६४ हजार ९६१ ले घटेको थियो ।
 दोस्रो विश्वयुद्धमा पनि बेलायतकै तर्फबाट नेपालीहरूले भाग लिएका थिए । त्यसमा झन्डै २ लाख ‘गोर्खाली’ हरू युद्धसँग जोडिए । त्यसबेला नेपालको जनसङ्ख्या ६२–६३ लाख मात्रै थियो ।
 बेलायत वा मित्रराष्ट्र तथा भारतसँग नेपालको पुरानो सैनिक सम्बन्ध छ । ती देशसँग नेपालको अनेक किसिमको आर्थिक सम्बन्ध जोडिएको छ । नयाँ आर्थिक सम्बन्धले पुरानो सैनिक सम्बन्धलाई झन् बलियो बनाउन सक्ने हुनाले अब हुने युद्धमा धेरै ठुलो सङ्ख्यामा गोर्खालीहरू युद्धमा मुछिन बेर छैन । युद्ध एसिया र सिमानामै भएको खण्डमा लाखौँलाख नेपाली अथवा सबै उमेर पुगेका र सक्षम ‘गोर्खाली’ हरू त्यसमा सामेल हुनेछन् ।
 पहिलो विश्वयुद्ध परम्परागत ढङ्गकै युद्ध थियो । पैदल सिपाही र बन्दुक मुख्य शक्ति थियो । ट्याङ्क र विमान सहायकमात्र थियो । एक हप्ताको लडाइँपछि केही किलोमिटर अगाडि बढ्न सकिन्थ्यो । लडाइँ नागरिक क्षेत्रभन्दा बाहिरै हुन्थ्यो ।
 दोस्रो विश्वयुद्ध त्योभन्दा भिन्दै थियो । लडाइँ सैनिक गाडी, ट्याङ्क र विमानबाट भयो । सैनिकहरू दिनको ५० देखि १०० किलोमिटरसम्म अगाडि बढ्थे । नागरिकहरू युद्धबाट बच्न सक्दैनथे । सहर र औद्योगिक क्षेत्रमा समेत बम प्रहार हुन्थ्यो । लाखौँलाख सर्वसाधारण मारिए । शत्रु पक्षलाई कमजोर पार्न यातायात र सहरहरूलाई समेत आक्रमणको केन्द्र बनाइयो ।
 युद्धका साधन र नीतिमा हेरफेर भएको हुनाले लडाइँको गति, इलाका र विनासकारितामा ठुलो वृद्धि भएको छ । भियतनाम–चीन सीमा भिडन्त, फोकल्यान्ड–ग्रेनेडा र इराक–इरान युद्धले नयाँ युद्धको झलक दिएको छ । विषालु ग्यास, रासायनिक वस्तु र अनेक प्रकारका बम तथा हातहतियारले युद्धलाई बढी संहारकमात्र होइन खर्चिलो पनि बनाएको छ ।
 अरू देशको दाँजोमा हातहतियार तथा युद्धका साधनमा नेपाल सा¥है पछि छ । कमजोर आर्थिक स्थितिले गर्दा इच्छा भएर पनि नेपालले आफूलाई अत्याधुनिक हातहतियारले सुसज्जित पार्न सक्दैन । यसकारण, अत्याधुनिक हातहतियारले सुसज्जित बलियो र संहारक शत्रुको विरोधमा दीर्घकालीन, छकाउने र शत्रुलाई भित्रसम्म फसाउने तथा थकाउने खालको लडाइँमा परम्परागत हातहतियारको माध्यमबाटै अति आधुनिक रणनीति बनाई लड्नुपर्ने हुन्छ । त्यसको निम्ति मानवशक्ति नै निर्णायक तत्व हुन्छ† आधुनिक हातहतियार होइन । यसकारण, देशको रक्षाशक्तिमा अत्याधुनिकता नआएसम्म जनसङ्ख्या नियन्त्रण गर्नु आत्मघाती नहोला भनी मान्न सकिन्न ।
 आर्थिकरूपमा कमजोर मुलुकले आफूलाई अत्याधुनिक हातहतियारबाट सुसज्जित पार्न पनि धनी मुलुक वा शक्ति राष्ट्रहरूको निहोरा गर्नुपर्ने हुन्छ । विदेशी ऋणले कमजोर र अविकास देश नयाँ उपनिवेशमा फेरिन सम्भव छ । ऋण तिर्न ठुलो उत्पादनको आवश्यकता हुन्छ । अहिले जनशक्ति नै उत्पादनको मुख्य साधन हुनाले कम जनसङ्ख्याबाट त्यस आवश्यकतालाई पूर्ति गर्न सकिँदैन ।
 सन् १९१४ अगस्तदेखि १९१८ अर्थात् पहिलो विश्वयुद्धकै बेला हरेक एक मिनेटमा एक फ्रान्सेली मारिएको थियो । दोस्रो विश्वयुद्धमा त यसको तीव्रता झन् चर्को भयो । नागासाकी र हिरोसिमामा एकै क्षणमा लाखौँ मानिस अमेरिकी परमाणु बमले मारिए । अब हुने युद्ध योभन्दा धेरै तीव्र र विनाशकारी हुनेछ ।
 नेपाल एक विकासशील देश हो । उद्योग, व्यापार र प्राविधिक क्षेत्रमा मात्रै होइन शिक्षा, स्वास्थ्यमा समेत देश पछाडि छ । झाडाबान्ता, आउँ, मस्तिष्क ज्वरो (इन्सेफ्लाइटिस) र मेनेन्जाइटिस, दादुरा, कुपोषण आदि महामारी एवम् अनेक रोगले गर्दा (जन्मदर जस्तै) मृत्युदर विकसित देशको तुलनामा बढी छ । आज नेपालको जनसङ्ख्या बढिसकेको मानौँ । तर, यातायात सुविधाको अभाव, सबै जिल्ला र गाविसमा अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको बन्दोबस्त भइनसकेको हुँदा झाडाबान्ताजस्ता महामारी र इन्सेफ्लाइटिस तथा मेनेन्जाइटिसजस्ता नयाँ सङ्क्रामक रोगले जनसङ्ख्याको ठुलो भागलाई केही दिनभित्रै मृत्युको मुखमा पार्न सक्छ । त्यसो त सामान्यतया विकसित देशको तुलनामा कम विकसित वा विकासशील देशमा मृत्युदर बढी हुन्छ । एउटा उदाहरण हेरौँ : 
 
 विकसित देशमा १ हजार केटाकेटीमध्ये १९ जना मर्छन् र विकासशील देशमा ९३ जना मर्छन् ।
 नेपालका १ हजार केटाकेटीमध्ये १५० जना मर्छन् । त्यस्तै, विकसित देशको तुलनामा विकासशील देशका जनताको सालाखाला आयु पनि कम हुन्छ । त्यसअनुसार अरूको तुलनामा नेपालीहरूको आयु कमै छ ।
 दीर्घायुको हिसाबले सन् १९८१–१९८२ मा आइसल्यान्ड सबैभन्दा अगाडि थियो । त्यतिबेला त्यहाँका लोग्नेमान्छेहरूको आयु ७३.९१ थियो भने स्वास्नीमान्छेहरूको आयु ७९.४५ थियो । अर्थात्, आइसल्यान्डमा जनताको सालाखाला आयु ७६.६८ थियो ।
क्रमशः
Leave a Reply