२०८१ कार्तिक २३ गतेको गोरखापत्र दैनिकमा ‘प्रदेशमै आएन विपत्बाट भएको क्षतिको विवरण’ शीर्षकको समाचार छापियो । समाचारअनुसार वाग्मती प्रदेशका १३ जिल्लामध्ये २ वटा जिल्लाको मात्र क्षतिको विवरण प्रदेश सरकारसमक्ष पुगेको देखियो । भक्तपुर जिल्लाका विभिन्न स्थानमा पहिरोले पु¥याएको क्षतिको विवरण पनि प्रदेश सरकारसमक्ष पुगेन । क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग हुनुपर्ने हो । तर, जिल्ला प्रशासन र सम्बन्धित निकायहरूले पनि बाढी पहिरोको क्षतिको विवरण पठाउन बेवास्ता गरेको देखियो । भक्तपुर जिल्लाको एक बासिन्दा भएको नाताले मेरो जानकारीमा रहेको क्षतिका केही विवरण २०८१ कार्तिक २४ गतेको ‘मजदुर’ दैनिकमा प्रकाशित भयो भने थप विवरण निम्नअनुसार छन् –
सम्बन्धित निकायको ध्यान जाओस् ।
- भक्तपुर नगरपालिका वडा नं १, सल्लाघारी धाँलाखुशी फाँटमा करिब ३ सय रोपनीमा लगाइएको तरकारी र धानबाली पूर्णरूपले नष्ट भएको ।
- भक्तपुर नगरपालिका वडा नं ३, बाराहीस्थान पुलको उत्तरतर्फ फाँटमा बाढी पसेर करिब ५० रोपनीमा लगाइएको धानबाली पूर्णक्षति भएको ।
- भक्तपुर नगरपालिका वडा नं ५, ल्योसिंख्यो नजिक दक्षिणी फाँट (भारती आधारभूत विद्यालयको दक्षिणतर्फ) मा लगाइएको धानबाली पूर्ण क्षति भएको ।
- भक्तपुर नगरपालिका वडा नं ७, वासीकचा क्षेत्रमा बाढी पसेर धानबाली पूरै क्षति भएको ।
- भक्तपुर नगरपालिका वडा नं ७, हनुमानघाट आसपास करिब ६० रोपनीमा लगाइएको धानबाली पूर्णक्षति भएको ।
- भक्तपुर नगरपालिका वडा नं १०, पाइपलाइनको उत्तरतर्फ रहेको राजकुलोको डिल भत्किएर धानबाली र तरकारीबारीमा क्षति पुगेको ।
- चाँगुनारायण नगरपालिका वडा नं ४, बुढाथोकी गाउँमाथि तथा पौवामुनिको चाँगु सडकको छेउ ठाउँठाउँमा भत्किएको ।
- चाँगुनारायण नगरपालिका वडा नं ४, टट्गोलमा पहिरो गएर बस्ती जोखिममा परेको ।
- चाँगुनारायण नगरपालिका वडा नं ५, छालिङ माथिल्लो वनगाउँ दिनेश वनको घरमुनि सडकको माझमा पनि धाँजा फाटेर सडक करिब २०÷३० मिटरमुनि भासिने जोखिम रहेको ।
- चाँगुनारायण नगरपालिका वडा नं ६, तेलकोट–भट्टेडाँडा सडकको बाख्रीगाउँ–लामिडाँडा सडक खण्डको ठाउँठाउँमा पहिरो गएको ।
- सूर्यविनायक नगरपालिका वडा नं १० स्थित राम्चे मसान घाट र नगरकोटी मसानघाटमा तब्या खोलाले क्षति पु¥याएको ।
- सूर्यविनायक नगरपालिका वडा नं १, दधिकोट तर्खगालमा पहिरोले बाटो बगाउनुका साथै धानबाली क्षति भएको ।
- सूर्यविनायक नगरपालिका वडा नं ४, ५ र ७ मा घट्टेखोलामा आएको बाढीले दायाँबायाँको धानबालीमा क्षति भएको ।
- सूर्यविनायक नगरपालिका वडा नं १०, देउजागाउँमा ठाउँठाउँमा पहिरो गई बाटो र विद्युत् लाइनमा समेत क्षति पुगेको ।
- सूर्यविनायक नगरपालिका वडा नं १०, देउजागाउँमा ठाडो खोलाको सरस्वती पाखामा पहिरो गई क्षति पुगेको ।
- सूर्यविनायक नगरपालिका वडा नं १०, भङ्गालमा ठुलो पहिरोले बाटो बगाएको ।
भक्तपुर नगरपालिकाले नगरभरि करिब ७ सय रोपनीमा लगाइएको धानबाली तथा तरकारी बालीको क्षति विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई उपलब्ध गराइसकेको जानकारी प्राप्त भयो । तर, उक्त क्षतिको विवरण पनि प्रदेश सरकारसमक्ष किन पुगेन ?
Leave a Reply