नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
(हाल रास्वपा सरकारका जिम्मेवार व्यक्तिहरू तथा मन्त्रीहरूले बिनाअध्ययन र जानकारी नेपाल–भारत सम्बन्धका बारेमा गलत अवधारणा र अभिव्यक्ति दिँदै आएको हुँदा सबै पाठकको लागि नेपाल–भारत सम्बन्धका गलत समझदारीहरू र सही समाधानका उपायहरूको लागि
नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तकको खण्ड १ को अध्याय ३ लाई साभार
गरिएको छ –सं.)
श्रीमन नारायण भारतका एक माथिल्ला राजनैतिक व्यक्ति मानिनु हुन्छ । १९६४ को अन्तदेखि १९६७ सम्म उहाँले नेपालमा भारतीय राजदूतको रूपमा काम गर्नुभएको थियो । त्यस अवधिमा उहाँले नेपालका राजनेताहरूदेखि लिएर देशका सबै क्षेत्रका साना–ठुला व्यक्तिहरूसँग भेटघाट र मित्रता कायम गर्नुभयो, नेपाल र नेपाली जनताबारे पनि बढी जानकारी हासिल गर्नुभयो । १९७१ मा उहाँले ‘भारत र नेपाल’ भन्ने एक पुस्तक पनि प्रकाशित गर्नुभई आफ्नो जानकारीलाई सबैको अगाडि राखिदिनुभयो । दुई देशको सम्बन्धलाई बलियो पार्न नेपाल र नेपाली जनताको विषयमा जानकारी राख्ने उहाँको चाख प्रशंसा गर्नलायकको गुण हो, तर दुर्भाग्यवश उहाँको अध्ययन र जानकारीको सार नेपाली र भारतीय जनताको मित्रतालाई बलियो बनाउन योगदान हुनुको सट्टा त्यसलाई अझ धमिलो बनाई दिने एक नराम्रो प्रयासमात्रै साबित हुन गयो । तर, उहाँको त्यस पुस्तकले नेपाली जनतालाई एक मूल्यवान र बिर्सन नहुने नकारात्मक शिक्षा पनि छोडेको छ, त्यो हो–भारतको शासक वर्ग आफ्नो वर्गीय स्वार्थको निम्ति नेपाल र नेपाली जनतालाई बलिको बोका बनाउन हिच्किच्याउँदैनन् । तिनीहरू दुई देशका जनताको मित्रताको महत्व त ग्राहक र व्यापारी, मजदुर र पुँजीपति, पराजित र स्वतन्त्र देश, उपनिवेश र उपनिवेशवादी देश, सानो र ठुलो राष्ट्र, पिछडिएको र विकसित, गरिब र सम्पन्न देशको बिचमा हुने भौतिक लाभ राख्ने देशको रूपमा मात्रै राख्ने गर्छन् । तिनीहरूले बयान गर्ने सांस्कृतिक र सामाजिक समानता र सम्बन्ध त ‘माछालाई बल्छीमा दिने गड्यौलामात्रै हो’ त्यो हिन्दू साम्राज्यवादकै संस्कारमात्रै हो । तर, भारतीय जनता महान् जनता हुन् । संसारको मानव सभ्यताको विकास, नेपाली जनताको कला र संस्कृतिको उन्नतिमा भारतीय जनताको ठुलो योगदान छ, हामी त्यसलाई बिर्सन सक्दैनौँ । त्यस्तै भारतीय जनताको कला र संस्कृतिमा नेपाली कला र संस्कृतिको प्रभावलाई पनि अलग्ग गर्न सकिन्न । यो दोहोरो कुरो हो यसकारण, यो स्थायी पनि छ ।
श्रीमन नारायण ‘भारत र नेपाल’ भन्ने आफ्नो पुस्तकमा नेपाल र भारतको बिचमा बरोबर देखापर्ने तितो–पिरोको कारण नेपालका केही ‘भारतविरोधी र चीन समर्थक जनसमुदायलाई’ मान्नुहुन्छ । भारतविरोधी जनसमुदायको एक उदाहरण उहाँ ‘नेवार’ जातिलाई दिनुहुन्छ । नेवार जनसमुदाय भारतविरोधी हुनुमा उहाँ एक ऐतिहासिक कारण देख्नुहुन्छ । उहाँको भाषामा त्यो ऐतिहासिक कारण हो – “नेवारहरू आफूलाई उपत्यकाको आदिवासी मान्दछन्, राजाहरू र अहिलेको शाहवंश भारतबाट ‘पसेकाहरू’ हुन् भन्ने मान्छन् । सिंहदरबारको सचिवालय र राजदरबारको समेत महत्वपूर्ण पदहरूमा बस्ने नेवारहरूको त्यस भारतविरोधी दृष्टिकोण नै चीन समर्थक झुकावमा जिम्मेवार छ ।”

श्रीमन नारायण
नेपाल र भारतको बिचमा कहिलेकाहीँ देखापर्ने गरेको तितो–पिरोमा ऐतिहासिक कारण त अवश्य छ, त्यो ठीक हो । तर, त्यो ऐतिहासिक कारण श्रीमन नारायणले देखाउनुभएको जस्ता कदापि होइन । एक विराम छोप्न थुप्रै विरामहरू गर्नुपर्ने हुन्छ । त्यस्तै, श्रीमन नारायणले एक झूठको निम्ति थुप्रै झूठहरू तेस्र्याउनुभएको छ । ती के हुन् ?
(क) नेपाल र भारतको बिचमा देखापरेको तितो–पिरोको मुख्य कारणलाई छोप्न उहाँले नेवार र नेपाली जनसमुदायलाई भारतविरोधी र चीन समर्थक रङ्गमा विभाजित गर्नु ।
(ख) राणा र शाहवंशलाई भारतबाट ‘पसेकाहरू’ भनेर नेपाली जनताले बिर्सिसकेको भेदभावको घाउको खत उप्काउन खोज्नुभयो ।
(ग) सिंहदरबार र राजदरबारका मुख्य–मुख्य पदमा बसेका ‘नेवारहरू’ कै कारणले भारतविरोधी र चीन समर्थक झुकाव भएको कारण बताएर सचिवालय र दरबारका माथिल्ला कर्मचारीहरूको बिचमा शङ्का र वैमनस्य फैलाउन खोज्नुभयो ।
श्रीमन नारायणको समझदारी र जालसाजीमा के उद्देश्य हुनुपर्छ ? के राणा र शाहवंशलाई भारतबाट पसेकाहरू भन्ने कुरो उल्लेख गरेर राजसत्ताको माथिल्लो तहमा बसेका जाति र वर्गलाई आफूतिर तान्नु र भारतमै गन्हाइसकेको जातिभेदको राजनीतिलाई नेपालभित्र पसालेर ‘फुट गर र राज गर’ को नीतिलाई लागू गर्नु हो । यसको एक ज्वलन्त उदाहरण सिक्किम हो । ‘बहुमत’ नेपाली वा गोर्खाली जातिको डर देखाएर चोग्याललाई नेपाल र नेपाली जातिविरोधी गराउनु, ‘अल्पमत’ भोटे जातिको शासनको विरोधमा नेपाली जातिलाई भाँड्नु, साथसाथै लेप्च्या र दोर्जे आदि जातिवादी वैमनस्य उठाएर सिक्किमीलाई सिक्किमीकै विरोधीमा उठाएर बन्दुकको भरमा सिक्किमलाई निल्यो । (माफ गर्नुस्, सिक्किमी जनतालाई ‘प्रजातन्त्र’ र ‘सभ्यता’ कोसेली दिएको ! यसकारण, केही नेपाली कम्युनिस्ट नेताहरू सिक्किममा ‘प्रजातान्त्रिक आन्दोलन’ को मात्रै ‘आवश्यकता’ देख्छन्, मुक्ति सङ्घर्षको होइन । उहाँहरू दूरदर्शी भएर सिक्किमलाई नै कोसेली ठान्नुभयो !) श्रीमन नारायणको भारतबाट ‘पसेकाहरू’ त्यस्तै एक ‘कुट’ शब्द हो । बेलायती साम्राज्यवादीहरूले आर्य–अनार्य, हिन्दू र मुसलमान, उत्तर र दक्षिण, मराठा र सिखु बिहारी र बङ्गाली आदि गरेर भारतीय जनतालाई फुटाएरै २ सय वर्षसम्म उपनिवेश बनाएका थिए । (ख) त्यस्तै उहाँ सिंहदरबार र राजदरबारका माथिल्ला ओहदाका कर्मचारीहरूमा शङ्का र अविश्वासको बीउ छरेर ‘धमिलो पानीमा माछा मार्न खोज्नु’ हुन्छ । (ग) दुई देशको बिचमा देखापरेको तितो–पिरोको सबै दोष नेपाली जनतामा थोपरेर समस्यालाई सही समाधानतिर नलगी त्यसलाई यथावत राख्नु हो । त्यसले एसियामा अशान्ति कायम गरेर सम्भावित विश्वयुद्धलाई एसियामा स्थानान्तरण गर्ने साम्राज्यवादीहरूको सपनालाई ‘ग्लुकोज’ प्रदान गर्नेछ ।
श्रीमन नारायणले आफ्नो किताबमा नेवार जाति र अरू नेपाली जनसमुदायलाई ‘चीन समर्थक’ र ‘भारतविरोधी’ भनेर सा¥है गलत समझदारीमात्रै राखेर होइनन् बरु नेवारी जनताको मातृभाषा नेपालभाषाको समुचित विकासबारे गरिएको साहित्यिक र सांस्कृतिक गतिविधिलाई समेत ‘सरकारविरोधी’ उद्देश्यको रूपमा प्रस्तुत गर्ने अशिष्टता पनि गर्नुभयो । त्यो ठम्याइ सो¥है आना असत्यमात्रै होइन, त्यसले गुरुङ, मगर, तामाङ, भोटे, राई लिम्बु, दनुवार, भोजपुरी, मैथली, थारु, चेपाङ, राजवंशी, सन्थाल आदि देशका विभिन्न जाति र भाषाभाषीहरूको भाषा र संस्कृतिको विकाससम्बन्धी गतिविधिलाई ‘सरकारविरोधी’ उद्देश्यको नाम दिएर ठेस पु¥याउने दबाबको काम भएको हो । भाषाविना कला र संस्कृति लाटो हुन्छ । यस्तो महत्वपूर्ण कुरालाई श्रीमन नारायणले ‘सरकारविरोधी’ गतिविधि ठान्नुभयो । यही सिद्धान्त भारतमा लागू गरेको खण्डमा भारतका सयौँ हजारौँ जाति र भाषाभाषी जनताको दुर्भाग्य हुनेछ ।
श्रीमन नारायणको अर्को आविष्कार हो, चिनियाँ राजदूतावासले पैसा र माओको साहित्य वितरण गरेर मजदुर, किसान र विद्यार्थीहरूमा केही ‘सेलहरू’ (प्रारम्भिक कम्युनिस्ट सङ्गठनहरू) बनाउन सफल भएको छ । चिनियाँहरू नेपाललाई अन्तहीन गुरिल्ला लडाइँको अर्को भियतनाममा फेर्न चाहन्छन् । यसकारण, ‘सैनिकहरूले निर्बलियो र सानो’ नेपालले चीनसित डराउनुपर्छ । नेपाल सरकार बनारस बसेर काम गरिरहेका चीनसमर्थक कम्युनिस्टहरूप्रति सा¥है ‘सशङ्कित’ छन् । भारतका विभिन्न विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरूको चीन समर्थक गतिविधिलाई रोक्नुपर्छ र रुस समर्थक देखाउन खोज्ने बनारसका कम्युनिस्टहरूलाई पनि भारत सरकारले छिट्टै प्रस्ट पार्नुपर्छ ।
Leave a Reply