भर्खरै :

“चीन नेपालको असल छिमेकी देश हो”

“चीन नेपालको असल छिमेकी देश हो”
भक्तपुर नगरपालिकाको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका चिनियाँ प्रतिनिधिमण्डलका सम्पूर्ण प्रतिनिधिमण्डलाई सांस्कृतिक नगर भक्तपुरमा हार्दिक स्वागत गर्दछौँ । चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुरका जनताको तर्फबाट स्वागत गर्न पाउँदा हामी ज्यादै खुसी छौँ । चीन नेपालको असल छिमेकी देश हो । हाम्रा दुई देशबिचको सम्बन्ध इतिहास जतिकै पुरानो छ । दुई देशबिचका प्रतिनिधिमण्डलहरूको भ्रमणले हामीलाई अझ नजिक बनाउँदै लगेको छ ।
भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले देशकै सानो पालिकाहरूमध्ये एक हो । सांस्कृतिकरूपले यो अत्यन्त महत्वपूर्ण नगर हो । नेवार समुदायको अत्यधिक बस्ती रहेको यो नगर १० वटा वडामा विभाजित छ । मूर्त तथा अमूर्त सम्पदाहरूले भरिएको यस नगर सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको रूपमा विश्वमा परिचित छ । विश्व सम्पदामा पर्ने दरबार क्षेत्र यस नगरमा पर्दछ । देशकै सबभन्दा अग्लो मन्दिर ङातापोल्हँ, मल्लकालमा निर्मित ५५ झ्याले दरबार, सुनढोकालगायत वास्तुकलाका उत्कृष्ट नमुनाहरू यस नगरका महत्वपूर्ण आकर्षण हुन् ।
देशकै सबभन्दा बढी जनघनत्व भएको यस नगरको कुल जनसङ्ख्या पछिल्लो तथ्याङ्कअनुसार ८० हजार छन् । व्यापार व्यवसाय र रोजगारीका निम्ति बाहिरबाट आएका मानिस पनि करिब यहाँका जनसङ्ख्या बराबर छन् । भक्तपुर नगरपालिकाले दैनिक १ लाख ५० हजार जनतालाई नियमित सेवा प्रदान गर्दै आएको छ ।
२०७२ सालमा नयाँ संविधान निर्माणपछि भएको दुवै निर्वाचनमा यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेदवारहरू जित्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापनाको लागि क्रियाशील कम्युनिस्ट पार्टी हो । यस पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै आएको छ ।
यस नगरमा ९२ वटा विद्यालयहरू छन् । २ वटा इन्जिनियरिङ कलेजसहित उच्च शिक्षा प्रदान गर्ने ७ वटा शैक्षिक संस्थाहरू नगरपालिकाले सञ्चालन गर्दै आएको छ । ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरपालिकाले पहल गरिरहेको छ ।
यस नगरपालिकाभित्र वडा–वडामा स्वास्थ्य केन्द्र र १०० शय्याको ख्वप अस्पताल सञ्चालन गर्दै स्वास्थ्य उपचारमा सबै नागरिकको सहज पहुँचको व्यवस्था गर्दै आएको छ ।
भक्तपुरमा अमूल्य सम्पत्तिको रूपमा रहेका थुप्रै सम्पदाहरू २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भए । ती सबैजसो सम्पदाहरू पुनःनिर्माण सम्पन्न हुने क्रममा छन् । भनपाले भक्तपुरमा रहेका मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण गर्दै आएको छ । बिस्का जात्रा, गुन्हीपुन्ही, दसैँ, तिहारजस्ता चाडपर्वहरू भक्तपुरका प्रख्यात जात्राहरू हुन् ।
यहाँको मुख्य उत्पादन ताइच्यून चिउरा, जुजु धौ, हाकुपटासी, धान, गहुँ, मकै, आलु, हरियो तरकारीलगायत हुन् ।
भक्तपुर नगरमा एउटा औद्यागिक क्षेत्र छ । कपडा, डेरी, काष्ठकला, रङ्ग, सेरामिक्स, बुनाई, नेपाली कागज र धातुका सामानहरू त्यहाँ उत्पादन हुन्छन् । काष्ठकला उद्योग, फर्निचर उद्योग, पौभा, थाङ्का, गलैंचा, कपडा, धातु र माटाका सामानहरू यहाँका अन्य घरेलु उत्पादनहरू हुन् ।
भक्तपुर पर्यटकीय नगर हो । नेपाल आउने विदेशी पर्यटकहरूमध्ये २५ देखि ३० प्रतिशत पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गर्दछन् । भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि नियमितरूपमा विभिन्न गतिविधिहरू गर्दै आएको छ । नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५’ को उद्घाटन कार्यक्रम भक्तपुरमा भएको थियो । चिनियाँ नेताहरू र उच्च पदस्थ पदाधिकारीहरूको बराबर भक्तपुर भ्रमणले हामीलाई उत्साहित बनाएको छ । भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरूमा अहिले चिनियाँ पर्यटकहरू दोस्रोमा पर्न आउँछ । भक्तपुर भ्रमण गर्ने पर्यटकहरूबाट हामीले केही सेवा शुल्क लिने गरेका छौँ । त्यसबाट सङ्कलन भएको रकमबाट भक्तपुरको सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र विकास निमार्णमा खर्च गर्दै आएका छौँ ।
सङ्कटको बेला सहयोग गर्नेहरू नै असल मित्र हुन्छन् भन्ने नेपालीमा एउटा भनाइ छ । २०७२ सालमा भूकम्पको बेला र कोभिड–१९ मा नेपाली जनतालाई चिनियाँ सरकारले गरेको सहयोग कहिल्यै बिर्सने छैनौँ । भक्तपुर नगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको शाननान नगरपालिकाले कोभिडको बेला भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरू सहयोग गरेर ठुलो गुण गरेको छ । यस वर्ष भर्खर एक महिना अघिमात्रै उपमेयरको नेतृत्वमा एक प्रतिनिधिमण्डल शाननान भ्रमण गरेर आउनुभयो । दुई नगरबिच भ्रमणको आदानप्रदान भइरहेको छ । २ वर्षअघि चीनको लशान नगरपालिकासँग पनि हाम्रो MOU भएको थियो । चीनका विभिन्न पालिकाहरूसँग भक्तपुर नगरपालिकाको सम्बन्ध विस्तारका गतिविधिहरू भइरहेका छन् ।
चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण र दुईपक्षीय अनुभव आदानप्रदानले एकले अर्कोलाई बुझ्ने र सिक्ने अवसर प्राप्त हुने आशा गर्छौँ । चीनको राष्ट्रपति सि चीनफिङको नेतृत्वमा भइरहेको चीनको तीव्र विकासबाट नेपाली जनताले सिक्न बाँकी धेरै छन् । हाम्रा थुप्रै विद्यार्थीहरू चीनमा गएर विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्दै छन् । ती सबै सहयोगका लागि चिनियाँ सरकारप्रति नेपाली जनताको तर्पmबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।
अन्त्यमा, नेपाल र नेपाली जनताले ‘एक चीन नीति’ को दृढताका साथ समर्थन गर्दै आएको यहाँ स्मरण गर्न चाहन्छौँ ।
(२०८२ कार्तिक ११ गते भक्तपुर नगरपालिकाको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका चीनको छोङछिङ समाज विज्ञान अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सिओङ पोसहितको प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकामा स्वागत कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *